सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय नौ

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
  • हाम्रो समयमा कस्ता घटनाहरू हुनेछन्‌ भनी बाइबलमा भविष्यवाणी गरिएको थियो?

  • “अन्तको दिनमा” मानिसहरूको स्वभाव कस्तो हुनेछ?

  • “अन्तको दिनमा” कस्ता राम्रा कुराहरू पनि हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ?

१. भविष्यबारे हामी कसरी थाह पाउन सक्छौं?

टिभी हेरेपछि अथवा रेडियो सुनेपछि के तपाईंलाई यस्तो लागेको छ, ‘यो संसारमा के हुन लागेको होला?’ सोच्दै नसोचेको बेला अचानक दुःखदायी घटनाहरू हुन्छन्‌। भोलि के हुन्छ, कसैले भन्न सक्दैन। (याकूब ४:१४) तर भविष्यमा के हुन्छ, यहोवालाई थाह छ। (यशैया ४६:१०) उहाँले धेरैअघि आफ्नो वचन बाइबलमा हाम्रो समयमा हुने नराम्रा घटनाहरू अनि निकट भविष्यमा हुने राम्रा कुराहरूबारे बताउनुभएको थियो।

२, ३. येशूका चेलाहरूले उहाँलाई के सोधे र उहाँले कस्तो जवाफ दिनुभयो?

पृथ्वीमा छँदा येशू ख्रीष्टले परमेश्वरको राज्यबारे मानिसहरूलाई सुनाउनुभएको थियो। त्यही राज्यले सबै किसिमका खराब कुरा अनि दुष्ट मानिसहरूलाई हटाएर पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछ। (लूका ४:४३) परमेश्वरको राज्य कहिले आउनेछ भनेर मानिसहरू जान्न चाहन्छन्‌। येशूका चेलाहरू पनि त्यो कुरा जान्न चाहन्थे। त्यसैले तिनीहरूले उहाँलाई सोधे: “तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ती २४:३) येशूले यस युगको अन्त कुन बेला  हुनेछ, त्यो यहोवा परमेश्वरलाई मात्र थाह छ भन्नुभयो। (मत्ती २४:३६) अन्त कुन बेला हुनेछ, येशूले तोकेरै बताउनुभएन। तर मानिसजातिलाई चिरस्थायी शान्ति अनि सुरक्षा दिने परमेश्वरको राज्य सुरु हुनुअघि पृथ्वीमा हुने घटनाहरूबारे राम्ररी बताउनुभयो। उहाँले भविष्यवाणी गर्नुभएका कुराहरू अहिले भइरहेका छन्‌!

हामी “यस युगको आखिरी समय”-मा बाँचिरहेका छौं भन्ने प्रमाण केलाउनुअघि स्वर्गमा भएको एउटा लडाइँबारे छोटो कुरा गरौं। स्वर्गमा भएको यो लडाइँ कुनै मानिसले देखेन तर यस लडाइँको नतिजाले हामीलाई असर गर्छ।

स्वर्गमा लडाइँ

४, ५. (क) येशू राजा हुनेबित्तिकै स्वर्गमा के भयो? (ख) प्रकाश १२:१२ अनुसार स्वर्गमा लडाइँ भएपछि के हुन्छ?

सन्‌ १९१४ मा येशू ख्रीष्ट स्वर्गमा राजा हुनुभयो भनेर हामीले अघिल्लो अध्यायमा छलफल गरिसक्यौं। (दानियल ७:१३, १४) राजा हुनेबित्तिकै येशूले एउटा ठूलो कदम चाल्नुभयो। बाइबल यसो भन्छ: “स्वर्गमा लडाइँ भयो: माइकल [अर्थात्‌ येशू] र उनका स्वर्गदूतहरूले त्यस अजिङ्गरसित [अर्थात्‌ सैतानसित] अनि अजिङ्गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे।” * सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू हारे र तिनीहरूलाई स्वर्गबाट पृथ्वीमा फ्याँकियो। सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू फ्याँकिएकोले परमेश्वरका वफादार स्वर्गदूतहरू रमाए। तर मानिसहरूको लागि भने त्यो खुसीको कुरा थिएन। किनभने बाइबल यसो भन्छ: ‘पृथ्वीलाई धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।’—प्रकाश १२:७, ९, १२.

स्वर्गमा लडाइँ भएपछि के हुन्छ? सैतानले आफ्नो रिस पोखाउन पृथ्वीका मानिसहरूलाई दुःख दिन्छ। हामी अहिले त्यही  समयमा बाँचिरहेका छौं भनेर तपाईंले पछि बुझ्नुहुनेछ। तर सैतानको ‘समय थोरै’ भएकोले त्यसले सधैंभरि दुःख दिन पाउनेछैन। यो कुरा सैतानलाई पनि थाह छ। यस छोटो समयलाई बाइबलमा “अन्तको दिन” भनिएको छ। (२ तिमोथी ३:१) परमेश्वरले चाँडै पृथ्वीलाई सैतानको हातबाट छुटाउनुहुनेछ भनेर थाह पाउनु कति खुसीको कुरा! आउनुहोस्, बाइबलको भविष्यवाणीअनुसार अहिले भइरहेका केही घटना विचार गरौं। यी घटनाले हामी अन्तको दिनमा बाँचिरहेका छौं र परमेश्वरको राज्यले उहाँलाई प्रेम गर्नेजति सबैलाई चाँडै चिरस्थायी इनाम दिनेछ भनी देखाउँछ। आउनुहोस्, येशूले बताउनुभएको अन्तको दिनको चिन्हका चारवटा पक्ष केलाएर हेरौं।

अन्तको दिनमा हुने मुख्य घटनाहरू

६, ७. युद्ध र अनिकालबारे येशूका शब्दहरू आज कसरी पूरा भइरहेका छन्‌?

“जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्नेछ।” (मत्ती २४:७) बितेको सय वर्षभित्र लाखौं मानिस युद्धमा मारिएका छन्‌। बेलायतका एक जना इतिहासकारले यस्तो लेखे: “२० औं शताब्दी इतिहासकै सबैभन्दा रक्तपातपूर्ण शताब्दी थियो। . . . औंलामा भाँच्न मिल्ने दुई चारवटा युद्धविहीन अवस्थाबाहेक २० औं शताब्दीभरि कतै  न कतै युद्ध भइरह्यो।” विश्वघटना अध्ययन गर्ने एउटा सङ्गठनको रिपोर्टअनुसार “प्रथम शताब्दीदेखि १९ औं शताब्दीसम्मका युद्धहरूमा भन्दा २० औं शताब्दीका युद्धहरूमा तीन गुना धेरै मानिस मारिए।” सन्‌ १९१४ देखि यता दस करोडभन्दा धेरै मानिस युद्धमा मरिसके। एक जना प्रियजन गुमाउनुपर्दा त कति पीडा हुन्छ भने लाखौं मानिसले युद्धमा आफ्नो ज्यान गुमाउँदा झन्‌ कति धेरै पीडा हुन्छ होला, हामी कल्पनासमेत गर्न सक्दैनौं।

‘अनिकाल हुनेछ।’ (मत्ती २४:७) अनुसन्धानकर्ताअनुसार गत ३० वर्षभित्र अन्न उब्जनी धेरै बढेको छ। तैपनि खानेकुराको अभाव छ। थुप्रै मानिससित न खानेकुरा किन्न पैसा छ, न त खेत जोत्न जमिन। लाखौं मानिस भोकभोकै सुत्छन्‌। विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार वर्षेनी ५० लाखभन्दा धेरै बालबालिकाको मृत्यु हुने गर्छ र त्यसमध्ये धेरैजसो कुपोषणले गर्दा मर्छन्‌।

८, ९. भूकम्प र महामारीबारे येशूले गर्नुभएको भविष्यवाणी कसरी पूरा भइरहेको छ?

“ठूलठूला भूकम्प हुनेछ।” (लूका २१:११) अमेरिकी भौगर्भिक सर्वेक्षणअनुसार वर्षेनी १९ वटा ठूलठूला भूकम्प जान सक्छ। शक्तिशाली भूकम्पले गर्दा घरहरूमा ठूलो क्षति  पुग्नुका साथै जमिनमा धाँजा फाट्न सक्छ। भनौं भने घरलाई पूरै ध्वस्त पार्ने खालका ठूलठूला भूकम्पहरू वर्षेनी गइरहेका छन्‌। उपलब्ध रेकर्डअनुसार सन्‌ १९०० देखि यता भूकम्पले २० लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। एउटा समाचार स्रोतअनुसार “प्रविधिले जतिसुकै फड्को मारे तापनि मर्नेहरूको सङ्ख्यामा खासै कमी आएको छैन।”

“महामारी हुनेछ।” (लूका २१:११) चिकित्सा क्षेत्रमा भइरहेको ठूलो प्रगतिको बाबजुद पुराना अनि नयाँ रोगहरूले मानिसहरूलाई सताउन छोडेको छैन। एउटा रिपोर्टअनुसार गत केही दशकभित्र क्षयरोग, औलो, हैजाजस्ता २० वटा रोग झनै बढ्न थालेको छ। तीमध्ये कुनै-कुनै रोगलाई औषधीले समेत छुँदैन। कम्तीमा ३० वटा नयाँ रोग देखा परेका छन्‌। तीमध्ये कतिपयले ज्यानै लिन सक्छ अनि कतिको त उपचारसमेत छैन।

अन्तको दिनमा मानिसहरू कस्ता हुनेछन्‌?

१०. अन्तको दिनमा मानिसहरूको स्वभाव कस्तो हुनेछ?

१० अन्तको दिनमा मानिसहरूको स्वभावमा पनि ठूलो परिवर्तन आउनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। प्रेषित पावलले २ तिमोथी ३:१-५ मा “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भने।  धेरैजसो मानिसको स्वभाव कस्तो हुनेछ, त्यो पनि तिनले बताए। जस्तै:

  • आफैलाई मात्र प्रेम गर्ने

  • पैसालाई प्रेम गर्ने

  • आमाबाबुको आज्ञा पालन नगर्ने

  • कृतघ्न

  • स्वाभाविक स्नेह नभएका

  • असंयमित

  • निष्ठुर

  • परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने

  • परमेश्वरको भक्ति गरेको ढोंग गर्ने तर त्यसको शक्तिलाई भने इन्कार गर्ने

११. दुष्ट मानिसहरूलाई के हुन्छ भनेर भजन ९२:७ ले बताउँछ?

११ के तपाईंको वरपर यस्तै मानिसहरू छैनन्‌ र? खराब मानिसहरू जताततै छन्‌। त्यसैले परमेश्वरले अब चाँडै हस्तक्षेप गर्नुहुनेछ किनभने बाइबल यसो भन्छ: “जब दुष्टहरू घाँसझैं बढ्छन्‌, र सबै अधर्म गर्नेहरूको फलिफाप हुन्छ, यही कारणले हो, कि तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्‌।”—भजन ९२:७.

राम्रा कुराहरू!

१२, १३. “अन्तको समयमा” कसरी “साँचो ज्ञान” प्रशस्त भएको छ?

१२ बाइबलमा भविष्यवाणी गरिएझैं अन्तको दिन दुःखकष्टले भरिएको छ। तर  यस्तो समस्याग्रस्त संसारमा यहोवाका उपासकहरूमाझ भने राम्रा कुराहरू भइरहेको छ।

१३ “साँचो ज्ञान प्रशस्त हुनेछ।” यो भविष्यवाणी दानियल १२:४ (NW) मा पाइन्छ। त्यो कहिले पूरा हुनेछ? ‘अन्तको समयमा।’ यहोवाले उहाँको सेवा गर्न चाहने मानिसहरूलाई विशेष गरी सन्‌ १९१४ देखि बाइबलको कुरा राम्ररी बुझ्न मदत गरिरहनुभएको छ। तिनीहरूले परमेश्वरको नाम र उहाँको उद्देश्य, येशू ख्रीष्टको फिरौतीको बलिदान, मरिसकेका मानिसहरूको अवस्था र पुनर्जीवनबारे अझ राम्ररी बुझ्न सकेका छन्‌। यहोवाका उपासकहरूले उहाँको प्रशंसा हुने किसिमको जीवन बिताउन सिकेका छन्‌, जसले गर्दा तिनीहरूको आफ्नै हित भएको छ। तिनीहरूले परमेश्वरको राज्य र त्यसले पृथ्वीमा गर्ने असल कामबारे पनि अझ स्पष्टसँग बुझेका छन्‌। यस्तो ज्ञान पाएको हुनाले तिनीहरूले के गरिरहेका छन्‌? यस प्रश्नको जवाफको लागि अन्तको दिनमा पूरा भइरहेको अर्को भविष्यवाणीमा ध्यान देऔं।

“राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ती २४:१४

१४. परमेश्वरको राज्यको सुसमाचार आज कत्तिको व्यापक तवरमा प्रचार भइरहेको छ? यो काम कसले गरिरहेका छन्‌?

१४ ‘राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।’ यो कुरा येशू ख्रीष्टले “यस युगको आखिरी समय”-बारे भविष्यवाणी गर्दा बताउनुभएको थियो। (मत्ती २४:३, १४) परमेश्वरको राज्य, त्यसले गर्ने काम अनि मानिसहरूले पाउने आशिष्‌बारे अहिले २३५ भन्दा धेरै देशमा ६०० भन्दा धेरै भाषामा प्रचार भइरहेको छ। यहोवाका लाखौं साक्षीले जोसका साथ परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिरहेका छन्‌। तिनीहरू “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” छन्‌। (प्रकाश ७:९) बाइबलले वास्तवमा के सिकाउँछ भनी जान्न चाहने लाखौं मानिससित यहोवाका साक्षीहरूले निश्शुल्क गृह बाइबल अध्ययन गरिरहेका छन्‌। साँचो ख्रीष्टियनलाई ‘सबै मानिसहरूले घृणा गर्नेछन्‌’ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। तैपनि यति धेरै मानिसले सत्य सिक्नु साँच्चै उल्लेखनीय कुरा हो!—लूका २१:१७.

 तपाईं के गर्न चाहनुहुन्छ?

१५. (क) हामी अन्तको दिनमा बाँचिरहेका छौं भनेर के तपाईं विश्वास गर्नुहुन्छ? तपाईंले त्यस्तो विश्वास गर्नुको कारण के हो? (ख) यहोवाको विरोध गर्नेहरूका लागि अनि उहाँको राज्यको अधीनमा बस्नेहरूका लागि “अन्त”-को अर्थ के हुनेछ?

१५ बाइबलका थुप्रै भविष्यवाणी अहिले पूरा भइरहेको हुनाले हामी साँच्चै अन्तको दिनमा बाँचिरहेका छौं भन्न सकिन्छ। यहोवाले ‘बस् पुग्यो’ नभनुन्जेल प्रचारकार्य चलिरहनेछ अनि त्यसपछि “अन्त” हुनेछ। (मत्ती २४:१४) “अन्त” भनेको परमेश्वरले पृथ्वीबाट दुष्ट मानिसहरूलाई हटाउनुहुने समय हो। जानाजानी उहाँको विरोध गर्नेजति सबैलाई यहोवाले येशू अनि शक्तिशाली स्वर्गदूतहरू चलाएर नाश गर्नुहुनेछ। (२ थिस्सलोनिकी १:६-९) सैतान तथा त्यसका दूतहरूले मानिसहरूलाई फेरि बहकाउनेछैनन्‌। त्यसपछि परमेश्वरको राज्यको अधीनमा बस्न चाहनेहरूले प्रशस्त आशिष्‌ पाउनेछन्‌।—प्रकाश २०:१-३; २१:३-५.

१६. तपाईंले के गर्नुपर्छ?

१६ सैतानको संसारको अन्त नजिकै भएकोले आफूलाई यस्तो प्रश्न सोध्नुपर्छ, ‘त्यसोभए मैले के गर्नुपर्छ?’ यहोवा अनि उहाँको इच्छाबारे तपाईंले अहिले जस्तै सिकिरहनुपर्छ। (यूहन्ना १७:३) त्यसैले लगनशील भई बाइबलको अध्ययन गर्नुहोस्। यहोवाको इच्छाअनुसार चल्न चाहने मानिसहरूसित नियमित रूपमा सङ्गत गर्ने बानी बसाल्नुहोस्। (हिब्रू १०:२४, २५) यहोवा परमेश्वरले सबै मानिसलाई दिनुहुने प्रशस्त ज्ञान लिइरहनुहोस् अनि उहाँको अनुमोदन पाउन आफ्नो जीवन परिवर्तन गर्नुहोस्।—याकूब ४:८.

१७. दुष्टहरूको विनाश हुँदा किन थुप्रै मानिस जिल्ल पर्नेछन्‌?

१७ हामी अन्तको दिनमा बाँचिरहेका छौं भनेर धेरैले विश्वास गर्नेछैनन्‌ भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। तर मानिसहरूले आसै नगरेको समयमा दुष्टहरूको विनाश हुनेछ। मानिसले चिताउँदै नचिताएको समयमा राती चोर आएजस्तै यहोवाको दिन पनि आउनेछ। (१ थिस्सलोनिकी ५:२) येशूले यस्तो चेतावनी दिनुभयो: “नूहको दिन  जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ। किनकि ती दिनहरूमा नूह जलप्रलयअघि जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए, विवाह गर्दै अनि गराउँदै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्‌, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।”—मत्ती २४:३७-३९.

१८. येशूको कुन चेतावनीलाई हामीले हल्कासित लिनु हुँदैन?

१८ यसकारण येशूले यसो भन्नुभयो: “तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्, नत्रता त्यो दिन तिमीहरूमाथि अचानक पासोझैं आइपर्नेछ। किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र [परमेश्वरको अनुमोदन पाएर] मानिसको छोरासामु खडा हुन हर घडी उत्कट बिन्ती चढाउँदै जागा रहो।” (लूका २१:३४-३६) येशूको यस कुरालाई हामीले हल्कासित लिनु हुँदैन। किन? किनभने यहोवा परमेश्वर र “मानिसको छोरा” येशू ख्रीष्टको अनुग्रह पाउने मानिसहरू सैतानको दुष्ट युगको विनाश हुँदा बच्नेछन्‌। अनि तिनीहरूले मात्र चाँडै स्थापना हुने नयाँ पृथ्वीमा सधैंभरि बाँच्ने मौका पाउनेछन्‌।—यूहन्ना ३:१६; २ पत्रुस ३:१३.

^ अनु. 4 येशू ख्रीष्टको अर्को नाम माइकलबारे थप जानकारीको लागि पृष्ठ २१८-२१९ हेर्नुहोस्।