पाठ ६

सङ्‌गी ख्रीष्टियनहरूसँगको सङ्‌गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?

सङ्‌गी ख्रीष्टियनहरूसँगको सङ्‌गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?

मडागास्कर

नर्वे

लेबनान

इटाली

घना जङ्‌गल पार गर्नुपरे पनि वा मौसम प्रतिकूल भए पनि हामी सधैं ख्रीष्टियन सभाहरू धाउँछौं। जीवनका चुनौतीहरू अनि दिनभरिको कामपछि हुने थकानको बाबजुद यहोवाका साक्षीहरू सङ्‌गी ख्रीष्टियनहरूसित सङ्‌गत गर्न सक्दो प्रयास गर्छन्‌। किन?

यो हाम्रै हितको लागि हो। मण्डलीका भाइबहिनीप्रति ‘गहिरो चासो राख’ भनी पावलले बताए। (हिब्रू १०:२४) यसको मतलब हामीले एकअर्कालाई राम्रोसँग चिन्‍नुपर्छ। पावलका उक्‍त शब्दहरूले हामीलाई अरूको ख्याल राख्न प्रोत्साहन दिन्छ। मण्डलीका अरू ख्रीष्टियन परिवारले पनि हाम्रो जस्तै समस्याहरू भोगेर त्यसलाई सफलतापूर्वक पार गरेका हुन सक्छन्‌। त्यसैले तिनीहरूलाई अझ राम्ररी चिन्‍ने प्रयास गर्दा हामीले पनि तिनीहरूबाट मदत पाउन सक्छौं।

दिगो मित्रता गाँस्न मदत गर्छ। हाम्रा सभामा भेला हुने भाइबहिनीहरू सामान्य चिनजान भएका व्यक्‍तिहरू मात्र होइनन्‌ तर घनिष्ठ मित्रहरू हुन्‌। कहिलेकाहीं हामी सँगै भेला भएर उत्थानदायी मनोरञ्जन पनि गर्छौं। यसरी सरसङ्‌गत गर्दा कस्तो फाइदा हुन्छ? हामी एक-अर्काको अझ कदर गर्न सिक्छौं र हामीबीचको प्रेमको बन्धन पनि झन्‌ बलियो हुन्छ। साथै हामीले बलियो मित्रता गाँसिसकेका छौं भने आफ्ना मित्रहरूलाई कुनै समस्या पर्दा मदत गर्न तुरुन्तै तयार हुनेछौं। (हितोपदेश १७:१७) अनि मण्डलीका सबै भाइबहिनीसित सङ्‌गत गरेर “एकअर्काको उत्तिकै ख्याल” गरेको देखाउँछौं।—१ कोरिन्थी १२:२५, २६.

हामी तपाईंलाई परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउनेहरूलाई साथी बनाउन आग्रह गर्छौं। यहोवाका साक्षीहरूमाझ तपाईंले त्यस्ता साथीहरू पाउनुहुनेछ। आशा छ, हामीसित सरसङ्‌गत गर्नदेखि तपाईंलाई कुनै पनि कुराले रोक्नेछैन।

  • सभामा एकसाथ भेला हुँदा कसरी हाम्रै फाइदा हुन्छ?

  • तपाईं कहिले हाम्रो सभामा आएर भाइबहिनीसित चिनजान गर्न चाहनुहुन्छ?