सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँले विश्‍वास गर्ने कुराले कुनै फरक पार्छ?

तपाईँले विश्‍वास गर्ने कुराले कुनै फरक पार्छ?

के तपाईँलाई जीवनको कुनै उद्देश्‍य छ जस्तो लाग्छ? क्रमविकासवादी विलियम प्रोभिन यसो भन्छन्‌: “क्रमविकासबारे हामीले जे-जति कुरा सिक्यौँ त्यसले हामीलाई धेरै प्रभाव पारेको छ। हामीले जीवनबारे राख्ने सोचाइलाई समेत यसले असर गरेको छ।” तिनको निष्कर्ष यस्तो छ, “मलाई मानव जीवनको कुनै उद्देश्‍य छ जस्तो लाग्दैन।”३२

यी शब्दहरूको अर्थ के हो? यदि जीवनको कुनै उद्देश्‍य छैन भने जिउनुको अर्थ बाँचुन्जेल केही असल काम गर्नु अनि भावी पुस्तालाई आफ्ना वंशानुगत गुणहरू सार्नु मात्र हुनेछ। किनकि मृत्युपछि तपाईँको अस्तित्व मेटिन्छ। जीवनको उद्देश्‍यबारे सोच्ने, तर्क गर्ने अनि मनन गर्ने क्षमता भएको तपाईँको दिमाग केवल एउटा संयोगको उपज मात्र हो।

त्यति मात्र होइन, क्रमविकासमा विश्‍वास गर्ने धेरैजसो व्यक्‍ति परमेश्‍वरको अस्तित्व छैन वा उहाँलाई मानिसहरूको कुनै चासो छैन भनेर विश्‍वास गर्छन्‌। त्यसो हो भने, हाम्रो भविष्य राजनैतिक तथा धार्मिक नेताहरू अनि बुद्धिजीवीहरूको हातमा हुनेछ। अनि मानव समाजलाई पहिल्यैदेखि पिरोलिरहेको समस्या, द्वन्द्व र भ्रष्टाचार पनि यथावतै रहनेछ। यदि हामी क्रमविकासबाट आएका हौँ भने हाम्रो जीवनको उद्देश्‍य यति मात्र हो: “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”—१ कोरिन्थी १५:३२.

यसको ठीक विपरीत बाइबलले “जीवनको मूल [परमेश्‍वरसित] छ” भनेर सिकाउँछ। (भजन ३६:९) यी शब्दहरूको अर्थ गहिरो छ।

हो, जीवनको उद्देश्‍य छ। हाम्रो सृष्टिकर्ताको इच्छाअनुसार जीवन बिताउन चाहनेहरूको लागि उहाँले एउटा मायालु उद्देश्‍य राख्नुभएको छ। (उपदेशक १२:१३) उहाँले समस्या, द्वन्द्व र भ्रष्टाचार अनि मृत्युसमेत नहुने संसारमा जीवन दिने प्रतिज्ञा गर्नुभएको छ।—भजन ३७:१०, ११; यसैया २५:६-८.

परमेश्‍वरबारे सिकेर उहाँको इच्छाअनुसार चल्दा जीवन साँच्चै अर्थपूर्ण हुन्छ र यो अरू कुनै पनि कुराले दिन सक्दैन भनेर संसारभरि छरिएर रहेका लाखौँ यहोवाका साक्षीहरू विश्‍वस्त छन्‌। (युहन्‍ना १७:३) यस्तो विश्‍वास अन्धाधुन्ध गरिएको विश्‍वास होइन। किनभने प्रमाण साक्षी छ—जीवन सृष्टि गरिएको थियो।