सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय एघार

परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न?

परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न?
  • के परमेश्वरले गर्दा दुःखकष्ट भएको हो?

  • अदनको बगैंचामा कस्तो विवाद उठ्यो?

  • परमेश्वरले दुःखकष्ट कसरी हटाउनुहुनेछ?

१, २. मानिसहरूले कस्ता दुःखकष्ट भोगिरहेका छन्‌? यसले गर्दा धेरैको मनमा कस्तो प्रश्न उठ्छ?

एउटा देशमा हजारौं स्त्री तथा केटाकेटीले युद्धको चपेटामा परेर आफ्नो ज्यान गुमाए। मानिसहरूले तिनीहरू सबैलाई एउटै चिहानमा गाडे अनि त्यसको वरिपरि साना क्रस ठड्याए। ती प्रत्येक क्रसमा यस्तो लेखिएको थियो: “किन?” युद्ध, प्राकृतिक प्रकोप, रोग अथवा अपराधले गर्दा प्रियजनको मृत्यु हुँदा, आफू घरबारविहीन हुँदा वा अन्य कारणले असह्य दुःख भोग्नुपर्दा मानिसहरू अक्सर ‘मलाई नै किन यत्रो दुःख?’ भनेर बिलौना गर्छन्‌। तिनीहरू आफूमाथि त्यस्तो दुःख आइपर्नुको कारण बुझ्न चाहन्छन्‌।

परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न? यहोवा परमेश्वर सबैभन्दा शक्तिशाली, मायालु, बुद्धिमान्‌ र न्यायी हुनुहुन्छ भने किन यतिबिघ्न घृणा र अन्याय छ त? के तपाईंको मनमा पनि यस्तै प्रश्न उठेका छन्‌?

३, ४. (क) परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न भनेर सोध्नु गलत होइन भनी कुन कुराले देखाउँछ? (ख) पृथ्वीमा भइरहेका खराब काम र दुःखकष्ट परमेश्वरलाई कस्तो लाग्छ?

परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न भनी सोध्नु के गलत हो? त्यस्तो प्रश्न सोध्दा परमेश्वरमाथि विश्वास नगरेको अथवा उहाँको अनादर पो गरिरहेको हुन्छु कि भनेर कोही-कोही चिन्ता गर्छन्‌। तर बाइबल पढ्नुभयो भने परमेश्वरको भय मान्ने वफादार मानिसहरूले पनि यस्तै प्रश्नहरू सोधेका थिए  भनी थाह पाउनुहुनेछ। उदाहरणको लागि, भविष्यवक्ता हबकूकले यहोवालाई यस्तो प्रश्न गरे: “तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ? नाश र उपद्रव मेरै सामने भइरहेको छ। झगडा र विवाद बढ्दै जाँदैछन्‌।”—हबकूक १:३.

यहोवाले सबै किसिमको पीडा अन्त गर्नुहुनेछ

के यहोवाले हबकूकलाई हप्काउनुभयो? अहँ, हप्काउनुभएन। बरु हबकूकले असल मनसायले सोधेको त्यो प्रश्न परमेश्वरले बाइबलमा समावेश गर्नुभयो। परमेश्वरले तिनलाई यो विषय अझ राम्ररी बुझ्न र तिनको विश्वास बलियो बनाउन मदत गर्नुभयो। यहोवा तपाईंलाई पनि त्यसरी नै मदत गर्न चाहनुहुन्छ। ‘उहाँले तपाईंको ख्याल राख्नुहुन्छ’ भनेर नबिर्सनुहोस्। (१ पत्रुस ५:७) पृथ्वीमा भइरहेका खराब काम अनि यसले गर्दा हुने दुःखकष्टलाई परमेश्वरले मानिसले भन्दा अझ धेरै घृणा गर्नुहुन्छ। (यशैया ५५:८, ९) त्यसोभए संसारमा किन यतिबिघ्न दुःखकष्ट छ त?

किन यतिबिघ्न दुःखकष्ट?

५. दुःखकष्ट आइपर्दा कसै-कसैले के भन्ने गर्छन्‌? तर बाइबलले के सिकाउँछ?

यतिबिघ्न दुःखकष्ट हुनुको कारण के हो भनेर मानिसहरूले आफ्ना धर्मगुरुहरूलाई सोध्छन्‌। तर तिनीहरूले अक्सर ‘यो सब दैवको लीला हो,’ ‘दुःखसुख भनेको त भाग्यको कुरा हो’ भन्ने जवाफ दिन्छन्‌। हामीले  मानिसहरूले यस्तो भन्ने गरेको सुन्दै आएका छौं: ‘दैवको लीला अपरम्पार छ। के बूढो, के केटाकेटी, दैवले जसलाई चिताउँछ, उसलाई आफूकहाँ स्वर्ग लैजान्छ।’ तर यहोवा परमेश्वरले कहिल्यै अरूलाई चोट पुऱ्याउनुहुन्न भनेर तपाईंले सिकिसक्नुभयो। बाइबल भन्छ: “परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न र सर्वशक्तिमान्‌ले कहिल्यै छल गर्नुहुन्न।”—अय्यूब ३४:१०.

६. मानिसहरू किन परमेश्वरलाई दोष दिन्छन्‌?

त्यसोभए मानिसहरू किन परमेश्वरलाई दोष दिन्छन्‌? किनभने तिनीहरू परमेश्वर नै यस संसारको वास्तविक शासक हुनुहुन्छ भन्ठान्छन्‌। तर वास्तवमा यस संसारको शासक सैतान हो भनेर तपाईंले अध्याय ३ मा सिकिसक्नुभयो। दुःखको कुरा, धेरैजसो मानिसलाई बाइबलले सिकाउने यो महत्त्वपूर्ण सत्य थाह छैन।

७, ८. (क) दुःखकष्ट हुनुको पहिलो कारण के हो? (ख) दुःखकष्ट हुनुको दोस्रो अनि तेस्रो कारण के हो?

बाइबलले खुलस्तै यसो भनेको छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ यूहन्ना ५:१९) के तपाईंलाई दुःखकष्ट बढ्नुको कारण यही हो जस्तो लाग्दैन र? “सारा संसारलाई ठग्ने” त्यस दुष्ट सैतानलाई कसैले नदेखे तापनि वास्तवमा हामी बाँचिरहेको संसारले त्यसकै दुर्गुणको नकल गरिरहेको छ। (प्रकाश १२:९) सैतान छली अनि क्रूर छ; त्यसले अरूको भलो चिताउँदैन। त्यसैले त्यसको हातमा परेको संसार पनि छल, क्रूरता अनि घृणाले भरिएको छ। यतिबिघ्न दुःखकष्ट हुनुको एउटा कारण यही हो।

दुःखकष्ट हुनुको दोस्रो कारण हो, मानिसको त्रुटिपूर्ण अवस्था। अदनको बगैंचामा परमेश्वरको विरोध गरेर मानिसहरूले पाप गरे भनेर हामीले अध्याय ३ मा सिकिसक्यौं। पापी अनि त्रुटिपूर्ण भएकोले मानिसहरू अरूमाथि आफ्नो हैकम जमाउन लडिरहन्छन्‌, जसले गर्दा संसारमा युद्ध, अत्याचार र दुःखकष्ट बढेको छ। (उपदेशक ४:१; ८:९) दुःखकष्टको तेस्रो कारण “समय र अवसर” हो। (उपदेशक ९:११) संयोगवश हामी कुनै पनि बेला दुर्घटनामा पर्न सक्छौं। जुन संसारमा यहोवाको शासन चल्दैन, त्यहाँ उहाँको सुरक्षा हुँदैन। त्यसैले गलत समयमा गलत ठाउँमा पुग्दा हामी दुःखकष्टको सिकार हुन्छौं।

९. यहोवाले दुःखकष्ट नहटाउनुमा किन जायज कारण हुनुपर्छ?

 परमेश्वरले गर्दा दुःखकष्ट भएको होइन भनी थाह पाउँदा हाम्रो मन हलुका हुन्छ। अहिले पृथ्वीमा भइरहेको युद्ध, अपराध, अत्याचार अनि भनौं भने प्राकृतिक प्रकोपको लागि समेत परमेश्वरलाई जिम्मेवार ठहराउन मिल्दैन। तैपनि यहोवाले यी सबै दुःखकष्ट किन हटाउनुहुन्न भनी थाह पाउनु जरुरी छ। सर्वशक्तिमान्‌ हुनुभएकोले उहाँसित पक्कै पनि सबै दुःखकष्ट हटाउने शक्ति छ। त्यसोभए उहाँले किन आफ्नो शक्ति प्रयोग गर्नुभएको छैन त? यहोवा मायालु परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँले आफ्नो शक्ति प्रयोग नगर्नुमा पक्कै पनि जायज कारण हुनुपर्छ।—१ यूहन्ना ४:८.

एउटा महत्त्वपूर्ण विवाद

१०. सैतानले यहोवालाई के दोष लगायो?

१० परमेश्वरले दुःखकष्ट नहटाउनुको कारण के हो भनी बुझ्न दुःखकष्ट कहाँबाट सुरु भयो, त्यो विचार गरौं। सैतानले आदम र हव्वालाई यहोवाको आज्ञा उल्लङ्घन गर्न लगाउँदा एउटा महत्त्वपूर्ण प्रश्न खडा भयो। सैतानले यहोवाको शक्तिमाथि प्रश्न खडा गरेन। उहाँसित असीमित शक्ति छ भनी सैतानलाई थाह थियो। बरु त्यसले यहोवाको शासन गर्ने अधिकारमाथि औंला उठायो। यहोवा असल शासक हुनुहुन्न किनकि उहाँ झूट बोल्नुहुन्छ अनि कहिल्यै आफ्ना जनहरूको भलाइ चिताउनुहुन्न भनेर सैतानले ठाडै दोष लगायो। (उत्पत्ति ३:२-५) मानिसजातिलाई परमेश्वरको शासन चाहिंदैन भनेर सैतानले भन्न खोज्दै थियो। यसरी सैतानले यहोवाको सार्वभौमिकता अर्थात्‌ उहाँको शासन गर्ने अधिकारमाथि सीधै आक्रमण गऱ्यो।

११. यहोवाले विद्रोहीहरूलाई किन तुरुन्तै नाश गर्नुभएन?

११ आदम र हव्वाले यहोवाको विरोध गरे। तिनीहरूले वास्तवमा यसो भनिरहेका थिए: ‘हामीलाई यहोवा चाहिंदैन। के असल, के खराब हामी आफै निर्णय गर्न सक्छौं।’ यहोवाले यो विवाद कसरी सुल्झाउनु हुने थियो? विद्रोहीहरूको कुरा गलत हो अनि उहाँ नै सही हुनुहुन्छ भनी आफ्ना सबै बुद्धिमान्‌ सृष्टिलाई कसरी चित्तबुझ्दो जवाफ दिनुहुने थियो? यहोवाले उत्तिखेरै  सबै विद्रोहीलाई नाश गरेर नयाँ सुरुवात गर्नुपर्ने थियो भनी कसै-कसैले भन्लान्‌। तर यदि उहाँले त्यसो गर्नुभएको भए आदम र हव्वाको सन्तानले पृथ्वी भर्ने अनि तिनीहरूलाई सुन्दर बगैंचामा राख्ने उहाँको उद्देश्य पूरा हुने थिएन। (उत्पत्ति १:२८) यहोवाले आफ्नो उद्देश्य पक्कै पूरा गर्नुहुन्छ। (यशैया ५५:१०, ११) यसबाहेक अदनको बगैंचामा विद्रोहीहरूलाई नाश गरेको भए यहोवाको शासन गर्ने अधिकारमाथि उठेको विवाद सुल्झने थिएन।

१२, १३. यहोवाले किन सैतानलाई यस संसारको शासक हुन दिनुभयो र मानिसहरूलाई पनि किन आफूखुसी शासन गर्ने मौका दिनुभयो? उदाहरणसहित बताउनुहोस्।

१२ एउटा उदाहरण विचार गरौं। एक जना शिक्षक आफ्ना विद्यार्थीहरूलाई गणितको एउटा गाह्रो हिसाब कसरी हल गर्ने भनेर सिकाउँदै छ। एक जना चलाख तर विद्रोही स्वभावको विद्यार्थीले शिक्षकको तरिका मिलेन भन्छ। अर्को शब्दमा भन्ने हो भने तिनले ‘शिक्षकलाई हिसाब गर्न आउँदैन बरु म नै शिक्षकभन्दा पोख्त छु’ भनिरहेको छ। केही विद्यार्थीले उसको कुरा पत्याउँछ र उसैको ‘हो मा हो’ थप्न थाल्छ। यस्तो बेला शिक्षकले के गर्नुपर्छ? मानिलिनुहोस्, त्यस शिक्षकले सबै विद्रोहीलाई कक्षाबाट बाहिर निकाले। त्यतिखेर बाँकी अरू विद्यार्थीहरूले के सोच्लान्‌? के तिनीहरूलाई शिक्षकलाई  चुनौती दिने साथी अनि उसको पछि लाग्नेहरूको कुरा पो कतै ठीक हो कि भन्ने शङ्का लाग्दैन र? आफ्नो इज्जत गुम्ने भयो अथवा आफ्नो गल्ती फेला परिने भयो भन्ने डरले गर्दा शिक्षकले तिनीहरूलाई बाहिर निकाले भनेर के अरू विद्यार्थीहरूले सोच्दैनन्‌ होला? तर खुसीको कुरा यस शिक्षकले त्यसो गर्दैन। तिनले त्यस विद्रोही विद्यार्थीलाई सबै साथीको अगाडि हिसाब गरेर देखाउन लगाउँछ।

के यो विद्यार्थी शिक्षकभन्दा पोख्त छ?

१३ यहोवाले पनि ती शिक्षकले जस्तै गर्नुभयो। अदनको बगैंचामा उठेको विवादमा सैतान, आदम अनि हव्वा मात्र मुछिएका थिएनन्‌। लाखौं स्वर्गदूतले पनि हेरिरहेका थिए। (अय्यूब ३८:७; दानियल ७:१०) यहोवाले विवाद सुल्झाउन जे गर्नुहुने थियो, त्यसले ती स्वर्गदूतहरू अनि पछि गएर सबै बौद्धिक सृष्टिलाई असर गर्ने थियो। त्यसोभए यहोवाले के गर्नुभयो? उहाँले सैतानलाई मानिसजातिमाथि शासन गर्ने मौका दिनुभयो। मानिसहरूले पनि सैतानको इसारामा चलेर आफूलाई जस्तो किसिमको शासन चलाउन मन लाग्छ, त्यस्तै चलाऊन्‌ भनेर यहोवाले मौका दिनुभयो।

१४. मानिसलाई आफूखुसी गर्न दिने यहोवाको निर्णयबाट कुन कुरा प्रस्ट हुनेछ?

१४ ती शिक्षकलाई त्यस विद्रोही र त्यसको पछि लाग्ने विद्यार्थीहरू गलत छन्‌ भनी थाह छ। तर तिनीहरूलाई आफ्नो कुरा प्रमाणित गर्ने मौका दिंदा पूरै कक्षाको हित हुनेछ भनेर पनि ती शिक्षकलाई थाह छ। विद्रोहीहरू गलत साबित भएपछि ठीकसित सिकाउन सक्ने व्यक्ति ती शिक्षक नै हुन्‌ भनेर सबै आज्ञाकारी विद्यार्थीले बुझ्नेछन्‌। त्यसपछि शिक्षकले कुनै पनि विद्रोहीलाई कक्षाबाट निकाल्यो भने कसैले कुनै प्रश्न उठाउनेछैन। त्यसैगरि सैतान अनि त्यसलाई साथ दिने विद्रोहीहरू असफल भएको र मानिसहरूले आफूलाई सही बाटोमा हिंडाउन नसकेको देखेपछि आज्ञाकारी मानिस तथा स्वर्गदूतहरूलाई सही कदम चाल्न मदत पुग्नेछ भनी यहोवालाई थाह छ। प्राचीन समयका यर्मियाले जस्तै तिनीहरूले यो महत्त्वपूर्ण सत्य बुझ्नेछन्‌: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.

 किन यति लामो समय?

१५, १६. (क) यहोवाले किन यति लामो समयसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ? (ख) यहोवाले किन जघन्य अपराधजस्ता कुराहरू हुनदेखि रोक्नुभएको छैन?

१५ तर यहोवाले यत्तिको लामो समयसम्म दुःखकष्ट रहिरहन दिनु आवश्यक थियो र? खराब कुराहरू हुँदा उहाँले किन त्यसलाई रोक्नुहुन्न? एकछिन ती शिक्षकले कुन दुइटा गरेनन्‌, सो विचार गरौं। पहिलो, शिक्षकले विद्रोही विद्यार्थीलाई उसैको तरिकाले हिसाब गर्नदेखि रोकेनन्‌। दोस्रो, तिनले हिसाब गर्न विद्रोही विद्यार्थीलाई मदत गरेनन्‌। त्यसैगरि यहोवाले कुन दुइटा कुरा गर्नुभएन? पहिलो, उहाँले सैतान अनि त्यसको पछि लाग्नेजति सबैलाई आफ्नो कुरा सही प्रमाणित गर्नदेखि रोक्नुभएको छैन। यसको लागि समय दिनु आवश्यक थियो। हजारौं वर्षको दौडान मानिसहरूले अनेक किसिमका सरकार चलाएर हेरिसकेका छन्‌। मानिसहरूले विज्ञान तथा अन्य क्षेत्रमा प्रगति गरेका छन्‌ तर अन्याय, गरिबी, अपराध र युद्ध भने कम गर्न सकेको छैनन्‌। मानव शासनको असफलता प्रस्टै देखिन्छ।

१६ दोस्रो, यहोवाले सैतानलाई शासन गर्न मदत गर्नुभएको छैन। परमेश्वरले जघन्य अपराधहरू हुनदेखि रोक्नुभयो भने के उहाँले विद्रोहीहरूलाई तिनीहरूको कुरा सही साबित गर्न सघाइरहनुभएको हुने थिएन र? मानिसको शासनले गर्दा भइरहेको अन्याय, गरिबी, अपराध र युद्धलाई परमेश्वरले रोक्नुभयो भने के तिनीहरूलाई आफ्नो शासन राम्रो छ भन्ने लाग्दैन र? परमेश्वरले हस्तक्षेप गर्नु तिनीहरूको झूटको साझेदार हुनु बराबर हो। तर “परमेश्वरले झूट बोल्न असम्भव” छ।—हिब्रू ६:१८.

१७, १८. मानिसको शासन र सैतानले गर्दा भएको सबै हानिलाई परमेश्वरले के गर्नुहुनेछ?

१७ तर सैतान र मानिसले गरेको विद्रोहले गर्दा अदनको बगैंचादेखि अहिलेसम्म भएका सबै हानिबारे चाहिं के भन्न सकिन्छ? यहोवा सर्वशक्तिमान्‌ हुनुहुन्छ। त्यसकारण उहाँले सबै दुःखकष्ट हटाउन सक्नुहुन्छ। सैतान र त्यसका समर्थकहरूले गर्दा अहिलेसम्म जे-जति क्षति पुगेको छ, त्यसलाई सपारेर उहाँले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनुहुनेछ। पापले गर्दा हामीमाथि परेको असरलाई उहाँले येशूको फिरौतीको बलिदानको  आधारमा मेटाउनुहुनेछ। मरिसकेका मानिसहरूलाई फेरि जीवित पारेर उहाँले हामीलाई मृत्युको दासत्वबाट पनि मुक्त गर्नुहुनेछ। यसरी परमेश्वरले येशूलाई चलाएर “दियाबलका कामहरू नष्ट” गर्नुहुनेछ। (१ यूहन्ना ३:८) यहोवाले उचित समयमा यी सबै काम गर्नुहुनेछ। यदि उहाँले पहिल्यै हस्तक्षेप गर्नुभएको भए सायद उहाँलाई चिन्ने मौका नै पाउने थिएनौं। उहाँले धैर्य धारण गर्नुभएकोले हामीले सत्य सिक्ने अनि उहाँको सेवा गर्ने सुअवसर पाएका छौं। (२ पत्रुस ३:९, १०) परमेश्वर अहिले जोडतोडले निष्कपट मानिसहरू खोज्दै हुनुहुन्छ अनि समस्याग्रस्त संसारमा आइपर्ने दुःखकष्ट सहन तिनीहरूलाई मदत गर्दै हुनुहुन्छ।—यूहन्ना ४:२३; १ कोरिन्थी १०:१३.

१८ तर कसै-कसैले यस्तो विचार गर्लान्‌, ‘यदि आदम र हव्वालाई विद्रोह नै गर्न नसक्नेगरि सृष्टि गर्नुभएको भए हामीले अहिले यस्तो दुःखकष्ट भोग्नुपर्ने थियो र?’ यस प्रश्नको जवाफ पाउन यहोवाले तपाईंलाई दिनुभएको एउटा अमूल्य उपहारलाई बिर्सनु हुँदैन।

परमेश्वरले दिनुभएको उपहार तपाईं कसरी चलाउनुहुनेछ?

परमेश्वरले तपाईंलाई दुःखकष्ट सहन मदत गर्नुहुनेछ

१९. यहोवाले हामीलाई कस्तो अमूल्य उपहार दिनुभएको छ र हामीले किन यसको मोल गर्नुपर्छ?

१९ परमेश्वरले मानिस सृष्टि गर्दा आफ्नो इच्छाअनुसार रोज्ने अथवा निर्णय गर्ने क्षमता पनि दिनुभएको थियो भनेर हामीले अध्याय ५ मा सिकिसक्यौं। यो क्षमता कत्ति अमूल्य छ भनेर के तपाईंले बुझ्नुभएको छ? परमेश्वरले असङ्ख्य पशुप्राणी सृष्टि गर्नुभयो तर तिनीहरूमध्ये कसैलाई सही र गलत छुट्याउन सक्ने क्षमता दिनुभएको छैन। परमेश्वरले हामीलाई पनि ती पशुप्राणीजस्तै बनाउनुभएको भए के हामी खुसी हुने थियौं र? हामीले आफू कस्तो मानिस हुने, कस्तो जीवन बिताउने, कस्ता  साथीहरू बनाउनेजस्ता विषयमा आफ्नो इच्छाअनुसार रोज्ने स्वतन्त्रता पाएका छौं। हामी स्वतन्त्रता चाहन्छौं र परमेश्वर पनि हामीले स्वतन्त्रता पाएको चाहनुहुन्छ।

२०, २१. आफ्नो इच्छाअनुसार निर्णय गर्ने क्षमतालाई हामी कसरी ठीकसित प्रयोग गर्न सक्छौं? हामीले किन त्यसो गर्नुपर्छ?

२० करबलले गरेको सेवा यहोवालाई मन पर्दैन। (२ कोरिन्थी ९:७) उदाहरणको लागि, आमाबाबुलाई आफ्नो छोराछोरीले कुन बेला धन्यवाद भनेको मन पर्छ? छोराछोरीले मनैदेखि भन्दा वा जबरजस्ती करमा परेर भन्दा? त्यसैगरि आफ्नो इच्छाअनुसार रोज्ने अथवा निर्णय गर्ने क्षमतालाई तपाईं कसरी प्रयोग गर्नुहुन्छ, यहोवा त्यसमा चासो लिनुहुन्छ। सैतान, आदम र हव्वाले आफ्नो क्षमता सही काममा लगाएनन्‌। तिनीहरूले यहोवा परमेश्वरलाई तिरस्कार गर्न रोजे। तपाईं के गर्न चाहनुहुन्छ?

२१ तपाईंसित पनि आफ्नो इच्छाअनुसार निर्णय गर्ने क्षमता छ अनि त्यसको उचित प्रयोग गर्ने मौका पनि पाउनुभएको छ। यहोवाको पक्ष लिने लाखौं मानिसको समूहमा तपाईं पनि सामेल हुन सक्नुहुन्छ। यहोवा यी मानिसहरूसित खुसी हुनुहुन्छ किनभने तिनीहरूले उहाँको पक्ष लिएर सैतान झूटो हो अनि त्यो शासक हुन लायकको छैन भनेर साबित गरिरहेका छन्‌। (हितोपदेश २७:११) सही मार्ग रोजेर तपाईं पनि परमेश्वरलाई खुसी बनाउन सक्नुहुन्छ। यसबारे अर्को अध्यायमा हामी अझ राम्ररी सिक्नेछौं।