सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 भाग २१

येशू ब्यूँतनुहुन्छ!

येशू ब्यूँतनुहुन्छ!

सिकाउन र प्रोत्साहन दिन येशू आफ्ना अनुयायीहरूकहाँ देखा पर्नुहुन्छ

येशूको मृत्युको तीन दिनपछि स्त्रीहरू जो येशूका चेला थिए, तिनीहरूले चिहानको ढोकालाई बन्द गरिराखेको ढुङ्गा हटाइएको भेट्टाए। त्यति मात्र होइन, चिहान रित्तो थियो!

दुई स्वर्गदूत देखा परे। एउटाले भने: “तिमीहरू . . . येशू नासरीलाई खोज्दैछौ। उहाँको पुनरुत्थान भएको छ।” (मर्कूस १६:६) तुरुन्तै ती स्त्रीहरू प्रेरितहरूलाई त्यो खबर सुनाउन दौडिए। बाटोमा तिनीहरूले येशूलाई भेटे। उहाँले भन्नुभयो: “नडराओ, जाओ, मेरा भाइहरूलाई गालीलमा जानलाई भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्‌।”मत्ती २८:१०.

पछि येशूका दुई चेलाहरू यरूशलेमबाट इम्माउस भन्ने गाउँमा गइरहेका थिए। त्यति नै बेला, एक जना अपरिचित व्यक्ति तिनीहरूकहाँ आए र के कुरा गरिरहेको भनी सोधे। वास्तवमा उक्त व्यक्ति पुनरुत्थान हुनुभएका येशू हुनुहुन्थ्यो। उहाँ तिनीहरूले चिन्न नसक्ने रूपमा देखा पर्नुभएकोले सुरुमा तिनीहरूले उहाँलाई चिनेनन्‌। निन्याउरो अनुहार लगाउँदै तिनीहरूले येशूको कुरा गरिरहेको बताए। उक्त अपरिचित व्यक्तिले सम्पूर्ण धर्मशास्त्रमा मसीहसम्बन्धी लेखिएका कुरा व्याख्या गर्न थाले। वास्तवमा मसीहसम्बन्धी सानोभन्दा सानो भविष्यवाणी पनि येशूमा पूरा भयो। * चेलाहरूले उक्त अपरिचित व्यक्ति आत्मामा पुनरुत्थान हुनुभएका येशू हुनुहुन्छ भन्ने थाह पाएपछि उहाँ तिनीहरूको दृष्टिबाट हराउनुभयो।

ती दुई चेला तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले प्रेरितहरूलाई एउटा बन्द कोठाभित्र भेट्टाए। तिनीहरूले आफ्नो अनुभव बताउँदै गर्दा येशू देखा पर्नुभयो। तर्सिएका ती अनुयायीहरूले पत्याउनै सकेनन्‌! येशूले सोध्नुभयो: “तिमीहरूका हृदयमा किन शङ्का उत्पन्न हुन्छ? . . . यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र फेरि तेस्रो दिनमा मुर्दाबाट बिउँतनुपर्छ।”लूका २४:३८, ४६.

पुनरुत्थान भएको ४० दिनसम्म येशू आफ्ना चेलाहरूकहाँ विभिन्न अवसरमा देखा पर्नुभयो। एक पटक त उहाँ ५०० भन्दा धेरैकहाँ देखा पर्नुभयो! सायद यसैबेला उहाँले तिनीहरूलाई यो गहन जिम्मेवारी दिनुभएको थियो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”मत्ती २८:१९, २०.

आफ्ना ११ विश्वासी प्रेरितसितको अन्तिम भेटमा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) त्यसपछि येशू उचालिनुभयो र बादलले उहाँलाई तिनीहरूका दृष्टिबाट ढाक्यो।

— मत्ती अध्याय २८; मर्कूस अध्याय १६; लूका अध्याय २४; यूहन्ना अध्याय २० र २१; १ कोरिन्थी १५:५, ६ मा आधारित।

^ अनु. 6 येशूमा पूरा भएका मसीह सम्बन्धी भविष्यवाणीहरूको उदाहरणको लागि यही पुस्तिकाको भाग १४, भाग १५, भाग १६बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अतिरिक्त लेख येशू ख्रीष्ट प्रतिज्ञा गरिएको मसीह हेर्नुहोस्।