सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८

प्रचार गर्न चलाइएका साधन—संसारभरि प्रचार गर्न प्रकाशनहरूको प्रयोग

प्रचार गर्न चलाइएका साधन—संसारभरि प्रचार गर्न प्रकाशनहरूको प्रयोग

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

हरेक राष्ट्र, कुल अनि भाषाका मानिसहरूलाई सिकाउन हामीलाई चाहिने साधनहरू यहोवाले उपलब्ध गराइरहनुभएको छ

१, २. (क) प्रथम शताब्दीमा सुसमाचार कसरी रोम साम्राज्यभरि फैलियो? (ख) अहिले पनि हामीसित यहोवाको समर्थन छ भनेर केले प्रमाणित गर्छ? (“ सुसमाचार ६७० भन्दा धेरै भाषामा” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

 इस्वी संवत्‌ ३३ पेन्तिकोसका दिन यरूशलेममा भेला भएका मानिसहरू तीन छक परे। किन? किनभने गालीलवासीहरूले मानिसहरूको मनै छुनेगरि परमेश्‍वरको राज्यबारे विभिन्‍न विदेशी भाषामा कुरा गरिरहेका थिए। ती मानिसहरू येशूका चेलाहरू थिए अनि तिनीहरूले चमत्कारपूर्ण ढङ्‌गमा विभिन्‍न विदेशी भाषा बोल्ने वरदान पाएका थिए। तिनीहरूले पाएको यस्तो क्षमताले तिनीहरूसित परमेश्‍वरको समर्थन छ भन्‍ने कुरा प्रस्ट भयो। (प्रेषित २:१-८, १२, १५-१७ पढ्‌नुहोस्‌) त्यस दिन तिनीहरूले सुनाएको सुसमाचार विभिन्‍न भाषाका मानिसहरूले सुने र पछि त्यो सन्देश रोम साम्राज्यभरि फैलियो।—कल. १:२३.

आज परमेश्‍वरका जनहरूले विभिन्‍न भाषा बोल्ने वरदान पाएका छैनन्‌। तैपनि प्रथम शताब्दीमा भन्दा धेरै अर्थात्‌ ६७० भन्दा धेरै भाषामा तिनीहरूले राज्यको सुसमाचार अनुवाद गरिरहेका छन्‌ । (प्रेषि. २:९-११) परमेश्‍वरका जनहरूले धेरै भाषामा थुप्रै प्रकाशन छापेका छन्‌। यसले गर्दा पृथ्वीको कुनाकाप्चासम्म राज्यको सन्देश पुऱ्‍याउन सजिलो भएको छ। a हाम्रो प्रचारकार्यलाई अघि बढाउन यहोवाले राजा येशू ख्रीष्टलाई चलाउँदै हुनुहुन्छ भनेर यसले पनि साबित गर्छ। (मत्ती २८:१९, २०) बितेको सय वर्षमा हामीले प्रचारकार्यमा के-कस्ता साधनहरू चलायौं, त्यसबारे अब हामी यस अध्यायमा छलफल गर्नेछौं। हामीले हरेक मानिसमा चासो लिनुपर्छ र तिनीहरूलाई राम्ररी सिकाउन अझ सिपालु हुने प्रयास गर्नुपर्छ। यी दुई क्षेत्रमा उन्‍नति गर्न हाम्रो राजा येशू ख्रीष्टले हामीलाई कसरी मदत गर्नुभयो, कृपया यो अध्याय पढ्‌नुहुँदा विचार गर्नुहोस्‌।—२ तिमो. २:२.

सत्यको बीउ छर्न चाहिने सबै कुरा राजाले आफ्ना सेवकहरूलाई दिनुहुन्छ

३. हामी प्रचारकार्यमा किन विभिन्‍न साधन प्रयोग गर्छौं?

बीउ छर्ने मानिसको उदाहरण बताउनुहुँदा येशूले “राज्यको वचन”-लाई बीउसित अनि मान्छेको मनलाई माटोसित तुलना गर्नुभयो। (मत्ती १३:१८, १९) बीउ राम्ररी अङ्‌कुराओस्‌ भनेर मालीले विभिन्‍न औजार प्रयोग गरेर माटोलाई मलिलो बनाउँछ। त्यसैगरि यहोवाका जनहरूले धेरैभन्दा धेरै मानिसलाई सजिलैसित राज्यको सन्देश सुनाउन विभिन्‍न साधन प्रयोग गरेका छन्‌। कुनै-कुनै साधन छोटो समयसम्म मात्र प्रयोगमा आए भने किताब र पत्रिका जस्ता अरू साधनहरू चाहिं अहिले पनि प्रयोगमा आइरहेका छन्‌। अघिल्लो अध्यायमा एकै चोटि धेरै मानिसलाई सुसमाचार सुनाउन यहोवाका उपासकहरूले के-कस्ता माध्यमहरूको सहायता लिए भनेर हामीले पढेका थियौं। अब यस अध्यायमा हामी त्यस्ता साधनहरूबारे छलफल गर्नेछौं, जसले यहोवाका उपासकहरूलाई मानिसहरूलाई भेटेर आमनेसामने कुरा गर्न मदत गऱ्‍यो।—प्रेषि. ५:४२; १७:२, ३.

क्यानाडाको टोरोन्टोमा फोनोग्राफ र ध्वनि यन्त्र बनाउँदै

४, ५. प्रचारकार्यमा फोनोग्राफ कसरी प्रयोग गरिन्थ्यो? तर प्रचारकार्यको लागि यो मात्र किन पर्याप्त थिएन?

फोनोग्राफ। सन्‌ १९३० र १९४० का दशकहरूमा प्रकाशकहरूले मानिसहरूको घरघरमा फोनोग्राफ बजाएर बाइबलआधारित भाषणहरू सुनाउने गर्थे। प्रत्येक भाषण लगभग पाँच मिनेटको हुन्थ्यो। कुनै-कुनै भाषणको शीर्षक छोटो हुन्थ्यो। जस्तै “त्रिएक,” “पापमोचनस्थान” र “राज्य।” प्रचारकहरूले फोनोग्राफ कसरी चलाउँथे? अमेरिकाका भाइ क्लेटन वूडवर्थ जुनियर के भन्छन्‌, ध्यान दिनुहोस्‌। तिनले सन्‌ १९३० मा बप्तिस्मा गरेका थिए। “म सानो सुटकेसजत्रो फोनोग्राफ बोक्थें। यो फोनोग्राफ बजाउन चाबीले दम दिनुपर्थ्यो। दम दिएपछि फोनोग्राफको सुई चक्कामा ठिक्क मिलाएर राख्नु पर्थ्यो। घरको ढोकामा पुगेपछि म फोनोग्राफ खोल्थें र भाषण सुनाउन सब कुरा ठिक्क मिलाएपछि घण्टी बजाउँथें। अनि घरधनीले ढोका खोल्नेबित्तिकै यसो भन्थें, ‘एउटा महत्त्वपूर्ण सन्देश सुन्‍नुहोस्‌ न है।’” घरधनीहरूले कस्तो प्रतिक्रिया देखाउँथे? भाइ वूडवर्थ यस्तो जवाफ दिन्छन्‌, “प्रायजसो घरधनीले सुन्थे। कसै-कसैले चाहिं ढोका ढ्याम्म बन्द गर्थे। अरू कतिले भने म फोनोग्राफ बेच्न आएको मान्छे होला भन्ठान्थे।”

सन्‌ १९४० सम्ममा फोनोग्राफमा बजाउनका लागि ९० वटा भन्दा धेरै भाषणहरू तयार भइसकेका थिए। ती भाषणहरूका दस लाखभन्दा धेरै प्रति बनाइए

सन्‌ १९४० सम्ममा फोनोग्राफमा बजाउनका लागि ९० वटा भन्दा धेरै भाषणहरू तयार भइसकेका थिए। ती भाषणहरूका दस लाखभन्दा धेरै प्रति बनाइए। परिचालक निकायका सदस्य भाइ जोन ई. बार बेलायतमा आफूले अग्रगामी सेवा गर्दा फोनोग्राफ चलाएको अनुभव यसरी सुनाउँछन्‌: “सन्‌ १९३६ देखि १९४५ सम्म म जहाँ गए पनि फोनोग्राफ बोकेर हिंड्‌थें। फोनोग्राफ नबोकेको दिन के नभा के नभा जस्तो हुन्थ्यो। घरधनीलाई भाइ रदरफोर्डको भाषण बजाएर सुनाउँदा मेरो मनोबल बढ्‌थ्यो। भाइ रदरफोर्ड मसँगै हुनुहुन्छ जस्तो लाग्थ्यो। तर फोनोग्राफमा एउटा कमी थियो। त्यो हो, त्यसले मानिसहरूको मन छुन सक्दैन थियो।”

६, ७. (क) सन्देश कार्डको फाइदा र सीमितता बताउनुहोस्‌। (ख) आफ्नो ‘वचन हाम्रो मुखमा हालिदिन’ यहोवाले के प्रबन्ध गर्नुभयो?

सन्देश कार्ड। सन्‌ १९३३ देखि प्रकाशकहरूलाई घर-घरको प्रचारकार्यमा सन्देश कार्ड चलाउन प्रोत्साहन दिइयो। क्षेत्र सेवा रिपोर्ट फाराम जत्रो यो कार्डमा बाइबलको छोटो सन्देश अनि घरधनीले मगाउन सक्ने प्रकाशनबारे जानकारी पाइन्थ्यो। प्रकाशकले घरधनीलाई कार्ड दिएर पढ्‌नुहोस्‌ भने मात्र पुग्थ्‌यो। पोर्टो रिको र पछि अर्जेन्टिनामा मिसनरी सेवा गरेकी बहिनी लिलियन कामरुड सन्देश कार्डबारे यसो भन्छिन्‌: “प्रचारमा जाँदा सन्देश कार्ड चलाउन सकिन्छ भन्‍ने कुरा सुन्दा मलाई असाध्यै खुसी लागेको थियो।” किन? तिनी यस्तो जवाफ दिन्छिन्‌: “हामीमध्ये धेरैजसोलाई राम्ररी बोल्न आउँदैन थियो। त्यसैले मानिसहरूलाई भेटेर यो कार्ड दिन सजिलो लाग्थ्यो।”

सन्देश कार्ड (इटालियन भाषामा)

सन्‌ १९१८ मा बप्तिस्मा गरेका भाइ डेभिड रशको पनि त्यस्तै अनुभव छ। तिनी यसो भन्छन्‌: “राम्ररी साक्षी दिन सक्दिनँ भन्ठान्‍ने थुप्रै भाइबहिनीको लागि यो सन्देश कार्ड वरदान नै साबित भयो।” तर यसको आफ्नै सीमितता पनि थियो। त्यसबारे भाइ रश यसो भन्छन्‌: “कसै-कसैले हामी साँच्चै बोल्न जान्दैनौं भन्ठान्थे। हुन पनि एक अर्थमा हामीलाई बोल्न आउँदैन थियो। तर यहोवाले हामीलाई मानिसहरूसित मुख खोलेर बोल्न सक्ने बनाउँदै हुनुहुन्थ्यो। मानिसहरूको घरघरमा गएर बाइबल खोलेर उनीहरूसित कुरा गर्न उहाँले हामीलाई तालिम दिन लाग्नुभएको थियो। सन्‌ १९४३ मा ईश्‍वरतान्त्रिक सेवा स्कुल सुरु भएपछि साँच्चै नै उहाँले आफ्नो वचन हाम्रो मुखमा हालिदिनुभयो।”यर्मिया १:६-९ पढ्‌नुहोस्‌।

८. ख्रीष्टले दिनुहुने तालिमबाट लाभ उठाउन तपाईंले के गर्नुपर्छ?

किताब। सन्‌ १९१४ देखि यहोवाका जनहरूले बाइबलको विषयवस्तुबारे छलफल गर्ने सय वटा भन्दा धेरै किताब प्रकाशित गरिसकेका छन्‌। तीमध्ये केही किताब प्रकाशकहरूलाई अझ प्रभावकारी प्रचारक बनाउनकै निम्ति तयार पारिएका थिए। बितेको ७० वर्षदेखि डेनमार्कमा सेवा गरिरहेकी बहिनी अना लारसन यसो भन्छिन्‌: “ईश्‍वरतान्त्रिक सेवा स्कुल अनि स्कुलमा प्रयोग गरिने पाठ्यपुस्तकले गर्दा हामी प्रभावकारी प्रचारक बन्‍न सक्यौं। यहोवाको यस्तो अमूल्य प्रबन्धको लागि हामी साँच्चै धन्यवादी छौं। मलाई याद भएसम्म हामीले स्कुलमा चलाएको पहिलो किताब अङ्‌ग्रेजी भाषामा राज्य प्रकाशकहरूका लागि ईश्‍वरतान्त्रिक सहयोग थियो, जुन सन्‌ १९४५ मा प्रकाशित भएको थियो। त्यसपछि हामीले “हरेक असल कामका लागि तयार” भन्‍ने अङ्‌ग्रेजी किताब चलाउन थाल्यौं। यो किताब सन्‌ १९४६ मा प्रकाशित भएको थियो। अहिलेचाहिं हामी ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ चलाउँदै छौं, जुन सन्‌ २००१ मा प्रकाशित भएको थियो।” ईश्‍वरतान्त्रिक सेवा स्कुल र यस स्कुलमा प्रयोग गरिने पाठ्यपुस्तकहरू मार्फत यहोवाले हामीलाई उहाँको “सेवक बन्‍न” साँच्चै “योग्य” बनाउनुभएको छ। (२ कोरि. ३:५, ६) के तपाईंले ईश्‍वरतान्त्रिक सेवा स्कुलमा नाम लेखाइसक्नु भयो? के तपाईं हरेक हप्ता सेवा स्कूल किताब लिएर सभामा जानुहुन्छ? अनि स्कुल निरीक्षकले किताबबाट केही कुरा बताउँदा के तपाईं किताब पल्टाएर हेर्नुहुन्छ? तपाईंले यी सबै गर्दै हुनुहुन्छ भने असल शिक्षक बन्‍न येशू ख्रीष्टले दिनुभएको तालिमलाई तपाईं स्वीकार्दै हुनुहुन्छ।—२ कोरि. ९:६; २ तिमो. २:१५.

९, १०. सत्यको बीउ छर्ने र यसमा पानी हाल्ने कामलाई किताबहरूले कसरी मदत गऱ्‍यो?

मानिसहरूलाई बाइबलका आधारभूत शिक्षाहरू बुझाउन मदत गर्ने किताबहरू पनि यहोवाले आफ्नो सङ्‌गठनमार्फत उपलब्ध गराउनुभएको छ। जस्तै, सन्‌ १९६८ मा प्रकाशित अनन्त जीवनतर्फ लैजाने सत्य भन्‍ने अङ्‌ग्रेजी किताब। बाइबलका आधारभूत शिक्षा सिकाउन तयार पारिएको यो किताब धेरै प्रभावकारी साबित भयो र प्रकाशित हुनेबित्तिकै यो किताबको असर देखिन थाल्यो। नोभेम्बर १९६८ को हाम्रो राज्य सेवा-मा यो किताबको असरबारे यसो भनिएको थियो: “सत्य किताबको माग असाध्यै धेरै भएकोले सेप्टेम्बर महिनाभरि ब्रूक्लिन बेथेलको छापाखानामा रातीसमेत काम गर्नुपऱ्‍यो।” त्यो लेखमा अझै यसो भनिएको थियो: “एकपटक अगस्त महिनाको बेला सत्य किताबको माग अरू बेलामा भन्दा पन्ध्र लाख धेरै थियो!” सन्‌ १९८२ सम्ममा यो किताब ११६ वटा भाषामा अनि दस करोडभन्दा धेरै छापिसकिएको थियो। सन्‌ १९६८ देखि १९८२ बीच चौध वर्षमा सत्य किताबले दस लाखभन्दा धेरै मानिसहरूलाई यहोवाको साक्षी बन्‍न मदत गऱ्‍यो। b

१० सन्‌ २००५ मा बाइबल अध्ययन सञ्चालन गर्न अर्को धेरै राम्रो किताब प्रकाशित भयो। त्यो हो, बाइबलले वास्तवमा के सिकाउँछ? यो किताब अहिलेसम्म २५६ भाषामा अनि झन्डै बीस करोड प्रति वितरण भइसकेको छ! यसले गर्दा कस्तो नतिजा हासिल भएको छ? सन्‌ २००५ देखि २०१२ बीच सात वर्षभित्रै १२ लाख मानिसहरू यहोवाको साक्षी बने। बाइबल अध्ययन गर्नेहरूको सङ्‌ख्या पनि ६० लाख नाघेर ८७ लाखभन्दा धेरै पुग्यो। सत्यको बीउ छर्ने अनि पानी हाल्ने कामलाई यहोवाले आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुरामा रत्तीभर शङ्‌का छैन।१ कोरिन्थी ३:६, ७ पढ्‌नुहोस्‌।

११, १२. हाम्रा पत्रिकाहरू कसलाई ध्यानमा राखेर तयार पारिन्छ, बाइबल पद चलाएर जवाफ दिनुहोस्‌।

११ पत्रिका। सुरु-सुरुमा प्रहरीधरहरा-का लेखहरू विशेषगरि “सानो बगाल” अर्थात्‌ “स्वर्गीय बोलावट पाएका”-हरूलाई ध्यानमा राखेर तयार पारिन्थ्यो। (लूका १२:३२; हिब्रू ३:१) अक्टोबर १, १९१९ मा यहोवाको सङ्‌गठनले अर्को नयाँ पत्रिका प्रकाशित गर्न थाल्यो। यो पत्रिका सर्वसाधारणको लागि भनेर तयार पारिएको थियो। यहोवाका उपासक अनि सर्वसाधारणमाझ यो पत्रिका अत्यन्तै लोकप्रिय भयो। वर्षौंसम्म प्रहरीधरहरा-को तुलनामा यो पत्रिका धेरै संख्यामा वितरण भयो। पहिलो चोटि प्रकाशित हुँदा यो पत्रिकाको नाम अङ्‌ग्रेजीमा सुनौलो युग (गोल्डेन एज) थियो। तर पछि सन्‌ १९३७ मा यसको नाम परिवर्तन गरेर सान्त्वना (कन्सोलेसन) राखियो। अनि सन्‌ १९४६ मा यसलाई ब्यूँझनुहोस्‌! (अवेक!) भन्‍ने नाम दिइयो।

१२ दशकौंको दौडान प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाको डिजाइन परिवर्तन भए तापनि ती पत्रिकाहरूको उद्देश्‍य भने परिवर्तन भएको छैन। परमेश्‍वरको राज्यको प्रचार गर्ने र बाइबलमाथिको विश्‍वासलाई बलियो बनाउन मानिसहरूलाई मदत गर्ने उद्देश्‍य अहिले पनि यथावत्‌ छ। अहिले प्रहरीधरहरा-को दुईवटा संस्करण, अध्ययन संस्करण र जनसंस्करण छापिन्छ। अध्ययन संस्करणको पाठक “घरका अरू दासहरू” अर्थात्‌ “सानो बगाल” र “अरू भेडा” दुवै हुन्‌। c (मत्ती २४:४५; यूह. १०:१६) जनसंस्करणचाहिं बाइबलले सिकाउने सत्य थाह नपाएका तर बाइबल अनि परमेश्‍वरको आदर गर्ने मानिसहरूलाई ध्यानमा राखेर तयार पारिन्छ। (प्रेषि. १३:१६) ब्यूँझनुहोस्‌! भने बाइबल र साँचो परमेश्‍वर यहोवाबारे खासै ज्ञान नभएका मानिसहरूका लागि भनेर तयार पारिन्छ।—प्रेषि. १७:२२, २३.

१३. हाम्रा पत्रिकाहरूबारे तपाईंलाई कुन कुरा रोचक लाग्छ? (“ प्रकाशनहरूको विश्‍व रेकर्ड” शीर्षक भएको चार्ट हेर्नुहोस्‌।)

१३ सन्‌ २०१४ देखि हरेक महिना ब्यूँझनुहोस्‌! पत्रिका चार करोड चालीस लाखभन्दा धेरै अनि प्रहरीधरहरा चाहिं लगभग चार करोड साठी लाख छापिन थालियो। ब्यूँझनुहोस्‌! पत्रिका झन्डै १०० वटा भाषामा अनि प्रहरीधरहरा चाहिं २०० भन्दा धेरै भाषामा अनुवाद भइरहेको छ। यी दुई पत्रिका संसारमा सबैभन्दा धेरै अनुवाद अनि वितरण हुने पत्रिका हुन्‌! यो रोचक कुरा भए तापनि हामी अचम्म मान्दैनौं। किनभने येशूले सारा पृथ्वीभरि राज्यको सुसमाचार प्रचार गरिनेछ भन्‍नुभएको थियो र हाम्रा यी दुई पत्रिकामा त्यही समाचार पाइन्छ।—मत्ती २४:१४.

१४. हामीले कुन किताबलाई जोड दिएका छौं र किन?

१४ बाइबल। सन्‌ १८९६ मा भाइ रसल र तिनका सहयोगीहरूले किताबहरू छाप्न हाम्रो संस्थाको नाम फेरेर वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी भनेर दर्ता गराए। तिनीहरूले यसरी हाम्रो संस्थाको नाममा बाइबल भन्‍ने शब्द जोडे। यसो गर्नु उपयुक्‍त पनि थियो किनभने राज्यको सुसमाचार प्रचार गर्न हामीले चलाउने मुख्य साधन बाइबल नै हो। (लूका २४:२७) दर्ता भएको नयाँ नामअनुसार परमेश्‍वरका सेवकहरूले जोसिलो भएर बाइबल वितरण गर्नुका साथै यसलाई पढ्‌न जोड दिए। उदाहरणको लागि सन्‌ १९२६ मा हाम्रो सङ्‌गठनले आफ्नै छापाखानामा बेन्जामिन विल्सनको दि इम्फाटिक डाइग्लोट बाइबल छाप्न थाल्यो। यो बाइबल मत्तीदेखि प्रकाशसम्मको अङ्‌ग्रेजी अनुवाद थियो। सन्‌ १९४२ देखि चाहिं हाम्रो संस्थाले किङ जेम्स बाइबल छाप्न र वितरण गर्न थाल्यो। यो बाइबलको झन्डै ७,००,००० प्रति वितरण भयो। यसको दुई वर्षपछि हाम्रो संस्थाले अर्कै बाइबल, अमेरिकन स्ट्यान्डर्ड छाप्यो। यो बाइबलको विशेषता के हो भने, यसमा यहोवाको नाम ६,८२३ ठाउँमा छ। सन्‌ १९५० सम्ममा हामीले यो बाइबलको २,५०,००० प्रति वितरण गरिसकेका थियौं।

१५, १६. (क) तपाईंलाई किन नयाँ संसार अनुवाद बाइबल मनपर्छ? (“ बाइबलको अनुवाद द्रुत गतिमा अघि बढाउन कम्प्युटरको प्रयोग” शीर्षक भएको पेटी हेर्नुहोस्‌।) (ख) हामीले कसरी यहोवाको वचन मनमा ठप्प बसाल्न सक्छौं?

१५ सन्‌ १९५० मा अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद विमोचन भयो। सुरुमा यो बाइबलमा मत्तीदेखि प्रकाशसम्मका किताबहरू मात्र थियो। तर पछि सन्‌ १९६१ मा उत्पत्तिदेखि प्रकाशसम्म जम्मै किताबहरू भएको सिङ्‌गो बाइबलको रूपमा नयाँ संसार अनुवाद-को विमोचन भयो। नेपाली भाषाको नयाँ संसार अनुवाद-चाहिं सन्‌ २०१० मा विमोचन भएको थियो। अहिले नेपाली भाषाको नयाँ संसार अनुवाद बाइबलमा मत्तीदेखि प्रकाशसम्मका किताबहरू छन्‌। नयाँ संसार अनुवाद-ले यहोवाको आदर गर्छ किनभने मौलिक हिब्रू शास्त्रमा जहाँ-जहाँ परमेश्‍वरको नाम यहोवा थियो, त्यहाँ-त्यहाँ यो नाम जस्ताको तस्तै राखिएको छ। मौलिक ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा पनि २३७ ठाउँमा परमेश्‍वरको नाम, यहोवा पाइन्छ। नयाँ संसार अनुवाद-को थुप्रै चोटि संशोधन भइसकेको छ। यसले गर्दा यो अनुवाद पहिलेभन्दा सही र पढ्‌न झनै सजिलो भएको छ। हालै सन्‌ २०१३ मा यो बाइबल अनुवादको फेरि संशोधन गरिएको थियो। सन्‌ २०१३ सम्ममा कुनै भाषामा उत्पत्तिदेखि प्रकाशसम्मै अनि कुनै भाषामा चाहिं मत्तीदेखि प्रकाशसम्म मात्र भए पनि जम्माजम्मी १२१ भाषामा नयाँ संसार अनुवाद तयार भइसकेको छ र बीस करोड दस लाख प्रति वितरण भइसकेको छ।

१६ आफ्नै भाषामा नयाँ संसार अनुवाद पढ्‌न पाउँदा मानिसहरूलाई कस्तो लाग्यो? एक जना नेपालीले यसो भने: “मलाई अनि मजस्तै अरू धेरैलाई पुरानो बाइबल पढ्‌न गाह्रो लाग्थ्यो। त्यसमा चलाइएको भाषा नै पुरानो भएकोले बुझ्न गाह्रो थियो। तर यो नयाँ बाइबलमा बोलीचालीको भाषा चलाइएकोले बुझ्न एकदमै सजिलो छ।” साङ्‌गो भाषाको नयाँ संसार अनुवाद बाइबल पढेपछि मध्य अफ्रिकी गणतन्त्रकी एक स्त्रीले आँसु पुछ्‌दै यसो भनिन्‌: “यो मेरो आफ्नै भाषा हो। यसले मेरो मन छुन्छ।” यो स्त्रीले जस्तै हामी पनि आफ्नो मनमा यहोवाको वचन ठप्प बसाल्न हरेक दिन बाइबल पढौं।—भज. १:२; मत्ती २२:३६, ३७.

यहोवाले प्रबन्ध गर्नुभएको साधन र तालिमको लागि आभारी हुनुहोस्‌

१७. हामीलाई उपलब्ध गराइएको साधन र प्रशिक्षणको मोल गर्नुहुन्छ भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ? यसो गर्नुभयो भने नतिजा कस्तो हुनेछ?

१७ हाम्रो राजा येशू ख्रीष्टले हाम्रो लागि उपलब्ध गराउनुभएको साधन र क्रमिक रूपमा दिनुभएको तालिमको के तपाईं मोल गर्नुहुन्छ? के तपाईं परमेश्‍वरको सङ्‌गठनले तयार पारेको प्रकाशन पढ्‌न समय निकाल्नुहुन्छ? अनि अरूलाई मदत गर्न ती प्रकाशनहरू चलाउनुहुन्छ? यदि अहिलेसम्म त्यस्तै गरिरहनुभएको छ भने बहिनी ओपल बेट्‌लरसित तपाईं पक्कै पनि सहमत हुनुहुनेछ। सन्‌ १९१४ अक्टोबर ४ तारिख बप्तिस्मा गरेकी बहिनी बेट्‌लरले यसो भनेकी थिइन्‌: “मैले अनि मेरो श्रीमान्‌ले वर्षौंसम्म फोनोग्राफ अनि सन्देश कार्ड चलाएर प्रचार गऱ्‍यौं। हामीले किताब, पुस्तिका र पत्रिका चलाएर घर-घरमा साक्षी दियौं। पर्चाहरू वितरण गर्ने अभियानहरूमा भाग लियौं। चासो देखाउने मानिसहरूलाई कसरी फेरि भेट्‌ने [अहिले यसलाई पुनःभेट भनिन्छ] अनि तिनीहरूको घरमै गएर कसरी बाइबल अध्ययन सञ्चालन गर्ने भनेर पनि हामीले तालिम पायौं। हो, हामीले व्यस्त तर आनन्दित भएर जीवन बिताउन पायौं।” येशूले आफ्ना प्रजाहरू बीउ छर्न र बाली काट्‌न व्यस्त हुनेछन्‌ अनि तिनीहरूले रमाउँदै यो काम गर्नेछन्‌ भनेर भविष्यवाणी गर्नुभएको थियो। उहाँको त्यो भविष्यवाणी साँच्चै पूरा भएको छ भन्‍ने कुराको बहिनी बेट्‌लर अनि अरू लाखौं मानिसहरू साक्षी छन्‌।यूहन्‍ना ४:३५, ३६ पढ्‌नुहोस्‌।

१८. हामीले कस्तो सुअवसर पाएका छौं?

१८ राजा येशू ख्रीष्टको सेवक बन्‍न बाँकी मानिसहरूको नजरमा परमेश्‍वरका जनहरू “अशिक्षित अनि साधारण” हुन सक्छन्‌। (प्रेषि. ४:१३) तर हाम्रो राजा येशू ख्रीष्टले यी नै साधारण मानिसहरूलाई चलाएर संसारमा सबैभन्दा धेरै अनुवाद अनि वितरण हुने प्रकाशनहरू तयार पार्नुभएको छ! अझ महत्त्वपूर्ण कुरा त उहाँले हामीलाई ती साधनहरू चलाएर सबै जातिका मानिसहरूलाई सुसमाचार प्रचार गर्न हौसला दिनुभएको छ अनि हामी ती साधनहरू चलाउन सिपालु होस्‌ भनेर विभिन्‍न तालिम पनि दिनुभएको छ। हामीले साँच्चै ख्रीष्टसँगै सत्यको बीउ छर्ने अनि कटनी गरेर चेलाहरू बटुल्ने काममा भाग लिने ठूलो सुअवसर पाएका छौं!

a बितेको दस वर्षमा मात्र यहोवाका जनहरूले बीस अरबभन्दा धेरै बाइबलआधारित प्रकाशनहरू तयार पारेका छन्‌। यसबाहेक संसारभरि इन्टरनेट चलाउने दुई अरब सत्तरी करोडभन्दा धेरै मानिसहरूले हाम्रो वेब साइट jw.org हेर्न सक्छन्‌।

b प्रकाशकहरूलाई बाइबलको सत्य कुरा सिकाउन मदत गरेको अरू केही बाइबल अध्ययन सहायकहरू यसप्रकार छन्‌: परमेश्‍वरको वीणा (अङ्‌ग्रेजीमा, सन्‌ १९२१ मा प्रकाशित), “परमेश्‍वर सत्य ठहरिऊन्‌” (अङ्‌ग्रेजीमा, सन्‌ १९४६ मा प्रकाशित), पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ (सन्‌ १९८२ मा प्रकाशित) र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ (सन्‌ १९९५ मा प्रकाशित)।

c “घरका अरू दासहरू”-बारे हाम्रो बुझाइमा गरिएको छाँटकाँटबारे जुलाई १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ २३, अनुच्छेद १३ मा पढ्‌नुहोस्‌।