सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १४

पृथ्वीभरि परमेश्वरको राज्य

पृथ्वीभरि परमेश्वरको राज्य

अब हामी कसको राज्यबारे पढ्छौं, तिमी भन्न सक्छौ?— परमेश्वरको राज्यबारे। परमेश्वरको राज्यले यो पूरै पृथ्वीलाई अदनको बगैंचाजस्तै राम्रो बनाउनेछ। तिमी परमेश्वरको राज्यबारे अझ धेरै कुरा सिक्न चाहन्छौ?—

हरेक देशमा राजा हुन्छ। राजाले आफ्नो देशका मान्छेहरूमाथि शासन गर्छ। परमेश्वरको राज्यको राजा को हो, तिमीलाई थाह छ?— येशू ख्रीष्ट। उहाँ स्वर्गमा बस्नुहुन्छ। अब छिट्टै उहाँले पृथ्वीको सबै ठाउँमा राज्य गर्नुहुनेछ। येशूले पृथ्वीभरि राज्य गर्दा रमाइलो हुन्छ कि हुँदैन?—

पृथ्वी सुन्दर बगैंचा भएपछि तिमी के गर्न चाहन्छौ?

ओहो! त्यतिबेला कत्ति रमाइलो हुनेछ! पृथ्वी अदनको बगैंचाजस्तै भएपछि मान्छेहरूले एक-अर्कासित झगडा गर्नेछैनन्‌। देश-देशबीच लडाइँ पनि हुनेछैन। कोही पनि बिरामी हुनेछैनन्‌। अनि कोही पनि मर्नेछैनन्‌। अन्धाहरूले देख्न थाल्नेछन्‌, बहिराहरूले सुन्न थाल्नेछन्‌। हिंड्न नसक्ने मान्छेहरू पनि दौडन र उफ्रन थाल्नेछन्‌। त्यहाँ धेरै खानेकुरा पाइनेछ। जनावरहरू एकअर्कासित अनि हामीसित पनि मिलेर बस्नेछन्‌। मरिसकेको मान्छे फेरि जिउँदो हुनेछ। रिबेका, राहाब, दाऊद र एलियाबारे हामीले थाह पायौं नि, हगि! हो, तिनीहरू पनि फेरि जिउँदो हुनेछन्‌! तिमी तिनीहरूलाई भेट्न चाहन्छौ?—

यहोवा तिमीलाई माया गर्नुहुन्छ। अनि तिमी खुसी भएको चाहनुहुन्छ। यहोवाको कुरा सिक्न र उहाँको कुरा मान्न छोडेनौ भने तिमी पनि सुन्दर बगैंचामा सधैंभरि बस्न पाउनेछौ। पृथ्वी सुन्दर बगैंचा भएपछि तिमी पनि त्यहाँ बस्न चाहन्छौ?—