पाठ १२
हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?
आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येसुले यसो भन्नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४) तर पृथ्वीभरि प्रचार गर्न कसरी सम्भव हुने थियो? पृथ्वीमा छँदा येसुले बसाल्नुभएको नमुना पछ्याएर।—लुका ८:१.
हामी मानिसहरूलाई घरैमा भेट्ने प्रयास गर्छौँ। येसुले आफ्ना चेलाहरूलाई घर-घरमा गएर सुसमाचार प्रचार गर्ने तालिम दिनुभयो। (मत्ति १०:११-१३; प्रेषित ५:४२; २०:२०) प्रथम शताब्दीका ती प्रचारकहरूलाई निश्चित इलाकामा प्रचार गर्न खटाइएको थियो। (मत्ति १०:५, ६; २ कोरिन्थी १०:१३) आज पनि हाम्रो प्रचारकार्य सुव्यवस्थित छ। हरेक मण्डलीलाई आ-आफ्नै इलाका दिइएको छ। यस्तो प्रबन्धले गर्दा ‘मानिसहरूलाई प्रचार गर्नू र राम्ररी साक्षी दिनू’ भन्ने येसुको आज्ञा पालन गर्न सम्भव भएको छ।—प्रेषित १०:४२.
मानिसहरू जहाँ-जहाँ भेटिन्छन्, त्यहाँ-त्यहाँ प्रचार गर्ने प्रयास गर्छौँ। येसुले इनार, समुद्रको किनाराजस्ता सार्वजनिक ठाउँमा प्रचार गरेर पनि हाम्रो लागि उदाहरण बसाल्नुभयो। (मर्कुस ४:१; युहन्ना ४:५-१५) हामी पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्, त्यहाँ-त्यहाँ तिनीहरूलाई बाइबलबारे बताउँछौँ। जस्तै: सडकमा, व्यापारिक इलाकामा, बस-स्टपमा, पार्कमा अथवा टेलिफोनमार्फत। हामी आफ्ना छिमेकी, सहकर्मी, सहपाठी र आफन्तलाई मौका मिल्नेबित्तिकै बाइबलबारे बताउँछौँ। यसरी विभिन्न मौकाको सदुपयोग गर्दै प्रचार गरेकोले लाखौँ मानिसले परमेश्वरले दिनुहुने “उद्धारको सुसमाचार” सुन्न पाएका छन्।—भजन ९६:२.
परमेश्वरको राज्यको सुसमाचार र यसले दिने भविष्यको आशाबारे तपाईँ कसलाई बताउन चाहनुहुन्छ? यो सुसमाचार सबैका लागि हो, त्यसैले जतिसक्दो छिटो अरूलाई पनि सुनाउनुहोस्।
-
हामीले केको “सुसमाचार” प्रचार गर्नुपर्छ?
-
येसुले प्रचार गर्नुभएको तरिका यहोवाका साक्षीहरूले कसरी अनुकरण गरिरहेका छन्?