सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९

प्रचारको कामले हासिल गरेको नतिजा—“बाली पाकेर पहेंला भइसकेका छन्‌”

प्रचारको कामले हासिल गरेको नतिजा—“बाली पाकेर पहेंला भइसकेका छन्‌”

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

यहोवाले सत्यको बीउलाई कसरी हुर्काउनुभएको छ

१, २. (क) चेलाहरू किन छक्क पर्छन्‌? (ख) येशू कुन कटनीबारे कुरा गर्दै हुनुहुन्थ्यो?

 “आफ्नो आँखा उठाएर खेततिर हेर, किनकि बाली पाकेर पहेंला भइसकेका छन्‌।” येशूको यो कुरा सुनेर चेलाहरू छक्क पर्छन्‌। तिनीहरू येशूले इसारा गर्नुभएको ठाउँतिर हेर्छन्‌। तर त्यहाँ भर्खरै अङ्‌कुराउन थालेको जौबाहेक केही पनि देख्दैनन्‌। खेत पहेंलो होइन, हरियै देखिन्छ। तिनीहरूले मनमनै सोचे होलान्‌, ‘उहाँले कुन बालीको कुरा गर्नुभएको होला? बाली काट्‌ने समय लाग्न त अझ महिनौं बाँकी छ।’—यूह. ४:३५.

तर येशूले साँच्चैको बाली काट्‌ने कुरा गरिरहनुभएको थिएन। उहाँ प्रतीकात्मक कटनी अर्थात्‌ ख्रीष्टियन मण्डलीमा मानिसहरूलाई जम्मा गर्ने कामबारे दुइटा महत्त्वपूर्ण कुरा सिकाउँदै हुनुहुन्थ्यो। ती दुइटा कुरा के-के हुन्‌? यसको जवाफ पाउन आउनुहोस्‌, येशूले भन्‍नुभएको कुरा राम्ररी केलाऔं।

काम गर्न प्रोत्साहन र रमाउनेछौ भन्‍ने प्रतिज्ञा

३. (क) येशूले “बाली पाकेर पहेंला भइसकेका छन्‌” भन्‍नुको कारण के हुन सक्छ? (ख) येशूले आफ्नो कुरा कसरी प्रस्ट पार्नुहुन्छ?

बाली काट्‌ने समयबारे यो कुरा येशूले इस्वी संवत्‌ ३० को अन्ततिर सुखार भनिने सामरीहरूको सहरनजिकै गर्नुभएको थियो। चेलाहरू सहरतिर गएको बेला येशू थकाइ मार्न इनारको छेउमा बसिरहनुभएको थियो। त्यति नै बेला एउटी स्त्री त्यहाँ आइपुग्छिन्‌ र येशू तिनलाई सत्यको विषयमा प्रचार गर्नुहुन्छ। येशूले भन्‍नुभएको कुरा धेरै महत्त्वपूर्ण छ भनेर ती स्त्रीले तुरुन्तै बुझिहाल्छिन्‌। त्यसैले चेलाहरू फर्कनुअघि नै ती स्त्री हतार गर्दै आफ्नो घर फर्किन्छिन्‌ र आफ्ना छिमेकीहरूलाई आफूले सिकेका अचम्मलाग्दो कुराहरू बताउँछिन्‌। तिनको कुरा सुनेर धेरैको चासो जाग्छ र तिनीहरू येशूलाई भेट्‌न तुरुन्तै इनारतिर लाग्छन्‌। सायद यहीबेला टाढाबाट आइरहेको सामरीहरूको एक हुल देखेर येशूले यसो भन्‍नुभएको हुनुपर्छ: “खेततिर हेर, किनकि बाली पाकेर पहेंला भइसकेका छन्‌।” उहाँ प्रतीकात्मक कटनीबारे कुरा गर्दै हुनुहुन्छ भनेर बुझाउन येशू अझै यसो भन्‍नुहुन्छ: “बाली काट्‌नेले . . . अनन्त जीवनका लागि फसल बटुल्दैछ।”—यूह. ४:५-३०, ३६.

४. (क) कटनीको कामबारे येशूले कुन दुइटा कुरा सिकाउनुभयो? (ख) हामी कुन प्रश्‍नहरू विचार गर्नेछौं?

प्रतीकात्मक कटनीबारे येशूले दुइटा महत्त्वपूर्ण कुरा सिकाउनुभयो। पहिलो, प्रचारको काम अत्यन्त जरुरी छ। “बाली पाकेर पहेंला भइसकेका छन्‌” भनेर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुको कारण तिनीहरूलाई कटनीको कामको लागि जुरमुऱ्‍याउनु थियो। यो काम कत्तिको जरुरी छ भनेर बुझाउन येशूले यो कुरा पनि भन्‍नुभयो: “बाली काट्‌नेले आफ्नो ज्याला पाउँदैछ।” हो, कटनीको काम त्यतिखेर सुरु भइसकेको थियो। आलटाल गर्ने समय नै थिएन! अब उहाँले सिकाउनुभएको दोस्रो कुरा विचार गरौं। त्यो हो, खेतालाहरू रमाउँछन्‌। येशूले बीउ छर्ने र काट्‌ने “सँग-सँगै रमाउँछन्‌” भनी बताउनुभयो। (यूह. ४:३५ख, ३६) “थुप्रै सामरीले उहाँमाथि विश्‍वास” गर्दा येशू पनि रमाउनुभएको हुनुपर्छ। त्यसैगरि उहाँका चेलाहरू पनि तनमनले कटनीको काममा भाग लिएर रमाउने थिए। (यूह. ४:३९-४२) येशू पृथ्वीमा हुनुहुँदा भएको यो घटना हाम्रो लागि पनि अर्थपूर्ण छ। किनभने यो घटनाले सबैभन्दा ठूलो कटनीको बेला हुने कुराहरू बुझ्न मदत गर्छ अनि अहिले हामी त्यही ठूलो कटनी भइरहेको बेलामा बाँचिरहेका छौं। त्यसोभए, आधुनिक समयमा कटनीको काम कहिले सुरु भयो? यो काममा क-कसले भाग लिन्छन्‌? कटनीको नतिजा कस्तो भएको छ?

हाम्रो राजाले सबैभन्दा ठूलो कटनीको कामको नेतृत्व लिनुहुन्छ

५. संसारभरि चल्ने कटनीको कामको नेतृत्व कसले लिनुहुन्छ? कटनीको काम गर्न ढिलासुस्ती गर्नुहुन्‍न भनेर यूहन्‍नाको दर्शनले कसरी जोड दिन्छ?

यहोवाले येशूलाई सारा संसारभरि चल्ने कटनीको कामको नेतृत्व लिन नियुक्‍त गर्नुभएको छ। यो कुरा प्रेषित यूहन्‍नालाई दिइएको दर्शनबाट प्रस्ट हुन्छ। (प्रकाश १४:१४-१६ पढ्‌नुहोस्‌) यो दर्शनमा प्रेषित यूहन्‍नाले येशूको शिरमा मुकुट अनि हातमा हँसिया देख्छन्‌ । “[येशूको] शिरमा सुनको मुकुट” हुनुले उहाँले शासन गर्न थालिसक्नुभयो भन्‍ने कुरा बुझाउँछ। अनि उहाँको “हातमा एउटा धारिलो हँसिया” हुनुले चाहिं उहाँले कटनी गर्ने कामको नेतृत्व लिंदै हुनुहुन्छ भनेर बुझाउँछ। यूहन्‍नाले देखेको उक्‍त दर्शनमा यहोवाले एक जना स्वर्गदूतलाई “पृथ्वीको बाली पूरै पाकिसकेको छ” भन्‍ने घोषणा गर्न लगाउनुहुन्छ। यसले कटनीको काम अत्यन्तै जरुरी छ भन्‍ने कुरामा जोड दिन्छ। हो, “कटनी गर्ने बेला आएको छ!” ढिलासुस्ती गर्ने समय छैन! परमेश्‍वरले ‘हँसिया चलाऊ’ भनेर आदेश दिनुहुन्छ। उहाँको निर्देशन पालन गर्दै येशू हँसिया चलाउनुहुन्छ र पृथ्वीको कटनी अर्थात्‌ पृथ्वीका मानिसहरूलाई ख्रीष्टियन मण्डलीमा जम्मा गर्ने काम गर्नुहुन्छ। यो रोचक दर्शनले “पृथ्वीको बाली [फेरि एकचोटि] पूरै पाकिसकेको छ” भनेर देखाउँछ। प्रेषित यूहन्‍नाले देखेको यो दर्शनले सारा संसारभरि कटनीको काम कहिलेदेखि सुरु भयो भनेर बुझ्न हामीलाई मदत गर्छ। कसरी?

६. (क) “बाली काट्‌ने समय” कहिले सुरु भयो? (ख) “पृथ्वीको बाली” काट्‌ने काम वास्तवमा कहिलेदेखि सुरु भयो, बताउनुहोस्‌।

प्रकाश अध्याय १४ मा दिइएको यूहन्‍नाको दर्शनमा कटनी गर्ने व्यक्‍ति अर्थात्‌ येशूले शिरमा मुकुट लगाउनुभएको छ। (पद १४) उहाँ राजा नियुक्‍त भइसक्नुभयो भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ अनि येशू सन्‌ १९१४ मा राजा नियुक्‍त हुनुभयो भनी हामीलाई थाह छ। (दानि. ७:१३, १४) त्यसको केही समयपछि येशूलाई कटनीको काम सुरु गर्न निर्देशन दिइयो। (पद १५) येशूले बताउनुभएको गहुँको दृष्टान्तको घटनाक्रम र प्रकाश अध्याय १४ मा यूहन्‍नाले देखेको दर्शनको घटनाक्रम मिल्दोजुल्दो छ। येशूले गहुँको दृष्टान्तमा यसो भन्‍नुभएको थियो: “बाली काट्‌ने समयचाहिं युगको आखिरी समय हो।” त्यसैले बाली काट्‌ने समय र यस युगको आखिरी समय एउटै समयमा अर्थात्‌ सन्‌ १९१४ मा सुरु भयो भनेर हामी भन्‍न सक्छौं। (मत्ती १३:३०, ३९) तर बाली काट्‌ने काम भने येशू राजा नियुक्‍त हुनुभएको केही वर्षपछि मात्र सुरु भयो भनेर अहिले हामीले बुझेका छौं। सबैभन्दा पहिला, येशूले सन्‌ १९१४ देखि १९१९ को सुरुतिर आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई शुद्ध पार्ने काम गर्नुभयो। (मला. ३:१-३; १ पत्रु. ४:१७) त्यसपछि सन्‌ १९१९ मा “पृथ्वीको बाली” काट्‌ने काम सुरु भयो। बाली काट्‌ने काम सुरु भइसकेकोले प्रचार गर्नु कत्तिको जरुरी छ भनेर हाम्रा भाइबहिनीलाई बुझाउन आफूले भर्खरै नियुक्‍त गर्नुभएको विश्‍वासी र बुद्धिमान्‌ दासलाई येशूले चलाउनुभयो। त्यतिखेर के-के घटना भए, विचार गरौं।

७. (क) प्रचारको काम जरुरी छ भनेर हाम्रा भाइहरूले कसरी थाह पाए? (ख) भाइबहिनीलाई के गर्न प्रोत्साहन दिइयो?

सबैभन्दा पहिला सन्‌ १९२० को जुलाईमा प्रकाशित प्रहरीधरहरा-मा भनिएको यो कुरालाई विचार गर्नुहोस्‌: “हाम्रो चर्चले राज्यको सन्देश प्रचार गर्ने ठूलो सुअवसर पाएको छ भन्‍ने कुरा धर्मशास्त्रको अध्ययनबाट प्रस्ट देखिन्छ।” तिनीहरूले धर्मशास्त्रको अध्ययन गरेर बुझेका थुप्रै कुरामध्ये एउटा यशैयाको भविष्यवाणी थियो। यो भविष्यवाणीको अध्ययन गरेपछि हाम्रा भाइहरूले राज्यको समाचार संसारभरि प्रचार गर्नुपर्छ भनेर बुझे। (यशै. ४९:६; ५२:७; ६१:१-३) संसारभरि कसरी प्रचार गर्ने भनेर तिनीहरूलाई थाह थिएन। तर समयमा यहोवाले बाटो खोलिदिनुहुनेछ भन्‍ने कुरामा चाहिं तिनीहरू ढुक्क थिए। (यशैया ५९:१ पढ्‌नुहोस्‌) प्रचारको काम धेरै जरुरी छ भनेर राम्ररी बुझेपछि हाम्रा भाइबहिनीलाई अझ जोसिलो भएर प्रचारको काम गर्न प्रोत्साहन दिइयो। भाइबहिनीले कस्तो प्रतिक्रिया देखाए?

८. सन्‌ १९२१ मा हाम्रा भाइहरूले प्रचारको कामबारे कुन दुइटा कुरा बुझे?

सन्‌ १९२१ डिसेम्बर अङ्‌कको प्रहरीधरहरा-मा यस्तो घोषणा गरिएको थियो: “यो वर्ष हामीले धेरै प्रगति गऱ्‍यौं। बितेका वर्षहरूको तुलनामा सन्‌ १९२१ मा हामीले धेरै मानिसलाई परमेश्‍वरको राज्यको सन्देश सुनाउन पायौं।” उक्‍त पत्रिकामा अझ यसो भनिएको थियो: “तर हामीले गर्नुपर्ने काम अझ धेरै बाँकी छ। . . . आउनुहोस्‌, रमाउँदै यो काम गरौं।” येशूले आफ्ना चेलाहरूलाई प्रचारको कामबारे सिकाउनुभएको दुइटा महत्त्वपूर्ण कुरा हाम्रा भाइहरूले बुझे भनेर यसबाट प्रस्ट हुन्छ। ती हुन्‌: प्रचारको काम जरुरी छ र प्रचारको काम गर्नेहरू रमाउँछन्‌।

९. (क) सन्‌ १९५४ को प्रहरीधरहरा-मा कटनीको कामको विषयमा के भनिएको थियो र किन? (ख) बितेको ५० वर्षमा संसारभरि प्रकाशकहरूको सङ्‌ख्या कति बढेको छ? (“ संसारभर भएको वृद्धि” शीर्षकको चार्ट हेर्नुहोस्‌।)

सन्‌ १९३० को दशकमा हाम्रा भाइहरूले येशूका अरू भेडा मिलेर बनेको ठूलो भीडले पनि राज्य सन्देश सुन्‍नेछ भन्‍ने कुरा बुझेपछि झन्‌ जोडतोडले प्रचारको काम गर्न थाले। (यशै. ५५:५; यूह. १०:१६; प्रका. ७:९) भाइहरूको यस्तो मेहनतले गर्दा के भयो? सन्‌ १९३४ मा परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नेहरूको सङ्‌ख्या ४१,००० थियो। तर सन्‌ १९५३ मा त्यो सङ्‌ख्या बढेर ५,००,००० पुग्यो! डिसेम्बर १, १९५४ अङ्‌कको प्रहरीधरहरा-ले भनेझैं “यहोवाको पवित्र शक्‍ति र उहाँको वचनको शक्‍तिले गर्दा नै यो ठूलो विश्‍वव्यापी कटनीको काम सम्भव भएको हो।” aजक. ४:६.

संसारभर भएको वृद्धि

 देश

१९६२

१९८७

२०१३

अस्ट्रेलिया

१५,९२७

४६,१७०

६६,०२३

ब्राजिल

२६,३९०

२,१६,२१६

७,५६,४५५

फ्रान्स

१८,४५२

९६,९५४

१,२४,०२९

इटाली

६,९२९

१,४९,८७०

२,७४,२५१

जापान

२,४९१

१,२०,७२२

२,१७,१५४

मेक्सिको

२७,०५४

२,२२,१६८

७,७२,६२८

नाइजेरिया

३३,९५६

१,३३,८९९

३,४४,३४२

फिलिपिन्स

३६,८२९

१,०१,७३५

१,८१,२३६

अमेरिका

२,८९,१३५

७,८०,६७६

१२,०३,६४२

जाम्बिया

३०,१२९

६७,१४४

१,६२,३७०

बाइबल अध्ययनहरूको सङ्‌ख्या बढ्‌दै छ

 १९५०

२,३४,९५२

१९६०

६,४६,१०८

१९७०

११,४६,३७८

१९८०

१३,७१,५४८

१९९०

३६,२४,०९१

२०००

४७,६६,६३१

२०१०

८०,५८,३५९

कटनीको कामले हासिल गर्ने सफलताबारे येशूका दृष्टान्तहरूमा भविष्यवाणी गरिएको थियो

१०, ११. रायोको दानाको दृष्टान्तबाट हामी बीउको वृद्धिबारे कुन तीन वटा कुरा सिक्छौं?

१० येशूले परमेश्‍वरको राज्यबारे विभिन्‍न दृष्टान्त सुनाउनुभयो। उहाँले ती दृष्टान्तहरूमा कटनीको कामले हासिल गर्ने राम्रो नतिजाबारे जीवन्त वर्णन गर्नुभयो। अहिले हामीले पाइरहेको सफलताबारे उहाँले कसरी आफ्नो दृष्टान्तमा भविष्यवाणी गर्नुभयो, आउनुहोस्‌ हामी दुइटा दृष्टान्तबारे चर्चा गरौं। ती हुन्‌, रायोको दानाको दृष्टान्त र खमिरको दृष्टान्त। येशूका यी दृष्टान्तहरू विशेषगरि अन्तको समयमा कसरी पूरा भइरहेका छन्‌, कृपया ध्यान दिनुहोस्‌।

११ रायोको दानाको दृष्टान्त। यो दृष्टान्तमा एक जना मानिसले रायोको दाना छर्छ। त्यो हुर्केर रूख बन्छ र त्यसका हाँगाहरूमा चराचुरुङ्‌गी बास बस्न थाल्छन्‌। (मत्ती १३:३१, ३२ पढ्‌नुहोस्‌) रायोको दानाको वृद्धिबारे हामी तीनवटा कुरा यो दृष्टान्तबाट सिक्छौं। (१) सानो बीउ हलक्कै बढेर ठूलो हुन्छ। रायोको दाना “बीउहरूमध्ये सबैभन्दा सानो” भए तापनि त्यो “ठूलठूला हाँगाहरू” भएको एउटा रूख बन्छ। (मर्कू. ४:३१, ३२) (२) पक्कै बढ्‌छ। “[बीउ] छरेपछि त्यो उम्रन्छ” भनी येशूले किटेर भन्‍नुभयो। उहाँले त्यो बीउ “उम्रन्छ होला” भन्‍नुभएन। यसको वृद्धिलाई कुनै कुराले रोक्न सक्दैन। (३) हलक्क बढेको रायोको बोटमा आगन्तुकहरू आउँछन्‌ र बास बस्छन्‌। येशूले “आकाशका चराचुरुङ्‌गी आएर यसका हाँगाहरूमा बास बस्छन्‌” भन्‍नुभयो। आधुनिक समयमा भइरहेको कटनीको काममा यो तीन वटा कुरा कसरी लागू हुन्छ?

१२. रायोको दानाको दृष्टान्त अहिलेको कटनीको काममा कसरी लागू हुन्छ? (“ बाइबल अध्ययनहरूको सङ्‌ख्या बढ्‌दै छ” शीर्षक भएको चार्ट पनि हेर्नुहोस्‌।)

१२ (१) ठूलो हुन्छ: रायोको दानाको दृष्टान्तले परमेश्‍वरको राज्यको सन्देश फैलिने र ख्रीष्टियन मण्डलीको वृद्धि हुने कुरालाई जोड दिन्छ। सन्‌ १९१९ देखि जोसिला खेतालाहरूलाई पुनर्स्थापित ख्रीष्टियन मण्डलीमा जम्मा गर्न थालियो। त्यतिबेला खेतालाहरूको सङ्‌ख्या थोरै थियो तर छिट्टै तिनीहरूको सङ्‌ख्या बढेर धेरै भयो। सन्‌ १९०० देखि अहिलेसम्म खेतालाहरूको सङ्‌ख्यामा भएको वृद्धि साँच्चै अचम्मलाग्दो छ। (यशै. ६०:२२) (२) पक्कै बढ्‌छ: ख्रीष्टियन मण्डलीको वृद्धिलाई कुनै कुराले रोक्न सकेको छैन। परमेश्‍वरका शत्रुहरूले जति विरोध गरे तापनि त्यो सानो बीउ सबै बाधाअडचन पन्छाउँदै बढिरहेको छ। (यशै. ५४:१७) (३) बास बस्छन्‌: हलक्क बढेको रायोको बोटमा आगन्तुकहरू आएर बस्छन्‌। रूखमा बास बस्ने “चराचुरुङ्‌गी”-ले परमेश्‍वरको राज्यको सन्देश स्वीकार्ने असल मानिसलाई बुझाउँछ। अहिले झन्डै २४० मुलुकका लाखौं नम्र मानिसहरू ख्रीष्टियन मण्डलीको सदस्य बनिसकेका छन्‌। (इज. १७:२३) तिनीहरूले ख्रीष्टियन मण्डलीमा आध्यात्मिक भोजन, स्फूर्ति र सुरक्षा पाइरहेका छन्‌।—यशै. ३२:१, २; ५४:१३.

रायोको दानाको दृष्टान्तले देखाएझैं ख्रीष्टियन मण्डलीमा आउनेहरूले बास र सुरक्षा पाउँछन्‌ (अनुच्छेद ११, १२ हेर्नुहोस्‌)

१३. खमिरको दृष्टान्तबाट हामी कुन दुइटा कुरा सिक्छौं?

१३ खमिरको दृष्टान्त। यो दृष्टान्तमा एउटी स्त्रीले पीठोमा खमिर मिसाउँछिन्‌ र पूरै पीठो खमिरा नहोउञ्जेल राखिछोड्‌छिन्‌। (मत्ती १३:३३ पढ्‌नुहोस्‌) यो दृष्टान्तबाट चाहिं हामी दुइटा कुरा सिक्छौं। (१) वृद्धिले गर्दा परिवर्तन हुन्छ। येशूले “पूरै पीठो खमिरा नहोउन्जेलसम्म” खमिर फैलिन्छ भन्‍नुभयो। (२) वृद्धि व्यापक रूपमा हुन्छ। खमिरले “तीन भाँडो पीठो” पूरै खमिरा बनाइदिन्छ। आधुनिक समयमा भइरहेको कटनीको काममा यो दुई वटा कुरा कसरी लागू हुन्छ?

१४. खमिरको दृष्टान्तबाट अहिले भइरहेको कटनीको कामबारे हामी के सिक्छौं?

१४ (१) परिवर्तन: खमिरले परमेश्‍वरको राज्यको सन्देशलाई बुझाउँछ भने पीठोले मानिसजातिलाई। खमिर हालेपछि पीठोमा परिवर्तन आएजस्तै परमेश्‍वरको राज्यको सुसमाचार स्वीकार्ने मानिसहरूको मनमा परिवर्तन आउँछ। (रोमी १२:२) (२) व्यापक वृद्धि: पीठो खमिरा हुनुले परमेश्‍वरको राज्यको सन्देश चारैतिर प्रचार हुनेछ भन्‍ने कुरालाई चित्रण गर्छ। पूरै पीठो खमिरा नभएसम्म खमिर फैलिन बन्द हुँदैन। त्यसैगरि परमेश्‍वरको राज्यको सन्देश पनि “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाका”-सम्म फैलिंदै छ। (प्रेषि. १:८) खमिर पूरै फैलिनुले प्रतिबन्ध लागेका ठाउँहरूमा समेत परमेश्‍वरको राज्यको सन्देश फैलाउने काम बन्द हुँदैन भनेर पनि सङ्‌केत गर्छ। प्रतिबन्ध लागेका त्यस्ता ठाउँहरूमा मानिसहरूलाई हामीले गरिरहेको प्रचारको काम त्यति याद नहोला तैपनि ती ठाउँहरूमा परमेश्‍वरको राज्यको सन्देश फैलिनेछ।

१५. यशैया ६०:५, २२ कसरी पूरा भइरहेको छ? (पृष्ठ ९३ मा भएको “ यहोवाले नै सम्भव बनाउनुभयो” र पृष्ठ ९६-९७ मा भएको “ ‘ सबैभन्दा सानोचाहिं’ कसरी ‘एउटा शक्‍तिशाली जाति’ भएको छ” शीर्षकका पेटीहरू पनि हेर्नुहोस्‌।)

१५ येशूले यी दृष्टान्त बताउनुभन्दा झन्डै ८०० वर्षअघि यहोवाले यशैयामार्फत एउटा भविष्यवाणी गर्नुभएको थियो। उक्‍त भविष्यवाणीले अहिले आधुनिक समयमा भइरहेको कटनीको काम कत्तिको व्यापक हुनेछ र यो काममा भाग लिनेहरू कत्ति आनन्दित हुनेछन्‌, त्यसको जीवन्त वर्णन गर्छ। b यहोवाले त्यो भविष्यवाणीमा “टाढा-टाढाबाट” मानिसहरू उहाँको सङ्‌गठनमा आउनेछन्‌ भनेर बताउनुभयो। त्यसपछि, पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई चित्रण गर्ने स्त्रीलाई सम्बोधन गर्दै उहाँले यसो भन्‍नुभयो: “यो देखेर तँ आनन्दित हुनेछस्‌, र तेरो हृदय हर्षले गद्‌गद्‌ हुनेछ। किनकि समुद्रका सम्पूर्ण धन तँतर्फ फर्कनेछ। जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ।” (यशै. ६०:१, ४, ५, ९) यो कुरा अक्षरशः पूरा भइरहेको छ! आफ्नो देशमा मुठीभर प्रकाशकहरू बढेर अहिले हजारौं पुगेको देख्दा लामो समयदेखि यहोवाको सेवा गरिरहेका ख्रीष्टियनहरूको मन खुसीले फुरुङ्‌ङ हुन्छ।

यहोवाका सबै सेवकहरू किन रमाउँछन्‌

१६, १७. हामीले बीउ छर्ने वा बाली काट्‌ने काम मात्र गरेको भए तापनि हामी रमाउन सक्ने एउटा कारण के हो? (“ दुई जना मान्छेको जीवन परिवर्तन गर्ने दुइटा पर्चा” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१६ येशूले आफ्ना प्रेषितहरूलाई भन्‍नुभएको यो कुरा तपाईंलाई याद होला: “बाली काट्‌नेले . . . अनन्त जीवनका लागि फसल बटुल्दैछ। त्यसैले बीउ छर्ने र काट्‌ने सँग-सँगै रमाउँछन्‌।” (यूह. ४:३६) संसारभरि भइरहेको कटनीको काममा भाग लिंदा हामी किन ‘सँग-सँगै रमाउँछौं?’ विभिन्‍न कारणले गर्दा। अहिलेलाई तीनवटा कारण विचार गरौं।

१७ पहिलो, कटनीको काममा यहोवाले पनि भाग लिनुहुने भएकोले हामी रमाउँछौं। मानिसहरूलाई परमेश्‍वरको राज्यको सन्देश प्रचार गरेर हामी बीउ छर्छौं। (मत्ती १३:१८, १९) तिनीहरूलाई येशूको चेला बन्‍न मदत गरेर हामी फसलको कटनी गर्छौं। तर मानिसहरूको मनमा छरेको परमेश्‍वरको राज्यको बीउलाई ‘अङ्‌कुराउन र बढ्‌दै जान’ मदत गर्ने त यहोवा नै हुनुहुन्छ। (मर्कू. ४:२७, २८) हामीले प्रचार गरेका मानिसहरूले हाम्रो सन्देश ग्रहण गरेर उन्‍नति गर्दै गएको देख्दा हामीलाई छक्क लाग्छ अनि भित्रैदेखि खुसी पनि लाग्छ। हो, कहिलेकाहीं हामीले छरेको कुनै-कुनै बीउ छिट्टै उम्रदैन र उम्रे पनि त्यसको कटनी भने अरूले नै गर्न सक्छ। साठी वर्षअघि बप्तिस्मा गरेकी जोआन नाम गरेकी बहिनीको जस्तै अनुभव हाम्रो पनि हुन सक्छ। तिनले यसो भनिन्‌: “कहिलेकाहीं मैले चिन्दै नचिनेका भाइबहिनीहरू मकहाँ आएर तपाईंले धेरै वर्षअघि मलाई प्रचार गर्नुभएको थियो नि भन्‍ने गर्छन्‌। उहाँहरू पछि अरू नै साक्षी भाइबहिनीसित बाइबल अध्ययन गरेर यहोवाको साक्षी बन्‍नुभएको रहेछ। मैले रोपेको बीउ त्यसै खेर गएन भनेर थाह पाउँदा मलाई खुसी लाग्छ।”१ कोरिन्थी ३:६, ७ पढ्‌नुहोस्‌।

१८. पहिलो कोरिन्थी ३:८ अनुसार हामी रमाउन सक्ने अर्को कारण के हो?

१८ दोस्रो, पावलले भनेको यो कुराले गर्दा हामी कटनीको काममा रमाउँछौं: “हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ।” (१ कोरि. ३:८) हामीले आफ्नो परिश्रमको आधारमा इनाम पाउँछौं, कति फल फलायो, त्यसको आधारमा होइन। हाम्रो सुसमाचार सुन्‍न नचाहने इलाकामा प्रचार गरिरहेका भाइबहिनीका निम्ति यो कुरा कत्ति सान्त्वनादायी छ! तनमनले बीउ छर्ने काम गरिरहेका प्रत्येक ख्रीष्टियनले यहोवाको नजरमा ‘धेरै फल फलाइरहेका’ छन्‌। त्यसैले सबैसँग रमाउने कारण छ।—यूह. १५:८; मत्ती १३:२३.

१९. (क) मत्ती २४:१४ अनुसार हामी रमाउन सक्ने तेस्रो कारण के हो? (ख) चेला बनाउन सफल भएनौं भने पनि हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१९ तेस्रो, हामीले गरिरहेको कामले गर्दा आखिरी समयबारे गरिएको भविष्यवाणी पूरा भइरहेको हुनाले हामी रमाउँछौं। चेलाहरूले “तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” भनेर सोध्दा येशूले के जवाफ दिनुभयो, विचार गर्नुहोस्‌। उहाँले आखिरी समयको चिन्हको एउटा महत्त्वपूर्ण पक्ष संसारभरि चल्ने प्रचारको काम हुनेछ भन्‍नुभएको थियो। के उहाँले चेला बनाउने कामबारे कुरा गर्दै हुनुहुन्थ्यो? अहँ, होइन। उहाँले भन्‍नुभयो: “साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ (मत्ती २४:३, १४) त्यसैले परमेश्‍वरको राज्यको प्रचार गर्नु भनेको बीउ छर्ने काम गर्नु हो र त्यो नै येशू ख्रीष्टको उपस्थितिको चिन्हको एउटा पक्ष हो। त्यसैले हामी मानिसहरूलाई चेला बनाउन त असफल हुन्छौं होला तर “साक्षी दिन” त कहिल्यै असफल हुँदैनौं भन्‍ने कुरा सधैं मनमा राख्छौं। c हो, मानिसहरूले हाम्रो कुरा सुनून्‌ वा नसुनून्‌, प्रचार गर्दा हामीले येशूले गर्नुभएको भविष्यवाणी पूरा गरिरहेका हुन्छौं। हामीले “परमेश्‍वरका सहकर्मी” भएर काम गर्ने सुअवसर पाएका छौं। (१ कोरि. ३:९) त्यसैले हामीसित रमाउने ठोस कारण छ!

“सूर्योदयदेखि सूर्यास्तसम्म”

२०, २१. (क) मलाकी १:११ मा दिइएको भविष्यवाणी कसरी पूरा भइरहेको छ? (ख) तपाईंले कस्तो सङ्‌कल्प गर्नुभएको छ र किन?

२० प्रथम शताब्दीमा येशूले आफ्ना प्रेषितहरूलाई कटनीको काम धेरै जरुरी छ भनेर बुझाउनुभयो। सन्‌ १९१९ देखि येशूले त्यही कुरा आफ्ना चेलाहरूलाई बुझाउँदै हुनुहुन्छ। परमेश्‍वरका जनहरूले पनि येशूको कुरा सुन्दै पहिले भन्दा झन्‌ मेहनती भएर प्रचारको काम गरिरहेका छन्‌। कटनीको कामलाई कुनै कुराले रोक्न सकेको छैन। भविष्यवक्‍ता मलाकीले भनेझैं “सूर्योदयदेखि सूर्यास्तसम्म” प्रचारको काम चलिरहेको छ। (मला. १:११) हो, सूर्योदय हुने ठाउँदेखि सूर्यास्त हुने ठाउँसम्म, पूर्वदेखि पश्‍चिमसम्म, पृथ्वीको जुनसुकै कुनामा यहोवाका उपासकहरूले रमाउँदै बीउ छर्ने र कटनीको काम मिलेर गरिरहेका छन्‌। अनि हामी यो काम बिहान घाम उदाएदेखि नअस्ताएसम्म दिनभरि रतीभर समय खेर नफाली गरिरहन्छौं।

२१ बितेका १०० वर्षमा परमेश्‍वरका जनहरूको एउटा सानो समूह बढेर “शक्‍तिशाली जाति” भएको छ। यो कुरा सम्झँदा के हामी खुसीले “गद्‌गद्‌” हुँदैनौं र? (यशै. ६०:५, २२, NRV) यही खुसी र “फसलका मालिक” यहोवाप्रतिको प्रेमले हामी सबैलाई सबैभन्दा ठूलो कटनीको काम गरिरहन उत्प्रेरणा दिइरहोस्‌!—लूका १०:२.

a ती वर्षहरू र त्यसपछिका दशकहरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू भन्‍ने अङ्‌ग्रेजी किताबको पृष्ठ ४२५-५२० पढ्‌न हामी तपाईंलाई आग्रह गर्छौं। ती पानाहरूमा सन्‌ १९१९ देखि १९९२ सम्म कटनीको कामअन्तर्गत के-के भए, चर्चा गरिएको छ।

b यो रोचक भविष्यवाणीबारे थप जानकारीको लागि प्रहरीधरहरा, जुलाई १, २००२, पृष्ठ ९-१९यशैयाको भविष्यवाणी—सारा मानवजातिको लागि ज्योति अङ्‌ग्रेजी किताबको खण्ड २, पृष्ठ ३०३-३२० हेर्नुहोस्‌।

c सुरु-सुरुका बाइबल विद्यार्थीहरूले त्यो महत्त्वपूर्ण कुरा बुझिसकेका थिए। नोभेम्बर १५, १८९५ को प्रहरीधरहरा-मा यसो भनिएको थियो: “हामीले जम्मा गरेको गहुँ थोरै होला तर हामीले सबैले प्रशस्त गरी सत्यको साक्षी दिन सक्छौं। . . . सबैले सुसमाचार प्रचार गर्न सक्छन्‌।”