सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २४

हाम्रो विश्‍वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?

हाम्रो विश्‍वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?

नेपाल

टोगो

बेलायत

हाम्रो सङ्‌गठनले हरेक वर्ष लाखौँ बाइबल, पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका छाप्छ र निश्‍शुल्क वितरण गर्छ। साथै हामी राज्यभवन अनि शाखा कार्यालयहरूको निर्माण र त्यसको स्याहारसम्भार गर्छौँ। हामी हजारौँ बेथेल सेवक र मिसनरीहरूको आवश्‍यकता पूरा गर्छौँ। साथै प्राकृतिक प्रकोप आइपर्दा राहत सामग्री उपलब्ध गराउँछौँ। यी सबै सुन्दा तपाईँलाई यस्तो लाग्ला, ‘यी सबै कुराको लागि खर्च कसरी जुटाइन्छ?’

हामी कुनै भेटी, दशांश वा चन्दा सङ्‌कलन गर्दैनौँ। हाम्रो प्रचारकार्यको लागि धेरै खर्च लाग्छ, तैपनि हामी कसैसित पैसा माग्दैनौँ। यही कुरा लगभग एक सय वर्षअघि छापिएको प्रहरीधरहरा (अङ्‌ग्रेजी) पत्रिकाको दोस्रो अङ्‌कमा बताइएको थियो। त्यस पत्रिकामा यहोवाले हाम्रो कामलाई साथ दिइरहनुभएको छ भन्‍ने विश्‍वस्तता व्यक्‍त गर्नुका साथै “सहयोगको लागि मानिसहरूसित कहिल्यै माग्ने वा हात फैलाउने छैनौँ” भनेर पनि बताइएको थियो। हुन पनि हामीले कहिल्यै त्यसो गरेका छैनौँ।—मत्ति १०:८.

हाम्रो गतिविधि स्वैच्छिक अनुदानद्वारा सञ्चालन हुन्छ। हामीले गरिरहेको बाइबलआधारित शैक्षिक कार्यक्रमको थुप्रै मानिसले कदर गर्छन्‌ र यसको लागि अनुदान दिन्छन्‌। सारा पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्न यहोवाका साक्षीहरू राजीखुसीले आफ्नो समय, शक्‍ति, पैसा र अन्य स्रोत-साधन खर्च गर्छन्‌। (१ इतिहास २९:९) हाम्रा राज्यभवन, सम्मेलन र अधिवेशनहरूमा अनुदान बाकस राखिएका हुन्छन्‌ र अनुदान दिन चाहनेहरूले त्यसमा खसाल्न सक्छन्‌। हाम्रो वेबसाइट jw.org मार्फत पनि अनुदान दिन सकिन्छ। हामीलाई प्राप्त हुने अनुदानमध्ये प्रायजसो अनुदान थोरै आयस्रोत भएकाहरूले नै खसालेका हुन्‌। येसुले पनि मन्दिरको दानपात्रमा दुई साना सिक्का खसाल्ने एक जना गरिब विधवाको निकै प्रशंसा गर्नुभयो। (लुका २१:१-४) त्यसकारण जोसुकैले पनि “आफ्नो मनमा निर्णय गरेबमोजिम” अनुदान दिन ‘केही छुट्ट्याएर राख्ने’ बानी बसाल्न सक्छन्‌।—२ कोरिन्थी ९:७; १ कोरिन्थी १६:२.

यहोवाको इच्छा पूरा गर्न उहाँको राज्यसम्बन्धी गतिविधिलाई विस्तार गर्नु आवश्‍यक छ। त्यसैले “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर” गर्न चाहनेहरूलाई उहाँले त्यसो गरिरहने मन दिनुहुनेछ भनेर हामी विश्‍वस्त छौँ।—हितोपदेश ३:९.

  • हाम्रो सङ्‌गठन अरू धार्मिक सङ्‌गठनहरूभन्दा कसरी भिन्‍न छ?

  • स्वैच्छिक अनुदानहरू केको लागि प्रयोग गरिन्छ?