सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अतिरिक्त लेख

परमेश्वरको नाम यसको प्रयोग र अर्थ

परमेश्वरको नाम यसको प्रयोग र अर्थ

तपाईंको बाइबलमा मर्कूस १२:२९ कसरी अनुवाद गरिएको छ? नयाँ संसार अनुवाद-मा यस्तो लेखिएको छ: “यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ।” थुप्रै बाइबलमा पनि यसरी नै अनुवाद गरिएको छ। तर कतिपय अनुवादमा चाहिं परमेश्वरको नाम यहोवाको सट्टा “परमप्रभु” वा “सनातन”-जस्ता पदवीहरू प्रयोग गरिएका छन्‌। वास्तवमा यस पदमा हुनुपर्ने के हो—पदवी कि नाम?

हिब्रू अक्षरमा परमेश्वरको नाम

बाइबलको प्रायजसो भाग हिब्रू भाषामा लेखिएको थियो र ती मौलिक भाषाको बाइबलमा परमेश्वरको नाम प्रयोग गरिएको छ। हिब्रू अक्षरमा यो नाम यसरी लेखिन्छ, יהוה (अङ्ग्रेजीमा YHWH)। यसलाई नेपालीमा साधारणतया “यहोवा” भनी अनुवाद गरिन्छ। के यो नाम बाइबलको एक ठाउँमा मात्र पाइन्छ? होइन। मौलिक हिब्रू धर्मशास्त्रमा झन्डै ७,००० ठाउँमा परमेश्वरको नाम पाइन्छ!

परमेश्वरको नाम कत्तिको महत्त्वपूर्ण छ? येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभएको थियो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्।” (मत्ती ६:९) पछि येशू आफैले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, तपाईंको नाम महिमित पार्नुहोस्।” अनि परमेश्वरले स्वर्गबाट यसरी जवाफ दिनुभयो: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।” (यूहन्ना १२:२८) कुरा स्पष्ट छ, परमेश्वरको नाम एकदमै महत्त्वपूर्ण छ। त्यसोभए किन केही बाइबल अनुवादकले परमेश्वरको नाम हटाएर पदवी मात्र प्रयोग गरे त?

यसका दुइटा मुख्य कारण हुन सक्छन्‌। पहिलो कारण हो: हिब्रू भाषामा यो नाम कसरी उच्चारण गरिन्थ्यो, त्यो अहिले थाह नभएकोले यो नाम प्रयोग गर्नु हुँदैन भन्ने धारणा। पुरानो हिब्रू भाषामा स्वरवर्ण लेखिंदैनथ्यो। त्यसैले त्यस हिब्रू नामलाई बाइबलकालीन मानिसहरूले ठ्याक्कै कसरी उच्चारण गर्थे भनेर  आज कसैले बताउन सक्दैन। तर के त्यसो भन्दैमा हामीले परमेश्वरको नाम चलाउनै हुँदैन? प्रथम शताब्दीमा येशूलाई येशूआ वा यहोशूआ भनेर बोलाइएको हुन सक्छ। तैपनि आज संसारभरि येशू भन्ने नाम ठाउँअनुसार र चलनचल्तीअनुसार फरक-फरक तरिकामा उच्चारण गरिन्छ। प्रथम शताब्दीमा येशू भन्ने नाम कसरी उच्चारण गरिन्थ्यो भनी थाह छैन भन्दैमा मानिसहरू उहाँको नाम लिन हिचकिचाउँदैनन्‌। त्यस्तैगरि कतै विदेश जानुभयो भने त्यहाँका मानिसहरूले तपाईंको नाम फरक तरिकामा उच्चारण गर्लान्‌। तर त्यसो भन्दैमा के तिनीहरूलाई तपाईंको नाम लिनदेखि रोक्नुहुन्छ? त्यसैले परमेश्वरको नाम उहिले-उहिले कसरी उच्चारण गरिन्थ्यो भनी थाह छैन भन्दैमा उहाँको नाम प्रयोग नगर्ने कुनै कारण छैन।

बाइबलबाट परमेश्वरको नाम हटाउनुको दोस्रो कारण हो: यहूदीहरूको रूढिवादी धारणा। धेरैजसो यहूदीको विचारमा परमेश्वरको नाम लिनै हुँदैन। तिनीहरूले बाइबलको नियमलाई गलत अर्थ लगाएकोले यस्तो रूढिवादी धारणा राखेका हुन्‌। बाइबलमा यसो भनिएको छ: “तैंले परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।”—प्रस्थान २०:७.

यस नियमले परमेश्वरको नामको अनादर नगर्नू भनेको छ। तर के यस नियमले परमेश्वरको नाम आदरपूर्वक लिनु हुँदैन भनेको हो? पटक्कै होइन। हिब्रू बाइबलका (“पुरानो नियम”) सबै लेखक वफादार पुरुषहरू थिए, जसले परमेश्वरको नियमबमोजिम जीवन बिताए। तिनीहरूले परमेश्वरको नाम बारम्बार प्रयोग गरे। उदाहरणका लागि, इस्राएलीहरूले ठूलो स्वरमा भजन गाउँदा उहाँको नाम प्रयोग गर्थे। यहोवा परमेश्वरले आफ्ना उपासकहरूलाई उहाँको नाम लिनू भन्नुभएको थियो र तिनीहरूले यो आज्ञा पालन गरे। (योएल २:३२; प्रेषित २:२१) त्यसकारण आज ख्रीष्टियनहरू येशूले जस्तै आदरपूर्वक परमेश्वरको नाम लिन हिचकिचाउँदैनन्‌।—यूहन्ना १७:२६.

परमेश्वरको नामको सट्टा पदवी प्रयोग गरेर बाइबल अनुवादकहरूले गम्भीर गल्ती गरे। तिनीहरूले परमेश्वरलाई मानिसहरूको नजिक हुन नचाहने र भावशून्य तुल्याएका छन्‌। तर बाइबलले मानिसहरूलाई उहाँसित “घनिष्ठ” हुन आग्रह गर्छ। (भजन २५:१४) उदाहरणको लागि, आफ्नो घनिष्ठ साथीलाई लिनुहोस्। तपाईंलाई तिनको नामै थाह छैन भने के तिनीसित घनिष्ठ हुन सक्नुहुन्छ र? त्यसैगरि परमेश्वरको नाम हटाउँदा मानिसहरू कसरी उहाँसित  घनिष्ठ हुन सक्छन्‌ र? परमेश्वरको नाम प्रयोग नगर्दा तिनीहरूलाई उहाँको नाम कत्तिको अर्थपूर्ण छ भनेर पनि थाह हुँदैन। परमेश्वरको नामको अर्थ के हो?

परमेश्वर आफैले वफादार सेवक मोशालाई आफ्नो नामको अर्थ बताउनुभयो। तिनले परमेश्वरको नामबारे सोध्दा यहोवाले यस्तो जवाफ दिनुभयो: “म हुँ जो म हुँ।” (प्रस्थान ३:१४) एउटा बाइबलले यसलाई यसरी अनुवाद गरेको छ: “म जे हुन चाहन्छु, त्यही हुन्छु।” आफ्ना उद्देश्यहरू पूरा गर्न जे आवश्यक छ, यहोवा त्यही हुन वा बन्न सक्नुहुन्छ।

मानिलिनुहोस्, तपाईं जे बन्न चाहनुहुन्छ, त्यही बन्न सक्नुहुन्छ। तपाईं आफ्ना साथीभाइहरूका लागि के-के बन्नुहुनेछ? साथी सिकिस्त बिरामी भयो भने तपाईं दक्ष डाक्टर बनेर तिनलाई निको पार्न सक्नुहुन्छ। अर्को साथीले आर्थिक क्षति भोग्नुपऱ्यो भने तपाईं दानी बनेर तिनलाई मदत गर्न सक्नुहुन्छ। तर हामी सबैले गर्न सक्ने कुरा सीमित छ। आफ्नो प्रतिज्ञा पूरा गर्न जे आवश्यक छ, यहोवा त्यही बन्न सक्नुहुन्छ भनी सिक्दै जाँदा तपाईं दङ्ग पर्नुहुनेछ। आफूलाई प्रेम गर्नेहरूको खातिर शक्ति चलाउन यहोवा खुसी हुनुहुन्छ। (२ इतिहास १६:९) उहाँको नाम नचिन्नेले उहाँको व्यक्तित्वका सुन्दर पक्षहरू थाह पाउन सक्दैन।

परमेश्वरको नाम प्रयोग गर्नुपर्छ भनेर बाइबलमा प्रस्टै लेखिएको छ। उहाँको नामको अर्थ बुझ्यौं र उपासनामा उहाँको नाम लिन हिचकिचाएनौं भने स्वर्गमा बस्नुहुने बुबा यहोवासित घनिष्ठ हुनेछौं।