सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

डेनमार्क

ताइवान

भेनेजुएला

भारत

तपाईँ कति जना यहोवाका साक्षीलाई चिन्‍नुहुन्छ? हामीमध्ये कोही तपाईँको छिमेकी, सहकर्मी वा सहपाठी हौँला। हामीले तपाईँसित बाइबलबारे छलफल पनि गरेका छौँ होला। हामी वास्तवमा को हौँ अनि हामी किन आफ्नो विश्‍वासबारे अरू मानिसलाई बताउँछौँ?

हामी साधारण मानिसहरू हौँ। हाम्रो सामाजिक अवस्था र पृष्ठभूमि भिन्‍नाभिन्‍नै छ। हामीमध्ये कोही-कोही पहिले अर्कै धर्म मान्थ्यौँ भने कोहीचाहिँ ईश्‍वरमा विश्‍वासै गर्दैनथ्यौँ। तर यहोवाको साक्षी हुनुअघि हामीले बाइबलको शिक्षा होसियारीसाथ जाँच्न समय निकाल्यौँ। (प्रेषित १७:११) आफूले सिकेको कुरा साँचो रहेछ भनेर हामीले बुझ्यौँ। त्यसपछि अरू कसैको करकापले होइन तर आफै उत्प्रेरित भएर यहोवाको उपासना गर्ने निर्णय गऱ्‍यौँ।

हामी बाइबल अध्ययनबाट लाभ उठाउँछौँ। अरू सबैको जस्तै हाम्रो पनि आ-आफ्नै समस्या र कमीकमजोरी छन्‌। तर बाइबलमा दिइएका सिद्धान्तहरू दिनहुँ लागू गर्ने कोसिस गर्दा आफ्नो जीवनमा राम्रा परिवर्तनहरू आएको हामीले अनुभव गरेका छौँ। (भजन १२८:१, २) हामीले बाइबलबाट सिकेका राम्रा कुराहरू अरूलाई बताउनुको एउटा कारण यही हो।

हामी परमेश्‍वरले तोक्नुभएको स्तरअनुरूप जीवन बिताउँछौँ। बाइबलमा दिइएको स्तरअनुरूप जीवन बिताउँदा हाम्रो हित हुन्छ। यसले अरूको आदर गर्न अनि इमानदार र दयालु हुन पनि सिकाउँछ। यसले मानिसहरूलाई शारीरिक र मानसिक तवरमा स्वस्थ रहन मदत गर्छ। साथै समाजमा योगदान पुऱ्‍याउन र परिवारमा एकता कायम गर्न पनि मदत गर्छ। यसले नैतिक स्वच्छता विकास गर्न पनि मदत दिन्छ। “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” भनेर विश्‍वस्त भएकोले हामी जातीय अनि राजनैतिक भेदभाव नभएको अन्तरराष्ट्रिय परिवारका सदस्य हौँ। हुनत हामी साधारण मानिस हौँ तर समूहको रूपमा भने हाम्रो विशेष चिनारी छ।—प्रेषित ४:१३; १०:३४, ३५.

  • यहोवाका साक्षीहरू र अरू मानिसबीच के समानता छ?

  • यहोवाका साक्षीहरूले बाइबल अध्ययन गरेर कस्ता राम्रा कुराहरू सिकेका छन्‌?