सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ९

यहोवाबारे बोल्न नडराउने मान्छे

यहोवाबारे बोल्न नडराउने मान्छे

मान्छेहरू यर्मियासित किन रिसाए?

यहोवाले यर्मियालाई बचाउनुभयो

अरूलाई यहोवाको कुरा सुनाउँदा कसै-कसैले हामीलाई कस्तो जिस्काउँछन्‌ नि, हगि! अनि कोही-कोही त असाध्यै रिसाउँछन्‌ पनि। त्यस्तो बेला ‘अबदेखि म यहोवाको कुरै गर्दिनँ’ जस्तो लाग्न सक्छ। तिमीलाई पनि त्यस्तै लागेको थियो कि?— बाइबलमा त्यस्तै एक जना केटाको बारेमा लेखिएको छ। उसको नाम यर्मिया हो। ऊ यहोवालाई धेरै माया गर्थ्यो। तर पछि उसले यहोवाको कुरा अरूलाई बताउन छोड्नै लागेको थियो। अब हामी उसको बारेमा अझै पढौं है त!

एकदिन यहोवाले यर्मियालाई एउटा काम अह्राउनुहुन्छ। यर्मियाले मान्छेहरूलाई यसो भन्नुपर्थ्यो: ‘यहोवा भन्नुहुन्छ, अबदेखि खराब काम नगर!’ मान्छेहरूलाई यसो भन्न यर्मियालाई धेरै गाह्रो लाग्छ। ऊ डराउँछ। उसले यहोवालाई यसो भन्छ: ‘मलाई त बोल्नै आउँदैन। म त सानै छु।’ यहोवाले उसलाई भन्नुहुन्छ: ‘नडरा! म तँलाई मदत गर्छु।’

त्यसैले यर्मियाले मान्छेहरूलाई यसो भन्न थाल्छ: ‘तिमीहरूले खराब काम गर्न छोडेनौ भने यहोवाले तिमीहरूलाई सजाय दिनुहुन्छ।’ त्यो सुनेर मान्छेहरूले यर्मियाको कुरा माने होलान्‌ त?— अहँ, मानेनन्‌। बरु उल्टै, ती मान्छेहरू यर्मियालाई गिज्याउन थाल्छन्‌ अनि ऊ देखेर असाध्यै रिसाउँछन्‌। कोही-कोहीले त यर्मियालाई मार्न समेत खोज्छन्‌। यो देखेर यर्मियालाई कस्तो लाग्छ?— ऊ डराउँछ अनि यसो भन्छ: ‘अबदेखि म यहोवाको कुरा गर्दै गर्दिनँ।’ त्यसोभए के यर्मियाले यहोवाको कुरा गर्नै छोड्यो त?— अहँ, छोडेन। यर्मिया यहोवालाई धेरै माया गर्थ्यो। त्यसैले यहोवाको कुरा नगरी ऊ बस्नै सकेन। अनि यर्मियाले यहोवाको कुरा गर्न नछोडेकोले यहोवाले पनि उसलाई बचाउनुभयो।

एक चोटिको कुरा हो, केही खराब मान्छेहरूले यर्मियालाई हिलै-हिलो भएको इनारमा फालिदिन्छन्‌। यर्मियाले खाना, पानी केही पनि पाउँदैन। यर्मिया त्यही इनारमा मरोस् भन्ने ती खराब मान्छेहरू चाहन्थे। तर यहोवाले यर्मियालाई बचाउनुहुन्छ।

यर्मियाको कथा पढेर तिमीले के सिक्यौ?— यर्मियालाई कहिलेकाहीं असाध्यै डर लाग्थ्यो। तैपनि उसले यहोवाको कुरा गर्न छोडेन। अरूलाई यहोवाको कुरा सुनाउँदा तिमीलाई पनि जिस्काउन सक्छन्‌; तिमीदेखि रिसाउन सक्छन्‌। त्यतिबेला तिमीलाई दुःख लाग्छ होला अथवा डर लाग्छ होला। तैपनि यहोवाको कुरा अरूलाई भन्न नछोड है! उहाँले तिमीलाई सधैं मदत गर्नुहुन्छ, यर्मियालाई जस्तै।