सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय आठ

परमेश्वरको राज्य के हो?

परमेश्वरको राज्य के हो?
  • परमेश्वरको राज्यबारे बाइबलले के सिकाउँछ?

  • परमेश्वरको राज्यले के गर्नेछ?

  • यस राज्यले परमेश्वरको इच्छा पृथ्वीमा कहिले पूरा गर्नेछ?

१. अब हामी कसले सिकाउनुभएको प्रार्थनाबारे विचार गर्नेछौं?

येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्ने भनेर सिकाउनुभयो। यस प्रार्थनाको गहिरो अर्थ छ। यस प्रार्थनामा उल्लेख गरिएको सुरुको तीनवटा बुँदा विचार गर्नुभयो भने बाइबलले वास्तवमा के सिकाउँछ भनी बुझ्न सजिलो हुन्छ।

२. येशूले कुन तीनवटा कुराको लागि प्रार्थना गर्न सिकाउनुभयो?

येशूले यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।’” (मत्ती ६:९-१३) येशूले उल्लेख गर्नुभएका पहिलो तीनवटा कुराको अर्थ के हो?

३. परमेश्वरको राज्यबारे हामीले के थाह पाउनुपर्छ?

हामीले परमेश्वरको नामबारे धेरै कुरा सिकिसक्यौं। अनि परमेश्वरको इच्छाबारे पनि केही हदसम्म बुझिसक्यौं। जस्तै: उहाँले मानिसजातिको लागि के-के गरिसक्नुभएको छ र भविष्यमा के गर्नुहुनेछ? तर येशूले “तपाईंको राज्य आओस्” भनेर प्रार्थना गर्न सिकाउँदा के भन्न खोज्दै हुनुहुन्थ्यो? परमेश्वरको राज्य के हो? यस राज्यले कसरी परमेश्वरको नाम पवित्र पार्नेछ? अनि परमेश्वरको राज्य आउनु र उहाँको इच्छा पूरा हुनुबीच कस्तो सम्बन्ध छ?

 परमेश्वरको राज्य के हो?

४. परमेश्वरको राज्य के हो र यसको राजा को हो?

परमेश्वरको राज्य भनेको यहोवा परमेश्वरले स्थापना गर्नुभएको सरकार हो र यसको राजा पनि उहाँले नै नियुक्त गर्नुभएको छ। परमेश्वरको राज्यको राजा को हो? येशू ख्रीष्ट। येशू मानव राजाहरूभन्दा महान्‌ हुनुहुन्छ र उहाँलाई “राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु” भनिएको छ। (१ तिमोथी ६:१५) येशूले सबैभन्दा असल मानव शासकले भन्दा धेरै गुना राम्रो काम गर्न सक्नुहुन्छ।

५. परमेश्वरको राज्य कहाँ छ र यसले कसमाथि शासन गर्नेछ?

परमेश्वरको राज्य कहाँ छ? पहिला, येशू कहाँ हुनुहुन्छ, त्यो बुझौं। उहाँलाई खम्बामा झुन्ड्याएर मारियो तर पछि परमेश्वरले फेरि जीवित पार्नुभयो भनेर तपाईंले सिक्नुभयो होला। त्यसको केही समयपछि उहाँ स्वर्ग उक्लनुभयो। (प्रेषित २:३३) त्यसैले परमेश्वरको राज्य स्वर्गमा छ भन्न सकिन्छ। यही कारणले बाइबलमा यसलाई “स्वर्गको राज्य” भनिएको छ। (२ तिमोथी ४:१८) परमेश्वरको राज्य स्वर्गमा भए तापनि यसले पृथ्वीमाथि शासन गर्नेछ।—प्रकाश ११:१५.

६, ७. येशू किन अरू राजाभन्दा फरक हुनुहुन्छ?

येशू किन अरू राजाभन्दा धेरै फरक हुनुहुन्छ? एउटा कारण त, उहाँ अमर हुनुहुन्छ। चाहे जोसुकै होस्, मानिस भएकोले एक न एक दिन तिनको मृत्यु हुन्छ तर येशूबारे बाइबल यसो भन्छ: “जससित मात्र अमरता छ, जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ।” (१ तिमोथी ६:१६) यसको मतलब येशूले गर्नुहुने सबै असल काम सधैंभरि टिकिरहन्छ। उहाँले पक्कै पनि मानिसहरूको भलाइ हुने थुप्रै काम गर्नुहुनेछ।

येशूबारे बाइबलमा गरिएको यो भविष्यवाणी विचार गर्नुहोस्: “परमप्रभुको आत्मा उहाँमा रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको श्रद्धाको आत्मा। औ परमप्रभुको भयमानै उहाँको आनन्द हुनेछ। उहाँले मुख हेरेर इन्साफ गर्नुहुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नहुनेछैन। तर गरीबहरूको  न्याय उहाँले ठीकसित गर्नुहुनेछ।” (यशैया ११:२-४) यी शब्दले येशू असल र दयालु राजा हुनुहुनेछ भनी देखाउँछ। के तपाईं त्यस्तै राजा चाहनुहुन्न र?

८. येशूसँगै अरू क-कसले शासन गर्नेछन्‌?

परमेश्वरको राज्यबारे हामीले थाह पाउनुपर्ने अर्को कुरा के हो भने येशू एक्लैले शासन गर्नुहुनेछैन। उहाँले अरूसित मिलेर राज्य गर्नुहुनेछ। उदाहरणको लागि, प्रेषित पावलले तिमोथीलाई यसो भने: “हामीले कष्ट सहिरह्यौं भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौं।” (२ तिमोथी २:१२) हो, पावल र तिमोथीका साथै परमेश्वरले छान्नुभएका अरू वफादार जनले पनि येशूसँगै स्वर्गको राज्यमा शासन गर्नेछन्‌। कति जनाले त्यो सुअवसर पाउनेछन्‌?

९. येशूसँगै कति जनाले शासन गर्नेछन्‌ र परमेश्वरले तिनीहरूलाई कहिलेदेखि रोज्न थाल्नुभयो?

केही मानिस पुनर्जीवित भएर स्वर्ग जानेछन्‌ भनेर हामीले अध्याय ७ मा सिकिसक्यौं। प्रेषित यूहन्नाले आफूले देखेको एउटा दर्शनमा यसो भने: “मैले थुमालाई [येशू ख्रीष्ट] सियोन पर्वतमा [स्वर्गमा उहाँको राजकीय ओहदा] उभिरहेको देखें। तिनीसित एक लाख चवालीस हजार जना थिए, जसको निधारमा तिनको र तिनको बुबाको नाम लेखिएको थियो।” ती १,४४,००० को हुन्‌? यूहन्ना यस्तो जवाफ दिन्छन्‌: “थुमा जता-जता जान्छन्‌, त्यतै-त्यतै तिनको पछि लाग्छन्‌। यिनीहरू परमेश्वर र थुमाको लागि अगौटे फलको रूपमा मानिसहरूमध्येबाट किनिएका थिए।” (प्रकाश १४:१, ४) हो, तिनीहरू येशूका वफादार चेलाहरू हुन्‌, जसले स्वर्गमा येशू ख्रीष्टसँगै शासन गर्नेछन्‌। पुनर्जीवित भएर स्वर्ग गएपछि “तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।” (प्रकाश ५:१०) परमेश्वरले इस्वी संवत्‌ ३३ देखि १,४४,००० लाई रोज्न थाल्नुभयो।

१०. यहोवाले येशू र १,४४,००० लाई रोज्नु किन मायालु प्रबन्ध हो?

१० मानिसजातिमाथि शासन गर्न येशू र १,४४,००० लाई रोज्नु  मायालु प्रबन्ध हो। किनभने मानिसको जीवन कस्तो हुन्छ र तिनीहरूले कस्ता दुःखकष्ट भोग्छन्‌ भनेर येशूलाई थाह छ। पावलले येशू “हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ” भनेर बताए। (हिब्रू ४:१५; ५:८) येशूसित मिलेर शासन गर्ने मानिसहरूले पनि थुप्रै दुःखकष्ट भोगेका छन्‌। तिनीहरूले आफ्नै त्रुटिपूर्ण झुकाव अनि कमजोरीसित सङ्घर्ष गरेका छन्‌ र विभिन्न प्रकारका रोगबिमारको सामना गरेका छन्‌। त्यसकारण तिनीहरूले हाम्रा समस्याहरू राम्ररी बुझ्नेछन्‌ भनेर ढुक्क हुन सक्छौं!

परमेश्वरको राज्यले के गर्नेछ?

११. येशूले किन परमेश्वरको इच्छा स्वर्गमा पूरा होस् भनेर प्रार्थना गर्न सिकाउनुभयो?

११ येशूले चेलाहरूलाई परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गर्न सिकाउनुभयो। साथै परमेश्वरको इच्छा “जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्” भनेर बिन्ती गर्न पनि भन्नुभयो। परमेश्वर स्वर्गमा हुनुहुन्छ। वफादार स्वर्गदूतहरूले सधैं उहाँको इच्छा पूरा गर्दै आएका छन्‌। तर एउटा दुष्ट स्वर्गदूतले परमेश्वरको इच्छाविपरीत काम गऱ्यो अनि त्यसले आदम र हव्वालाई पनि पाप गर्न उक्सायो भनेर हामीले अध्याय ३ मा सिकिसक्यौं। सैतान अनि दियाबल भनेर चिनिने त्यस दुष्ट स्वर्गदूतबारे हामी अध्याय १० मा अझ धेरै सिक्नेछौं। यहोवाले सैतान अनि त्यसको पछि लाग्ने दुष्ट स्वर्गदूतहरूलाई केही समय स्वर्गमै रहन दिनुभयो। त्यसैले त्यतिबेला स्वर्गमा हुनेजति सबै परमेश्वरको इच्छाअनुसार चलिरहेका थिए भन्न सकिंदैन। तर परमेश्वरको राज्य सुरु भएपछि यस्तो स्थिति रहिरहने थिएन। राजा नियुक्त हुनेबित्तिकै येशू ख्रीष्टले सैतानसित लडाइँ गर्नुहुने थियो।—प्रकाश १२:७-९.

१२. प्रकाश १२:१० अनुसार कुन दुइटा महत्त्वपूर्ण घटना हुनेछ?

१२ त्यसपछि हुने घटनाबारे प्रकाश १२:१० यसो भन्छ: “मैले स्वर्गमा  एउटा चर्को आवाजले यसो भनिरहेको सुनें: ‘अब हाम्रा परमेश्वरले दिनुहुने उद्धार, उहाँको शक्ति, उहाँको राज्य अनि उहाँको ख्रीष्टको अख्तियार प्रकट भएको छ, किनकि हाम्रा भाइहरूको आरोपक तल फ्याँकिएको छ।’” यस पदले येशू ख्रीष्ट राजा अभिषेक हुनेबित्तिकै दुइटा महत्त्वपूर्ण घटना हुनेछन्‌ भनेर बताउँछ। पहिलो, परमेश्वरको राज्य सुरु हुनेछ। दोस्रो, त्यसको लगत्तै सैतानलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिनेछ।

१३. सैतानलाई पृथ्वीमा फ्याँकेपछि स्वर्गमा के हुन्छ?

१३ ती दुइटा घटनापछि स्वर्गमा के हुनेछ? हामी यस्तो लेखिएको पाउँछौं: “हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ!” (प्रकाश १२:१२) हो, सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट बाहिर फ्याँकिसकेको हुनाले अरू स्वर्गदूत रमाउँछन्‌। अब स्वर्गमा यहोवाका वफादार स्वर्गदूतहरू मात्र छन्‌। स्वर्गमा चारैतिर चिरस्थायी शान्ति अनि एकता छ। यसरी स्वर्गमा परमेश्वरको इच्छा पूरा हुन्छ।

सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट फ्याँकेपछि पृथ्वीमा दुःखकष्ट बढ्यो; ती दुःखकष्ट चाँडै अन्त हुनेछ

१४. सैतानलाई पृथ्वीमा फ्याँकेपछि के हुन्छ?

१४ पृथ्वीमा नि? बाइबल यसो भन्छ: “पृथ्वी र समुद्रलाई भने धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।” (प्रकाश १२:१२) स्वर्गबाट फ्याँकिएकोले र थोरै समय मात्र बाँकी भएकोले सैतान असाध्यै रिसाएको छ। त्यसको रिसले गर्दा पृथ्वीमा दुःखकष्ट बढ्ने भएकोले पृथ्वीलाई “धिक्कार” भन्न मिल्छ। यसबारे अर्को अध्यायमा अझ धेरै सिक्नेछौं। हाम्रो मनमा यस्तो प्रश्न उठ्न सक्छ, ‘त्यसोभए परमेश्वरको राज्यले पृथ्वीमा उहाँको इच्छा कसरी पूरा गर्नेछ?’

१५. परमेश्वरले पृथ्वी किन सृष्टि गर्नुभएको थियो?

१५ परमेश्वरले पृथ्वी किन सृष्टि गर्नुभयो, सम्झनुहोस् त। यसबारे तपाईंले अध्याय ३ मा सिकिसक्नुभयो। यहोवा असल मानिसहरू पृथ्वीमा सधैंभरि बाँचेको चाहनुहुन्थ्यो। तर सैतानले आदम र हव्वालाई  बहकाएर पाप गर्न लगायो। त्यसले गर्दा परमेश्वरले चाहनुभएको कुरामा केही धक्का त पुग्यो तर उहाँको उद्देश्य भने परिवर्तन भएन। यहोवा परमेश्वर अहिले पनि ‘धर्मात्माहरूले देश अधिकार गरून्‌ र त्यहीं सधैंभरि रहून्‌’ भन्ने इच्छा गर्नुहुन्छ। (भजन ३७:२९) परमेश्वरको राज्यले यो उद्देश्य पूरा गर्नेछ। कसरी?

१६, १७. दानियल २:४४ ले परमेश्वरको राज्यबारे के बताउँछ?

१६ दानियल २:४४ को भविष्यवाणी विचार गर्नुहोस्। त्यहाँ यस्तो लेखिएको छ: “ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” यसबाट हामी परमेश्वरको राज्यबारे के सिक्न सक्छौं?

१७ पहिलो, “ती राजाहरूका समयमा” परमेश्वरले आफ्नो राज्य स्थापना गर्नुहुनेछ। दोस्रो, परमेश्वरको राज्य सधैंभरि रहिरहनेछ। यसलाई अरू कुनै सरकारले हटाउनेछैन। तेस्रो, परमेश्वरको राज्य र यो संसारका राज्यहरूबीच लडाइँ हुनेछ। परमेश्वरको राज्य विजयी हुनेछ। अन्तमा, मानिसजातिमाथि यही एउटा सरकारले मात्र शासन गर्नेछ। त्यसपछि मानिसजातिले पहिला कहिल्यै अनुभव नगरेको सुख-शान्ति पाउनेछ।

१८. परमेश्वरको राज्य र यस संसारका राज्यहरूबीच हुने अन्तिम लडाइँको नाम के हो?

१८ परमेश्वरको राज्य र यस संसारका राज्यहरूबीच हुने अन्तिम लडाइँबारे पनि बाइबलमा बताइएको छ। उदाहरणको लागि, संसारको राज्य अन्त हुने बेला दुष्ट स्वर्गदूतहरूले झूटा कुरा फैलाएर “पृथ्वीभरिका राजाहरू”-लाई छक्याउनेछन्‌ भनी बाइबल बताउँछ। किन? ‘पृथ्वीभरिका राजाहरूलाई सर्वशक्तिमान्‌ परमेश्वरको महान्‌ दिनको लडाइँको निम्ति जम्मा गर्न।’ “ती राजाहरूलाई हिब्रू भाषामा हार-मागेडोन भन्ने ठाउँमा जम्मा” गरिनेछ। (प्रकाश १६:१४, १६) यी दुई  पदअनुसार मानव सरकारहरू र परमेश्वरको राज्यबीच हुने अन्तिम युद्धलाई हार-मागेडोन अर्थात्‌ आरमागेडोनको लडाइँ भनिन्छ।

१९, २०. अहिले पृथ्वीमा परमेश्वरको इच्छा किन पूरा हुन सकेको छैन?

१९ परमेश्वरको राज्यले आरमागेडोनको लडाइँ जितेपछि के हुन्छ? परमेश्वरले पृथ्वी किन सृष्टि गर्नुभयो, सोच्नुहोस् त। उहाँ सुरुदेखि नै पृथ्वी असल अनि त्रुटिरहित मानिसहरूले भरेको चाहनुहुन्थ्यो। यहोवाको यो इच्छा अहिले पूरा हुन सकेको छैन किनकि हामी पापी छौं, बिरामी हुन्छौं अनि मर्छौं। तर हामी सधैंभरि बाँच्न सकोस् भनेर येशूले आफ्नो जीवन अर्पण गर्नुभयो भनी हामीले अध्याय ५ मा सिकिसक्यौं। यूहन्नाको किताबमा लेखिएका यो कुरा तपाईंलाई यादै होला: “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्वास गर्ने हरेक नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.

२० अर्को कुरा, अहिले थुप्रै मानिस खराब काम गर्छन्‌। तिनीहरू झूट बोल्छन्‌, चोर्छन्‌ र अनैतिक काम गर्छन्‌। तिनीहरू परमेश्वरको इच्छाअनुसार जीवन बिताउन चाहँदैनन्‌। खराब काम गर्ने सबै मानिस आरमागेडोनको लडाइँमा नाश हुनेछन्‌। (भजन ३७:१०) परमेश्वरको इच्छा अहिले पृथ्वीमा पूरा नहुनुको अर्को कारण, मानव सरकार पनि हो किनकि तिनीहरू मानिसहरूलाई परमेश्वरको इच्छाअनुसार चल्न प्रोत्साहन दिंदैनन्‌। मानव सरकार कमजोर, क्रूर अनि भ्रष्ट छ। बाइबलले भनेजस्तै अहिले “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” चलिरहेको छ।—उपदेशक ८:९.

२१. परमेश्वरको राज्यले कसरी पृथ्वीमा उहाँको इच्छा पूरा गर्नेछ?

२१ आरमागेडोनको लडाइँपछि मानिसजातिमाथि एउटै मात्र सरकार अर्थात्‌ परमेश्वरको राज्यले शासन गर्नेछ। त्यस राज्यले परमेश्वरको इच्छा पूरा गर्नेछ र थुप्रै असल काम गर्नेछ। जस्तै, सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई हटाउनेछ। (प्रकाश २०:१-३) येशूको फिरौतीको बलिदानबाट सबैले लाभ उठाउनेछन्‌। फलस्वरूप, वफादार मानिसहरू फेरि  कहिल्यै बिरामी हुनेछैनन्‌ अनि मर्नेछैनन्‌। तिनीहरू सधैंभरि बाँच्नेछन्‌। (प्रकाश २२:१-३) पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाइनेछ। यसरी परमेश्वरको राज्यले पृथ्वीमा उहाँको इच्छा पूरा गर्नेछ अनि उहाँको नाम पवित्र पार्नेछ। भनाइको मतलब अन्तमा सबैले परमेश्वरको नामको महिमा गर्नेछन्‌।

परमेश्वरको राज्यले पृथ्वीमा कहिले उहाँको इच्छा पूरा गर्न थाल्नेछ?

२२. येशू पृथ्वीमा हुँदा वा पुनर्जीवित भएर स्वर्ग जानेबित्तिकै परमेश्वरको राज्य आएन भनेर किन भन्न सक्छौं?

२२ येशूले आफ्ना चेलाहरूलाई “तपाईंको राज्य आओस्” भनी प्रार्थना गर्न सिकाउनुहुँदा परमेश्वरको राज्य आइसकेको थिएन भनेर स्पष्ट हुन्छ। के येशू स्वर्ग जानुभएपछि परमेश्वरको राज्य स्थापना भयो त? अहँ, भएन। किनभने पत्रुस र पावल दुवैले भजन ११०:१ को भविष्यवाणी येशू पुनर्जीवित भएपछि उहाँमाथि लागू भयो भनी बताउँछन्‌। त्यस पदमा यस्तो लेखिएको छ: “परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्नँ।” (प्रेषित २:३२-३५; हिब्रू १०:१२, १३) त्यसैले स्वर्ग जानेबित्तिकै येशूले शासन गर्नुभएन, उहाँले पर्खनुभयो।

परमेश्वरको राज्य आएपछि उहाँको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पनि पूरा हुनेछ

२३. (क) परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (ख) अर्को अध्यायमा कुन कुरा सिक्नेछौं?

२३ उहाँले कतिन्जेल पर्खनुपर्ने थियो? उहाँले पर्खनुपर्ने समय  सन्‌ १९१४ मा अन्त हुनेछ भनेर निष्कपट बाइबल विद्यार्थीहरूले सन्‌ १९१४ भन्दा लगभग ४० वर्षअघिदेखि अलि-अलि गर्दै बुझ्न थाले। (सन्‌ १९१४ बारे पृष्ठ २१५-२१८ हेर्नुहोस्।) सन्‌ १९१४ देखि संसारमा भएका घटनाहरूले ती विद्यार्थीहरूको बुझाइ सही थियो भनेर प्रमाणित गर्छ। बाइबलको भविष्यवाणीले सन्‌ १९१४ मा ख्रीष्ट राजा हुनुभयो र परमेश्वरको राज्यले शासन सुरु गऱ्यो भनेर साबित गर्छ। त्यसकारण अहिले सैतानको “समय थोरै मात्र बाँकी” छ। (प्रकाश १२:१२; भजन ११०:२) परमेश्वरको राज्यले अब चाँडै पृथ्वीमा उहाँको इच्छा पूरा गर्नेछ। कति खुसीको कुरा! तर के तपाईंलाई अब छिट्टै परमेश्वरको राज्य सुरु हुनेछ भनेर विश्वास लाग्छ? यसबारे हामी अर्को अध्यायमा सिक्नेछौं।