पाठ १९

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

दासले दिने भोजनबाट हामी लाभ उठाउँछौं

आफ्नो मृत्यु हुनुभन्दा अलिक समयअघि येशूका चार जना चेला पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियास सुटुक्क आएर उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे उहाँलाई सोधे। आफ्नो उपस्थितिको चिन्हबारे भविष्यवाणी गर्ने क्रममा उहाँले तिनीहरूलाई यो महत्त्वपूर्ण प्रश्‍न सोध्नुभयो: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस्‌ भनेर नियुक्‍त गरेका हुन्छन्‌?” (मत्ती २४:३, ४५; मर्कूस १३:३, ४) येशू आफ्ना चेलाहरूको “मालिक” हुनुहुन्छ। त्यसैले आफ्ना अनुयायीहरूको लागि अन्तको समयमा अटुट रूपमा भोजनको प्रबन्ध गर्न दासलाई नियुक्‍त गर्नेछु भनेर उहाँले आश्‍वासन दिंदै हुनुहुन्थ्यो। त्यो दास को हुनेथियो?

यो येशूका अभिषिक्‍त अनुयायीहरूको सानो समूह हो। यहोवाका साक्षीहरूको परिचालक निकायले “दास”-को काम गरिरहेको छ। यस “दास”-ले यहोवाका सम्पूर्ण उपासकहरूको लागि समयसुहाउँदो भोजनको प्रबन्ध गर्छ। “ठीक समयमा र ठीक मात्रामा भोजन” पाइरहन हामी यस विश्‍वासी दासमा निर्भर छौं।—लूका १२:४२.

यसले परमेश्‍वरको घरानाको हेरचाह गर्छ। (१ तिमोथी ३:१५) यहोवाको सङ्‌गठनअन्तर्गत पृथ्वीमा भएको सम्पूर्ण कुराको हेरचाह गर्ने गहन जिम्मेवारी येशूले यस दासलाई सुम्पनुभयो। ती हुन्‌: उहाँको सङ्‌गठनअन्तर्गत पृथ्वीमा भएका भौतिक सरसम्पत्तिको रेखदेख गर्ने, प्रचारकार्यलाई डोऱ्‍याउने अनि मण्डलीहरूमार्फत हामीलाई सिकाउने। यसरी “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले हामीलाई चाहिएकै समयमा आवश्‍यक भोजन उपलब्ध गराइरहेको छ। कसरी? हामीले प्रचारकार्यमा चलाउने प्रकाशनका साथै हाम्रा सभा तथा सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रमद्वारा।

यो दास बाइबलमा भएका सत्य कुराहरूप्रति र आफूलाई सुम्पिइएको सुसमाचार प्रचार गर्ने कामप्रति विश्‍वासी छ। साथै येशूसित पृथ्वीमा भएका सम्पूर्ण कुराको हेरविचार गर्ने सन्दर्भमा बुद्धिमान्‌ पनि छ। (प्रेषित १०:४२) आज यहोवाको आशिष्‌ले गर्दा उहाँका साक्षीहरूको सङ्‌ख्या धेरै बढिरहेको छ अनि उहाँले विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत प्रचुर मात्रामा बाइबलआधारित जानकारी उपलब्ध गराइरहनुभएको छ।—यशैया ६०:२२; ६५:१३.

  • आफ्ना चेलाहरूलाई आवश्‍यक भोजन उपलब्ध गराउन येशूले कसलाई नियुक्‍त गर्नुभयो?

  • येशूले नियुक्‍त गर्नुभएको दास कसरी विश्‍वासी र बुद्धिमान्‌ छ?