सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४

नयाँ संसार अनुवाद-को आवश्‍यकता किन पऱ्‍यो?

नयाँ संसार अनुवाद-को आवश्‍यकता किन पऱ्‍यो?

कङ्‌गो (किन्सासा)

रूवाण्डा

भजन ६९:३१ मा परमेश्‍वरको नाम भएको सिमकस पाण्डुलिपिको अंश, इस्वी संवत्‌ तेस्रो वा चौथो शताब्दीतिरको

यहोवाका साक्षीहरूले दशकौँसम्म बाइबलका विभिन्‍न संस्करण प्रयोग गरे, छापे र वितरण गरे। मानिसहरूले “सत्यको सही ज्ञान लिऊन्‌” भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। (१ तिमोथि २:३, ४) त्यसैले मानिसहरूलाई सही ज्ञान लिन अझ मदत गर्ने एउटा नयाँ अनुवादको आवश्‍यकता हामीले महसुस गऱ्‍यौँ। इस्वी संवत्‌ १९५० देखि हामीले आधुनिक भाषाशैली प्रयोग गरिएको नयाँ संसार अनुवाद बाइबलको केही अंश अङ्‌ग्रेजी भाषामा प्रकाशित गर्न थाल्यौँ। अहिले यो बाइबल १७० भन्दा धेरै भाषामा उपलब्ध छ र यसलाई मौलिक भाषाअनुसारै सही तरिकामा अनुवाद गरिएको छ।

बुझ्न सजिलो बाइबलको आवश्‍यकता। समयसँगसँगै भाषा परिवर्तन हुन्छ। बाइबलका थुप्रै अनुवादमा अहिले बुझ्न गाह्रो वा पुराना शब्दहरू प्रयोग गरिएका छन्‌। साथै मूल प्रतिसित अझ मेल खाने पुराना पाण्डुलिपिहरू पनि फेला परेका छन्‌। यसले गर्दा बाइबलकालीन हिब्रू, अरामी र ग्रीक भाषा अझ राम्ररी बुझ्न सम्भव भएको छ।

परमेश्‍वरको वचनप्रति वफादारी झल्किने अनुवादको आवश्‍यकता। बाइबल अनुवादकहरूले मौलिक भाषाबाट जस्ताको तस्तै अनुवाद गर्नुपर्छ, परमेश्‍वरको प्रेरित वचनमा कुनै थपघट गर्नु हुँदैन। तर धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नाम ‘यहोवा’ प्रयोग गरिएको छैन।

बाइबलको मूल-लेखकलाई सम्पूर्ण श्रेय दिने अनुवादको आवश्‍यकता। (२ समुएल २३:२) यहोवाको नाम जहाँ-जहाँ हुनुपर्ने हो, नयाँ संसार अनुवाद-मा त्यहीँ-त्यहीँ त्यो नाम फेरि राखिएको छ। तल दिइएको चित्रमा देखाइएझैँ बाइबलका सबैभन्दा पुराना पाण्डुलिपिहरूमा यहोवाको नाम लगभग ७ हजार पटक उल्लेख गरिएको छ। (भजन ८३:१८) यो अनुवाद वर्षौँसम्म गहिरो अनुसन्धान गरेर तयार पारिएको हो र यसमा परमेश्‍वरको विचारलाई स्पष्टसित व्यक्‍त गरिएको छ। त्यसैले यो अनुवाद पढ्‌दा निकै रमाइलो हुन्छ। तपाईँको भाषामा नयाँ संसार अनुवाद भए पनि, नभए पनि दिनदिनै यहोवाको वचन पढ्‌ने बानी बसाल्न हामी तपाईँलाई आग्रह गर्छौँ।—यहोसु १:८; भजन १:२, ३.

  • हामीले बाइबलको नयाँ अनुवादको आवश्‍यकता किन महसुस गऱ्‍यौँ?

  • परमेश्‍वरको इच्छा बुझ्न चाहनेहरूले दिनदिनै के गर्ने बानी बसाल्नु राम्रो हो?