सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय चौध

परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?

परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
  • असल पति कसरी बन्न सकिन्छ?

  • असल पत्नी कसरी बन्न सकिन्छ?

  • असल आमाबाबु कसरी बन्न सकिन्छ?

  • छोराछोरीले आमाबाबुलाई कसरी खुसी बनाउन सक्छन्‌?

१. परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?

यहोवा परमेश्वर तपाईंको परिवार सुखी भएको चाहनुहुन्छ। त्यसैले आफ्नो वचन बाइबलमा परिवारको प्रत्येक सदस्यले के गर्नुपर्छ, उहाँले बताउनुभएको छ। प्रत्येक सदस्यले परमेश्वरको सल्लाह लागू गर्दा परिवारमा खुसी छाउँछ। येशूले यसो भन्नुभयो: “धन्य त तिनीहरू हुन्‌, जसले परमेश्वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लूका ११:२८.

२. पारिवारिक जीवनलाई सुखी बनाउन हामीले कुन कुरा मानिलिनुपर्छ?

सुखी पारिवारिक जीवन बिताउन यहोवा परिवारको सुरुवातकर्ता हुनुहुन्छ भनेर मानिलिनुपर्छ। येशूले उहाँलाई “हाम्रा बुबा” भन्नुभयो। (मत्ती ६:९) परिवारको सुरुवातकर्ता हुनुभएकोले परिवारलाई सुखी बनाउन के गर्नुपर्छ, त्यो उहाँलाई राम्ररी थाह छ। (एफिसी ३:१४, १५) त्यसोभए प्रत्येक सदस्यको भूमिकाबारे बाइबल के बताउँछ?

परमेश्वरले परिवारको सुरुवात गर्नुभयो

३. मानव परिवारको सुरुवात कसले गर्नुभयो? यो कुरा साँचो हो भनेर हामी किन भन्न सक्छौं?

यहोवाले आदम र हव्वालाई सृष्टि गरेपछि तिनीहरूको विवाह गराइदिनुभयो। उहाँले तिनीहरूलाई अदनको बगैंचामा राख्नुभयो र सन्तान जन्माउने  आज्ञा दिनुभयो। यहोवाले यसो भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” (उत्पत्ति १:२६-२८; २:१८, २१-२४) यो कुनै दन्त्यकथा होइन किनभने परिवारको सुरुवातबारे उत्पत्तिको किताबमा दिइएको विवरणबारे येशूले पनि कुरा गर्नुभयो। (मत्ती १९:४, ५) अहिले हामीले परमेश्वरको मूल उद्देश्यअनुसार जीवन बिताउन सकिरहेका छैनौं। हाम्रा थुप्रै समस्या पनि छन्‌। तैपनि हाम्रो पारिवारिक जीवन सुखी हुन सक्छ। कसरी?

४. (क) परिवारलाई सुखी बनाउन प्रत्येक सदस्यले के गर्नुपर्छ? (ख) पारिवारिक जीवनलाई सुखमय बनाउन किन येशूको देखासिकी गर्नुपर्छ?

परमेश्वरले गर्नुभएजस्तै प्रत्येक सदस्यले एकअर्कालाई प्रेम गरे भने परिवार सुखी हुन्छ। (एफिसी ५:१, २) हामी परमेश्वरलाई देख्न सक्दैनौं। त्यसोभए हामी कसरी परमेश्वरको देखासिकी गर्न सक्छौं? यहोवाले आफ्नो जेठो छोरा येशूलाई पृथ्वीमा पठाउनुभयो। त्यसकारण यहोवाले कस्तो व्यवहार गर्नुहुन्छ, त्यो येशूलाई हेरेर सिक्न सक्छौं। (यूहन्ना १:१४, १८) पृथ्वीमा छँदा येशू ख्रीष्टले आफ्नो बुबा यहोवाको हुबहु नकल गर्नुभयो। येशूलाई हेर्नु अनि सुन्नु भनेको यहोवालाई हेर्नु अनि सुन्नुजत्तिकै थियो। (यूहन्ना १४:९) त्यसकारण येशूले कसरी प्रेम गर्नुभयो, त्यो बुझ्यौं अनि उहाँको देखासिकी गऱ्यौं भने हामीले आफ्नो परिवारलाई सुखी बनाउन मदत गरिरहेका हुन्छौं।

पतिको लागि उदाहरण

५, ६. (क) येशूले मण्डलीसित गर्नुभएको व्यवहार किन पतिको लागि उदाहरण हो? (ख) क्षमा पाउन के गर्नुपर्छ?

येशूले चेलाहरूसित जस्तो व्यवहार गर्नुभयो, पतिले पनि पत्नीसित त्यस्तै व्यवहार गर्नुपर्छ भनी बाइबल बताउँछ। बाइबल यस्तो सल्लाह दिन्छ: “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो, . . . त्यसैगरि, पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ, किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन, बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ, जसरी ख्रीष्टले पनि मण्डलीलाई गर्नुहुन्छ।”एफिसी ५:२३, २५-२९.

 येशूले चेलाहरूलाई गर्नुभएको प्रेम पतिहरूको लागि उत्कृष्ट उदाहरण हो। चेलाहरू त्रुटिपूर्ण भए तापनि उहाँले आफ्नो जीवन अर्पण गरेर तिनीहरूलाई “अन्तसम्मै प्रेम गरिरहनुभयो।” (यूहन्ना १३:१; १५:१३) त्यसैगरि पतिहरूलाई यस्तो सल्लाह दिइएको छ: “पत्नीलाई प्रेम गरिरहो अनि तिनीसित रिसले चूर नहोओ।” (कलस्सी ३:१९) कहिलेकाहीं पत्नीले विचार नपुऱ्याई काम गर्दा वा बोल्दा पतिले यो सल्लाह लागू गर्नुपर्छ। तर कसरी? आफूबाट पनि गल्ती हुन्छ भनेर तिनले बिर्सनु हुँदैन। साथै परमेश्वरको क्षमा पाउन तिनले पनि पत्नीलाई क्षमा गर्नुपर्छ भन्ने कुरा सम्झनुपर्छ। पत्नीले पनि गल्ती गर्ने पतिलाई क्षमा गर्नुपर्छ। (मत्ती ६:१२, १४, १५) यही कारणले गर्दा मानिसहरू सफल विवाह भनेको एकअर्कालाई क्षमा गर्ने दुई व्यक्तिको मिलन हो भन्छन्‌।

७. येशूले कुन कुरालाई ध्यान दिनुभयो? पतिले कसरी उहाँको देखासिकी गर्न सक्छ?

येशूले चेलाहरूको सधैं ख्याल राख्नुहुन्थ्यो भनेर पनि पतिहरूले मनमा राख्नुपर्छ। उहाँले तिनीहरूको सीमितता र शारीरिक आवश्यकतालाई ध्यान दिनुभयो। उदाहरणको लागि, तिनीहरू थाकेको बेला उहाँले यसो भन्नुभयो: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र अलिकति आराम गर।” (मर्कूस ६:३०-३२) त्यसैगरि पतिले पनि पत्नीको ख्याल राख्नुपर्छ। बाइबलले पत्नीलाई “कोमल पात्र” भनेको छ अनि आफ्नी पत्नीको ‘आदर गर्नू’ भनेर पतिलाई आदेश दिएको छ। किन? किनभने पति-पत्नी दुवै “परमेश्वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू” हुन्‌। (१ पत्रुस ३:७) पुरुष वा स्त्री भएको आधारमा होइन, तर विश्वासयोग्य छ कि छैन, त्यसको आधारमा परमेश्वरले बहुमूल्य ठान्नुहुन्छ भनेर पतिले बिर्सनु हुँदैन।—भजन १०१:६.

८. (क)‘आफूलाई प्रेम गर्ने’ पतिले पत्नीलाई के गर्छ? (ख) पति र पत्नी “एउटै शरीर हुन्‌” भन्नुको अर्थ के हो?

‘आफूलाई प्रेम गर्ने’ पतिले ‘आफ्नी पत्नीलाई प्रेम गर्छ’ भनी बाइबल बताउँछ। येशूले भन्नुभएझैं पति र पत्नी “दुई होइनन्‌ तर एउटै शरीर हुन्‌।” (मत्ती १९:६) यसकारण तिनीहरूले आफ्नो पति वा पत्नीबाहेक अरू कसैसित यौनसम्बन्ध राख्नु हुँदैन। (हितोपदेश ५:१५-२१; हिब्रू १३:४) तिनीहरूले एकअर्काको यौन आवश्यकतामा निःस्वार्थ चासो लिनुपर्छ। (१ कोरिन्थी ७:३-५)  बाइबल यसो भन्छ: “कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन, बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ।” आफ्नो शिर येशू ख्रीष्टलाई लेखा दिनुपर्छ भन्ने कुरा सधैं सम्झेर पतिले आफ्नी पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ।—एफिसी ५:२९; १ कोरिन्थी ११:३.

९. फिलिप्पी १:८ मा येशूको कुन गुणबारे बताइएको छ? पतिले किन यो गुण देखाउनुपर्छ?

प्रेषित पावलले ख्रीष्ट येशूको ‘कोमल स्नेहबारे’ चर्चा गरे। (फिलिप्पी १:८) येशूको कोमल स्नेहले स्त्रीहरूको मन छुन्थ्यो। (यूहन्ना २०:१, ११-१३, १६) पत्नीहरू आफ्नो पतिले आफूलाई कोमल स्नेह देखाएको चाहन्छन्‌।

पत्नीको लागि उदाहरण

१०. पत्नीहरूका लागि येशू किन राम्रो उदाहरण हुनुहुन्छ?

१० राम्ररी परिवार चलाउन पतिले नेतृत्व लिनुपर्छ र शिरको भूमिका पूरा गर्नुपर्छ। येशूको पनि शिर हुनुहुन्छ र उहाँ त्यस शिरको अधीनमा बस्नुहुन्छ। “स्त्रीको शिर पुरुष” भएझैं “ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) येशूले परमेश्वरको अधीनमा बसेर राम्रो उदाहरण बसाल्नुभयो। त्यसैले हामी पनि आ-आफ्नो शिरको अधीनमा बस्नुपर्छ।

११. पत्नीको स्वभाव कस्तो हुनुपर्छ? पत्नीको राम्रो चालचलनले पतिलाई कसरी असर गर्छ?

११ त्रुटिपूर्ण भएकोले पतिहरूबाट पनि गल्ती हुन्छ र उदाहरणीय शिरमा हुनुपर्ने गुण तिनमा नहुन सक्छ। त्यतिबेला पत्नीले के गर्नुपर्छ? पतिलाई होच्याउनु हुँदैन र पतिको ठाउँ लिन खोज्नु हुँदैन। परमेश्वरले शान्त अनि नम्र स्वभावको धेरै कदर गर्नुहुन्छ भनेर पत्नीले बिर्सनु हुँदैन। (१ पत्रुस ३:४) त्यस्तो स्वभाव छ भने कठिन परिस्थितिमा समेत पतिको अधीनमा बस्न गाह्रो हुँदैन। बाइबल यसो भन्छ: “पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्।” (एफिसी ५:३३) तर पतिले ख्रीष्टलाई आफ्नो शिर मान्दैन भने के गर्ने? पत्नीहरूलाई यस्तो सल्लाह दिइएको छ: “आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्;  तिमीहरूको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनीहरू परमेश्वरको वचन पालन गर्ने होऊन्‌।”—१ पत्रुस ३:१, २.

१२. पत्नीले आदरपूर्वक आफ्नो राय व्यक्त गर्नु किन गलत होइन?

१२ कुनै-कुनै कुरामा पत्नीको राय पतिको भन्दा फरक हुन सक्छ। त्यस्तो बेला पत्नीले आदरपूर्वक आफ्नो राय व्यक्त गर्न सक्छिन्‌। तिनको पति यहोवाका उपासक होइनन्‌ भने पनि यसरी आफ्नो राय व्यक्त गर्दा तिनले पतिको अनादर गरिरहेकी हुँदिनन्‌। पत्नीको विचार सही हुन सक्छ र तिनको कुराले गर्दा पूरै परिवारको फाइदा हुन सक्छ। एक चोटि साराले आफ्नो पति अब्राहामलाई एउटा घरायसी समस्या सुल्झाउन व्यावहारिक सुझाव दिइन्‌। अब्राहामलाई त्यो चित्त बुझेन तर परमेश्वरले उनलाई यसो भन्नुभयो: “साराले तँलाई जसो भन्छे सोही बमोजिम गर्।” (उत्पत्ति २१:९-१२) तर पतिले गरेको निर्णय परमेश्वरको नियमसित बाझिंदैन भने पत्नीले त्यसलाई स्वीकारेर पतिको अधीनमा बस्नुपर्छ।—प्रेषित ५:२९; एफिसी ५:२४.

पत्नीहरूका लागि साराले कस्तो राम्रो उदाहरण बसालिन्‌?

१३. (क) तीतस २:४, ५ ले विवाहित स्त्रीहरूलाई के सल्लाह दिन्छ? (ख) छुट्टिएर बस्ने र सम्बन्धविच्छेदबारे बाइबल के भन्छ?

१३ परिवारको हेरचाह गर्न पत्नीले विभिन्न भूमिका निर्वाह गर्नुपर्छ। उदाहरणको लागि, बाइबलले विवाहित स्त्रीलाई “आ-आफ्नो पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, सुझबुझ चलाउन, पवित्र रहन, राम्ररी घर चलाउन, असल बन्न अनि आ-आफ्नो पतिको अधीनमा बस्न” सल्लाह दिन्छ। (तीतस २:४, ५) यस्तो व्यवहार गर्ने पत्नी र आमाले परिवारबाट सधैं प्रेम र आदर पाउँछिन्‌। (हितोपदेश ३१:१०, २८) विवाह भनेको दुई जना त्रुटिपूर्ण व्यक्तिको मिलन हो। त्यसले गर्दा कहिलेकाहीं गम्भीर समस्या देखा पर्न सक्छ। कुनै-कुनै गम्भीर परिस्थितिले गर्दा छुट्टिएर बस्नुपर्ने वा सम्बन्धविच्छेद गर्नुपर्ने पनि हुन सक्छ। कुनै-कुनै परिस्थितिमा बाइबलले छुट्टिएर बस्ने अनुमति दिन्छ। तर छुट्टिएर बस्ने कुरालाई हल्कासित लिनु हुँदैन किनभने बाइबल यस्तो सल्लाह दिन्छ: “पत्नी आफ्नो पतिबाट अलग नहोस्। . . . पतिले पनि आफ्नी पत्नीलाई त्याग्नुहुँदैन।” (१ कोरिन्थी ७:१०, ११) पति वा पत्नीले अवैध यौनसम्बन्ध राखेको खण्डमा मात्र बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ।—मत्ती १९:९.

 आमाबाबुको लागि उत्कृष्ट उदाहरण

१४. येशूले केटाकेटीसित कस्तो व्यवहार गर्नुभयो? आमाबाबुले छोराछोरीलाई के दिनुपर्छ?

१४ येशूले आमाबाबुको लागि पनि उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँले साना केटाकेटीसित गर्नुभएको व्यवहारबाट आमाबाबुले धेरै कुरा सिक्न सक्छन्‌। चेलाहरूले केटाकेटीलाई येशूकहाँ जान रोक्न खोज्दा उहाँले यसो भन्नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज।” त्यसपछि “उहाँले ती केटाकेटीहरूलाई आफ्नो अँगालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌ दिन थाल्नुभयो।” (मर्कूस १०:१३-१६) येशूले साना केटाकेटीका लागि समय निकाल्नुभयो। के आमाबाबुले पनि आफ्ना छोराछोरीका निम्ति त्यसै गर्नुपर्दैन र? आमाबाबुले कहिलेकाहीं आकलझुक्कल समय दिएर पुग्दैन। आफ्ना छोराछोरीसित प्रशस्त समय सँगै बिताउनुपर्छ। तिनीहरूलाई समय लगाएर सिकाउनुपर्छ किनभने यहोवाले आमाबाबुलाई त्यसै गर्ने आज्ञा दिनुभएको छ।—व्यवस्था ६:४-९.

१५. छोराछोरीलाई जोगाउन आमाबाबुले के गर्नुपर्छ?

१५ संसार झन्‌झनै खराब हुँदै गइरहेको छ। कसै-कसैले आफ्नो यौन तृष्णा मेट्न साना केटाकेटीलाई आफ्नो सिकार बनाउँछन्‌। आमाबाबुले आफ्ना छोराछोरीलाई त्यस्ता खतरनाक मानिसहरूबाट जोगाउनुपर्छ। येशूले आफ्ना चेलाहरूलाई माया गरेर “साना केटाकेटी” भन्नुभयो अनि तिनीहरूलाई  जोगाउनुभयो। सिपाहीहरू येशूलाई पक्रन आउँदा उहाँले चेलाहरूलाई बचाउनुभयो। (यूहन्ना १३:३३; १८:७-९) आफ्ना साना छोराछोरीलाई जोगाउन आमाबाबु सतर्क हुनुपर्छ किनभने सैतानले तिनीहरूलाई हानि पुऱ्याउने दुष्प्रयास गर्छ। तपाईंले तिनीहरूलाई सैतानका युक्तिहरूबारे पहिल्यै सावधान गराउनुपर्छ। * (१ पत्रुस ५:८) साना केटाकेटीहरू शारीरिक, आध्यात्मिक अनि नैतिक तवरमा अहिलेजति असुरक्षित पहिला कहिल्यै थिएनन्‌।

येशूले केटाकेटीसित गर्नुभएको व्यवहारबाट आमाबाबुले के सिक्न सक्छन्‌?

१६. येशूले कसरी आफ्ना चेलाहरूलाई सच्याउनुभयो? आमाबाबुले आफ्नो छोराछोरीलाई कसरी सुधार्नुपर्छ?

१६ येशूको मृत्यु हुनुभन्दा अघिल्लो रात उहाँका चेलाहरूबीच आफूहरूमध्ये  सबैभन्दा ठूलो को हो भनेर चर्को बहस चलेको थियो। त्यस्तो बेलामा पनि तिनीहरूसित रिसाउनुको सट्टा येशूले आफ्नो बोली र व्यवहारद्वारा तिनीहरूलाई सम्झाउनुभयो। (लूका २२:२४-२७; यूहन्ना १३:३-८) छोराछोरीले गल्ती गर्दा आमाबाबुले येशूको अनुकरण गरेर तिनीहरूलाई सच्याउनुपर्छ। गल्ती गर्ने केटाकेटीलाई सुधार्नुपर्छ तर आमाबाबुले दिने सुधार ‘ठीक नापको’ हुनुपर्छ। केटाकेटीलाई रिसको झोंकमा कहिल्यै सुधार्नु हुँदैन। सोचविचार नगरी बोलेको बोलीले ‘तीखो तरवारले झैं’ घोच्छ। (यर्मिया ३०:११; हितोपदेश १२:१८) केटाकेटीको गल्ती सुधार्न सजाय दिनुपर्दा तिनले आफूले के गल्ती गरे अनि त्यो गल्ती किन सजाय पाउन लायकको छ, त्यो बुझेको हुनुपर्छ। —एफिसी ६:४; हिब्रू १२:९-११.

छोराछोरीको लागि उदाहरण

१७. केटाकेटीले कसरी येशूको देखासिकी गर्न सक्छन्‌?

१७ छोराछोरीले पनि येशूको देखासिकी गर्न सक्छन्‌। केटाकेटीले आफ्नो आमाबाबुको कुरा मान्नुपर्छ भनेर येशूले राम्रो उदाहरण बसाल्नुभयो। उहाँले भन्नुभयो: “बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु।” उहाँले अझै यसो भन्नुभयो: “म सधैं उहाँलाई मनपर्ने कामहरू गर्छु।” (यूहन्ना ८:२८, २९) येशूले आफ्नो बुबा यहोवाको आज्ञा पालन गर्नुभयो। छोराछोरीले पनि त्यसैगरि आफ्नो आमाबाबुको आज्ञा पालन गर्नुपर्छ भनेर बाइबल भन्छ। (एफिसी ६:१-३) येशू त्रुटिरहित हुनुहुन्थ्यो। तैपनि पृथ्वीमा छँदा आफ्नो त्रुटिपूर्ण आमाबाबु यूसुफ र मरियमको आज्ञा पालन गर्नुभयो। उहाँको यस्तो राम्रो बानीले गर्दा पूरै परिवार आनन्दित हुन सक्यो!—लूका २:४, ५, ५१, ५२.

१८. येशूले किन आफ्नो बुबा यहोवाको आज्ञा सधैं पालन गर्नुभयो? छोराछोरीले आज्ञा पालन गर्दा क-कसलाई खुसी लाग्छ?

१८ येशूजस्तै आज्ञाकारी भएर केटाकेटीहरूले आफ्ना आमाबाबुलाई खुसी बनाउन सक्छन्‌। आमाबाबुको आज्ञा पालन गर्न कहिलेकाहीं गाह्रो हुन सक्छ। तैपनि केटाकेटीले आफ्नो आमाबाबुको आज्ञा पालन गरेको परमेश्वर चाहनुहुन्छ। (हितोपदेश १:८; ६:२०) येशूले गाह्रो बेलामा समेत आफ्नो बुबा यहोवाको आज्ञा पालन गर्नुभयो। यहोवाले अह्राउनुभएको असाध्यै गाह्रो काम गर्नुपर्दा येशूले एक चोटि यसो भन्नुभयो: “यो कचौरा [अर्थात्‌ एउटा खास काम] मेरो सामुन्नेबाट हटाइदिनुहोस्।” यसो भन्नुभए तापनि येशूले आफूलाई  अह्राइएको काम पूरा गर्नुभयो। किनभने के गर्दा बेस हुन्छ, त्यो बुबालाई थाह छ भनेर उहाँले बुझ्नुभएको थियो। (लूका २२:४२) चाहे गाह्रो होस् वा सजिलो, सधैं आज्ञा पालन गरेर छोराछोरीले आफ्ना आमाबाबु र स्वर्गमा बस्नुहुने बुबा यहोवालाई खुसी बनाउन सक्छन्‌। *हितोपदेश २३:२२-२५.

गलत काम गर्ने दबाब आउँदा केटाकेटीले के सोच्नुपर्छ?

१९. (क) सैतानले केटाकेटीलाई गलत काममा फसाउन के गर्छ? (ख) छोराछोरीले नराम्रो काम गर्दा आमाबाबुलाई कस्तो लाग्छ?

१९ सैतानले येशूलाई त लोभ देखाएर फसाउन खोज्यो भने के त्यसले साना केटाकेटीलाई बाँकी छोड्ला र? (मत्ती ४:१-१०) गलत काममा फसाउन सैतानले चलाउने एउटा तरिका साथीहरूको दबाब हो र यससित लड्न गाह्रो हुन सक्छ। त्यसकारण केटाकेटीहरू खराब सङ्गतबाट अलग रहनु आवश्यक छ! (१ कोरिन्थी १५:३३) याकूबकी छोरी दीनाले यहोवाको उपासना नगर्ने मानिसहरूसित सङ्गत गरिन्‌ र यसले ठूलो समस्या निम्त्यायो। (उत्पत्ति ३४:१, २) खराब सङ्गतमा परेर छोरा वा छोरीले अवैध यौनसम्बन्ध राख्यो भने पूरै परिवारलाई कत्ति गहिरो चोट पुग्छ, हामी कल्पना पनि गर्न सक्दैनौं।—हितोपदेश १७:२१, २५.

पारिवारिक आनन्दको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा

२०. परिवारलाई सुखी बनाउन प्रत्येक सदस्यले के गर्नुपर्छ?

२० बाइबलको सल्लाह लागू गर्दा पारिवारिक समस्यासित लड्न सजिलो  हुन्छ। त्यस्तो सल्लाह लागू गर्दा परिवार आनन्दित हुन्छ। त्यसैले पतिहरू हो, आफ्नी पत्नीलाई प्रेम गर्नुहोस् र येशूले मण्डलीसित जस्तो व्यवहार गर्नुभयो, पत्नीसित त्यस्तै व्यवहार गर्नुहोस्। पत्नीहरू हो, आफ्नो पतिलाई शिर मानेर तिनको अधीनमा बस्नुहोस् र हितोपदेश ३१:१०-३१ मा व्याख्या गरिएको सुयोग्य पत्नीको देखासिकी गर्नुहोस्। आमाबाबु हो, आफ्ना छोराछोरीलाई तालिम दिनुहोस्। (हितोपदेश २२:६) बुबाहरू हो, ‘आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुहोस्।’ (१ तिमोथी ३:४, ५; ५:८) अनि छोराछोरी हो, आमाबाबुको आज्ञा पालन गर्नुहोस्। (कलस्सी ३:२०) परिवारका सबै सदस्य त्रुटिपूर्ण छन्‌, सबैबाट गल्ती हुन्छ। त्यसैले नम्र हुनुहोस् र एकअर्कासित माफी माग्नुहोस्।

२१. हामीसित कस्तो उज्ज्वल आशा छ र हामी अहिल्यै सुखी पारिवारिक जीवन कसरी बिताउन सक्छौं?

२१ बाइबल पारिवारिक जीवनको लागि बहुमूल्य सल्लाह तथा निर्देशनको भण्डार हो। परमेश्वरले पृथ्वीबाट सबै दुःखकष्ट हटाएर त्यसलाई सुन्दर बगैंचा बनाउनुहुँदा उहाँको उपासना गर्ने मानिसहरूले मात्र त्यसको उपभोग गर्ने मौका पाउनेछन्‌ भनेर बाइबल बताउँछ। (प्रकाश २१:३, ४) कस्तो उज्ज्वल आशा! परमेश्वरको वचन बाइबलमा पाइने सल्लाह पालन गरेर हामी अहिल्यै सुखी पारिवारिक जीवन बिताउन सक्छौं।

^ अनु. 15 छोराछोरीको रक्षा कसरी गर्ने, त्यसबारे यहोवाका साक्षीहरूद्वारा प्रकाशित महान्‌ शिक्षकबाट सिकौं किताबको अध्याय ३२ हेर्नुहोस्।

^ अनु. 18 आमाबाबुले परमेश्वरको आज्ञा उल्लङ्घन हुने काम गर्न अह्राउँदा मात्र तिनीहरूको आज्ञा पालन नगर्नु उचित हुनेछ।—प्रेषित ५:२९.