सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४

यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ

यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

परमेश्‍वरका जनहरूले कसरी उहाँको नामले पाउनुपर्ने आदर दिए

१, २. नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नाम कसरी उच्च पारिएको छ?

 कुरा सन्‌ १९४७, डिसेम्बर २, मङ्‌गलबार बिहानको हो। चिसो तर घमाइलो त्यस दिनमा ब्रूक्लिन बेथेलका अभिषिक्‍त भाइहरूको सानो समूहले एउटा ठूलो काम गर्ने कम्मर कस्यो। काम धेरै गाह्रो थियो। तर १२/१२ वर्षसम्म भाइहरू रातदिन नभनी त्यो काममा खटिए। अन्तमा मार्च १३, १९६० आइतबारको दिन त्यो काम पूरा भयो। त्यो थियो, बाइबलको नयाँ अनुवाद। त्यसको तीन महिनापछि जून १८, १९६० मा बेलायतको म्यानचेस्टरमा भएको अधिवेशनमा भाइ नेथन नोरले त्यस नयाँ अनुवादको विमोचन गरे। अङ्‌ग्रेजी भाषामा प्रकाशित उक्‍त अनुवादको नाम थियो, नयाँ संसार अनुवाद। अधिवेशनमा उपस्थित भएका मानिसहरू नयाँ बाइबल पाएर धेरै खुसी भए। तिनीहरूको भावना व्यक्‍त गर्दै भाइ नोरले यसो भने: ‘आज यहोवाका साक्षीहरूको लागि खुसीको दिन हो!’ यस नयाँ अनुवादको एउटा विशेषता के हो भने, यसमा परमेश्‍वरको नाउँ जहाँ-जहाँ हुनुपर्छ, त्यहाँ-त्यहाँ राखिएको छ।

सन्‌ १९५० मा आयोजना गरिएको ईश्‍वरतन्त्रको वृद्धि सम्मेलनमा अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) विमोचन गरियो (बायाँ: याङ्‌की रङ्‌गशाला, न्यु योर्क सहर; दायाँ: घाना)

प्रायजसो बाइबल अनुवादहरूमा परमेश्‍वरको नाम प्रयोग गरेको पाइँदैन। नयाँ संसार अनुवाद परमेश्‍वरको नाम मेटाउने सैतानको कुटिल प्रयास विरुद्ध यहोवाका अभिषिक्‍त सेवकहरूले चालेको कदमको फल थियो। यसको परिचयमा यस्तो लेखिएको थियो: “यस अनुवादमा यहोवाको नाम पवित्र धर्मशास्त्रमा जहाँ-जहाँ हुनुपर्छ, त्यहाँ-त्यहाँ पुनर्स्थापित गरिएको छ।” हुन पनि, नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नाम यहोवा ७,००० भन्दा धेरै चोटि प्रयोग गरिएको छ। यस अनुवादले स्वर्गमा हुनुहुने हाम्रो बुबाको नाम उच्च पारेको छ भन्‍ने कुरामा दुई मत छैन!

३. (क) परमेश्‍वरको नामको अर्थबारे हाम्रा भाइहरूले के कुरा बुझे? (ख) प्रस्थान ३:१३, १४ को अर्थ के हो? (“ परमेश्‍वरको नामको अर्थ” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

सुरु-सुरुमा बाइबल विद्यार्थीहरूलाई परमेश्‍वरको नामको अर्थ “म हुँ जो म हुँ” हो भन्‍ने कुरा मात्र थाह थियो। (प्रस्थ. ३:१४) त्यसैले, जनवरी १, १९२६ अङ्‌कको प्रहरीधरहरा-मा यसो भनिएको थियो: “यहोवा भन्‍ने नामले आफै अस्तित्वमा आउनुभएको परमेश्‍वरलाई बुझाउँछ। . . . उहाँको न सुरु छ न अन्त।” तर यहोवाले दिनुभएको मदतले गर्दा उहाँका जनहरूले नयाँ संसार अनुवाद-को काम थाल्ने बेलासम्ममा उहाँको नामको अर्थ अझ राम्ररी बुझिसकेका थिए। उहाँको नामले उहाँ आफै अस्तित्वमा आउनुभयो भनेर मात्र होइन तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, उहाँ सक्रिय अनि आफ्नो उद्देश्‍य पूरा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ भनेर बुझाउँछ। तिनीहरूले उहाँको नामको ठेट अर्थ “उहाँले गराउनुहुन्छ” हो भनेर थाह पाए। हो, उहाँले गर्दा ब्रह्‍माण्ड र बौद्धिक प्राणीहरू अस्तित्वमा आए। अनि अहिले पनि उहाँले आफ्नो इच्छा र उद्देश्‍य पूरा गर्दै हुनुहुन्छ। तर परमेश्‍वरको नाम उच्च पार्नु किन महत्त्वपूर्ण छ? अनि उहाँको नाम उच्च पार्ने काममा हामी कसरी भाग लिन सक्छौं?

परमेश्‍वरको नामको पवित्रीकरण

४, ५. (क) “तपाईंको नाम पवित्र पारियोस्‌” भनेर प्रार्थना गर्दा हामीले के कुरा मागिरहेका हुन्छौं? (ख) परमेश्‍वरले कसरी र कहिले आफ्नो नाम पवित्र पार्नुहुनेछ?

यहोवा आफ्नो नाम उच्च पारिएको चाहनुहुन्छ। वास्तवमा, आफ्नो नाम पवित्र पार्नु उहाँको एउटा मुख्य उद्देश्‍य हो। यो कुरा येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनाको पहिलो बुँदाबाट प्रस्ट हुन्छ: “तपाईंको नाम पवित्र पारियोस्‌।” (मत्ती ६:९) हामीले प्रार्थनामा यस्तो बिन्ती गर्दा के कुरा मागिरहेका हुन्छौं?

येशूले आफ्नो प्रार्थनामा समावेश गर्नुभएका बुँदाहरूमध्ये तीन वटा यहोवाको उद्देश्‍यसित सम्बन्धित थियो र त्यसमध्ये पहिलो बुँदा “तपाईंको नाम पवित्र पारियोस्‌” भन्‍ने बिन्ती हो भनेर हामीले अध्याय १ मा सिक्यौं। अर्को दुई बुँदाचाहिं यी हुन्‌: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा . . . पूरा होस्‌।” (मत्ती ६:१०) त्यसैले हामीले प्रार्थना गर्दा यहोवालाई आफ्नो राज्य ल्याउनुहोस्‌ र आफ्नो इच्छा पूरा गर्नुहोस्‌ भनेर बिन्ती गर्नुका साथै आफ्नो नाम पवित्र पार्न कदम चाल्नुहोस्‌ भनेर पनि बिन्ती गर्छौं। अर्को शब्दमा भन्‍ने हो भने, अदनको बगैंचामा भएको विद्रोहपछि उहाँको नाममा लागेको सबै कलङ्‌क हटाउनुहोस्‌ भनेर उहाँलाई बिन्ती गर्छौं। त्यस्तो प्रार्थनाको जवाफ यहोवा कसरी दिनुहुन्छ? उहाँ भन्‍नुहुन्छ: “म मेरो महान्‌ नाउँलाई पवित्र पार्नेछु, जुन नाउँ ती जातिहरूका बीचमा अपवित्र भएको छ।” (इज. ३६:२३; ३८:२३) यहोवाले आरमागेडोनमा सबै खराब कुरालाई हटाउनुभएपछि आफ्नो नाउँ पवित्र पार्नुभएको सबैले देख्नेछन्‌।

६. परमेश्‍वरको नाममा लागेको कलङ्‌क हटाएर त्यसलाई पवित्र पार्ने काममा हामी कसरी योगदान पुऱ्‍याउन सक्छौं?

यहोवाले आफ्नो नाममा लागेको कलङ्‌क हटाउने काममा केही योगदान पुऱ्‍याउने मौका इतिहासको सुरुदेखि नै आफ्ना सेवकहरूलाई दिनुभएको छ। हो, हामी परमेश्‍वरको पवित्र नामलाई अझ पवित्र पार्न सक्दैनौं। किनभने परमेश्‍वरको नाम साँच्चै पवित्र छ। त्यसोभए उहाँको नाममा लागेको कलङ्‌क हटाएर त्यसलाई पवित्र पार्ने काममा हामी कसरी भाग लिन सक्छौं? यशैयाले यस्तो जवाफ दिए: “सेनाहरूका परमप्रभुलाईनै तैंले पवित्र ठान्‍नू।” अनि यहोवा आफैले आफ्ना जनहरूबारे यसो भन्‍नुभयो: “तिनीहरूले मेरो नाउँ पवित्र तुल्याउनेछन्‌ . . . र इस्राएलका परमेश्‍वरको भय मान्‍नेछन्‌।” (यशै. ८:१३; २९:२३) उहाँको नाम सबैभन्दा अलग अनि उच्च छ भनी ठानेर, उहाँको नाममा लुकेको अर्थ बुझेर अनि अरूलाई पनि उहाँको नाम पवित्र छ भनी बुझाएर हामी परमेश्‍वरको नाम पवित्र पार्ने काममा भाग लिन सक्छौं। यहोवा हाम्रो शासक हुनुहुन्छ भनेर मनैदेखि स्वीकाऱ्‍यौं र उहाँको आज्ञा पालन गऱ्‍यौं भने हामीले उहाँको नामलाई अझ विशेष तरिकामा श्रद्धा चढाइरहेका हुन्छौं।—हितो. ३:१; प्रका. ४:११.

परमेश्‍वरको नाम बहन गर्न र उच्च पार्न तयार पारियो

७, ८. (क) यहोवाले आफ्ना जनहरूलाई उहाँको नाम बहन गर्ने सुअवसर तुरुन्तै नदिनुको कारण के थियो? (ख) अब हामी के कुरा विचार गर्नेछौं?

बाइबल विद्यार्थीहरूले सन्‌ १८७० को दशकदेखि नै आफ्ना प्रकाशनहरूमा परमेश्‍वरको नाम प्रयोग गरेका छन्‌। उदाहरणको लागि, अगस्त १८७९ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा र सोही वर्ष अङ्‌ग्रेजी भाषामा प्रकाशित भएको दुलहीको गीतिपुस्तक-मा यहोवा भन्‍ने नाम प्रयोग गरिएको थियो। तैपनि बाइबल विद्यार्थीहरूले सुरुदेखि नै जनसमक्ष आफ्नो परिचय दिनुपर्दा यहोवा भन्‍ने नाम प्रयोग गरेका थिएनन्‌। यसो हेर्दा यहोवाले आफ्ना जनहरूलाई उहाँको नाम बहन गर्ने महान्‌ सुअवसर दिनुअघि तिनीहरूले उहाँले चाहनुभएअनुसार काम गरिरहेका छन्‌ कि छैनन्‌ भनेर पक्का गर्न खोज्नुभएको हो कि जस्तो देखिन्छ। त्यसोभए यहोवाले ती बाइबल विद्यार्थीहरूलाई आफ्नो नाम बहन गर्न कसरी योग्य बनाउनुभयो त?

उन्‍नाइसौं शताब्दीको अन्ततिर र बीसौं शताब्दीको सुरुतिरका घटनाहरूलाई विचार गर्दा यहोवाले आफ्ना जनहरूलाई उहाँको नामसित सम्बन्धित महत्त्वपूर्ण कुराहरू अझ राम्ररी कसरी बुझाउनुभयो, त्यो देख्न सक्छौं। आउनुहोस्‌, तीमध्ये तीन वटा कुरा विचार गरौं।

९, १०. (क) सुरु-सुरुको प्रहरीधरहरा-मा येशूको भूमिकालाई धेरै महत्त्व दिनुको कारण के थियो? (ख) सन्‌ १९१९ पछि के भयो? यसको नतिजा कस्तो भयो? ( प्रहरीधरहरा-ले कसरी परमेश्‍वरको नामलाई उच्च पारेको छ” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

पहिलो, यहोवाका सेवकहरूले उहाँको नाम कत्ति महत्त्वपूर्ण छ, त्यो बुझ्न थाले। सुरु-सुरुका वफादार बाइबल विद्यार्थीहरूले फिरौतीको बलिदान नै बाइबलको मुख्य शिक्षा हो भन्ठानेका थिए। त्यतिबेला प्रहरीधरहरा-मा येशूको भूमिकालाई धेरै महत्त्व दिनुको कारण पनि यही थियो। उदाहरणको लागि, प्रहरीधरहरा प्रकाशित भएको पहिलो वर्षमा येशूको नाम यहोवाको भन्दा दस गुणा धेरै प्रयोग भएको थियो। सुरु-सुरुका बाइबल विद्यार्थीहरूले वास्तवमै येशूलाई “बढ्‌तै महत्त्व” दिएका थिए भनेर मार्च १५, १९७६ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-मा बताइएको थियो। तर समय बित्दै जाँदा बाइबलमा यहोवा भन्‍ने नामलाई धेरै महत्त्व दिइएको रहेछ भनेर तिनीहरूले बुझ्न थाले। यसले गर्दा बाइबल विद्यार्थीहरूमाथि कस्तो असर पऱ्‍यो? सोही प्रहरीधरहरा-अनुसार विशेषगरि सन्‌ १९१९ यता “तिनीहरूले येशूको बुबा यहोवाको पहिलेभन्दा धेरै कदर गर्न थाले।” भन्‍ने हो भने, सन्‌ १९१९ पछिको दशकमा यहोवा भन्‍ने नाम ६,५०० चोटि भन्दा धेरै प्रयोग गरियो!

१० यहोवा नामले पाउनुपर्ने महत्त्व दिएर हाम्रा भाइहरूले परमेश्‍वरको नामलाई कत्ति प्रेम गर्छन्‌ भनेर देखाए। प्राचीन समयका मोशा जस्तै तिनीहरू “परमप्रभु [यहोवा] नाउँको घोषणा” गर्न अघि बढे। (व्यव. ३२:३; भज. ३४:३) फलस्वरूप, आफ्ना जनहरूले उहाँको नामको निम्ति देखाएको प्रेम यहोवाले याद गर्नुभयो र बाइबलमा प्रतिज्ञा गरिएझैं तिनीहरूलाई आशिष्‌ दिनुभयो।—भज. ११९:१३२; हिब्रू ६:१०.

११, १२. (क) सन्‌ १९१९ पछि हाम्रा प्रकाशनमा कुन कुरामाथि ध्यान दिन थालियो? (ख) यहोवाले कुन कुरातर्फ आफ्ना सेवकहरूको ध्यान खिच्दै हुनुहुन्थ्यो र किन?

११ दोस्रो, परमेश्‍वरले अह्राउनुभएको कामप्रति साँचो ख्रीष्टियनहरूले सही दृष्टिकोण राख्न थाले। जिम्मेवार अभिषिक्‍त भाइहरूले सन्‌ १९१९ को केही समयपछि यशैयाको भविष्यवाणी जाँचेर हेरे। त्यसपछि हाम्रा प्रकाशनहरूमा प्रचारकार्यलाई धेरै महत्त्व दिन थालियो। यो छाँटकाँट कसरी ‘ठीक समयमा दिइएको भोजन’ साबित भयो?—मत्ती २४:४५.

१२ “परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ।’” यशैयाको यो भनाइ सन्‌ १९१९ अघि प्रहरीधरहरा-मा कहिल्यै चर्चा गरिएको थिएन। (यशैया ४३:१०-१२ पढ्‌नुहोस्‌) तर सन्‌ १९१९ पछि हाम्रा प्रकाशनहरूमा यी शब्दहरूमाथि ध्यान दिन थालियो। परमेश्‍वरले अह्राउनुभएको काम अर्थात्‌ उहाँको साक्षी दिने काममा सबै अभिषिक्‍त जनले भाग लिनुपर्छ भनेर प्रोत्साहन दिइयो। भन्‍ने हो भने, सन्‌ १९२५ देखि १९३१ को बीचमा मात्रै यशैया अध्याय ४३ बारे प्रहरीधरहरा-को ५७ वटा विभिन्‍न अङ्‌कमा छलफल गरिएको थियो। साँचो ख्रीष्टियनहरूले यशैयाका शब्दहरू कसरी लागू गर्नुपर्छ भनेर ती प्रत्येक अङ्‌कमा जोड दिइएको थियो। भनिरहनु नपर्ला, यहोवाले त्यतिखेर आफ्ना सेवकहरूको ध्यान तिनीहरूले गर्नुपर्ने कामतर्फ खिच्दै हुनुहुन्थ्यो। किन? एउटा त, तिनीहरूको ‘योग्यताको जाँच’ गर्न। (१ तिमो. ३:१०) परमेश्‍वरको नाम बहन गर्नुअघि ती बाइबल विद्यार्थीहरूले आफ्नो कामबाटै आफ्नो योग्यता प्रमाणित गर्नुपर्थ्यो।—लूका २४:४७, ४८.

१३. हामीले बिर्सनु नहुने सबैभन्दा महत्त्वपूर्ण मुद्दाबारे बाइबलमा कसरी प्रकाश पारिएको छ?

१३ तेस्रो, उहाँको नाम पवित्र पार्नु कत्तिको महत्त्वपूर्ण छ भनेर परमेश्‍वरका जनहरूले बुझ्न थाले। अरू कुनै पनि मुद्दाले भन्दा परमेश्‍वरको नामको पवित्रीकरणले धेरै महत्त्व पाउनुपर्छ भनेर तिनीहरूले सन्‌ १९२० को दशकमा बुझे। परमेश्‍वरको वचनले यस्तो महत्त्वपूर्ण विषयबारे के भनेको छ? दुइटा उदाहरण विचार गर्नुहोस्‌। पहिलो, यहोवाले इस्राएलीहरूलाई मिश्रबाट उद्धार गर्नुको मुख्य कारण के थियो? यहोवाले यसो भन्‍नुभयो, “सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।” (प्रस्थ. ९:१६) दोस्रो, इस्राएलीहरूले उहाँको विद्रोह गर्दा समेत यहोवाले किन तिनीहरूमाथि कृपा देखाउनुभयो? यहोवाले के भन्‍नुभयो, फेरि एकचोटि याद गर्नुहोस्‌: “तिनीहरूका सामने मेरो नाउँ अपवित्र नहोस्‌ भनेर आफ्नो नाउँको खातिर मैले काम गरें।” (इज. २०:८-१०) बाइबलमा पाइने यी तथा अन्य विवरणबाट बाइबल विद्यार्थीहरूले के सिके?

१४. (क) सन्‌ १९२८/२९ तिर बाइबल विद्यार्थीहरूले के कुरा बुझे? (ख) यस्तो नयाँ बुझाइले प्रचारकार्यमा कस्तो प्रभाव पाऱ्‍यो? (“ प्रचार गर्नै पर्ने सशक्‍त कारण” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१४ झन्डै २,७०० वर्षअघि यशैयाले यहोवाको विषयमा यसो भनेका थिए: “यसरी तपाईंले आफ्नो नाउँ शोभायमान बनाउन आफ्नो प्रजालाई डोऱ्‍याउनुभयो।” सन्‌ १९२८/२९ तिर बाइबल विद्यार्थीहरूले यसको अर्थ अझ राम्ररी बुझे। (यशै. ६३:१४) तिनीहरूले आफ्नो उद्धार होइन तर परमेश्‍वरको नामको पवित्रीकरण नै सबैभन्दा महत्त्वपूर्ण विषय हो भनेर थाह पाए। (यशै. ३७:२०; इज. ३८:२३) सन्‌ १९२९ मा भविष्यवाणी भन्‍ने अङ्‌ग्रेजी किताबमा यसो भनिएको थियो: “परमेश्‍वरको नामको पवित्रीकरण नै ब्रह्‍माण्डको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो।” यस्तो नयाँ बुझाइले गर्दा परमेश्‍वरका सेवकहरू यहोवाको साक्षी दिन र उहाँको नाममा लगाइएको कलङ्‌क हटाउन झनै उत्प्रेरित भए।

१५. (क) सन्‌ १९३० को दशकसम्ममा हाम्रा भाइहरूले के कुरा बुझिसकेका थिए? (ख) अब तिनीहरू के गर्न योग्य भए?

१५ सन्‌ १९३० को दशक सुरु भएपछि हाम्रा भाइहरूले परमेश्‍वरको नाम कत्तिको महत्त्वपूर्ण छ, उहाँले तिनीहरूलाई अह्राउनुभएको काम के हो र परमेश्‍वरको नामको पवित्रीकरण नै किन ब्रह्‍माण्डको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो भनेर बुझिसकेका थिए। अब भने यहोवाको नजरमा बाइबल विद्यार्थीहरू जनसमक्ष उहाँको नाम बहन गर्न योग्य भएका थिए। तिनीहरूले यहोवाको नाम बहन गर्नुअघि के-कस्ता घटना भए, केही उदाहरण विचार गरौं।

यहोवा “आफ्नो नामको लागि मानिसहरू” छान्‍नुहुन्छ

१६. (क) यहोवाले आफ्नो नाम उच्च पार्न के गर्नुभयो? (ख) विगतमा परमेश्‍वरले कुन जातिलाई आफ्नो जनको रूपमा रोज्नुभयो?

१६ यहोवाले आफ्नो नाम उच्च पार्न एउटा उल्लेखनीय तरिका रोज्नुभएको छ। त्यो हो, पृथ्वीमा उहाँको नाम बहन गर्ने मानिसहरू छान्‍ने। ईसापूर्व १५१३ मा इस्राएल राष्ट्र यहोवाले रोज्नुभएको जन भयो। (यशै. ४३:१२) तर परमेश्‍वरसित बाँधेको करारअनुसार नचलेको हुनाले इस्वी संवत्‌ ३३ मा उहाँले तिनीहरूसित गाँसेको विशेष सम्बन्ध तोड्‌नुभयो। त्यसको केही समयपछि यहोवाले “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न . . . ध्यान दिनुभयो।” (प्रेषि. १५:१४) उहाँले भर्खरै रोज्नुभएका मानिसहरू “परमेश्‍वरको इस्राएल” भनेर चिनिए। “परमेश्‍वरको इस्राएल” विभिन्‍न जातिका अभिषिक्‍त ख्रीष्टियनहरू मिलेर बनेको छ।—गला. ६:१६.

१७. सैतान के गर्न सफल भयो?

१७ इस्वी संवत्‌ ४४ तिर येशू ख्रीष्टका चेलाहरूलाई “ईश्‍वरीय निर्देशनद्वारा ‘ख्रीष्टियन’ भन्‍न” थालियो। (प्रेषि. ११:२६) सुरुमा यो नाम अरूभन्दा फरक थियो किनभने त्यो नामले साँचो ख्रीष्टियनहरूलाई मात्र चिनाउँथ्यो। (१ पत्रु. ४:१६) तर समय बित्दै जाँदा येशूले गहुँ र सामाको दृष्टान्तमा भन्‍नुभएझैं भयो। सक्कली र नक्कली ख्रीष्टियनहरूबीचको भिन्‍नतालाई धमिलो बनाउने सैतानको दुष्प्रयास सफल भयो। फलस्वरूप, वर्षौंसम्म ख्रीष्टियन भन्‍ने नामले सबै किसिमका नक्कली ख्रीष्टियनहरूलाई पनि बुझाउन थाल्यो। तर सन्‌ १९१४ मा “बाली काट्‌ने बेला” सुरु भएपछि यो स्थिति रहेन। किन? किनभने स्वर्गदूतहरूले को-को सक्कली ख्रीष्टियन हुन्‌ भनेर छुट्ट्याउन थाले।—मत्ती १३:३०, ३९-४१.

१८. कुन कुराले गर्दा भाइहरूले नयाँ नाम चाहिएको कुरा बुझे?

१८ सन्‌ १९१९ मा यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दास नियुक्‍त गर्नुभयो। त्यसपछि उहाँका जनहरूले यहोवाले तिनीहरूलाई अह्राउनुभएको काम के हो भनेर अझ राम्ररी बुझ्न थाले। केही समयभित्रै तिनीहरूले सक्कली ख्रीष्टियनहरूको एउटा चिनारी घर-घरको प्रचारकार्य हो भनी बुझे। यो कुरा बुझेपछि तिनीहरूले “बाइबल विद्यार्थी” भन्‍ने नामले आफ्नो सही चिनारी दिंदैन भनी महसुस गरे। हुन पनि बाइबल अध्ययन गर्नु मात्रै तिनीहरूको जीवनको मुख्य उद्देश्‍य थिएन। परमेश्‍वरको साक्षी दिनु, उहाँको नाम उच्च पार्नु अनि उहाँको नामको आदर गर्नु पनि तिनीहरूको जीवनको अभिन्‍न भाग थियो। त्यसोभए बाइबल विद्यार्थीहरूले आफ्नो परिचय दिन कुन नाम चलाए बेस हुन्थ्यो त? यसको जवाफ सन्‌ १९३१ मा पाइयो।

अधिवेशनको कार्यक्रम पर्ची, सन्‌ १९३१

१९, २०. (क) सन्‌ १९३१ को अधिवेशनमा कस्तो रोमाञ्चकारी घोषणा गरियो? (ख) नयाँ नामप्रति भाइबहिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

१९ सन्‌ १९३१ जुलाई महिनामा अमेरिकाको ओहायो राज्यको कोलम्बसमा झन्डै १५,००० बाइबल विद्यार्थीहरू अधिवेशनको लागि भेला भएका थिए। अधिवेशनको कार्यक्रम पर्चीको पहिलो पानामा “जे डब्ल्यू” (JW) भन्‍ने अक्षर छापिएको थियो। यो देखेर सबै अलमल्लमा परे। ‘जे डब्ल्यू’-को अर्थ के होला भनेर सबै जनाले आ-आफ्नै अड्‌कल काटे। कसैले ‘जस्ट वेट’ (पर्खनुहोस्‌), कसैले ‘जस्ट वाच’ (हेर्नुहोस्‌) होला भन्ठाने। त्यसपछि जुलाई २६ तारिख आइतबारको दिन भाइ जोसेफ रदरफोर्डले आफ्नो भाषणको दौडान एउटा प्रस्ताव राखे। तिनले यसो भने: “हामी यहोवाका साक्षीहरू नामले चिनिन र बोलाइन चाहन्छौं।” बल्ल तिनीहरूले “जे डब्ल्यू”-को अर्थ बुझे। त्यो थियो, जेहोभाज्‌ विट्‌नेसेज अर्थात्‌ यहोवाका साक्षीहरू। यो नाम बाइबलको यशैया ४३:१० मा आधारित थियो।

२० उपस्थित श्रोताले जोडदार ताली बजाएर भाइ रदरफोर्डको प्रस्तावलाई पारित गरे। तिनीहरूको यस्तो उत्साहजनक प्रतिक्रिया रेडियो मार्फत संसारको अर्को कुनासम्म पुग्यो! त्यतिखेरको कुरा सम्झँदै अस्ट्रेलियाका अर्नेस्ट र नाओमी बार्बर यसो भन्छन्‌: “अमेरिकामा बजेको तालीको गडगडाहट सुनेपछि मेल्बर्नका भाइबहिनीहरूको खुट्टा खुसीले भुइँमा रहेन र तिनीहरूले पनि निकै बेरसम्म ताली बजाइरहे। हामी त्यो घटना कहिल्यै बिर्सन सक्दैनौं।” a

परमेश्‍वरको नाम उच्च पार्ने कामले संसारभरि गति लिंदैछ

२१. नयाँ नामले गर्दा प्रचारकार्यमा कस्तो असर पऱ्‍यो?

२१ बाइबलआधारित यहोवाका साक्षी भन्‍ने नाम ग्रहण गरेपछि परमेश्‍वरका जनहरू पहिलेभन्दा झन्‌ जोसिलो भएर प्रचारमा लाग्न थाले। सन्‌ १९३१ को उक्‍त ऐतिहासिक अधिवेशनमा उपस्थित हुनेहरूमध्ये अमेरिकाको अग्रगामी दम्पती एडवार्ड र जेस्सी ग्राइम्स पनि थिए। तिनीहरूले यसो भने: “हामी घरबाट निस्कँदा बाइबल विद्यार्थी थियौं तर अधिवेशनबाट फर्केपछि यहोवाका साक्षी भयौं। परमेश्‍वरको नाम उच्च पार्न हामीलाई मदत गर्ने नाम बहन गर्न पाएकोमा हामी धेरै खुसी थियौं।” अधिवेशनपछि आफ्नो नयाँ परिचय दिन केही साक्षीहरूले एउटा जुक्‍ति निकाले। तिनीहरू घरधनीलाई आफ्नो परिचय लेखिएको यस्तो भिजिटिङ कार्ड दिन्थे: “यहोवाको साक्षी, हाम्रा परमेश्‍वर यहोवाको राज्य प्रचारक।” हो, यहोवा भन्‍ने नाम बहन गर्न पाएकोमा उहाँका जनहरूले गर्व गरे अनि संसारको कुनाकाप्चासम्म उहाँको नामको प्रचार गर्न तिनीहरूले कम्मर कसे।—यशै. १२:४.

“हामी घरबाट निस्कँदा बाइबल विद्यार्थी थियौं तर अधिवेशनबाट फर्केपछि यहोवाका साक्षी भयौं”

२२. यहोवाका जनहरूको परिचय विशिष्ट भएको छ भनेर कुन कुराले देखाउँछ?

२२ हाम्रा अभिषिक्‍त भाइहरूले यहोवाको मदत पाएर उहाँको विशिष्ट नाम बहन गरेको अहिले धेरै वर्ष भइसक्यो। के सैतानले सन्‌ १९३१ यता परमेश्‍वरका जनहरूको परिचयलाई ओझेलमा पार्न सकेको छ? संसारका अनगिन्ती धर्महरू र हामीबीच फरकै नछुट्टिनेगरि के त्यसले हामीलाई बिटुलो पार्न सकेको छ? अहँ, छैन! बरु, यहोवाका साक्षी भन्‍ने हाम्रो विशिष्ट परिचय पहिला भन्दा झनै भिन्‍न अनि स्पष्ट भएको छ। (मीका ४:५; मलाकी ३:१८ पढ्‌नुहोस्‌) वास्तवमा भन्‍ने हो भने, यहोवा भन्‍ने नामसित हाम्रो नाता यति घनिष्ठ भइसकेको छ कि अचेल यहोवाको नाम लिने जोसुकैलाई मानिसहरू यहोवाका साक्षी भन्ठान्छन्‌। तीनथुप्रो झूटा धर्महरूले गर्दा ओझेलमा पर्नुको सट्टा यहोवाको साँचो उपासना “डाँडाहरूभन्दा माथि .  . . उच्च” भएको छ। (यशै. २:२) हो, यहोवाको उपासना अनि उहाँको पवित्र नाम आज साँच्चै धेरै उच्च भएको छ।

२३. भजन १२१:५ अनुसार यहोवाबारे कुन महत्त्वपूर्ण कुरा थाह पाउँदा हामी बल पाउँछौं?

२३ चाहे अहिले होस्‌ या भविष्यमा, सैतानले गर्ने जुनसुकै आक्रमणबाट यहोवाले हामीलाई जोगाउनुहुनेछ भनेर थाह पाउँदा हाम्रो हौसला बढ्‌छ! (भज. १२१:५) भजनरचयिताले व्यक्‍त गरेको यस्तो भावनासित हामी पूरै सहमत छौं: ‘त्यो जाति धन्यको हो, जसको परमेश्‍वर यहोवा हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो निज अधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।’—भज. ३३:१२.

a हाम्रो सङ्‌गठनले रेडियोको प्रयोग कसरी गऱ्‍यो, त्यसबारे थप जानकारीको लागि अध्याय ७ को पृष्ठ ७२-७४ हेर्नुहोस्‌।