सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचालक निकायको पत्र

परिचालक निकायको पत्र

प्रिय राज्य उद्‌घोषकहरू,

कल्पना गर्नुहोस्‌, तपाईँ पनि प्रेषित हुनुहुन्छ र अरू प्रेषितसँगै जैतुन डाँडामा उभिरहनुभएको छ। येसु तपाईँहरूकहाँ देखा पर्नुहुन्छ। स्वर्ग जानै लाग्दा उहाँ यसो भन्‍नुहुन्छ: “पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) यो कुरा सुनेपछि तपाईँ के गर्नुहुन्छ?

यत्ति ठूलो जिम्मेवारी पाउँदा तपाईँलाई के गरूँ कसो गरूँ हुन्छ होला। तपाईँलाई यस्तो लाग्ला, ‘हामी चेलाहरूको सानो समूहले “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिन सकौँला र?’ आफ्नो मृत्युको अघिल्लो रात येसुले दिनुभएको यो चेतावनी तपाईँलाई यादै होला: “दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌; यदि तिनीहरूले मेरो वचन पालन गरेका छन्‌ भने तिमीहरूको पनि पालन गर्नेछन्‌। तर तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन्‌ किनभने मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्‌।” (युह. १५:२०, २१) यो कुरा मनन गर्दै तपाईँ आफैलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ, ‘त्यस्तो विरोध र खेदो आइपर्दा म कसरी राम्ररी साक्षी दिन सक्छु?’

आज हाम्रो मनमा पनि यस्तै प्रश्‍न उठ्‌न सक्छ। यहोवाको साक्षीको हैसियतमा हामीले पनि “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” बस्ने “सबै जातिका मानिसहरूलाई” राम्ररी साक्षी दिनुपर्छ। (मत्ति २८:१९, २०) तर हामी कसरी यो जिम्मेवारी पूरा गर्न सक्छौँ, खासगरि भविष्यवाणी गरिएझैँ खेदो आइपर्दा?

प्रथम शताब्दीका प्रेषितहरू र अरू ख्रिष्टियनहरूले यहोवाको मदत पाएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम भएको रोमाञ्चक विवरण “प्रेषितहरूका कार्य” पुस्तकमा पाइन्छ। त्यसमा लेखिएका कुराहरू केलाएर हेर्न र रोमाञ्चकारी घटनाहरू महसुस गर्न सकियोस्‌ भनेर यो किताब तयार पारिएको हो। प्रथम शताब्दीका र अहिलेका परमेश्‍वरका सेवकहरूबीचका समानताहरू देखेर तपाईँ दङ्‌ग पर्नुहुनेछ। ती समानताहरू हामीले गर्ने काममा मात्र होइन तर त्यो काम गर्न हामीलाई कसरी व्यवस्थित पारिएको छ, त्यसमा पनि तपाईँले देख्नुहुनेछ। ती समानताहरू केलाउँदा यहोवा परमेश्‍वरले आफ्नो सङ्‌गठनको पृथ्वीमा रहेको भागलाई निरन्तर डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरामा तपाईँको विश्‍वास अझै बलियो हुनेछ।

प्रेषितको पुस्तकलाई जाँच्दा यहोवा परमेश्‍वरले मदत गर्नुहुन्छ अनि आफ्नो पवित्र शक्‍तिद्वारा बल दिनुहुन्छ भन्‍ने कुरामा तपाईँको विश्‍वास अझै बलियो हुनेछ भनेर हामी आशा गर्छौँ। यस विषयमा हामी तपाईँको लागि प्रार्थना पनि गर्छौँ। परमेश्‍वरको राज्यको विषयमा “राम्ररी साक्षी” दिन र अरूलाई उद्धारको बाटोमा डोऱ्‍याउन तपाईँलाई प्रोत्साहन मिलोस्‌।—प्रेषि. २८:२३; १ तिमो. ४:१६.

तपाईँका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय