सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय तेह्र

जीवनप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्नुहोस्

जीवनप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्नुहोस्
  • परमेश्वर जीवनलाई कत्तिको मूल्यवान्‌ ठान्नुहुन्छ?

  • गर्भपतनलाई परमेश्वर कस्तो ठान्नुहुन्छ?

  • जीवनको आदर गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

१. सबै जीवित थोक कसले सृष्टि गर्नुभयो?

यहोवा “साँचो परमेश्वर हुनुहुन्छ, उहाँ जीवित परमेश्वर” हुनुहुन्छ भनी भविष्यवक्ता यर्मियाले लेखे। (यर्मिया १०:१०) सबै जीवित थोकका सृष्टिकर्ता पनि यहोवा नै हुनुहुन्छ। स्वर्गदूतहरूले यसो भन्दै यहोवाको महिमा गरे: “तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” (प्रकाश ४:११) त्यसैगरि राजा दाऊदले उहाँको प्रशंसा गर्दै यस्तो गीत गाए: “जीवनको मूल तपाईंसँग छ।” (भजन ३६:९) त्यसैले हामी यसो भन्न सक्छौं: जीवन परमेश्वरले दिनुभएको उपहार हो।

२. हाम्रो जीवन धान्न परमेश्वरले के-के दिनुभएको छ?

यहोवाले हामीलाई जीवन धान्न चाहिने सबै कुरा दिनुभएको छ। (प्रेषित १७:२८) उहाँले हामीलाई खानेकुरा, पिउने पानी र बस्नको लागि पृथ्वी दिनुभएको छ। (प्रेषित १४:१५-१७) हाम्रो जीवन राम्रो होस् भनेर यहोवाले यी सबै थोकको प्रबन्ध मिलाउनुभएको हो। तर जीवनको पूरा आनन्द उठाउन हामीले परमेश्वरले तोक्नुभएको नियम सिक्नुका साथै पालन गर्नुपर्छ।—यशैया ४८:१७, १८.

जीवनको आदर गर्नुहोस्

३. हाबिलको हत्यालाई परमेश्वरले कुन दृष्टिकोणले हेर्नुभयो?

हामीले आफ्नो अनि अरूको जीवनको आदर गरेको यहोवा चाहनुहुन्छ। उदाहरणको लागि, आदम र हव्वाको छोरा कयिनलाई लिनुहोस्। तिनी  आफ्नो भाइ हाबिलसित असाध्यै रिसाएको बेला यहोवाले तिनलाई सचेत गराउनुभयो। तिनले आफ्नो रिस थामेनन्‌ भने त्यसले गम्भीर पाप गर्न लगाउन सक्छ भनेर उहाँले चेतावनी दिनुभयो। तर कयिनले यहोवाको कुरा सुनेन। तिनले ‘आफ्नो भाइ हाबिललाई मारे।’ (उत्पत्ति ४:३-८) त्यसैले यहोवाले कयिनलाई सजाय दिनुभयो।—उत्पत्ति ४:९-११.

४. मानिसहरूले जीवनप्रति सही दृष्टिकोण राखून्‌ भनेर परमेश्वरले कुन नियम दिनुभयो?

लगभग २,४०० वर्षपछि यहोवाले इस्राएलीहरूलाई विभिन्न नियम दिनुभयो। इस्राएलीहरूले ती नियम पालन गरेको उहाँ चाहनुहुन्थ्यो। उहाँले भविष्यवक्ता मोशामार्फत ती नियम दिनुभएकोले यसलाई मोशाको व्यवस्था पनि भनिन्छ। मोशाको व्यवस्थामा दिइएको एउटा नियम यस्तो थियो: “तैंले हत्या नगर्नू।” (व्यवस्था ५:१७) यसबाट परमेश्वरले मानिसहरूको जीवनको मोल गर्नुहुन्छ अनि तिनीहरूले पनि अरूको जीवनको मोल गर्नुपर्छ भनेर इस्राएलीहरूले बुझ्न सके।

५. हामीले गर्भपतनप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

गर्भमा रहेको बच्चाको जीवनबारे के भन्न सकिन्छ? प्रस्थान २१:२२, २३ (NW) यसो भन्छ: “यदि पुरुषहरू आपसमा झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई चोट लाग्यो र महिना नपुगीकनै बच्चा जन्मियो . . . तर यदि ज्यान गयो भने ज्यानको सट्टा ज्यान दिनुपर्छ।” यसबाट स्पष्ट हुन्छ, आमाको गर्भमा रहेको बच्चालाई समेत यहोवा बहुमूल्य ठान्नुहुन्छ। (भजन १२७:३) त्यसैले गर्भपतन गर्नु गलत हो।

६. हामीले अरू मानिसलाई किन घृणा गर्नु हुँदैन?

जीवनको आदर गर्नुमा अरू मानिसप्रति सही दृष्टिकोण राख्नु पनि समावेश छ। बाइबल यसो भन्छ: “हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन भनेर तिमीहरूलाई थाहै छ।” (१ यूहन्ना ३:१५) अनन्त जीवन चाहन्छौं भने हामीले घृणालाई आफ्नो मनबाट जरैसमेत उखाल्नुपर्छ किनभने हिंसाको जड नै अक्सर घृणा हो। (१ यूहन्ना ३:११, १२) हामीले एकअर्कालाई प्रेम गर्न सिक्नुपर्छ।

७. कस्तो बानी हुने मानिसले जीवनको आदर गर्दैन?

 आफ्नो ज्यानको आदर गर्नेबारे चाहिं के भन्न सकिन्छ? कोही पनि मर्न चाहँदैन तर कसै-कसैले आनन्दको लागि आफ्नो ज्यान जोखिममा पार्छन्‌। उदाहरणका लागि, थुप्रैले धूम्रपान गर्छन्‌, पान-सुपारी खान्छन्‌ वा लागूपदार्थ सेवन गर्छन्‌। यस्ता तत्त्वहरूले शरीरलाई हानि पुऱ्याउँछ र ज्यानसमेत लिन सक्छ। यस्तो कुलतमा लाग्ने मानिसले जीवनलाई पवित्र ठान्दैन। यस्ता कुलतहरू परमेश्वरको नजरमा अशुद्ध हुन्‌। (रोमी ६:१९; १२:१; २ कोरिन्थी ७:१) परमेश्वरले हाम्रो सेवा स्वीकार्नुभएको चाहन्छौं भने त्यस्ता कुलतहरू त्याग्नुपर्छ। त्यसो गर्न गाह्रो हुन सक्छ तर यहोवाले हामीलाई आवश्यक बल दिनुहुनेछ। हामीले आफ्नो जीवनलाई उहाँले दिनुभएको बहुमूल्य उपहार ठानेर त्यसको मोल गर्न सिक्यौं भने उहाँले हाम्रो कदर गर्नुहुनेछ।

८. हामीले किन आफ्नो अनि अरूको सुरक्षामा ध्यान दिनुपर्छ?

जीवनको आदर गर्ने मानिसले आफ्नो अनि अरूको जिउज्यानको सुरक्षामा ध्यान दिन्छ। त्यस्तो मानिसले कुनै पनि काम गर्दा लापरबाही गर्दैन अनि केवल रमाइलोको लागि खतरा मोल्दैन। जथाभाबी गाडी वा मोटरसाइकल हाँक्दैन अनि हिंस्रक वा ज्यान जान सक्ने खेलमा पनि भाग लिंदैन। (भजन ११:५) प्राचीन समयमा इस्राएलीहरूलाई यस्तो नियम दिइएको थियो: “नयाँ घरको छतमा चारैतिर बार लगाओ, र त्यहाँबाट कोही मान्छे लोट्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछैन।” (व्यवस्था २२:८) यस नियममा लुकेको सिद्धान्तलाई मनमा राख्दै हामीले आफ्नो घरको राम्ररी मर्मत-सम्भार गर्नुपर्छ। जस्तै, भऱ्याङको राम्रो मर्मत-सम्भार गरिएको छैन भने चिप्लेर वा अल्झेर लड्न सक्छ। त्यसैगरि गाडी वा मोटरसाइकल छ भने त्यसलाई पनि राम्रो अवस्थामा राख्नुहोस्। घर, गाडी वा मोटरसाइकलजस्ता निजी सम्पत्ति आफू र अरूको लागि खतराको कारण हुनु हुँदैन।

९. सिकार खेल्ने अथवा जनावरको मासु खानेबारे यहोवाको दृष्टिकोण कस्तो छ?

सिकार खेल्ने अथवा जनावरको मासु खानेबारे यहोवाको दृष्टिकोण कस्तो छ? पशुप्राणीको जीवनलाई पनि उहाँ पवित्र ठान्नुहुन्छ। भोजनका लागि अथवा वस्त्र बनाउनका लागि जनावरको सिकार गर्नु, आफ्नो अनि परिवारको ज्यान खतरामा पर्दा जनावरको ज्यान लिनु परमेश्वरको नजरमा जायज छ। (उत्पत्ति ३:२१; ९:३; प्रस्थान २१:२८) तर जनावरलाई दुर्व्यवहार  गर्नु वा मनोरञ्जनको लागि सिकार खेल्नु गलत हो र यसले जीवनको पवित्रताको बिलकुलै आदर गर्दैन।—हितोपदेश १२:१०.

रगतको आदर

१०. जीवन र रगतबीचको सम्बन्ध परमेश्वरले कसरी प्रस्ट पार्नुभयो?

१० कयिनले आफ्नो भाइ हाबिलको हत्या गरेपछि यहोवाले यसो भन्नुभयो: “तेरो भाइको रगतले भूमिबाट मलाई दुहाइ दिइरहेछ।” (उत्पत्ति ४:१०) यस पदमा हाबिलको रगत भनिए तापनि वास्तवमा परमेश्वरले उसको जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो। हाबिलको रगत अर्थात्‌ जीवनले यहोवासित चिच्याइ-चिच्याइ न्याय मागिरहेको थियो। हाबिलको ज्यान लिएको हुँदा कयिनले सजाय पाउने थिए। नूहको दिनको जलप्रलयपछि यहोवाले जीवन र रगतबीचको सम्बन्ध स्पष्ट पार्नुभयो। जलप्रलय हुनुअघि मानिसहरू फलफूल, सागसब्जी, अन्न इत्यादि खान्थे। तर जलप्रलयपछि यहोवाले नूह र तिनका छोराहरूलाई यसो भन्नुभयो: “जीवित-जीवात्‌ सबै तिमीहरूका आहारका निम्ति हुनेछन्‌। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैं सबै थोक म तिमीहरूलाई दिन्छु।” साथै उनीहरूले खान नहुने कुरा पनि परमेश्वरले यसरी बताउनुभयो: “मासु त्यसको प्राणसमेत, अर्थात्‌ रगतसमेत नखाओ।” (उत्पत्ति १:२९; ९:३, ४) यसबाट प्रस्ट हुन्छ, यहोवाको नजरमा जीवन र रगतबीच गहिरो सम्बन्ध छ।

११. रगत के गर्नु हुँदैनथ्यो?

११ हामी रगत खाँदैनौं किनभने हामी रगतको आदर गर्छौं। यहोवाले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभयो: “जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्छ, त्यसले त्यसको सबै रगत निथारेर धूलोले पूरिदेओस्। . . . कुनै जीवधारीको रगत तिमीहरूले नखानू . . . भनी मैले इस्राएलीहरूलाई भनेको छु।” (लेवी १७:१३, १४) जीवजन्तुको रगत नखानू भनी परमेश्वरले नूहलाई झन्डै ८०० वर्षअघि दिनुभएको आज्ञा अझै खारेज भइसकेको थिएन। यहोवाको आज्ञा स्पष्ट थियो: उहाँका सेवकहरूले जनावरको मासु खान सक्थे तर रगतचाहिं खान हुँदैनथ्यो। तिनीहरूले रगत सबै निथारेर धूलोले पुरिदिनुपर्थ्यो। यसो गर्नु जनावरको जीवन परमेश्वरलाई फिर्ता गर्नुसरह थियो।

१२. प्रथम शताब्दीमा पवित्र शक्तिले रगतसम्बन्धी कुन आज्ञा दियो? के यो आज्ञा अहिले पनि लागू हुन्छ?

 १२ त्यस्तै आज्ञा ख्रीष्टियनहरूलाई पनि दिइएको छ। प्रथम शताब्दीमा ख्रीष्टियन मण्डलीका सबै सदस्यले कुन-कुन आज्ञा पालन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्न प्रेषित तथा अरू जिम्मेवार पुरुषहरू एक साथ भेला भए। तिनीहरू यस्तो निष्कर्षमा पुगे: “यी आवश्यक कुराहरूबाहेक अरू थप बोझ तपाईंहरूलाई नबोकाउन पवित्र शक्ति र हामीलाई उचित लाग्यो: मूर्तिलाई बलि चढाइएका थोकहरू, रगत, गला अँठ्याएर मारेको जनावरको [शरीरबाट रगत बगेर बाहिर नजाने भएकोले त्यसको] मासु र अवैध यौनसम्बन्धबाट सधैं अलग रहनूहोस्।” (प्रेषित १५:२८, २९; २१:२५) हामी पनि ‘रगतबाट सधैं अलग’ रहनुपर्छ किनभने यो आज्ञा अहिले पनि लागू हुन्छ। परमेश्वरको नजरमा रगतबाट अलग रहनु भनेको मूर्तिपूजा अनि अवैध यौनसम्बन्धबाट अलग रहनु जत्तिकै गम्भीर कुरा हो।

डाक्टरले रक्सी नपिउनू भनेका छन्‌ भने के तपाईं नसाबाट लिनुहुन्छ?

१३. हामी किन रगत लिंदैनौं, उदाहरणसहित बताउनुहोस्।

१३ दुर्घटना हुँदा, शल्यक्रिया गर्नुपर्दा अथवा अरू कुनै उपचार गर्नुपर्दा डाक्टरले रगत लिनुपर्छ भन्यो भने हामीले त्यतिबेला पनि रगत लिनु हुँदैन। किन? मानिलिनुहोस्, डाक्टरले तपाईंलाई जाँडरक्सी नपिउनू भनेको छ। के यसको मतलब मुखबाट नलिए तापनि नसाबाट भने लिए हुन्छ भनेको हो? कदापि होइन! त्यसैगरि रगतबाट अलग रहनुको अर्थ चाहे मुखबाट होस् वा नसाबाट, कुनै पनि तरिकामा रगत नलिनु हो। त्यसैले रगतबाट अलग रहनु भन्ने आज्ञा पालन गर्दै हामी आफ्नो शरीरमा कसैको रगत हाल्दैनौं।

१४, १५. डाक्टरले रगत लिनै पर्छ भन्यो भने ख्रीष्टियनहरूले के गर्नुपर्छ? किन?

१४ रगत लिएन भने ज्यानै जान सक्छ भनेर डाक्टरले भन्यो भने के गर्ने? हामी पक्कै पनि मर्न चाहँदैनौं। हामी परमेश्वरले दिनुभएको बहुमूल्य जीवन बचाउन चाहन्छौं। त्यसैले यस्तो बेला हामीले रगतको दुरुपयोग नहुने उपचार खोज्नुपर्छ। हामीले रगतको सट्टामा दिन मिल्ने झोल औषधी अथवा रगत प्रयोग गर्न नपर्ने अरू किसिमको उपचार खोज्नुपर्छ।

१५ त्यस्तो औषधी अथवा उपचार छँदै छैन भने के गर्ने नि? के ख्रीष्टियनहरूले यस युगमा अलिकति लामो समय बाँच्न परमेश्वरको नियम  उल्लङ्घन गर्छन्‌? येशूले यसो भन्नुभयो: “जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो पाउनेछ।” (मत्ती १६:२५) हामी मर्न चाहँदैनौं। तर परमेश्वरको नियम उल्लङ्घन गरेर आफ्नो जीवन बचाउने कोसिस गऱ्यौं भने हामीले अनन्त जीवन गुमाउन सक्छौं। परमेश्वरको आज्ञा पालन गर्ने अडान लिंदा हामीले आफ्नो ज्यान पनि गुमाउन सक्छौं। तर हामी मऱ्यौं भने पनि हाम्रो जीवनदाताले हामीलाई फेरि जीवित पार्नुहुनेछ। हामीले फेरि जीवनको आनन्द उठाउन सक्नेछौं।—यूहन्ना ५:२८, २९; हिब्रू ११:६.

१६. परमेश्वरका सेवकहरूले के गर्ने दृढ सङ्कल्प गरेका छन्‌?

१६ आज, परमेश्वरका वफादार सेवकहरूले रगतको विषयमा परमेश्वरले दिनुभएको निर्देशन पालन गर्ने दृढ सङ्कल्प गरेका छन्‌। तिनीहरूले कुनै पनि हालतमा रगत खाँदैनन्‌। उपचारको लागि तिनीहरू रगत लिंदैनन्‌। * के गर्दा मानिसको हित हुन्छ, रगत सृष्टि गर्नुहुने परमेश्वरलाई राम्ररी थाह छ। के तपाईं यो कुरा विश्वास गर्नुहुन्छ?

रगतको एक मात्र उचित प्रयोग

१७. रगतको एक मात्र उचित प्रयोग के थियो?

१७ मोशाको व्यवस्थाले रगतको एक मात्र उचित प्रयोगलाई जोड दिन्छ। प्राचीन इस्राएलीहरूले चढाउनुपर्ने उपासनाको सन्दर्भमा यहोवाले यस्तो  आज्ञा दिनुभयो: “जीवधारीको प्राण [अर्थात्‌ जीवन] त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्‍चित गर्नलाई दिएको छु, किनभने . . . रगतद्वारा प्रायश्‍चित गरिन्छ।” (लेवी १७:११) इस्राएलीहरूले आफ्नो पापको क्षमा पाउन पशुबलि चढाएर वेदीमा रगत चढाउनुपर्थ्यो। यो नै रगतको एक मात्र उचित प्रयोग थियो।

१८. येशूले बगाउनुभएको रगतबाट हामीले कस्ता लाभ पाउन सक्छौं?

१८ साँचो ख्रीष्टियनहरू अहिले मोशाको व्यवस्थाको अधीनमा छैनन्‌। त्यसैले पशुबलि दिंदैनन्‌ र वेदीमा रगत पनि चढाउँदैनन्‌। (हिब्रू १०:१) प्राचीन इस्राएलमा वेदीमा चढाइने रगत, परमेश्वरको छोरा येशू ख्रीष्टको अमूल्य बलिदानको प्रतीक थियो। येशूले आफ्नो रगत बलिदानको रूपमा बगाएर हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो भनी हामीले अध्याय ५ मा सिकिसक्यौं। स्वर्ग गएपछि उहाँले एकै खेपमा सधैंभरिका लागि आफ्नो रगतको मोल परमेश्वरलाई चढाउनुभयो। (हिब्रू ९:११, १२) प्राचीन समयका  इस्राएलीहरूले जस्तै येशूले बारम्बार रगत चढाउनु आवश्यक थिएन। उहाँले चढाउनुभएको रगतको आधारमा हामीले आफ्ना पापहरूको क्षमा अनि अनन्त जीवनको आशा पायौं। (मत्ती २०:२८; यूहन्ना ३:१६) त्यसैले येशू ख्रीष्टको अमूल्य रगत हाम्रो निम्ति धेरै महत्त्वपूर्ण छ। (१ पत्रुस १:१८, १९) येशूले बगाउनुभएको रगतको आधारमा मात्र हामीले उद्धार पाउन सक्छौं।

तपाईं कसरी जीवन र रगतको आदर गर्नुहुन्छ?

१९. ‘सबै मानिसहरूको रगतबाट निर्दोष हुन’ हामीले के गर्नुपर्छ?

१९ यहोवा परमेश्वरले हामीलाई जीवन उपहारस्वरूप दिनुभयो। त्यसैले हामी मनैदेखि उहाँलाई धन्यवाद भन्छौं। येशूको बलिदानमा विश्वास गऱ्यौं भने अनन्त जीवन पाउन सकिन्छ भनेर पनि हामीले थाह पायौं। के हामीले यस्तो राम्रो कुरा अरूलाई बताउनुपर्दैन? परमेश्वरजस्तै हामी पनि अरू मानिसको जीवनको मोल गर्छौं भने जोसिलो भएर यी राम्रा कुराहरू अरूलाई बताउन उत्सुक हुन्छौं। (इजकिएल ३:१७-२१) हामी तनमनले अरूलाई यहोवाको कुरा सुनाऔं। त्यसो गऱ्यौं भने प्रेषित पावलजस्तै हामी पनि यसो भन्न सक्नेछौं: “सबै मानिसहरूको रगतबाट म निर्दोष छु . . . किनकि तपाईंहरूलाई परमेश्वरको उद्देश्यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैन।” (प्रेषित २०:२६, २७) परमेश्वर अनि उहाँका उद्देश्यहरूबारे मानिसहरूलाई बताउनु हामी आफ्नो अनि अरूको जीवन र रगतलाई मूल्यवान्‌ ठान्छौं भनी देखाउने धेरै राम्रो तरिका हो।

^ अनु. 16 रगत नदिई गरिने उपचारबारे यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्!, अप्रिल ८, २०००, पृष्ठ ३-११ हेर्नुहोस्।