सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १०

पारिवारिक उपासना भनेको के हो?

पारिवारिक उपासना भनेको के हो?

दक्षिण कोरिया

ब्राजिल

अस्ट्रेलिया

गिनी

यहोवा सबै परिवारले उहाँसित र एकअर्कासित घनिष्ठ सम्बन्ध गाँसेको चाहनुहुन्छ। त्यसैले उहाँले परिवारहरूलाई एकसाथ समय बिताउनू भनी धेरै अघि आज्ञा दिनुभएको थियो र त्यो आज्ञा परिवर्तन भएको छैन। (व्यवस्था ६: ६, ७) त्यसैले यहोवाका साक्षीहरू परिवारै मिलेर उपासना गर्न हरेक हप्ता केही समय छुट्ट्याउँछन्‌। यसरी भेला हुँदा तिनीहरू आरामदायी वातावरणमा आफ्नो खास आवश्‍यकतासित सम्बन्धित विषयहरूबारे छलफल गर्छन्‌। तपाईँ एक्लै बस्नुहुन्छ भने पनि उपासनाको लागि समय छुट्ट्याएर बाइबलसम्बन्धी कुनै एउटा विषयमा अध्ययन गर्न सक्नुहुन्छ।

यहोवासित अझ नजिक हुने समय। “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यहोवाको लिखित वचन बाइबलबाट उहाँको व्यक्‍तित्व र व्यवहारबारे सिक्दै जाँदा उहाँलाई अझ राम्ररी चिन्‍न सक्छौँ। पारिवारिक उपासना सुरु गर्ने एउटा सजिलो तरिका सँगै बसेर ठूलो स्वरले बाइबल पढ्‌नु हो। उदाहरणको लागि, ‘जीवन र प्रचारकार्य’ सभाको तालिकामा हरेक हप्ता बाइबल पढाइको लागि छुट्ट्याइएको भाग पढ्‌न सकिन्छ। परिवारका सबै सदस्य मिलेर पालैपालो पढ्‌न र त्यसबाट आफूले सिकेको कुरा सँगै छलफल गर्न सकिन्छ।

परिवारका सदस्यहरूसित अझ घनिष्ठ हुने समय। परिवार मिलेर बाइबल अध्ययन गर्दा श्रीमान्‌-श्रीमती अनि आमाबुबा-छोराछोरीबीचको बन्धन बलियो हुन्छ। यो सबैको लागि रमाइलो समय हुनुपर्छ अनि परिवारका सबै सदस्यलाई ‘यो दिन कहिले आउला’ जस्तो लाग्नुपर्छ। आमाबुबाले छोराछोरीको उमेरलाई विचार गरेर विभिन्‍न व्यावहारिक विषयहरू छलफल गर्न सक्छन्‌। जस्तै: प्रहरीधरहरा ब्यूँझनुहोस्‌!-मा भएको कुनै लेख अथवा हाम्रो वेबसाइट jw.org मा भएको कुनै सामग्री प्रयोग गर्न सक्छन्‌। छोराछोरीले स्कुलमा भोगिरहेको समस्याबारे कुराकानी गरेर त्यसको सामना गर्ने तरिकाबारे छलफल गर्न सकिन्छ। साथै JW ब्रोडकास्टिङ (tv.pr418.com) हेरेर सिकेको कुरा सँगै छलफल गरे कसो होला? सभाहरूमा गाइने गीतको अभ्यास पनि गर्न सकिन्छ। अनि पारिवारिक उपासना सिद्धिएपछि हल्का खाजा खाएर रमाइलो गर्न सकिन्छ।

पारिवारिक उपासना भनेको हरेक हप्ता पूरै परिवार मिलेर यहोवाको उपासना गर्ने विशेष समय हो। यसो गर्दा सबै जना परमेश्‍वरको वचनमा रमाउन सक्नेछन्‌ अनि यहोवाले तपाईँको प्रयासमा प्रशस्त आशिष्‌ दिनुहुनेछ।—भजन १:१-३.

  • पारिवारिक उपासनाको लागि हामी किन समय छुट्ट्याउँछौँ?

  • पारिवारिक उपासना सबैको लागि रमाइलो बनाउन आमाबुबाले के गर्न सक्छन्‌?