सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २

हामीलाई किन यहोवाका साक्षीहरू भनिन्छ?

हामीलाई किन यहोवाका साक्षीहरू भनिन्छ?

नुह

अब्राहाम र सारा

मोसा

येसु ख्रिष्ट

थुप्रैले यहोवाका साक्षीहरू भनेको एउटा नयाँ धर्म हो भन्ठान्छन्‌। तर २ हजार ७ सय वर्षभन्दा अघि नै एक मात्र साँचो परमेश्‍वरले आफ्ना सेवकहरूलाई “मेरा साक्षी” भन्‍नुभयो। (यसैया ४३:१०-१२) इस्वी संवत्‌ १९३१ सम्म हामी बाइबल विद्यार्थी भनेर चिनिन्थ्यौँ। त्यसोभए हामीले किन यहोवाका साक्षीहरू भन्‍ने नाम अपनायौँ?

यस नामले परमेश्‍वरको चिनारी दिन्छ। पुराना पाण्डुलिपिहरूअनुसार बाइबलमा परमेश्‍वरको नाम ‘यहोवा’ हजारौँ पटक उल्लेख गरिएको छ। तर थुप्रै अनुवादमा परमेश्‍वरको नामको सट्टा परमप्रभु वा परमेश्‍वरजस्ता पदवीहरू प्रयोग गरिएका छन्‌। तर मोसालाई साँचो परमेश्‍वरले आफ्नो व्यक्‍तिगत नामद्वारा नै चिनाउनुभयो र उहाँले यसो भन्‍नुभयो: “मेरो नाम सधैँका लागि यही रहनेछ।” (प्रस्थान ३:१५) यसरी उहाँले आफू अरू सबै झूटा देवभन्दा छुट्टै भएको देखाउनुभयो। त्यसैले यो पवित्र नाम वहन गर्न पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो।

यस नामले हाम्रो कामबारे बताउँछ। पुरातन समयका थुप्रै असल मानिसले यहोवामाथिको आफ्नो विश्‍वासबारे साक्षी दिए। तीमध्ये पहिलो व्यक्‍ति हाबिल थिए। शताब्दियौँको दौडान नुह, अब्राहाम, सारा, मोसा, दाउद अनि अरू थुप्रै व्यक्‍ति बाइबलमा उल्लेख गरिएका साक्षीहरूको “बाक्लो बादल”-मा सामेल भए। (हिब्रू ११:४–१२:१) एक जना निर्दोष व्यक्‍तिको पक्षमा कसैले अदालतमा साक्षी दिएजस्तै हामी पनि अरूलाई परमेश्‍वरबारे सत्य कुरा बताउन कटिबद्ध छौँ।

यो नाम वहन गर्दा हामी येसुको अनुकरण गरिरहेका हुन्छौँ। बाइबलमा येसुलाई “विश्‍वासयोग्य अनि साँचो साक्षी” भनिएको छ। (प्रकाश ३:१४) ‘मैले परमेश्‍वरको नाम प्रकट गरेको छु’ भनेर येसु आफैले भन्‍नुभयो र परमेश्‍वरबारे “सत्यको साक्षी” पनि दिनुभयो। (युहन्‍ना १७:२६; १८:३७) त्यसकारण ख्रिष्टका साँचो अनुयायीहरूले यहोवाको नाम वहन गर्नुपर्छ र यसबारे अरूलाई बताउनुपर्छ। यहोवाका साक्षीहरू आज यसै गर्न प्रयास गरिरहेका छन्‌।

  • बाइबल विद्यार्थीले किन यहोवाका साक्षीहरू भन्‍ने नाम वहन गरे?

  • यहोवाबारे साक्षी दिने व्यक्‍तिहरू पृथ्वीमा कहिलेदेखि थिए?

  • यहोवाको महान्‌ साक्षी को हो?