सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ११

परमेश्‍वरको पवित्रतालाई झल्काउने स्वच्छ नैतिक आचरण

परमेश्‍वरको पवित्रतालाई झल्काउने स्वच्छ नैतिक आचरण

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई परमेश्‍वरको नैतिक स्तर पालन गर्न कसरी सिकाउनुभयो

महान्‌ आध्यात्मिक मन्दिरको बाहिरी चोकमा भएको ढोकाभित्र पसेको कल्पना गर्नुहोस्‌

१. इजकिएलले कस्तो अचम्मलाग्दो दर्शन देखे?

 झन्डै २,५०० वर्षअघि भविष्यवक्‍ता इजकिएलले अचम्मलाग्दो दर्शन देखेका थिए। एक छिनलाई मानिलिनुहोस्‌, तपाईंले पनि त्यो दर्शन देख्ने मौका पाउनुभयो। तपाईंले ठूलो अनि चमचम चम्किरहेको मन्दिर देख्नुहुन्छ। तपाईंलाई त्यो भव्य मन्दिर घुमाउन एक जना स्वर्गदूत पनि पर्खिरहेका छन्‌! तपाईं सात वटा खुड्‌किला उक्लनुहुन्छ र मन्दिरको तीन वटा ढोकामध्ये एउटामा पुग्नुहुन्छ। तपाईं ढोका देखेर दङ्‌ग पर्नुहुन्छ। ती लगभग ३० मिटर अल्गा छन्‌। अनि ती प्रत्येक ढोकाको छेउमा ढोकेहरू उभिएका छन्‌। तपाईंले मन्दिरका खम्बाहरू पनि देख्नुहुन्छ। ती खम्बाहरूमा खजूरका ठूलठूला चित्रहरू खोपिएका छन्‌।—इज. ४०:१-४, १०, १४, १६, २२; ४१:२०.

२. (क) प्रतीकात्मक मन्दिरले केलाई बुझाउँछ? (फुटनोट पनि हेर्नुहोस्‌।) (ख) मन्दिरका ढोकाका विभिन्‍न भागबाट हामी के सिक्न सक्छौं?

इजकिएलले मन्दिरको एक-एक कुराको यति राम्ररी बयान गरेका छन्‌ कि इजकिएलको किताबको अध्याय ४० देखि ४८ सम्म यही मन्दिरकै मात्र विवरण पाइन्छ। तर इजकिएलले दर्शनमा देखेको त्यो मन्दिर साँच्चैको मन्दिर होइन। तिनले दर्शन पाएको त्यो मन्दिरले यहोवा परमेश्‍वरले शुद्ध उपासनाको लागि गर्नुभएका प्रबन्धलाई सङ्‌केत गर्छ। मन्दिरको हरेक भागले यस अन्तको दिनमा हामीले चढाउने उपासनाको कुनै न कुनै पक्षलाई सङ्‌केत गर्छ। a उदाहरणका लागि, मन्दिरका अल्गा ढोकाले यहोवालाई शुद्ध उपासना चढाउन चाहनेहरूले उहाँको उच्च स्तर पालन गर्नै पर्छ भनेर सङ्‌केत गर्छ। खम्बाहरूमा खोपिएका खजूरका बोटहरूले पनि त्यही कुरालाई सङ्‌केत गर्छ किनभने बाइबलमा खजूरको बोटले कहिलेकाहीं परमेश्‍वरको उच्च स्तरलाई बुझाउँछ। (भज. ९२:१२) त्यसोभए मन्दिरका ढोकेहरू नि? परमेश्‍वरको स्तर पालन नगर्नेहरूलाई मन्दिरका ढोकेले त्यस सुन्दर मन्दिरभित्र प्रवेश गर्न दिंदैनन्‌। अर्को शब्दमा भन्‍नुपर्दा ती ढोकेहरूले जीवन दिने शुद्ध उपासनाको रक्षा गर्छन्‌।—इज. ४४:९.

३. किन ख्रीष्टका चेलाहरूलाई नैतिक तवरमा स्वच्छ पार्नु निरन्तर आवश्‍यक परेको छ?

इजकिएलले देखेको दर्शन कसरी पूरा भयो? सन्‌ १९१४ देखि १९१९ को सुरुतिर यहोवाले आफ्ना जनहरूलाई शुद्ध पार्न येशू ख्रीष्टलाई चलाउनुभयो भनेर हामीले यस किताबको अध्याय २ मा छलफल गरेका थियौं। तर शुद्ध पार्ने काम त्यतिबेला नै सिद्धिएन। येशू ख्रीष्टले बितेको सय वर्षदेखि यहोवाका सबै उपासकहरूले उहाँको उच्च नैतिक स्तरहरू पालन गर्नुपर्छ भनेर जोड दिइरहनुभएको छ। उहाँका चेलाहरूलाई नैतिक तवरमा स्वच्छ पार्नु निरन्तर आवश्‍यक परेको छ। किन? किनभने ख्रीष्टले नैतिक रूपमा भ्रष्ट भएको यस संसारबाट आफ्ना चेलाहरूलाई जम्मा गर्दै हुनुहुन्छ। अर्कोतर्फ सैतानले तिनीहरूलाई फेरि अनैतिकताको दलदलमा फसाउने दुष्प्रयास गरी नै रहेको छ। (२ पत्रुस २:२०-२२ पढ्‌नुहोस्‌) साँचो ख्रीष्टियनहरूलाई क्रमिक रूपमा शुद्ध पारिंदै लगिएको तीन वटा क्षेत्र विचार गरौं। सबैभन्दा पहिले यहोवाले आफ्ना जनहरूलाई नैतिक तवरमा स्वच्छ बनाउन के-के गर्नुभयो, त्यो विचार गरौं। त्यसपछि मण्डलीलाई स्वच्छ राख्न कस्तो महत्त्वपूर्ण प्रबन्ध गरियो, त्यो हेरौं। अन्तमा पारिवारिक सम्बन्धलाई बलियो बनाउन कस्तो मदत दिइयो, त्यसबारे छलफल गरौं।

नैतिक तवरमा स्वच्छ रहन चालिएका कदमहरू

४, ५. सैतानले धेरै पहिलादेखि कस्तो चाल चलेको छ अनि के सैतान यस चालमा सफल भएको छ?

यहोवाका जनहरू सधैं उहाँका स्तरबमोजिम जीवन बिताउने प्रयास गर्छन्‌। त्यसैले नैतिकतासम्बन्धी स्पष्ट निर्देशनहरू पाउँदा तिनीहरूले सहर्ष स्वीकारेका छन्‌। केही उदाहरण विचार गरौं।

यौन अनैतिकता। पति-पत्नीबीचको यौनसम्बन्ध स्वच्छ अनि आनन्ददायी होस्‌ भनी यहोवा चाहनुहुन्छ। तर यहोवाले दिनुभएको यस्तो सुन्दर वरदानलाई सैतानले कुरूप बनाइदिएको छ र साँचो ख्रीष्टियनहरूलाई गलत काममा फसाउने पासो बनाएको छ। ख्रीष्टियनहरूलाई यस्तो पासोमा फसाउन सक्यो भने तिनीहरूले परमेश्‍वरको अनुमोदन गुमाउनेछन्‌ भनेर सैतानलाई थाह छ। बालामको समयमा सैतानले त्यस्तै चाल चल्यो र त्यो सफल पनि भयो। त्यसैले अहिले यस अन्तको समयमा पनि सैतानले यौन अनैतिकतालाई आफ्नो सबैभन्दा प्रभावकारी हतियार बनाएको छ।—गन्ती २५:१-३, ९; प्रका. २:१४.

६. एउटा प्रहरीधरहरा-मा कस्तो वाचा गर्न प्रोत्साहन दिइएको थियो र यो वाचालाई कसरी व्यवहारमा लागू गरियो? पछि यसलाई किन खारेज गरियो? (फुटनोट पनि हेर्नुहोस्‌।)

यहोवाका उपासकहरू सैतानको यस्तो पासोमा नपरोस्‌ भनेर जून १५, १९०८ को प्रहरीधरहरा-मा तिनीहरूलाई एउटा वाचा गर्न प्रोत्साहन दिइएको थियो। त्यस वाचाको केही भाग यसप्रकार छ: “म विपरीत लिङ्‌गको व्यक्‍तिसित सार्वजनिक ठाउँमा जस्तो व्यवहार गर्छु, कोही नभएको ठाउँमा पनि सधैं त्यस्तै व्यवहार गर्नेछु।” b तर यो वाचा गर्नै पर्छ भन्‍ने त थिएन। तैपनि धेरै बाइबल विद्यार्थीहरूले यो वाचा गरे र प्रहरीधरहरा-मा वाचा गर्नेहरूको सूचीमा आफ्नो नाम छाप्नको लागि पनि दिए। यो वाचाले गर्दा धेरैलाई यौन अनैतिकतादेखि परै बस्न मदत पुग्यो। तर पछि यो वाचा मुखले भन्‍ने तर व्यवहारमा लागू नगर्ने रीतिजस्तो मात्र हुन गयो। त्यसैले यस्तो वाचा गर्ने चलनलाई खारेज गरियो। तर त्यस वाचामा व्यक्‍त गरिएका उच्च नैतिक स्तरहरूको पालना गर्न भने छोडिएन।

७. सन्‌ १९३५ को प्रहरीधरहरा-मा कुन समस्याबारे बताइएको थियो? उक्‍त प्रहरीधरहरा-मा कुन कुरा स्पष्ट पारियो?

सैतानको आक्रमण बढ्‌दै गयो। मार्च १, १९३५ अङ्‌कको प्रहरीधरहरा-मा परमेश्‍वरका जनहरूबीच बढ्‌दै गइरहेको एउटा समस्याबारे खुलस्त चर्चा गरिएको थियो। त्यतिखेर कसै-कसैले आफूले प्रचारको काममा भाग लिइरहेको छ भने यहोवाका नैतिक स्तर पालन नगरे पनि हुन्छ भनी सोचेका रहेछन्‌। तर प्रहरीधरहरा-को उक्‍त अङ्‌कमा सीधै यसो भनिएको थियो: “यहोवाको साक्षी बनेपछि प्रचारमा भाग लिएर मात्र पुग्दैन। यो नाम धारण गर्नु भनेको उहाँको प्रतिनिधि हुनु हो। त्यसैले यहोवा अनि उहाँको राज्यको ठीकसित प्रतिनिधित्व गर्नु प्रत्येक साक्षीको दायित्व हो।” उक्‍त प्रहरीधरहरा-को लेखमा त्यसपछि वैवाहिक सम्बन्ध र यौन अनैतिकताबारे स्पष्ट सल्लाह दिइएको थियो। यसले गर्दा परमेश्‍वरका जनहरूले ‘अवैध यौनसम्बन्धदेखि भाग्न’ मदत पाए।—१ कोरि. ६:१८.

८. प्रहरीधरहरा-मा किन बारम्बार यौन अनैतिकता भनी अनुवाद गरिएको ग्रीक शब्दको अर्थमा जोड दिइएको छ?

बितेको २०/३० वर्षदेखि चाहिं प्रहरीधरहरा पत्रिकाले यौन अनैतिकतालाई बुझाउने ग्रीक शब्द पोर्निया-को अर्थमा बारम्बार जोड दिन थालेको छ। यो शब्दको अर्थ अवैध यौनसम्बन्ध राख्नु मात्र होइन। पोर्निया शब्दले वेश्‍यालयमा हुने हर किसिमका छाडा आचरण अर्थात्‌ अनैतिक कार्यलाई बुझाउँछ। परमेश्‍वरको सङ्‌गठनबाट आएको यस्ता जानकारीले गर्दा ख्रीष्टका चेलाहरू यौन विकृतिबाट जोगिएका छन्‌।एफिसी ४:१७-१९ पढ्‌नुहोस्‌।

९, १०. (क) सन्‌ १९३५ को प्रहरीधरहरा-मा कुन विषयमा चर्चा गरिएको थियो? (ख) मादक पेय पदार्थबारे बाइबलको दृष्टिकोण कस्तो छ?

मादक पेय पदार्थको दुरुपयोग। मार्च १, १९३५ को अङ्‌कको प्रहरीधरहरा-मा ख्रीष्टियनलाई पटक्कै नसुहाउने अर्को एउटा नराम्रो बानीबारे चर्चा गरिएको थियो। त्यो हो, मादक पेय पदार्थको अनुचित सेवन। उक्‍त प्रहरीधरहरा-मा यसो भनिएको थियो: “कसै-कसैले रक्सी पिएर प्रचारमा जाने अथवा मण्डलीमा दिइएको विभिन्‍न जिम्मेवारीहरू सम्हाल्ने गरिरहेका छन्‌। जुनसुकै बेला रक्सी पिउनुहुन्छ भनेर के बाइबलमा भनिएको छ र? प्रभुको सङ्‌गठनमा बसेर आफ्नो सेवालाई नै असर गर्ने गरी रक्सी पिउनु के उचित होला र?”

१० उक्‍त लेखमा मादक पेय पदार्थबारे परमेश्‍वरको वचनले दिने सल्लाह छलफल गरिएको थियो। सन्तुलित मात्रामा मादक पेय पदार्थ सेवन गर्नु गलत होइन तर पियक्कड हुनु गलत हो भनेर बाइबलमा स्पष्ट पारिएको छ। (भज. १०४:१४, १५; १ कोरि. ६:९, १०) मादक पेय पदार्थ सेवन गरेर पवित्र सेवा चढाउने विषयमा चाहिं धेरै वर्षअघिदेखि साँचो ख्रीष्टियनहरूलाई हारूनका छोराहरूले गरेको गल्ती नदोहोऱ्‍याउन बारम्बार सम्झाइएको छ। परमेश्‍वरको वेदीमा उहाँले निषेध गर्नुभएको धूप हालेकोले उहाँले तिनीहरूलाई नाश गर्नुभएको थियो। यो घटना भएको केही समयपछि परमेश्‍वरले पुजारीको काम गर्दा मद्य नपिउनू भनेर सबै पुजारीलाई दिनुभएको आदेशबाट हारूनका छोराहरूले गरेको गल्ती वास्तवमा के रहेछ, सो बुझ्न सक्छौं। (लेवी १०:१, २, ८-११) यही सिद्धान्तलाई मनमा राख्दै ख्रीष्टका चेलाहरूले यहोवाको उपासनाको कुनै पनि पक्षमा भाग लिंदा मादक पेय पदार्थ सेवन गर्दैनन्‌।

११. मद्यव्यसनी हुनुबारे थप कुरा बुझ्नु परमेश्‍वरका जनहरूको लागि किन आशिष्‌ साबित भएको छ?

११ मद्यव्यसनी हुनु अर्थात्‌ लत लाग्ने गरी रक्सी पिउनु किन गलत हो, त्यसबारे ख्रीष्टका अनुयायीहरूले बितेका २०/३० वर्षभित्र धेरै कुरा राम्ररी बुझिसकेका छन्‌। ठीक समयमै दिइएको आध्यात्मिक भोजनले गर्दा थुप्रै ख्रीष्टियनहरू मादक पेय पदार्थको दुरुपयोगबाट मुक्‍त हुनसके। धेरैजसोले चाहिं रक्सीको कुलतबाट कोसौं पर बस्ने मदत पाए। यहोवाका उपासकहरू मादक पेय पदार्थको दुरुपयोग गरेर आफ्नो आत्म-सम्मान र परिवारको इज्जत गुमाउँदैनन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, मादक पेय पदार्थको दुरुपयोग गरेर तिनीहरू आफूलाई यहोवालाई शुद्ध उपासना चढाउने मौकाबाट वञ्चित गर्दैनन्‌।

“हामी प्रभुले चुरोटको सर्को तान्दै गर्नुभएको अथवा त्यस्तै अरू अशुद्ध कुराहरू सेवन गर्नुभएको कल्पना समेत गर्न सक्दैनौं।”—सी. टी. रसल

१२. अन्तको दिन सुरु हुनुभन्दा अघिदेखि नै ख्रीष्टका सेवकहरूले सुर्तीजन्य पदार्थको प्रयोगबारे के कुरा बुझ्न थालिसकेका थिए?

१२ सुर्तीजन्य पदार्थको प्रयोग। सुर्तीजन्य पदार्थ प्रयोग गर्नु गलत हो भनेर सन्‌ १९१४ अघिदेखि नै ख्रीष्टका सेवकहरूले बुझ्न थालिसकेका थिए। भाइ चार्ल्स टेज रसललाई पहिलो चोटि भेटेको कुरा सम्झदैं धेरै वर्षअघि चार्ल्स केपन नाम गरेका वृद्ध भाइले केही कुरा भनेका थिए। कुरा १९औं शताब्दीको अन्ततिरको हो। त्यतिबेला भाइ केपन १३ वर्षका थिए। तिनी, तिनका दुई भाइ र एक जना दाइले पेन्सिलभेनियाको एलेगेनीमा बाइबल हाउसको भऱ्‍याङमा भाइ रसललाई भेटे। भाइ रसलले यस्तो सोधे: “चुरोट खाएको हो कि क्या हो? चुरोटको गन्ध आउँछ नि।” तिनीहरूले आफूहरूले चुरोट खाएको होइन भनी बताए। चुरोट सेवनबारे भाइ रसलको दृष्टिकोण के रहेछ, भाइ केपन र तिनका दाजुभाइले राम्ररी बुझे। अगस्त १, १८९५ अङ्‌कको प्रहरीधरहरा-मा भाइ रसलले २ कोरिन्थी ७:१ बारे टिप्पणी गर्दै यसो भनेका थिए: “सुर्तीजन्य पदार्थको सेवनले परमेश्‍वरको महिमा गर्दैन। सेवन गर्ने व्यक्‍ति आफैलाई पनि त्यसले फाइदा गर्दैन। . . . हामी प्रभुले चुरोटको सर्को तान्दै गर्नुभएको अथवा त्यस्तै अरू अशुद्ध कुराहरू सेवन गर्नुभएको कल्पना समेत गर्न सक्दैनौं।”

१३. यहोवाका उपासकहरूलाई नैतिक तवरमा स्वच्छ पार्न सन्‌ १९७३ मा थप कस्तो कदम चालियो?

१३ सन्‌ १९३५ को एउटा प्रहरीधरहरा-मा सुर्तीलाई “अशुद्ध झार” भनिएको थियो। साथै सुर्ती खाने वा चुरोट तान्‍ने कोही पनि व्यक्‍ति बेथेल परिवारको सदस्य हुन सक्दैन वा तिनले परमेश्‍वरको सङ्‌गठनको प्रतिनिधि भएर अग्रगामी सेवा र परिभ्रमण कार्य गर्न मिल्दैन भनेर बताइएको थियो। यहोवाका उपासकहरूलाई नैतिक तवरमा अझ स्वच्छ बनाउन सन्‌ १९७३ मा थप कदम चालियो। जून महिनाको प्रहरीधरहरा-मा अरूलाई असर गर्ने प्राणघातक अनि घिनलाग्दो बानी नत्याग्ने साक्षीलाई उदाहरणीय ख्रीष्टियन मान्‍न सकिंदैन भनेर बताइएको थियो। यस्तो कुलत छोड्‌न नचाहने व्यक्‍तिलाई मण्डलीबाट बहिष्कार गर्नुपर्छ भनेर पनि स्पष्ट पारियो। c आफ्ना अनुयायीहरूलाई स्वच्छ पार्न यसरी राजा येशू ख्रीष्टले अर्को एउटा महत्त्वपूर्ण कदम चाल्नुभयो।

१४. परमेश्‍वरले रगतबारे के नियम दिनुभएको छ? बिरामीलाई रगत दिने चलन कसरी सामान्य हुन थाल्यो?

१४ रगतको दुरुपयोग। रगत खानु हुँदैन भनेर यहोवाले नूहको पालामा बताउनुभएको थियो। इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा उहाँले यो कुरा अझ स्पष्टसित बताउनुभयो। पछि ख्रीष्टियन मण्डली स्थापित भएपछि “रगतबाट अलग रहनू” भनेर उहाँले फेरि भन्‍नुभयो। (प्रेषि. १५:२०, २९; उत्प. ९:४; लेवी ७:२६) तर आधुनिक युग सुरु भएपछि मानिसहरूलाई परमेश्‍वरले दिनुभएको यो आज्ञा उल्लङ्‌घन गर्न लगाउन सैतानले एउटा नयाँ उपाय निकालेको छ। उपचारको क्रममा बिरामीलाई रगत दिन सकिन्छ कि भनेर डाक्टरहरूले १९औं शताब्दीमा विभिन्‍न परीक्षण गर्दै थिए। रगतको समूह फरक-फरक हुँदो रहेछ भनेर पत्ता लागेपछि रगतको प्रयोग बढ्‌न थाल्यो। सन्‌ १९३७ देखि त रगत सङ्‌कलन गरेर ब्लड बैंकमा जम्मा गर्न थालियो। दोस्रो विश्‍वयुद्धको दौडान घाइतेहरूको उपचार गर्न व्यापक रूपमा रगत प्रयोग गरियो। चाँडै बिरामीलाई रगत दिने चलन संसारभरि सामान्य हुन थाल्यो।

१५, १६. (क) रगतको सन्दर्भमा यहोवाका साक्षीहरूले कस्तो अडान लिए? (ख) रगत नलिई उपचार गर्ने विषयमा ख्रीष्टका अनुयायीहरूले कस्ता मदत पाएका छन्‌ र नतिजा कस्तो भएको छ?

१५ रगत दिनु भनेको रगत खानुसरह हो भनेर सन्‌ १९४४ तिर नै प्रहरीधरहरा-मा बताइसकिएको थियो। त्यसलगत्तै अर्को वर्ष बाइबलको आज्ञाअनुसार रगत नलिने अडानबारे अझ स्पष्ट जानकारी दिइयो। डाक्टरहरूसित रगतबारे कुरा गर्न सजिलो होस्‌ भनेर सन्‌ १९५१ मा प्रकाशित प्रहरीधरहरा-मा प्रश्‍न-उत्तर गर्न मिल्ने लेख प्रकाशित गरियो। रगत नलिने हाम्रो अडानको मानिसहरूले खिल्ली उडाए पनि, वैरभाव देखाए पनि अनि विरोध गर्दा समेत संसारभरिका ख्रीष्टका वफादार चेलाहरू आफ्नो अडानमा अटल भएर बसेका छन्‌। ख्रीष्टले पनि हाम्रो सङ्‌गठनलाई चलाएर आवश्‍यक मदत दिइरहनुभएको छ। रगतसम्बन्धी विभिन्‍न पुस्तिका अनि लेखहरू हाम्रो सङ्‌गठनले निरन्तर प्रकाशित गर्दै आएको छ।

१६ सन्‌ १९७९ मा हाम्रो विश्‍वास, हामीले रगत नलिनुको बाइबलआधारित कारण र रगत नदिई उपचार गर्न सकिने उपायबारे डाक्टरहरूलाई बताउन केही एल्डरहरू अस्पतालहरूमा जान थाले। सन्‌ १९८० मा अमेरिकाको ३९ वटा सहरका एल्डरहरूले यस कामको लागि विशेष तालिम पाए। समयको दौडान परिचालक निकायले संसारभरि नै अस्पताल सम्पर्क समिति (एचएलसी) स्थापित गर्न अनुमति दियो। यस्ता प्रयासहरूले गर्दा अहिले थुप्रै डाक्टरहरू साक्षीहरूले लिने अडानको कदर गर्दै उपचार गर्न राजी भएका छन्‌। रगत नदिई उपचार गर्ने अस्पतालहरूको सङ्‌ख्या पनि बढिरहेको छ र तिनीहरूमध्ये केहीले त यो नै उत्तम उपचारविधि हो भनेर मानिलिएका पनि छन्‌। सैतानले दूषित बनाउन जतिसुकै प्रयास गरे तापनि येशूले आफ्ना अनुयायीहरूलाई सुरक्षित राख्नुभएको छ भनेर थाह पाउँदा हामी ढुक्क हुन्छौं।—एफिसी ५:२५-२७ पढ्‌नुहोस्‌।

रगत नदिई उपचार गर्ने अस्पतालहरूको सङ्‌ख्या बढिरहेको छ र तिनीहरूमध्ये केहीले त यो नै उत्तम उपचारविधि हो भनेर मानिलिएका पनि छन्‌

१७. आफ्ना अनुयायीहरूलाई नैतिक तवरमा स्वच्छ रहन ख्रीष्टले दिनुभएको मदतको कदर गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

१७ हामी सबैले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘यहोवाका उच्च नैतिक स्तरहरू पालन गर्न ख्रीष्टले दिनुभएको तालिमको के म कदर गर्छु? हामीलाई नैतिक तवरमा स्वच्छ राख्न उहाँले जे-जति गर्नुभयो, के म त्यसका लागि आभारी छु?’ हामी कहिल्यै यो कुरा नबिर्सौं: यहोवा अनि येशूबाट हामी टाढा भएको सैतान चाहन्छ; हामीले परमेश्‍वरका नैतिक स्तर उल्लङ्‌घन गरोस्‌ भनेर त्यसले विभिन्‍न चाल चलिरहन्छ। सैतानको हानिकारक प्रभावबाट जोगाउन यहोवाको सङ्‌गठनले हामीलाई संसारको अनैतिक तौरतरिकाबारे थुप्रै चेतावनी र सम्झौटाहरू दिइरहन्छ। त्यस्ता मदतकारी सल्लाह पाउँदा हामी राम्ररी पालन गरौं र सधैं सचेत भइरहौं।—हितो. १९:२०.

मण्डलीलाई नैतिक रूपमा स्वच्छ राख्ने

१८. आध्यात्मिक मन्दिरको दर्शनबाट जानाजानी परमेश्‍वरका स्तरहरूको विरोध गर्नेहरूको विषयमा हामी के कुरा थाह पाउन सक्छौं?

१८ नैतिक रूपमा स्वच्छ रहन यहोवाले मदत गर्नुभएको दोस्रो क्षेत्र मण्डली हो। त्यसोभए मण्डलीलाई स्वच्छ राख्न के-कस्ता कदमहरू चालिए त? नैतिक आचरणसम्बन्धी यहोवाको स्तर स्वीकारेर उहाँलाई आफ्नो जीवन समर्पण गर्ने सबै जना आफ्नो निर्णयमा अडिग रहँदैनन्‌। कसै-कसैले त जानाजानी ती स्तरहरूको विरोध गर्छन्‌। त्यस्ता व्यक्‍तिहरूलाई के गर्ने? यस अध्यायको सुरुतिर हामीले छलफल गरेको आध्यात्मिक मन्दिरको दर्शनमा यो प्रश्‍नको जवाफ पाउन सक्छौं। मन्दिरका अल्गा ढोकाहरूलाई सम्झनुहोस्‌ त। प्रत्येक ढोकामा ढोकेहरू उभिएका थिए। ती ढोकेहरूले ‘मनमा खतना’ नभएकाहरूलाई मन्दिरभित्र जान दिंदैन थिए। (इज. ४४:९) यहोवाले तोक्नुभएका स्वच्छ नैतिक स्तरहरू अनुरूप जीवन बिताउन कोसिस गर्नेहरूले मात्र शुद्ध उपासनामा भाग लिन सक्छन्‌ भनेर यसबाट हामी बुझ्न सक्छौं। त्यसैकारण आज सबैले सङ्‌गी ख्रीष्टियनहरू सँगसँगै साँचो उपासनामा भाग लिने सुअवसर पाउँदैनन्‌।

१९, २०. (क) गम्भीर गल्तीका मामिलाहरू सम्हाल्ने तरिकाबारे ख्रीष्टले आफ्ना चेलाहरूलाई कसरी क्रमिक रूपमा मदत दिनुभएको छ? (ख) पश्‍चात्ताप नगर्नेहरूलाई बहिष्कार गर्नुको तीन कारण बताउनुहोस्‌।

१९ सन्‌ १८९२ मा प्रकाशित एउटा प्रहरीधरहरा-मा यस्तो भनिएको थियो, “ख्रीष्टले सबैको लागि आफ्नो जीवन फिरौतीको रूपमा बलिदान दिनुभयो भनेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा इन्कार गर्नेहरूलाई बहिष्कार गर्नु हाम्रो दायित्व हो।” (२ यूहन्‍ना १० पढ्‌नुहोस्‌) त्यसैगरि, सन्‌ १९०४ मा प्रकाशित नयाँ सृष्टि भन्‍ने अङ्‌ग्रेजी किताबमा बारम्बार गलत काम गर्नेहरूले मण्डलीलाई कमजोर बनाउँछन्‌ भनेर बताइएको थियो। त्यतिबेला कसैले घोर गलत काम गर्दा मण्डलीका सबै सदस्यले त्यसको छिनोफानो गर्ने काममा भाग लिन्थे। तर त्यस्ता घटनाहरू छिटफुट मात्र हुन्थे। पछि सन्‌ १९४४ मा जिम्मेवार भाइहरूले मात्र त्यस्ता मामिलाहरू सुल्झाउनुपर्छ भनेर प्रहरीधरहरा-मा बताइयो। सन्‌ १९५२ मा न्यायिक मामिला सम्हाल्ने बाइबलआधारित प्रक्रिया प्रहरीधरहरा-मा प्रकाशित भयो। उक्‍त लेखमा पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई बहिष्कार गर्नुको मुख्य कारण मण्डलीलाई स्वच्छ राख्नु हो भनेर प्रकाश पारियो।

२० त्यसबेलादेखि ख्रीष्टले आफ्ना अनुयायीहरूलाई गम्भीर मामिलाहरू कसरी सम्हाल्ने भन्‍ने विषयमा अझ स्पष्ट अनि नयाँ जानकारी दिंदै आउनुभएको छ। न्यायिक मामिला सम्हाल्दा कुन बेला क्षमा गर्नु उचित हुन्छ अनि कुन बेला हुँदैन, त्यसबारे सन्तुलित दृष्टिकोण राख्दै यहोवाको तौरतरिकाअनुसार न्यायिक मामिला कसरी सम्हाल्ने भनेर ख्रीष्टियन एल्डरहरूले राम्रो तालिम पाएका छन्‌। पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट बहिष्कार गर्नुको कम्तीमा पनि तीन कारण छन्‌ भनेर हामीले अहिले राम्ररी बुझिसकेका छौं: (१) यहोवाको बदनाम हुन नदिन, (२) गम्भीर पापका कुप्रभावहरूबाट मण्डलीलाई जोगाउन र (३) सम्भव छ भने गलत काम गर्ने व्यक्‍तिलाई पश्‍चात्ताप गर्न मदत दिन।

२१. बहिष्कारको प्रबन्ध परमेश्‍वरका जनहरूको लागि कसरी आशिष्‌ साबित भएको छ?

२१ बहिष्कार गर्ने प्रबन्धले गर्दा आज ख्रीष्टका चेलाहरूकै हित भएको छ भनेर के तपाईंले बुझ्नुभएको छ? प्राचीन इस्राएलमा गलत काम गर्ने व्यक्‍तिले गर्दा अक्सर पूरै इस्राएलीहरूमा नराम्रो प्रभाव पर्थ्यो। कहिलेकाहीं त त्यस्तो कुप्रभावले गर्दा यहोवालाई प्रेम गर्ने र सही काम गर्न चाहनेहरूको भन्दा यहोवाको विरोध गर्नेहरूको सङ्‌ख्या धेरै हुन्थ्यो। गलत काम गर्ने व्यक्‍तिको कुप्रभावमा परेर इस्राएलीहरूले बारम्बार यस्तो गलत कदम उठाउँदा यहोवाको बदनाम भयो र इस्राएलीहरूले उहाँको समर्थन गुमाए। (यर्मि. ७:२३-२८) आज यहोवाले कुनै एउटा खास जातिसित सम्बन्ध गाँस्नुभएको छैन। बरु उहाँसित राम्रो सम्बन्ध राख्न चाहने विभिन्‍न देश अनि जातिका पुरुष तथा स्त्रीहरूले बनेको समाजसित उहाँ घनिष्ठ हुनुहुन्छ। बारम्बार गलत काम गर्ने व्यक्‍तिलाई मण्डलीबाट बहिष्कार गर्ने प्रबन्ध भएकोले सैतानले त्यस्ता व्यक्‍तिलाई हतियारको रूपमा चलाएर मण्डलीलाई हानि पुऱ्‍याउन अथवा मण्डलीको स्वच्छ छविलाई बिगार्न सकेको छैन। साथै, गलत काम गर्ने व्यक्‍तिको कुप्रभावले गर्दा हुन सक्ने नोक्सानी धेरै कम गर्न सकिएको छ। फलस्वरूप, यहोवाका साँचो उपासकहरूको समूहमाथि उहाँको निगाह सधैं रहिरहनेछ भनेर हामी ढुक्क हुन सक्छौं। हाम्रो “विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ” भनेर यहोवाले वचन दिनुभएको छ। (यशै. ५४:१७) त्यसैले न्यायिक मामिलासम्बन्धी गम्भीर जिम्मेवारी बहन गरिरहेका एल्डरहरूलाई हामी वफादार भई समर्थन गरौं।

हरेक परिवारलाई नाम दिनेको महिमा गर्नुहोस्‌

२२, २३. बीसौं शताब्दीको सुरुतिरका वफादार ख्रीष्टियनहरूप्रति हामी किन आभारी छौं? तर पारिवारिक जीवनको विषयमा तिनीहरू अझ सन्तुलित हुनुपर्थ्यो भनेर हामी किन भन्‍न सक्छौं?

२२ नैतिक रूपमा स्वच्छ रहन यहोवाले मदत गर्नुभएको तेस्रो क्षेत्र परिवार हो। वैवाहिक सम्बन्ध र पारिवारिक जीवनसित सम्बन्धित क्षेत्रमा पनि उहाँले आफ्ना उपासकहरूलाई स्वच्छ बनाउनु भएको छ। पारिवारिक जीवनप्रतिको हाम्रो दृष्टिकोणमा वर्षौंको दौडान विभिन्‍न छाँटकाँट भयो। उदाहरणका लागि, २०औं शताब्दी सुरु भएपछि परमेश्‍वरका सेवकहरूले देखाएको आत्मत्यागी मनोभावबारे पढ्‌दा हामी छक्क पर्छौं। अत्यन्तै गाह्रो अवस्थामा समेत ती वफादार ख्रीष्टियनहरूले कसरी पवित्र सेवालाई प्राथमिकता दिन सकेका होलान्‌ भनेर हामी अचम्म मान्छौं। तर अर्कोतर्फ कुनै-कुनै क्षेत्रमा तिनीहरू सन्तुलित थिएनन्‌ भन्‍ने कुरा पनि हामी देख्छौं।

२३ उदाहरणका लागि, त्यतिखेर श्रीमतीलाई घरमा एक्लै छोडेर महिनौंसम्म टाढाको ठाउँमा प्रचार गर्न जानु अथवा मण्डलीहरूको भ्रमणमा निस्कनु नौलो कुरा थिएन। त्यतिखेर अविवाहित रहने विषयमा बाइबलले चाहेभन्दा बढ्‌तै जोड दिने चलन पनि थियो। ख्रीष्टियनहरूले आफ्नो वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउनुपर्छ भन्‍ने विषयमा पनि खासै चर्चा गरिंदैन थियो। तर अहिले निश्‍चय पनि ख्रीष्टका चेलाहरूमाझ त्यस्तो अवस्था छैन।

पारिवारिक जिम्मेवारीलाई एकातिर पन्छाएर ईश्‍वरतान्त्रिक जिम्मेवारी बहन गर्न प्रोत्साहन दिंइदैन

२४. ख्रीष्टले आफ्ना वफादार जनहरूलाई वैवाहिक सम्बन्ध र पारिवारिक जीवनबारे अझ सन्तुलित हुन कसरी मदत गर्नुभयो?

२४ अहिले कसैलाई पनि पारिवारिक जिम्मेवारीलाई एकातिर पन्छाएर ईश्‍वरतान्त्रिक जिम्मेवारी बहन गर्न प्रोत्साहन दिंइदैन। (१ तिमोथी ५:८ पढ्‌नुहोस्‌) राजा येशू ख्रीष्टले आफ्ना वफादार प्रजाहरूलाई वैवाहिक अनि पारिवारिक जीवनबारे निरन्तर मदतकारी र सन्तुलित सल्लाह दिइरहनुभएको छ। (एफि. ३:१४, १५) हामीले सन्‌ १९७८ मा तपाईंको पारिवारिक जीवन सुखी बनाउने शीर्षक भएको अङ्‌ग्रेजी किताब पायौं। त्यसको झन्डै १८ वर्षपछि पारिवारिक आनन्दको रहस्य किताब प्रकाशित भयो। यसबाहेक, पति-पत्नीले आफ्नो दाम्पत्य जीवनलाई अझ दह्रो बनाउन बाइबलका सिद्धान्तहरू कसरी लागू गर्न सक्छन्‌ भन्‍ने विषयमा थुप्रै लेखहरू प्रहरीधरहरा-मा प्रकाशित भइरहेका छन्‌।

२५-२७. वर्षौंको दौडान विभिन्‍न उमेरका केटाकेटीले कसरी अझ धेरै मदत पाएका छन्‌?

२५ राजा येशू ख्रीष्टले केटाकेटीलाई मदत गर्न बिर्सनुभएको छैन। केटाकेटीहरूको आवश्‍यकता अनि तिनीहरूको हितलाई ध्यानमा राखेर यहोवाको सङ्‌गठनले पहिलादेखि विभिन्‍न किसिमको मदत दिंदै आएको छ। पहिला-पहिला केटाकेटीको निम्ति त्यति धेरै प्रकाशनहरू थिएन तर अहिले त्यस्ता प्रकाशनहरूको छेलोखेलो छ। सन्‌ १९१९ देखि सन्‌ १९२१ को बीचमा सुनौलो युग (गोल्डेन एज) पत्रिकामा “केटाकेटीको लागि बाइबल अध्ययन” भन्‍ने लेख प्रकाशित हुन्थ्यो। त्यसपछि सन्‌ १९२० मा गोल्डेन एज एबिसी भन्‍ने पुस्तिका र त्यसपछि सन्‌ १९४१ मा केटाकेटी भन्‍ने शीर्षकको अङ्‌ग्रेजी किताब प्रकाशित भयो। सन्‌ १९७० को दशकमा चाहिं महान्‌ शिक्षकको कुरा सुनौं, युवावस्था बिताउने सर्वोत्तम तरिका भन्‍ने शीर्षक भएका अङ्‌ग्रेजी किताबहरू अनि बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रकाशित भए। सन्‌ १९८२ देखि ब्यूँझनुहोस्‌! पत्रिकामा नियमित रूपमा “युवा जनहरूका प्रश्‍न” भन्‍ने लेख आउन थाल्यो र पछि सन्‌ १९८९ मा यही लेखहरू जम्मा गरेर युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने शीर्षक भएको किताब तयार गरियो।

जर्मनीमा आयोजना गरिएको यस अधिवेशनमा मेरो बाइबल पाठ पुस्तिका पाउँदा खुसी भएका केटाकेटी

२६ अहिले युवा जनहरूका प्रश्‍न किताबको दुई वटा नयाँ खण्ड उपलब्ध छ। साथै “युवा जनहरूका प्रश्‍न” हाम्रो वेब साइट jw.org मा पनि नियमित रूपले प्रकाशित हुने गर्छ। अहिले हामीसँग महान्‌ शिक्षकबाट सिकौं किताब पनि छ। अनि हाम्रो वेब साइटमा केटाकेटीका लागि थुप्रै रमाइला सामग्री राखिएका छन्‌ जस्तै, बाइबल पात्रहरूको कार्ड, साना तथा ठूला केटाकेटीका लागि बाइबल अध्ययन गतिविधि, भिडियो, बाइबल चित्रकथा अनि तीन वा त्योभन्दा कम उमेरका लागि बाइबल पाठहरू। येशू ख्रीष्टले पृथ्वीमा हुनुहुँदा केटाकेटीलाई आफ्नो अँगालोमा लिएर जत्ति माया गर्नुहुन्थ्यो आज पनि उत्तिकै माया गर्नुहुन्छ भन्‍ने कुरामा दुई मत छैन। (मर्कू. १०:१३-१६) हाम्रा मण्डलीका साना केटाकेटीहरूले त्यस्तै माया अनि परमेश्‍वरसँग राम्रो सम्बन्ध गाँस्ने मदत पाइरहून्‌ भन्‍ने उहाँ चाहनुहुन्छ।

२७ राजा येशू ख्रीष्ट केटाकेटीमाथि कुनै पनि किसिमको हानि आउन नपाओस्‌ भन्‍ने पनि चाहनुहुन्छ। अहिले संसार नैतिक तवरमा झन्‌झनै खस्कँदै गइरहेको हुनाले बाल दुर्व्यवहारले विकराल रूप लिएको छ। ख्रीष्टियन आमाबाबुले आफ्नो छोराछोरीलाई यस्तो खतराबाट जोगाउन सकून्‌ भनेर हाम्रो सङ्‌गठनले स्पष्ट जानकारी अनि सुझाव प्रकाशित गरेको छ। d

२८. (क) इजकिएलको दर्शनबाट शुद्ध उपासनामा भाग लिन हामीले के गर्नै पर्छ भनेर बुझ्न सक्छौं? (ख) तपाईंले के गर्ने अठोट गर्नुभएको छ?

२८ आफ्ना अनुयायीहरूले यहोवाका उच्च नैतिक स्तरको आदर गरून्‌, त्यसअनुरूप जीवन बिताऊन्‌ अनि त्यसबाट लाभ उठाऊन्‌ भनेर राजा येशू खीष्टले निरन्तर तिनीहरूलाई सुधार्दै हुनुहुन्छ। उहाँले देखाउनुभएको यस्तो गहिरो चासोले पक्कै पनि हाम्रो मन छुन्छ। इजकिएलले दर्शनमा देखेको मन्दिरलाई फेरि एक चोटि विचार गर्नुहोस्‌। मन्दिरका अल्गा ढोकाहरूलाई सम्झनुहोस्‌। हो, त्यो मन्दिर साँच्चैको मन्दिर नभएर आध्यात्मिक मन्दिर थियो। तैपनि त्यो मन्दिरलाई हामीले वास्तविक मन्दिर सम्झनुपर्छ। त्यो मन्दिरभित्र पस्न हामीले राज्यभवन गएर, बाइबल पढेर अथवा प्रचार गरेर मात्र पुग्दैन। किनभने ढोङ्‌ग रच्ने कपटीले पनि सबैले देख्ने ती काम गर्न सक्छ। हामीले यहोवाका उच्च नैतिक स्तरअनुरूप जीवन बिताउँदै अनि शुद्ध मनले उहाँको उपासना गर्दै यस्ता गतिविधिमा भाग लियौं भने मात्र हामी त्यो पवित्र मन्दिरभित्र प्रवेश गर्न सक्छौं। तब भने यहोवा परमेश्‍वरले गर्नुभएको प्रबन्धअनुसारै हामीले उहाँलाई पवित्र उपासना चढाइरहेका हुन्छौं। आउनुहोस्‌, यस्तो अनमोल सुअवसरको हामी सधैं कदर गरौं अनि यहोवाका न्यायी स्तरअनुसार चलेर उहाँको पवित्रता झल्काइरहौं!

a सन्‌ १९३२ मा प्रकाशित उच्च पार्नु भन्‍ने अङ्‌ग्रेजी किताबको खण्ड २ मा परमेश्‍वरका जनहरूको पुनर्स्थापनासम्बन्धी बाइबल भविष्यवाणीहरू इस्राएल राष्ट्रमा होइन तर आधुनिक समयको आध्यात्मिक इस्राएलमा पूरा हुन्छ भनेर पहिलो चोटि बताइयो। ती भविष्यवाणीहरूले शुद्ध उपासनाको पुनर्स्थापनालाई सङ्‌केत गर्छ। मार्च १, १९९९ अङ्‌कको प्रहरीधरहरा-मा इजकिएलले देखेको मन्दिरको दर्शनले आध्यात्मिक पुनर्स्थापनालाई सङ्‌केत गर्छ र अन्तको दिनमा यो भविष्यवाणी पूरा हुन्छ भनेर बताइएको थियो।

b यो वाचाअनुसार स्त्री र पुरुष ढोका बन्द गरेर कोठाभित्र बस्नुहुँदैन थियो। उनीहरूले सबैले देख्ने गरी ढोका ह्वाङ्‌ङै राख्नुपर्थ्यो। यो कुरा पतिपत्नी वा नजिकका नातेदार हो भने लागू हुँदैन थियो। केही वर्षसम्म बेथेलमा दिनदिनै बिहानको उपासनामा यो वाचा पढ्‌ने गरिन्थ्यो।

c सुर्तीजन्य पदार्थको दुरुपयोगमा चुरोट, सुर्ती र खैनीजस्ता सुर्तीजन्य पदार्थ खानु र यसको खेती गर्नु पनि पर्छ।