सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय पन्ध्र

परमेश्वरले स्वीकार्नुहुने उपासना

परमेश्वरले स्वीकार्नुहुने उपासना
  • के सबै धर्मले परमेश्वरलाई खुसी बनाउँछ?

  • साँचो धर्म हामी कसरी चिन्न सक्छौं?

  • परमेश्वरका साँचो उपासकहरू को हुन्‌?

१. सही तरिकामा परमेश्वरको उपासना गऱ्यौं भने कस्तो फाइदा हुन्छ?

यहोवा परमेश्वर हाम्रो गहिरो चासो राख्नुहुन्छ र उहाँको मायालु डोऱ्याइबाट हामीले लाभ उठाएको चाहनुहुन्छ। सही तरिकामा उहाँको उपासना गऱ्यौं भने हामी आनन्दित हुनेछौं र जीवनमा आइपर्ने थुप्रै समस्यादेखि जोगिनेछौं। उहाँको आशिष्‌ र मदत पाउनेछौं। (यशैया ४८:१७) थुप्रै धर्मले परमेश्वरबारे सत्य कुरा सिकाएको दाबी गर्छन्‌। तर परमेश्वर को हुनुहुन्छ र उहाँ हामीबाट के चाहनुहुन्छ भन्नेबारे तिनीहरूको आ-आफ्नै धारणा छ।

२. यहोवाको उपासना गर्ने सही तरिका कसरी थाह पाउन सक्छौं? यो कुरा बुझ्न कुन उदाहरणले मदत गर्छ?

यहोवाको उपासना गर्ने सही तरिका तपाईं कसरी थाह पाउन सक्नुहुन्छ? यसको लागि तपाईंले विभिन्न धर्मले के सिकाउँछ भनेर अध्ययन गर्नु अनि तिनीहरूको शिक्षा तुलना गर्नुपर्दैन। साँचो उपासनाबारे बाइबलले वास्तवमा के सिकाउँछ, त्यो मात्र सिके पुग्छ। उदाहरणको लागि, थुप्रै मुलुकमा नकली नोटको समस्या छ। त्यस्तो नोट चिन्ने काम गर्नुपऱ्यो भने तपाईं के गर्नुहुन्छ? नकली नोट कस्तो-कस्तो हुन्छ भनेर चिन्ने कोसिस गर्नुहुन्छ कि? पक्कै त्यसो गर्नुहुन्न। सकली नोट कस्तो हुन्छ भनेर अध्ययन गर्नुभयो भने समयको सदुपयोग हुन्छ। सकली नोट कस्तो हुन्छ भनी थाह भएपछि नकली नोट सजिलै चिन्नुहुनेछ। त्यसैगरि साँचो धर्म चिनेपछि झूटो धर्म छुट्टयाउन गाह्रो हुँदैन।

३. परमेश्वरलाई खुसी बनाउन हामीले के गर्नै पर्छ?

यहोवाले स्वीकार्नुहुने तरिकामा उहाँको उपासना गर्नु महत्त्वपूर्ण छ। धेरैजसो  मानिस ‘म भगवान्‌मा विश्वास गर्छु’ भन्छन्‌। तर मुखले भनेर मात्र पुग्दैन। प्रेषित पावलले यसो भने: “परमेश्वरलाई चिनेका छौं भनेर तिनीहरू खुलेआम घोषणा गर्छन्‌ तर आफ्ना कामहरूद्वारा भने उहाँलाई इन्कार गर्छन्‌, किनकि तिनीहरू घृणित र अनाज्ञाकारी छन्‌ अनि कुनै पनि असल कामको लायक छैनन्‌।” (तीतस १:१६) परमेश्वरलाई खुसी बनाउन उहाँ हामीबाट के चाहनुहुन्छ, त्यो सिक्नुपर्छ अनि त्यसअनुसार काम पनि गर्नुपर्छ। परमेश्वरको इच्छाबमोजिम नगर्नेहरूलाई येशूले “कुकर्मीहरू” भन्नुभयो। (मत्ती ७:२१-२३) नकली नोटजस्तै झूटो धर्मको कुनै मोल छैन। त्यति मात्र होइन, त्यस्तो धर्मले हानि गर्छ।

४. येशूले कुन दुइटा बाटोबारे बताउनुभयो? ती बाटोले कहाँ पुऱ्याउँछ?

यहोवाले सबै मानिसलाई पृथ्वीमा अनन्त जीवन बिताउने मौका दिनुहुन्छ। तर त्यसको लागि हामीले सही तरिकामा परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मन पर्ने तरिकामा जीवन बिताउनुपर्छ। दुःखको कुरा, थुप्रैले त्यसो गर्दैनन्‌। त्यसकारण येशूले यसो भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशतर्फ लैजाने बाटो फराकिलो र खुल्ला हुन्छ अनि यसमा हिंड्नेहरू धेरै हुन्छन्‌। तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१३, १४) साँचो धर्मले अनन्त जीवनतर्फ डोऱ्याउँछ। झूटो धर्मले विनाशतर्फ लैजान्छ। तर यहोवा कोही पनि नाश भएको चाहनुहुन्न। उहाँले सबै मानिसलाई उहाँबारे सिक्ने मौका दिइरहनुभएको छ। (२ पत्रुस ३:९) त्यसैले कसरी परमेश्वरको उपासना गर्दै छौं भनेर हामीले गम्भीर भएर सोच्नुपर्छ। किनकि उहाँले अस्वीकार गर्नुहुने उपासना चढाइरहेका छौं भने हामीले जीवन गुमाउनेछौं।

साँचो धर्म कसरी चिन्ने?

५. हामी कसरी साँचो धर्मअनुसार चल्ने मानिसहरूलाई चिन्न सक्छौं?

त्यसोभए ‘जीवनतर्फ लैजाने बाटो’ कसरी चिन्ने? साँचो धर्म मान्ने मानिसहरूको कामबाट। येशूले यसो भन्नुभयो: “तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। . . . हरेक असल रूखले राम्रो फल फलाउँछ।” (मत्ती ७:१६, १७) अर्को शब्दमा भन्ने हो भने साँचो धर्म मान्ने मानिसहरूलाई  तिनीहरूको धार्मिक आस्था अनि चालचलन हेरेर चिन्न सकिने रहेछ। हुन त तिनीहरू पनि त्रुटिपूर्ण मानिस नै हुन्‌। तिनीहरू पनि गल्ती गर्छन्‌। तैपनि साँचो उपासकहरू समूहको रूपमा परमेश्वरको इच्छाअनुसार गर्ने प्रयास गर्छन्‌। आउनुहोस्, साँचो धर्मअनुसार चल्ने मानिसहरूको छवटा चिनारी विचार गरौं।

६, ७. परमेश्वरका सेवकहरू बाइबल कस्तो किताब हो भनी विश्वास गर्छन्‌? येशूले कस्तो उदाहरण बसाल्नुभयो?

बाइबलआधारित शिक्षा सिकाउँछन्‌। बाइबल यसो भन्छ: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन र परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ, जसले परमेश्वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि तयार बनाउँछ।” (२ तिमोथी ३:१६, १७) प्रेषित पावलले सँगी ख्रीष्टियनहरूलाई यस्तो लेखे: “तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरकै वचनको रूपमा . . . ग्रहण गऱ्यौ।” (१ थिस्सलोनिकी २:१३) त्यसैले साँचो धर्मको शिक्षा तथा रीतिरिवाज मानव दर्शन वा परम्परामा आधारित हुँदैनन्‌। ती परमेश्वरको वचन बाइबलमा आधारित हुन्छन्‌।

येशू ख्रीष्टले परमेश्वरको वचनमा आधारित शिक्षा सिकाएर राम्रो उदाहरण बसाल्नुभयो। आफ्नो बुबा यहोवालाई प्रार्थना गर्दा उहाँले यसो भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) येशूले परमेश्वरको वचनमा विश्वास गर्नुभयो र उहाँले सिकाउनुभएका सबै कुरा बाइबलमा आधारित थिए। येशू अक्सर यसो भन्नुहुन्थ्यो: “यस्तो लेखिएको छ।” (मत्ती ४:४, ७, १०) त्यसपछि उहाँ बाइबलबाट उद्धरण गर्नुहुन्थ्यो। त्यसैगरि आज पनि परमेश्वरका जनहरू आफ्नै कुरा सिकाउँदैनन्‌। बाइबल परमेश्वरको वचन हो भनी विश्वास गर्छन्‌ र तिनीहरूको शिक्षा बाइबलमै आधारित हुन्छ।

८. यहोवाको उपासना गर्नुमा के-के समावेश छ?

यहोवाको मात्र उपासना गर्छन्‌ र उहाँको नामबारे अरूलाई बताउँछन्‌। येशूले यसो भन्नुभयो: “तिमीले यहोवा तिम्रा परमेश्वरको उपासना गर्नुपर्छ  अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।” (मत्ती ४:१०) त्यसैले यहोवाका सेवकहरू उहाँको मात्र उपासना गर्छन्‌। साँचो परमेश्वरको नाम के हो र उहाँ कस्तो हुनुहुन्छ भनी अरूलाई बताउनु पनि उपासनाको भाग हो। मर्कूस १२:२९ यसो भन्छ: “यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ।” परमेश्वरको नाम अरूलाई थाह दिने विषयमा येशू आफैले राम्रो उदाहरण बसाल्नुभयो। उहाँले प्रार्थना गर्दा यसो भन्नुभयो: “तपाईंले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईंको नाम प्रकट गरेको छु।” (यूहन्ना १७:६) त्यसैगरि आज साँचो उपासकहरू परमेश्वरको नाम, उहाँको उद्देश्य र उहाँका गुणहरूबारे अरूलाई बताउँछन्‌।

९, १०. साँचो ख्रीष्टियनहरू कसरी अरूलाई प्रेम गर्छन्‌?

एकअर्कालाई निःस्वार्थ प्रेम गर्छन्‌। येशूले यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूहन्ना १३:३५) सुरु-सुरुका ख्रीष्टियनहरूमाझ यस्तो प्रेम थियो। यदि हामी परमेश्वरले चाहनुभएझैं एकअर्कालाई प्रेम गर्छौं भने अरूको रूपरङ, जातभात, संस्कृति र देशको वास्ता गर्दैनौं। तिनीहरू धनी-गरिब जेसुकै होऊन्‌, हामी पक्षपात गर्दैनौं। यस्तो प्रेमले मानिसहरूलाई एकतामा बाँध्छ। (कलस्सी ३:१४) झूटो धर्मका मानिसहरूबीच त्यस्तो मायालु भाइचारा पाइँदैन। हामी किन यसो भन्न सक्छौं? तिनीहरू बेग्लै देश वा जातिका मानिसहरूको हत्या गर्छन्‌। साँचो ख्रीष्टियनहरू आफ्ना ख्रीष्टियन भाइबहिनी वा अरू कसैलाई मार्न हतियार उठाउँदैनन्‌। बाइबल यसो भन्छ: “परमेश्वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: हरेक जसले परमेश्वरको स्तरबमोजिम असल काम गरिरहँदैन, ऊ परमेश्वरको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्वरको होइन। . . . हामीसित एक-अर्काको निम्ति प्रेम हुनुपर्छ। हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टको थियो र आफ्नो भाइको हत्या गऱ्यो।”—१ यूहन्ना ३:१०-१२; ४:२०, २१.

१० तर अरूको हत्या नगर्दैमा हामीसित साँचो प्रेम छ भन्न मिल्दैन। साँचो ख्रीष्टियनहरू एकअर्कालाई मदत गर्न अनि प्रोत्साहन दिन आफ्नो  समय, शक्ति अनि सम्पत्ति खर्च गर्न कन्जुस्याइँ गर्दैनन्‌। (हिब्रू १०:२४, २५) समस्या आइपर्दा तिनीहरू एकअर्कालाई मदत गर्छन्‌ र कसैसित बेइमानी गर्दैनन्‌। तिनीहरू ‘सबैको भलाइ गर’ भन्ने बाइबलको सल्लाह पालन गर्छन्‌।—गलाती ६:१०.

११. साँचो धर्म मान्ने मानिसहरूले के मानिलिन्छन्‌? किन?

११ परमेश्वरले येशू ख्रीष्टद्वारा मानिसहरूको उद्धार गर्नुहुन्छ भनेर मानिलिन्छन्‌। बाइबल यसो भन्छ: “उहाँबाहेक अरू कसैद्वारा उद्धार हुन सक्दैन, किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौं।” (प्रेषित ४:१२) येशूले आज्ञाकारी मानिसहरूको लागि आफ्नो ज्यान फिरौतीस्वरूप दिनुभयो भनी हामीले अध्याय ५ मा बुझिसक्यौं। (मत्ती २०:२८) येशू स्वर्गमा राजा नियुक्त हुनुभयो अनि उहाँले पृथ्वीमाथि शासन गर्नुहुनेछ भनेर पनि हामीले सिकिसक्यौं। यहोवा परमेश्वर हामीले येशूको कुरा सुनेर अनि उहाँको शिक्षा लागू गरेर अनन्त जीवन पाएको चाहनुहुन्छ। त्यसैले त बाइबल यसो भन्छ: “जसले छोरामाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ; जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन।”—यूहन्ना ३:३६.

१२. संसारको भाग नहुनु भनेको के हो?

१२ संसारको भाग हुँदैनन्‌। रोमी शासक पिलातससामु हाजिर गराइँदा येशूले यसो भन्नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्ना १८:३६) येशूका साँचो चेलाहरू जुनसुकै देशका नागरिक भए तापनि तिनीहरू वास्तवमा स्वर्गको राज्यका प्रजा हुन्‌। त्यसकारण तिनीहरू राजनैतिक मामिलामा तटस्थ रहन्छन्‌। राजनैतिक विवादमा तिनीहरू कसैको पक्ष लिंदैनन्‌। राजनैतिक पार्टीको सदस्यता लिने, कुनै पदको लागि उम्मेदवारी दिने अथवा भोट खसाल्नेजस्ता कुरामा अरूले जे-जस्तो निर्णय गर्छन्‌, त्यसमा तिनीहरू हस्तक्षेप गर्दैनन्‌। परमेश्वरका साँचो उपासकहरू राजनैतिक मामिलामा तटस्थ रहे तापनि देशको नियम-कानुन भने पालन गर्छन्‌। किन? किनभने परमेश्वरको वचनले सरकारी ‘उच्च अख्तियारवालाहरूका अधीनमा रहने’ आज्ञा दिएको छ। (रोमी १३:१) परमेश्वरले हामीसित माग्नुहुने कुरा र  सरकारले माग्ने कुरा आपसमा बाझियो भने साँचो उपासकहरू येशूका चेलाहरूले जस्तै यसो भन्छन्‌: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।”—प्रेषित ५:२९; मर्कूस १२:१७.

१३. परमेश्वरको राज्यले के गर्नेछ? येशूका साँचो चेलाहरू के गर्छन्‌?

१३ मानिसहरूको एक मात्र आशा परमेश्वरको राज्य हो भनी प्रचार गर्छन्‌। येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि  प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) येशूका साँचो चेलाहरू कुनै नेता वा राजनैतिक पार्टीले मानिसहरूको समस्या समाधान गर्न सक्छ भनेर सिकाउँदैनन्‌। तिनीहरू परमेश्वरको राज्यले मात्र मानिसहरूको सबै समस्या समाधान गर्न सक्छ भनी प्रचार गर्छन्‌। (भजन १४६:३) येशूले साँचो ख्रीष्टियनहरूलाई परमेश्वरको उत्तम सरकारको लागि यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।” (मत्ती ६:१०) बाइबलको भविष्यवाणीअनुसार परमेश्वरको राज्यले मानिसहरूको “सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।” तर परमेश्वरको “राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”—दानियल २:४४.

१४. कसले मात्र परमेश्वरको साँचो उपासना गरिरहेको छ?

१४ हामीले अहिलेसम्म विभिन्न कुरा छलफल गऱ्यौं। अब आफैलाई सोध्नुहोस्: ‘कसले बाइबलआधारित शिक्षा मात्र सिकाउँछ अनि कसले यहोवाको नामबारे अरूलाई बताउँछ? कसले यहोवाले चाहनुभएजस्तै प्रेम गर्छ अनि येशूमाथि विश्वास गर्छ? कसले मानिसहरूको एक मात्र आशा परमेश्वरको राज्य हो भनी सिकाउँछ? को यस संसारको भाग हुँदैन? संसारमा थुप्रै धर्म छन्‌ तर तीमध्ये कसले यी सबै कुरा गरिरहेको छ?’ यी प्रश्नको एउटै जवाफ छ। त्यो हो: यहोवाका साक्षीहरू। यहोवाका साक्षीहरूले मात्र माथि भनिएका सबै कुरा गरिरहेका छन्‌।—यशैया ४३:१०-१२.

तपाईं के गर्नुहुन्छ?

१५. परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुका साथै हामीले के गर्नुपर्छ?

१५ परमेश्वरलाई खुसी बनाउन उहाँलाई विश्वास गरेर मात्र पुग्दैन। परमेश्वर हुनुहुन्छ भनी दुष्ट स्वर्गदूतहरू पनि विश्वास गर्छन्‌ भनेर बाइबल बताउँछ। (याकूब २:१९) तर तिनीहरू परमेश्वरको इच्छाअनुसार चल्दैनन्‌ र तिनीहरूले उहाँको समर्थन पाएका छैनन्‌। परमेश्वरको समर्थन अनि उहाँको कृपा पाउन हामीले उहाँको इच्छाअनुसार काम पनि गर्नुपर्छ। हामीले झूटो धर्म त्यागेर साँचो धर्म अँगाल्नुपर्छ।

१६. झूटो उपासनामा किन भाग लिनु हुँदैन?

 १६ साँचो धर्म चिनेपछि हामीले झूटो उपासनामा भाग लिनु हुँदैन। यस विषयमा प्रेषित पावलले यस्तो लेखे: “यहोवा भन्नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध थोक छुन बन्द गर र म तिमीहरूलाई ग्रहण गर्नेछु।’” (२ कोरिन्थी ६:१७; यशैया ५२:११) त्यसैकारण साँचो ख्रीष्टियनहरू झूटो उपासनासित सम्बन्धित कुनै पनि कुरामा पटक्कै भाग लिंदैनन्‌।

१७, १८. “महान्‌ बेबिलोन” केको प्रतीक हो? हामी किन त्यसबाट तुरुन्तै ‘निस्कनुपर्छ’?

१७ झूटो धर्मको विभिन्न रूप भए तापनि ती सबै “महान्‌ बेबिलोन”-का * भाग हुन्‌ भनी बाइबल बताउँछ। (प्रकाश १७:५) बेबिलोन प्राचीन सहरको नाम हो। नूहको पालामा भएको जलप्रलयपछि त्यही सहरबाट झूटो धर्म सुरु भएको थियो। अहिले झूटो धर्ममा पाइने धेरैजसो शिक्षा तथा रीतिथिति धेरै पहिला त्यही बेबिलोनबाट सुरु भएको हो। उदाहरणका लागि, बेबिलोन सहरका मानिसहरू त्रिएक ईश्वरको पूजा गर्थे। अहिले पनि कतिपय धर्मले त्रिएक ईश्वरको उपासना गर्छ। थुप्रै चर्चले समेत त्रिएकको शिक्षा सिकाउँछ। तिनीहरू येशू ख्रीष्ट, उहाँको बुबा अनि पवित्र शक्ति सबै एउटै हो अनि तीनै जना परमेश्वर हुन्‌ भनी दाबी गर्छन्‌। तर बाइबलले यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ अनि येशू ख्रीष्ट उहाँको छोरा हुनुहुन्छ भनेर प्रस्ट पारेको छ। (यूहन्ना १७:३) मान्छे मरे पनि आत्मा मर्दैन र नरकमा सधैंभरि सास्ती भोगिरहन्छ भनेर पनि बेबिलोनीहरू विश्वास गर्थे। अहिले थुप्रै धर्मले पनि त्यही कुरा सिकाउँछ।

१८ बेबिलोन सहरका मानिसहरूको झूटो शिक्षा संसारभरि फैलियो। त्यसैले महान्‌ बेबिलोन संसारभरिका झूटो धर्मको प्रतीक हो भन्न सुहाउँछ। महान्‌ बेबिलोनले प्रतिनिधित्व गर्ने सबै झूटो धर्म अचानक विनाश हुनेछ भनी परमेश्वरले भविष्यवाणी गर्नुभएको छ। (प्रकाश १८:८) त्यसकारण हामी महान्‌ बेबिलोनबाट पूरै अलग बस्नुपर्छ। अहिले समय छँदै  हामी तुरुन्तै “त्यसबाट निस्केर” आएको यहोवा चाहनुहुन्छ।—प्रकाश १८:४.

यहोवाका उपासकहरूसित मिलेर उहाँको सेवा गर्दा कुनै कुराको कमी महसुस गर्नुहुनेछैन

१९. नातागोता अनि साथीभाइले छोडे पनि यहोवाको सेवा गर्दा के पाउनुहुन्छ?

१९ तपाईंले झूटो धर्म चटक्कै छोड्दा नातेदार अनि साथीभाइले तपाईंसित नाता तोड्न सक्छन्‌। तर यहोवाका उपासकहरूसित मिलेर उहाँको सेवा गर्दा कुनै कुराको कमी महसुस गर्नुहुनेछैन। भनौं भने आफूले गुमाएको भन्दा धेरै कुरा पाउनुहुनेछ। येशू ख्रीष्टका सुरु-सुरुका चेलाहरूले नातागोता, साथीभाइ त्याग्नुपरे तापनि तिनीहरूले थुप्रै ख्रीष्टियन भाइबहिनी पाए। तपाईंले पनि तपाईंलाई साँच्चै माया गर्ने साँचो ख्रीष्टियनहरू मिलेर बनेको विश्वव्यापी परिवारको माया अनि साथ पाउनुहुनेछ। अनि “आउने युगमा” अनन्त जीवन पनि पाउनुहुनेछ। (मर्कूस १०:२८-३०) तपाईंले साँचो धर्म अँगालेको हुनाले अहिले थुप्रैले तपाईंसित नाता तोड्लान्‌ तर पछि तिनीहरूको मन परिवर्तन हुन सक्छ। तिनीहरू पनि बाइबलको कुरा सिकेर यहोवाको उपासक बन्न सक्छन्‌।

२०. साँचो धर्म मान्नेहरूको भविष्य कस्तो छ?

२० परमेश्वरले यस दुष्ट युगको चाँडै अन्त गर्नुहुनेछ र न्यायले बास गर्ने नयाँ पृथ्वी बसाल्नुहुनेछ। (२ पत्रुस ३:९, १३) त्यो पृथ्वी हामीले सोचेभन्दा कैयौं गुना राम्रो हुनेछ। नयाँ पृथ्वीमा एउटा मात्र साँचो धर्म हुनेछ अनि सबैले एउटै किसिमले परमेश्वरको उपासना गर्नेछन्‌। त्यसकारण यहोवाका साँचो उपासकहरूमध्ये एक हुन अहिल्यै कदम चालिहाल्नु बुद्धिमानी हो।

^ अनु. 17 संसारभरिको झूटो धर्मको प्रतीक महान्‌ बेबिलोनबारे थप जानकारीको लागि पृष्ठ २१९-२२० हेर्नुहोस्।