आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले यसो भन्नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) तर पृथ्वीभरि प्रचार गर्न कसरी सम्भव हुनेथियो? पृथ्वीमा छँदा येशूले बसाल्नुभएको नमुनालाई पछ्याएर।—लूका ८:१.
हामी मानिसहरूलाई घरैमा भेट्ने प्रयास गर्छौं। येशूले आफ्ना चेलाहरूलाई घर-घरमा गएर सुसमाचार प्रचार गर्न सिकाउनुभयो। (मत्ती १०:११-१३; प्रेषित ५:४२; २०:२०) प्रथम शताब्दीका ती प्रचारकहरूलाई निश्चित इलाकामा प्रचार गर्न खटाइएको थियो। (मत्ती १०:५, ६; २ कोरिन्थी १०:१३) आज पनि हाम्रो प्रचारकार्य सुव्यवस्थित छ। हरेक मण्डलीलाई आ-आफ्नै इलाका दिइएको छ। यस्तो प्रबन्धले गर्दा ‘मानिसहरूलाई प्रचार गर्नू र राम्ररी बुझाउनू’ भन्ने येशूको आज्ञा पालन गर्न सम्भव भएको छ।—प्रेषित १०:४२.
मानिसहरू जहाँ-जहाँ भेटिन्छन्, त्यहाँ-त्यहाँ प्रचार गर्ने प्रयास गर्छौं। येशूले इनारनजिकै र समुद्रको छेउजस्ता सार्वजनिक ठाउँमा प्रचार गरेर पनि हाम्रो लागि उदाहरण बसाल्नुभयो। (मर्कूस ४:१; यूहन्ना ४:५-१५) हामी पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्, त्यहाँ-त्यहाँ तिनीहरूलाई बाइबलबारे बताउँछौं। जस्तै: सडकमा, व्यापारिक इलाकामा, बस-स्टपमा अथवा टेलिफोनमा। हामी आफ्ना छिमेकी, सहकर्मी, सहपाठी र आफन्तलाई मौका मिल्नेबित्तिकै बाइबलबारे बताउँछौं। यसरी विभिन्न मौकाको सदुपयोग गर्दै प्रचार गरेकोले लाखौं मानिसले परमेश्वरले दिनुहुने “उद्धार”-को सुसमाचार सुन्न पाएका छन्।—भजन ९६:२.
परमेश्वरको राज्यको सुसमाचार र यसले दिने भविष्यको आशाबारे तपाईं कसलाई बताउन चाहनुहुन्छ? यो सुसमाचार सबैका लागि हो, त्यसैले जतिसक्दो छिटो अरूलाई पनि सुनाउनुहोस्।
हामीले केको “सुसमाचार” प्रचार गर्नुपर्छ?
येशूले प्रचार गर्नुभएको तरिका यहोवाका साक्षीहरूले कसरी अनुकरण गरिरहेका छन्?