सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १५

धार्मिक स्वतन्त्रताको निम्ति सङ्‌घर्ष गर्दै

धार्मिक स्वतन्त्रताको निम्ति सङ्‌घर्ष गर्दै

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

कानुनी मान्यता अनि परमेश्‍वरको व्यवस्था पालन गर्न पाउनुपर्ने अधिकारको लागि आफ्ना अनुयायीहरूले गरेको सङ्‌घर्षमा ख्रीष्टले कसरी मदत गर्नुभएको छ

१, २. (क) तपाईं परमेश्‍वरको राज्यको नागरिक हुनुहुन्छ भन्‍ने कुराको के प्रमाण छ? (ख) यहोवाका साक्षीहरूले धार्मिक स्वतन्त्रताको निम्ति किन सङ्‌घर्ष गर्नुपरेको छ?

 के तपाईं परमेश्‍वरको राज्यको नागरिक हुनुहुन्छ? यहोवाको साक्षी भएको नाताले तपाईं पक्कै पनि त्यस राज्यको नागरिक हुनुहुन्छ! तर तपाईंसित यसको के प्रमाण छ? तपाईंसित राहदानी वा अरू कुनै सरकारी कागजपत्र छैन। हो, तपाईंसित ती कुरा छैनन्‌ तर तपाईं परमेश्‍वरको राज्यको नागरिक हुनुहुन्छ भन्‍ने प्रमाण तपाईंले यहोवालाई चढाउनुहुने उपासनाले दिन्छ। उहाँको उपासना गर्न विश्‍वास मात्र भएर पुग्दैन, विश्‍वास प्रमाणित गर्ने काम पनि गर्नुपर्छ। सरल भाषामा भन्‍नुपर्दा, तपाईंले परमेश्‍वरको राज्यको नियमकानुन पालन गर्नुपर्छ। त्यसबाहेक, हाम्रो उपासनाले हाम्रो जीवनको हरेक पक्षलाई छोएको हुनुपर्छ। जस्तै, हामी आफ्ना छोराछोरीलाई कसरी हुर्काउँछौं अनि कस्तो उपचारविधि छान्छौं?

आफूले पाएको परमेश्‍वरको राज्यको नागरिकतालाई हामी असाध्यै बहुमूल्य ठान्छौं अनि त्यो राज्यको नागरिकको हैसियतले हामी आफ्नो कर्तव्य पूरा पनि गर्न चाहन्छौं। तर संसारले सधैं त्यसको कदर गर्दैन। कुनै-कुनै सरकारले हाम्रो उपासनामा केही बन्देज लगाउन वा पूरै प्रतिबन्ध लगाउन समेत खोजेको छ। येशू ख्रीष्टको प्रजाले पटक-पटक परमेश्‍वरको राज्यको नियमकानुनअनुसार चल्न पाउने आफ्नो अधिकारको निम्ति लड्‌नुपरेको छ। तर यो अचम्मलाग्दो कुरा होइन। प्राचीन समयमा पनि यहोवाका जनहरूले कुनै रोकटोकविना उहाँको उपासना गर्न सङ्‌घर्ष गर्नुपरेको थियो।

३. रानी एस्तरको समयमा परमेश्‍वरका जनहरूले कस्तो सङ्‌घर्ष गर्नुपऱ्‍यो?

उदाहरणको लागि, रानी एस्तरको समयमा परमेश्‍वरका जनहरूले आफ्नो ज्यान जोगाउन लड्‌नुपऱ्‍यो। फारसी साम्राज्यका दुष्ट प्रधानमन्त्री हामानले यहूदीहरूका “रीति-रिवाजहरू अरू सबै जातिको भन्दा भिन्दै” भएकोले तिनीहरूलाई मार्नुपर्छ भनेर राजा अहासूरसलाई सल्लाह दिएको थियो। (एस्त. ३:८, ९, १३) तर यहोवाले आफ्ना जनहरूलाई बचाउनुभयो। एस्तर र मोर्दकैले परमेश्‍वरका जनहरूको जीवन रक्षाको निम्ति फारसी राजालाई अपिल गर्दा यहोवाले तिनीहरूलाई साथ दिनुभयो।—एस्त. ९:२०-२२.

४. यस अध्यायमा हामी के छलफल गर्नेछौं?

आज हाम्रो समयबारे चाहिं के भन्‍न सकिन्छ? संसारका सरकारहरूले यहोवाका जनहरूको विरोध गरेका छन्‌ भनेर हामीले यसअघिको अध्यायमा सिक्यौं। अब यस अध्यायमा त्यस्ता सरकारहरूले हाम्रो उपासनामा बन्देज लगाउन कस्ता जुक्‍ति निकाले भनेर छलफल गर्नेछौं। हामी विशेषगरि तीन क्षेत्रमा ध्यान दिनेछौं: (१) कानुनी मान्यता प्राप्त गर्नुपर्ने र चाहेअनुसार उपासना गर्न पाउनुपर्ने अधिकार, (२) बाइबल सिद्धान्तसित नबाझिने उपचारविधि छान्‍ने अधिकार र (३) यहोवाको स्तरअनुरूप आफ्ना छोराछोरीलाई हुर्काउन पाउनुपर्ने आमाबाबुको अधिकार। आउनुहोस्‌, यी क्षेत्रहरूमा परमेश्‍वरको राज्यका वफादार प्रजाले आफ्नो बहुमूल्य नागरिकता सुरक्षित राख्न कसरी निडर भई सङ्‌घर्ष गरे र तिनीहरूले कस्ता आशिष्‌ पाए, त्यसबारे विचार गरौं।

कानुनी मान्यता र आधारभूत स्वतन्त्रताको निम्ति सङ्‌घर्ष

५. कानुनी मान्यता पाउँदा साँचो ख्रीष्टियनहरूलाई किन सजिलो हुन्छ?

यहोवाको उपासना गर्न के हामीले सरकारसित अनुमति लिनुपर्छ र? अहँ! पर्दैन। तर सरकारको मान्यता पायौं भने बाधाअडचनविना यहोवाको सेवामा लागिरहन सक्छौं। जस्तै, राज्यभवन तथा सम्मेलन भवनहरूमा हामी भेला हुन सक्छौं। बाइबलआधारित प्रकाशन छाप्न र ढुवानी गर्न सक्छौं अनि कुनै रोकटोकविना छिमेकीहरूलाई सुसमाचार सुनाउन सक्छौं। थुप्रै देशमा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाएका छन्‌। त्यसैले तिनीहरूले कानुनी मान्यता पाएका अरू धर्मले जस्तै स्वतन्त्र भई यहोवाको सेवा गर्न सकेका छन्‌। तर सरकारहरूले कानुनी मान्यता दिन अस्वीकार गर्दा वा हाम्रो आधारभूत स्वतन्त्रतामा बन्देज लगाउन खोज्दा के भएको छ?

६. सन्‌ १९४१/४२ तिर अस्ट्रेलियाका यहोवाका साक्षीहरूले कस्तो गाह्रो परिस्थितिको सामना गर्नुपऱ्‍यो?

अस्ट्रेलिया। सन्‌ १९४१/४२ तिर अस्ट्रेलियाका गभर्नर-जनरलले यहोवाका साक्षीहरूको धार्मिक आस्था युद्ध विरोधी भएकोले देशको लागि “हानिकारक” छ भन्दै हाम्रो काममा प्रतिबन्ध लगाए। साक्षीहरूले खुल्लमखुल्ला भेला हुन वा प्रचार गर्न पाएनन्‌ अनि शाखा कार्यालय र राज्यभवनहरू जफत गरियो। बाइबलआधारित प्रकाशन निजी घरमा राख्न समेत निषेध गरियो। अस्ट्रेलियाका भाइबहिनीले केही वर्षसम्म भेला हुने अनि प्रचारमा भाग लिने जस्ता ख्रीष्टियन जिम्मेवारी लुकीछिपी पूरा गर्नुपऱ्‍यो। जून १४, १९४३ मा अस्ट्रेलियाको सर्वोच्च अदालतले प्रतिबन्ध हटाएपछि तिनीहरूले बल्ल स्वतन्त्रता पाए।

७, ८. धार्मिक स्वतन्त्रताको निम्ति रूसका हाम्रा भाइबहिनीले वर्षौंसम्म कस्तो सङ्‌घर्ष गर्नुपऱ्‍यो?

रूस। रूसमा कम्युनिस्ट शासनको बेला यहोवाका साक्षीहरूको गतिविधिमा धेरै वर्षसम्म प्रतिबन्ध लगाइएको थियो। तर अन्ततः सन्‌ १९९१ मा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाए। भूतपूर्व सोभियत सङ्‌घ टुक्रिएपछि सन्‌ १९९२ मा सङ्‌घीय रूसमा यहोवाका साक्षीहरूले कानुनी मान्यता प्राप्त गरे। तर केही समय बित्न नपाउँदै विरोधीहरू, खासगरि रूसको अर्थोडक्स चर्चसित नजिकको सम्बन्ध भएका मानिसहरू हाम्रो वृद्धि देखेर झस्किए। सन्‌ १९९५ देखि सन्‌ १९९८ को बीचमा विरोधीहरूले यहोवाका साक्षीहरू आपराधिक गतिविधिमा संलग्न छन्‌ भन्‍ने आरोप लगाउँदै पाँच/पाँचचोटि फौजदारी मुद्दा हाले। प्रत्येक चोटि छानबिन गर्ने व्यक्‍तिले हाम्रो केही गल्ती भेट्टाएनन्‌। तर हात धोएर हाम्रो पछि लागेका विरोधीहरूले सन्‌ १९९८ मा यहोवाका साक्षीहरूविरुद्ध सार्वजनिक मुद्दा दायर गरे। सुरुमा यहोवाका साक्षीहरूले मुद्दा जिते तर विरोधीहरूले अदालतको फैसलालाई स्वीकारेनन्‌ र फेरि अपिल गरे। मे २००१ मा यहोवाका साक्षीहरूले मुद्दा हारे। सोही वर्षको अक्टोबर महिनामा यो मुद्दा फेरि सुरु भयो र सन्‌ २००४ मा कानुनी मान्यता पाएको यहोवाका साक्षीहरूको सङ्‌गठनको दर्ता खारेज गर्ने र यसका गतिविधिमाथि प्रतिबन्ध लगाउने फैसला सुनाइयो।

यसपछि साक्षीहरूविरुद्ध सतावटको लहर सुरु भयो। (२ तिमोथी ३:१२ पढ्‌नुहोस्‌) विरोधीहरूले साक्षीहरूलाई दुःख दिए र आक्रमण समेत गरे। हाम्रा प्रकाशनहरू जफत गरियो; उपासनाको लागि चाहिने भवन निर्माण गर्न वा भाडामा लिन मनाही गरियो। यस्तो परिस्थितिमा हाम्रा भाइबहिनीलाई असाध्यै गाह्रो भयो, जसको हामी कल्पनासमेत गर्न सक्दैनौं। यहोवाका साक्षीहरूले सन्‌ २००१ मा मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा अपिल गरे र सन्‌ २००४ मा अदालतलाई थप विवरण बुझाए। सन्‌ २०१० मा युरोपेली अदालतले फैसला सुनायो। रूसी सरकारले यहोवाका साक्षीहरूप्रति द्वेषभाव राखेर प्रतिबन्ध लगाएको हो भनेर अदालतले स्पष्टै बुझ्यो। अदालतले कोही पनि यहोवाको साक्षी आपराधिक गतिविधिमा संलग्न भएको प्रमाण भेटेन। त्यसैले रूसको तल्लो अदालतहरूले गरेको फैसलालाई मान्यता दिनुपर्ने कुनै कारण छैन भन्‍ने निष्कर्षमा युरोपेली अदालत पुग्यो। साथै, यसरी यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाउनु तिनीहरूलाई मौलिक अधिकारबाट वञ्चित गराउनु हो भनेर अदालतले ठहर गऱ्‍यो। अदालतको यस्तो फैसलाले साक्षीहरूको धार्मिक स्वतन्त्रता सुनिश्‍चित गऱ्‍यो। हुन त मानवअधिकारसम्बन्धी युरोपेली अदालतको फैसला रूसका केही अख्तियारवालाहरूले मानेका छैनन्‌। तैपनि हामीले हासिल गरेका यस्ता जितहरूले गर्दा रूसका यहोवाका साक्षीहरूको हौसला बढेको छ।

तितोस मानोसाकीस (अनुच्छेद ९ हेर्नुहोस्‌)

९-११. ग्रीसमा यहोवाका जनहरूले एकसाथ भेला हुन पाउन कस्तो सङ्‌घर्ष गर्नुपऱ्‍यो र नतिजा कस्तो भएको छ?

ग्रीस। सन्‌ १९८३ मा भाइ तितोस मानोसाकीसले यहोवाका साक्षीहरूको सानो समूह एकसाथ भेला हुन सकोस्‌ भनेर क्रेटको इराकलियन भन्‍ने ठाउँमा एउटा कोठा भाडामा लिए। (हिब्रू १०:२४, २५) तर केही समय बित्न नपाउँदै एक जना अर्थोडक्स पादरीले त्यसको विरोध गरे अनि प्रहरीमा उजुरी हाले। किन? एउटै कारणले गर्दा, त्यो हो यहोवाका साक्षीहरूको विश्‍वास अर्थोडक्स चर्चको भन्दा फरक छ! प्रहरीले भाइ तितोस मानोसाकीस र अरू तीन जना स्थानीय साक्षीले आपराधिक गतिविधिमा भाग लिएको आरोप लगायो र कानुनी कारबाहीको लागि प्रक्रिया अघि बढायो। अदालतले तिनीहरूलाई जरिबाना तिर्न लगायो र दुई महिनाको जेल सजाय सुनायो। तर हाम्रा भाइहरू अदालतको यो फैसलाले यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रता हनन गर्छ भन्‍ने निष्कर्षमा पुगे। त्यसैले तिनीहरू ग्रीसका अदालतहरूमा मुद्दा लड्‌दै अन्तमा मानवअधिकारसम्बन्धी युरोपेली अदालतसम्म पुगे।

१० सन्‌ १९९६ मा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले साँचो उपासनाका विरोधीहरूले आसै नगरेको फैसला सुनायो। “ग्रीसको कानुनअनुसार यहोवाका साक्षीहरू पनि ‘प्रचलित धर्म’-को दायरामै पर्छन्‌” र तल्लो अदालतहरूको फैसलाले “आवेदकको धार्मिक स्वतन्त्रतामा सीधै असर” गर्छ भनेर युरोपेली अदालतले भन्यो। यसबाहेक “कसैको धार्मिक विश्‍वास अनि त्यो विश्‍वास प्रकट गर्न उसले गरेको काम कानुनी हो कि होइन भनेर निर्धारण गर्ने” अधिकार ग्रीस सरकारसित छैन भनेर पनि युरोपेली अदालतले ठहर गऱ्‍यो। साक्षीहरूविरुद्ध सुनाइएको फैसला बदर गरियो र उनीहरूको धार्मिक स्वतन्त्रताको कदर गरियो!

११ के यो फैसलापछि ग्रीसमा यहोवाका साक्षीहरूलाई सजिलो भयो? दुःखको कुरा, भएन। ग्रीसको कासान्ड्रे भन्‍ने ठाउँमा पनि यहोवाका साक्षीहरूले झन्डै १२ वर्षसम्म यस्तै खालको मुद्दा लड्‌नुपऱ्‍यो। सन्‌ २०१२ मा बल्ल यस मुद्दाको छिनोफानो भयो। अर्थोडक्स पादरीको विरोधको कारण यो मुद्दा सुरु भएको थियो। ग्रीसको सबैभन्दा उच्च प्रशासनिक अदालतले यहोवाका साक्षीहरूको पक्षमा फैसला सुनायो। उक्‍त फैसलामा ग्रीसको संविधानले धार्मिक स्वतन्त्रता सुनिश्‍चित गरेको कुरा अदालतले स्पष्ट पाऱ्‍यो। साथै यहोवाका साक्षीहरू प्रचलित धर्मभित्र पर्दैन भन्‍ने आरोपको खण्डन पनि अदालतले गऱ्‍यो। अदालतले सुनाएको फैसलाको केही अंश यस्तो थियो: “‘यहोवाका साक्षीहरू’ के सिकाउँछन्‌, सबैलाई थाह छ। त्यसैले तिनीहरूको धर्म प्रचलित धर्मको दायरा भित्रै पर्छ।” अहिले कासान्ड्रेको सानो मण्डलीका भाइबहिनीहरू आफ्नै राज्यभवनमा सभा सञ्चालन गर्न पाएकोमा औधी खुसी छन्‌।

१२, १३. फ्रान्समा विरोधीहरूले कसरी ‘ऐनद्वारा विपद्‌ ल्याउने’ प्रयास गरे? तर के भयो?

१२ फ्रान्स। परमेश्‍वरका जनका केही विरोधीहरूले ‘ऐनद्वारा विपद्‌ ल्याउने’ जुक्‍ति निकालेका छन्‌। (भजन ९४:२०, NRV पढ्‌नुहोस्‌) उदाहरणको लागि, सन्‌ १९९५/९६ तिर फ्रान्सका कर अधिकृतहरूले यहोवाका साक्षीहरूको सरकारी मान्यताप्राप्त संस्थाको[१] लेखा परीक्षण गरे। फ्रान्सका अर्थमन्त्रीले त्यसरी लेखा परीक्षण गर्नुको खास मनसायबारे यसो भने: “यस्तो लेखा परीक्षण गरेपछि त्यस संस्थालाई कानुनी रूपमै बन्द गर्न अथवा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा संस्थाविरुद्ध कानुनी प्रक्रिया सुरु गर्न बाटो खुल्छ। यस्तो कानुनी प्रक्रियाले तिनीहरूको संस्थालाई कमजोर बनाउँछ र तिनीहरू हाम्रो इलाकामा आफ्नो गतिविधि पूरै बन्द गर्न बाध्य हुनेछन्‌।” हुन त कर अधिकृतहरूले लेखा परीक्षणमा कुनै अनियमितता भेट्टाएनन्‌, तैपनि तिनीहरूले यहोवाका साक्षीहरूको संस्थालाई चर्को कर लगाए। तिनीहरूको यो जुक्‍ति सफल भएको भए हाम्रा भाइहरूसामु शाखा कार्यालय बन्द गरेर सबै भवनहरू बेच्नुबाहेक अर्को विकल्प हुने थिएन। तर परमेश्‍वरका जनहरूले हार मानेनन्‌। यहोवाका साक्षीहरूले यस्तो पक्षपाती व्यवहारको कडा भर्त्सना गरे र सन्‌ २००५ मा मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा मुद्दा हाले।

१३ जून ३०, २०११ को दिन अदालतले फैसला सुनायो। कुनै विशेष अवस्थामा बाहेक सरकारले कुनै धार्मिक समूहको विश्‍वास वा त्यो विश्‍वास प्रकट गर्ने तरिका कानुनी हो कि होइन भनेर निर्धारण गर्न पाउँदैन भनी अदालतले बतायो। अदालतको फैसलामा यसो पनि भनिएको थियो: “सरकारले लगाएको यस्तो चर्को करले गर्दा यहोवाका साक्षीहरूको संस्था बन्द हुने स्थितिमा पुगेको छ र यदि यो संस्था बन्द भयो भने फ्रान्समा यहोवाका साक्षीहरूले आफूले पाएको धार्मिक स्वतन्त्रताको अभ्यास गर्न पाउनेछैनन्‌।” युरोपेली अदालतले यहोवाका साक्षीहरूको पक्षमा सर्वसम्मत फैसला सुनायो! फ्रान्सेली सरकारले यहोवाका साक्षीहरूको संस्थामाथि लगाएको करको रकम ब्याजसहित फिर्ता गऱ्‍यो। साथै अदालतले जारी गरेको आदेश पालन गर्दै सरकारले जफत गरेको शाखा कार्यालयको भवन पनि फिर्ता गऱ्‍यो। यसले गर्दा यहोवाका जनहरू खुसी भए।

कानुनी कठिनाइ भोगिरहेका हाम्रा भाइबहिनीको निम्ति तपाईंले नियमित रूपमा प्रार्थना गर्न सक्नुहुन्छ

१४. धार्मिक स्वतन्त्रताको सङ्‌घर्षमा तपाईंले कसरी साथ दिन सक्नुहुन्छ?

१४ प्राचीन समयका एस्तर र मोर्दकैजस्तै आज पनि यहोवाका जनहरू उहाँको इच्छाबमोजिम उपासना गर्न आफ्नो धार्मिक स्वतन्त्रताको निम्ति लड्‌छन्‌। (एस्त. ४:१३-१६) तपाईंले पनि होस्टेमा हैंसे गर्दै यो सङ्‌घर्षमा साथ दिन सक्नुहुन्छ। कसरी? कानुनी कठिनाइ भोगिरहेका हाम्रा भाइबहिनीको निम्ति नियमित रूपमा प्रार्थना गरेर। विभिन्‍न किसिमका कठिनाइ अनि यातनाको सिकार हुन परेका हाम्रा भाइबहिनीहरूको लागि हामीले गर्ने त्यस्ता प्रार्थनाले ठूलो काम गर्न सक्छ। (याकूब ५:१६ पढ्‌नुहोस्‌) के यहोवाले हाम्रा त्यस्ता प्रार्थनाहरू सुन्‍नुहुन्छ? अवश्‍य सुन्‍नुहुन्छ। हामीले हासिल गरेका जितहरूले त्यसको प्रमाण दिन्छ!—हिब्रू १३:१८, १९.

बाइबल सिद्धान्तसित नबाझिने उपचारविधि छान्‍ने अधिकार

१५. उपचारमा रगतको प्रयोगबारे परमेश्‍वरका जनहरूले के कुरा बुझेका छन्‌?

१५ आजभोलि उपचारमा रगतको प्रयोग गर्नु सामान्य भइसकेको छ। तर बाइबलले रगतको दुरुपयोग नगर्नू भनेर हामी परमेश्‍वरको राज्यका नागरिकहरूलाई स्पष्ट निर्देशन दिएको छ। यसबारे हामीले अध्याय ११ मा छलफल गरेका थियौं। (उत्प. ९:५, ६; लेवी १७:११; प्रेषित १५:२८, २९ पढ्‌नुहोस्‌) उपचार गर्दा हामी रगत लिन अस्वीकार गर्छौं। तर हामी आफू र आफ्नो परिवारका लागि परमेश्‍वरको व्यवस्थासित नबाझिने सबैभन्दा उत्तम उपचार छान्‍न चाहन्छौं। कुनै पनि उपचार स्वीकार गर्ने कि नगर्ने भनेर हरेक व्यक्‍तिले आफ्नो अन्तस्करण र धार्मिक आस्थाको आधारमा निर्णय गर्न सक्छ भनेर थुप्रै देशका सर्वोच्च अदालतहरूले मानिलिएका छन्‌। तर कुनै-कुनै देशमा परमेश्‍वरका जनहरूले यस विषयमा ठूला चुनौती सामना गर्नुपरेको छ। केही उदाहरण विचार गरौं।

१६, १७. जापानमा एक बहिनीलाई तिनको इच्छाविपरीत के गरियो? यहोवाले तिनको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

१६ जापान। जापानकी ६३ वर्षीया गृहिणी मिसाए ताकेदाको ठूलो अप्रेसन गर्नुपर्ने भयो। परमेश्‍वरको राज्यको वफादार नागरिक भएकोले तिनले रगत नलिई उपचार गर्ने आफ्नो इच्छा डाक्टरलाई बताइन्‌। तर तिनको अप्रेसन गर्दा रगत दिइएको रहेछ भनेर तिनले महिनौंपछि थाह पाइन्‌। तिनी छाँगाबाट खसेझैं भइन्‌। तिनले आफूलाई धोका दिइएको र छनौट गर्ने आफ्नो अधिकार हनन भएको महसुस गरिन्‌। त्यसैले बहिनी ताकेदाले जून १९९३ मा तिनको अप्रेसन गर्ने डाक्टरहरू र अस्पतालविरुद्ध मुद्दा हालिन्‌। मृदुभाषी र नम्र स्वभावकी बहिनी ताकेदाको विश्‍वास दह्रो थियो। आफ्नो स्वास्थ्य कमजोर हुँदै गइरहेको भए तापनि तिनले पूरै अदालतसामु एक घण्टाभन्दा लामो समयसम्म रतीभर नडराई बयान दिइन्‌। आफ्नो मृत्यु हुनुभन्दा एक महिनाअघि तिनी अन्तिम पटक अदालतमा हाजिर भइन्‌। तिनको साहस र विश्‍वासले पक्कै हाम्रो मन छुन्छ। बहिनी ताकेदाले यहोवालाई निरन्तर बिन्ती गरेर बल मागेको हुनाले अन्तसम्मै हरेस नखाई सङ्‌घर्ष गरिरहन सकिन्‌। यहोवाले आफ्नो प्रार्थनाको जवाफ दिनुहुनेछ भन्‍ने कुरामा तिनी ढुक्क थिइन्‌। के यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो?

१७ बहिनी ताकेदाको मृत्यु भएको तीन वर्षपछि जापानको सर्वोच्च अदालतले तिनको पक्षमा फैसला सुनायो। अदालतले बहिनी ताकेदाको इच्छाविपरीत रगत दिनु गलत थियो भनेर स्वीकाऱ्‍यो। फेब्रुअरी २९, २००० मा सुनाइएको उक्‍त फैसलामा “हरेक व्यक्‍तिले उपचार गराउँदा आफ्नो इच्छाअनुसार निर्णय गर्न पाउनुपर्छ” भनेर उल्लेख गरिएको थियो। बहिनी ताकेदाले बाइबल प्रशिक्षित अन्तस्करणसित नबाझिने उपचार छान्‍ने आफ्नो अधिकारको निम्ति हिम्मत नहारी लडेको हुनाले अहिले जापानका साक्षीहरूले आफूलाई जबरजस्ती रगत दिइएला भन्‍ने चिन्ता नगरी उपचार गर्न पाएका छन्‌।

पाब्लो आल्बारासिनी (अनुच्छेद १८ देखि २० हेर्नुहोस्‌)

१८-२०. (क) स्वास्थ्यसम्बन्धी अख्तियारनामामा व्यक्‍त गरिएको रगत नलिने बिरामीको इच्छालाई अर्जेन्टिनाको पुनरावेदन अदालतले कसरी कदर गऱ्‍यो? (ख) रगतको विषयमा हामी ख्रीष्टको अधीनमा रहेको कुरा कसरी देखाउन सक्छौं?

१८ अर्जेन्टिना। अचेत अवस्थामा भएको मानिसले आफ्नो निम्ति कुन उपचार उचित हुन्छ, त्यो निर्णय गर्न सक्दैन। त्यसैले हामी परमेश्‍वरको राज्यका नागरिकहरूले स्वास्थ्य उपचारका लागि स्थायी अख्तियारनामा कार्डमा आफ्नो इच्छा लेखेर सधैं आफूसित राख्नुपर्छ। पाब्लो आल्बारासिनीले पनि त्यसै गरे। मे २०१२ मा बन्दुकधारी लुटेराहरूले अन्धाधुन्ध गोली चलाउँदा पाब्लोलाई थुप्रै गोली लाग्यो। अस्पतालमा पुऱ्‍याउँदा तिनी अचेत अवस्थामा थिए। रगतबारे आफ्नो अडान बताउने अवस्थामा तिनी थिएनन्‌। तर तिनीसित तिनले झन्डै चार वर्षअघि दस्तखतसहित भरेको अख्तियारनामा थियो। तिनको अवस्था निकै गम्भीर थियो र केही डाक्टरहरूले तिनको जीवन बचाउन रगत दिनुपर्छ पनि भनेका थिए। तर डाक्टरहरू तिनको इच्छाको कदर गर्न तयार भए। यो कुरा पाब्लोका बुबालाई चित्त बुझेन। किनकि तिनी यहोवाको साक्षी थिएनन्‌। डाक्टरहरूलाई पाब्लोको इच्छाविपरित रगत दिने दबाब दिन तिनले अदालतको पुर्जी ल्याए।

१९ पाब्लोकी श्रीमतीले तुरुन्तै पुनरावेदन अदालतमा अपिल गरिन्‌। केही घण्टामै पुनरावेदन अदालतले तल्लो अदालतको निर्णयलाई बदर गऱ्‍यो र पाब्लोले आफ्नो अख्तियारनामा कार्डमा व्यक्‍त गरेको इच्छाबमोजिमै डाक्टरले उपचार गर्नुपर्छ भनेर फैसला सुनायो। पाब्लोका बुबाले हार मानेन्‌। तिनी अर्जेन्टिनाको सर्वोच्च अदालत गए। सर्वोच्च अदालतले पनि पाब्लोकै पक्षमा निर्णय गऱ्‍यो। पाब्लोले करकापमा परेर होइन, तर पूरै होसहवासमा भएको बेला स्थायी अख्तियारनामा भरेको हुनाले त्यसको कदर हुनुपर्छ भनेर सर्वोच्च अदालतले स्पष्ट पाऱ्‍यो। अदालतले यसो पनि भन्यो: “प्रत्येक सबल वयस्कसित आफ्नो उपचारसम्बन्धी अख्तियारनामा पहिल्यै तयार पार्ने अधिकार छ र कुन उपचार स्वीकार्ने, कुनचाहिं नस्वीकार्ने त्यो प्रत्येक व्यक्‍तिले निर्णय गर्न सक्छ। डाक्टरले बिरामीको उपचार गर्दा तिनको इच्छाको कदर गर्नुपर्छ।”

के तपाईंले स्वास्थ्य उपचारका लागि स्थायी अख्तियारनामा कार्ड भरिसक्नुभयो?

२० भाइ पाब्लो आल्बारासिनी अहिले निको भइसकेका छन्‌। पहिल्यै राम्ररी अख्तियारनामा भरेकोले ठूलो सङ्‌कटबाट जोगियो भनेर भाइ आल्बारासिनी र तिनकी पत्नी खुसी छन्‌। उपचारसम्बन्धी अख्तियारनामा भर्ने साधारण तर महत्त्वपूर्ण कदम चालेर भाइ आल्बारासिनीले आफू परमेश्‍वरको राज्यको राजा ख्रीष्टको अधीनमा बसेको कुरा देखाए। के तपाईं र तपाईंको परिवारले स्थायी अख्तियारनामा भरिसक्नुभयो?

एप्रिल क्याडोरा (अनुच्छेद २१ देखि २४ हेर्नुहोस्‌)

२१-२४. (क) क्यानाडाको सर्वोच्च अदालतले नाबालिगहरूको उपचार गर्दा रगतको प्रयोग गर्नेबारे कस्तो उल्लेखनीय फैसला सुनायो? (ख) यस मुद्दाबाट कलिलो उमेरका यहोवाका सेवकहरूले कस्तो हौसला पाउन सक्छन्‌?

२१ क्यानाडा। आफ्नो छोराछोरीको लागि कुन उपचार राम्रो हुन्छ, त्यो निर्णय गर्ने अधिकार आमाबाबुको हो भनेर अदालतहरूले अक्सर मानिलिन्छन्‌। कुनै-कुनै अदालतले आफै निर्णय गर्न सक्ने भइसकेका नाबालिगहरूलाई कुन उपचार छान्‍ने भनेर निर्णय गर्न समेत दिएको छ। एप्रिल क्याडोराको सन्दर्भमा पनि यस्तै भयो। चौध वर्ष हुँदा आन्तरिक रक्‍तस्रावको कारण एप्रिललाई अस्पतालमा भर्ना गरियो। बिरामी हुनुभन्दा केही महिनाअघि मात्र तिनले स्वास्थ्य उपचारका लागि स्थायी अख्तियारनामा भरेकी थिइन्‌। त्यसमा तिनले आकस्मिक अवस्थामा समेत आफूलाई रगत नदिनू भनेर स्पष्टसित लेखेकी थिइन्‌। तर तिनको डाक्टरले एप्रिलको इच्छाको बेवास्ता गरे र तिनलाई रगत दिन अदालतबाट अनुमति मागे। तिनलाई जबरजस्ती रगत दिइयो। यस घटनालाई एप्रिलले बलात्कारसित तुलना गरिन्‌।

२२ एप्रिल र तिनका आमाबाबु न्याय पाउन अदालत गए। बल्ल दुई वर्षपछि क्यानाडाको सर्वोच्च अदालतमा एप्रिलको मुद्दाको बहस सुरु भयो। क्यानाडाको संविधानले १६ वर्षमुनिका नाबालिगहरूको उपचारको सन्दर्भमा अदालतलाई निर्णय गर्ने अधिकार दिएको छ। त्यसैले एप्रिलले अदालतमा मुद्दा हाल्नु भनेको एक किसिमले क्यानाडाको संविधानमाथि नै प्रश्‍न उठाए बराबर थियो। सर्वोच्च अदालतले अदालतकै पक्षमा फैसला सुनायो। यस अर्थमा एप्रिलले मुद्दा हारिन्‌। तर अर्कोतर्फ तिनले मुद्दा जितिन्‌ पनि भन्‍न सकिन्छ। किनभने सर्वोच्च अदालतले तिनी र तिनीजस्तै आफै निर्णय गर्न सक्ने नाबालिगहरूले आफ्नो लागि कुन उपचार राम्रो हुन्छ भन्‍ने विषयमा अदालतसामु आफ्नो विचार राख्न पाउँछन्‌ भन्‍ने फैसला सुनायो। साथै मुद्दा लड्‌न लागेको खर्च सरकारले बेहोर्नुपर्छ भनेर पनि निर्णय गऱ्‍यो। अदालतले यसो भन्यो: “१६ वर्षमुनिका केटाकेटीलाई आफूले छानेको उपचार कसैको करकापमा नभई पूरै होसहवासमा आफैले रोजेको हो भनेर अदालतसामु प्रमाण दिने मौका दिनुपर्छ।”

२३ सर्वोच्च अदालतको यो फैसला उल्लेखनीय थियो। किनभने यस फैसलापछि आफै निर्णय गर्न सक्ने नाबालिगहरूको संवैधानिक अधिकारमा परिवर्तन आयो। यसअघिसम्म १६ वर्षमुनिका नाबालिगहरूको लागि कुनै उपचार सही छ भन्‍ने जस्तो अदालतलाई लागेमा त्यसैअनुसार उपचार गर्न अदालतले आदेश दिन सक्थ्यो। तर यस फैसलापछि १६ वर्षमुनिका नाबालिगहरूलाई तिनीहरू आफ्नो लागि निर्णय गर्न सक्ने भइसकेका छन्‌ भनेर प्रमाणित गर्ने मौका नदिई तिनीहरूको इच्छाविपरीत कुनै पनि उपचारको लागि अदालतले अख्तियार दिन नपाउने भयो।

“परमेश्‍वरको नाम पवित्र पार्ने र सैतानलाई झूटो साबित गर्ने काममा केही योगदान दिन सकेकोमा म असाध्यै खुसी छु”

२४ तीन/तीन वर्षसम्म यो मुद्दा लडेर केही फाइदा भयो त? “अवश्‍य, भयो!” भनी अहिले निको भइसकेकी र नियमित अग्रगामी सेवा गरिरहेकी एप्रिल बताउँछिन्‌। तिनी अझै यसो भन्छिन्‌, “परमेश्‍वरको नाम पवित्र पार्ने र सैतानलाई झूटो साबित गर्ने काममा केही योगदान दिन सकेकोमा म असाध्यै खुसी छु।” कलिलो उमेरका हाम्रा भाइबहिनीले पनि आफूलाई परमेश्‍वरको राज्यको साँचो नागरिक प्रमाणित गर्दै साहसी भई दृढ अडान लिन सक्छन्‌ भनेर एप्रिलले देखाइन्‌।—मत्ती २१:१६.

यहोवाको स्तरअनुरूप आफ्ना छोराछोरीलाई हुर्काउन पाउनुपर्ने अधिकार

२५, २६. वैवाहिक सम्बन्ध टुटेपछि कहिलेकाहीं कस्तो परिस्थिति आउन सक्छ?

२५ यहोवाले आमाबाबुलाई उहाँको स्तरअनुरूप छोराछोरी हुर्काउने जिम्मेवारी सुम्पनुभएको छ। (व्यव. ६:६-८; एफि. ६:४) छोराछोरी हुर्काउनु चानचुने काम होइन। अझ सम्बन्धविच्छेद भएपछि यो जिम्मेवारी पूरा गर्नु झनै चुनौतीपूर्ण हुन सक्छ। छोराछोरी हुर्काउने विषयमा आमा र बुबाको सोचाइमा आकाश जमिनको भिन्‍नता आउन सक्छ। साक्षी आमा वा बुबाको विचारमा छोराछोरीलाई ख्रीष्टियन स्तरअनुरूप हुर्काउनु एकदमै महत्त्वपूर्ण हुन सक्छ तर गैर-साक्षी आमा वा बुबा भने त्यो कुरासित सहमत नहुन सक्छन्‌। हो, सम्बन्धविच्छेद भएपछि वैवाहिक सम्बन्ध टुट्‌छ तर साक्षी आमा वा बुबाले छोराछोरी हुर्काउने जिम्मेवारी भने आमाबाबु दुवैको हो भनेर बिर्सनु हुँदैन।

२६ गैर-साक्षी आमा वा बुबाले छोराछोरीको लालनपालन आफूले गर्न पाऊँ भनेर अदालतमा निवेदन समेत दिन सक्छन्‌। तिनले यसरी निवेदन दर्ता गर्नुको उद्देश्‍य छोराछोरीलाई ख्रीष्टियन स्तरअनुरूप हुर्काउन नदिनु हुन सक्छ। कसै-कसैको विचारमा छोराछोरीलाई यहोवाका साक्षीहरूको विश्‍वासअनुरूप हुर्काउनु हानिकारक छ। तिनीहरूले यस्तो तर्क गर्न सक्छन्‌: छोराछोरीलाई जन्मदिन, चाडबाड मनाउन दिइँदैन र आकस्मिक अवस्था आइपर्दा “जीवन दिने” रगत समेत लिन दिइँदैन। तर खुसीको कुरा धेरैजसो अदालतले छोराछोरीको लागि सबैभन्दा राम्रो के हुन्छ, त्यो कुरा विचार गर्दै फैसला गरेका छन्‌। अदालतहरूले आमा वा बुबाको धर्मले छोराछोरीमा नराम्रो प्रभाव पार्छ कि पार्दैन भन्‍ने कुराको आधारमा फैसला सुनाएका छैनन्‌। केही उदाहरण हेरौं।

२७, २८. छोराछोरीलाई यहोवाका साक्षीहरूको विश्‍वासअनुरूप हुर्काउनु हानिकारक हो भन्‍ने आरोपलाई के ओहायोको सर्वोच्च अदालतले मानिलियो?

२७ अमेरिका। सन्‌ १९९२ मा अमेरिकाको ओहायो राज्यको सर्वोच्च अदालतमा एक जना गैर-साक्षी बुबाले दायर गरेको मुद्दाको सुनुवाइ भयो। आफ्नो सानो छोरालाई यहोवाका साक्षीहरूको विश्‍वासअनुरूप हुर्काउनु हानिकारक हुन्छ भन्‍ने तर्क ती बुबाले पेस गरेका थिए। तल्लो अदालतले सहमति जनाउँदै छोराको लालनपालन गर्ने जिम्मा तिनलाई सुम्प्यो। अदालतले आमा जेनिफर प्याटरलाई आफ्नो छोरा भेट्‌ने अनुमति त दियो। तर सँगसँगै यस्तो आदेश पनि दियो: “कुनै हालतमा छोरालाई यहोवाका साक्षीहरूको विश्‍वासबारे सिकाउन पाइँदैन।” यो आदेशको धेरै अर्थ लगाउन सकिन्थ्यो। जस्तै, यो आदेशलाई यसरी पनि बुझ्न सकिन्थ्यो, बहिनी प्याटरले आफ्नो छोरा बबीसँग बाइबल वा यसका नैतिक स्तरको विषयमा कुरा गर्नु त के, बाइबलको नामसमेत लिन पाउने थिइनन्‌! बहिनी प्याटरले कस्तो महसुस गरिन्‌ होला, विचार गर्नुहोस्‌ त! अदालतको निर्णय सुनेपछि बहिनी प्याटर असाध्यै दुःखी भइन्‌। तर तिनले धैर्य गरिन्‌ अनि यहोवामाथि भरोसा गर्न छोडिनन्‌। तिनी यसो भन्छिन्‌, “यहोवा सधैं मेरो साथमा हुनुहुन्थ्यो।” तिनले ओहायोको सर्वोच्च अदालतमा अपिल गरिन्‌। यो मुद्दा लड्‌नको लागि तिनले शाखा कार्यालयबाट पनि मदत पाइन्‌।

२८ सर्वोच्च अदालतले तल्लो अदालतको निर्णयलाई बदर गरिदियो। अनि सर्वोच्च अदालतले यसो भन्यो, “छोराछोरीलाई नैतिक शिक्षा दिनु अनि आफ्नो धार्मिक आस्थासित परिचित गराउनु आमाबाबुको मौलिक अधिकार हो।” साथै छोराछोरीलाई यहोवाका साक्षीहरूको विश्‍वासअनुरूप हुर्काउँदा तिनको शारीरिक र मानसिक स्वास्थ्यमा हानि पुग्छ भनेर प्रमाणित भएमा मात्र साक्षी आमा वा बुबालाई छोराछोरीको लालनपालन गर्ने जिम्मादेखि रोक लगाउन सकिन्छ, अन्यथा धर्मको आधारमा कुनै आमा वा बुबालाई छोराछोरीको लालनपालन गर्ने जिम्माबाट वञ्चित गर्न पाइँदैन भनेर सर्वोच्च अदालतले बतायो। तर यस्तो कुनै प्रमाण अदालतले भेटेन।

छोराछोरीको लालनपालनसम्बन्धी मुद्दाहरूमा थुप्रै अदालतले ख्रीष्टियन आमाबाबुको पक्षमा फैसला सुनाएको छ

२९-३१. डेनमार्कको एउटा अदालतले बहिनी हान्सनलाई आफ्नी छोरीको लालनपालन गर्ने जिम्मा दिन किन मानेन? यस मुद्दामा डेनमार्कको सर्वोच्च अदालतले कस्तो फैसला सुनायो?

२९ डेनमार्क। अनिता हान्सनले पनि यस्तै चुनौतीको सामना गरिन्‌। सम्बन्धविच्छेद भइसकेपछि तिनको पतिले सात वर्षीया छोरी अमान्डाको लालनपालन गर्न पाऊँ भनेर अदालतमा निवेदन दिए। सन्‌ २००० मा जिल्ला अदालतले छोरीको लालनपालन गर्ने अधिकार बहिनी हान्सनलाई दियो। तर अमान्डाको बुबाले उच्च अदालतमा अपिल गरे। उच्च अदालतले जिल्ला अदालतको निर्णय अस्वीकार गर्दै अमान्डाको बुबालाई छोरीको लालनपालन गर्ने जिम्मा दियो। धार्मिक आस्थाले गर्दा आमा र बुबाको फरक-फरक धारणा भएकोले कुन धार्मिक आस्थाअनुसार छोरीलाई हुर्काउने भनेर निर्णय गर्ने जिम्मा बुबालाई दिनु नै उपयुक्‍त हुन्छ भनेर अदालतले तर्क गऱ्‍यो। स्पष्ट भन्‍ने हो भने यहोवाको साक्षी भएकोले बहिनी हान्सनले यो मुद्दा हारिन्‌!

३० यो घटनाले गर्दा बहिनी हान्सनलाई कहिलेकाहीं असह्‍य पीडा हुन्थ्यो र प्रार्थना गर्न समेत तिनलाई गाह्रो हुन्थ्यो। तिनी यसो भन्छिन्‌, “तर रोमी ८:२६२७ बाट मैले धेरै सान्त्वना पाएँ। मैले भन्‍न खोजेको कुरा यहोवाले बुझ्नुहुन्छ भनेर म सधैं महसुस गर्थें। उहाँले ममाथि नजर राख्नुभयो र मलाई साथ दिनुभयो।”भजन ३२:८; यशैया ४१:१० पढ्‌नुहोस्‌।

३१ बहिनी हान्सनले डेनमार्कको सर्वोच्च अदालतमा अपिल गरिन्‌। आफ्नो फैसलामा अदालतले यसो भन्यो: “छोराछोरीको सर्वोत्तम हितलाई विचार गर्दै लालनपालन गर्ने जिम्मा कसलाई दिने भन्‍ने कुरा निर्धारण गर्नुपर्छ।” साथै आमा र बुबामध्ये जसले परिस्थिति राम्रोसँग सम्हाल्न सक्छ उसलाई छोराछोरीको लालनपालन गर्ने जिम्मा दिनुपर्छ, यहोवाका साक्षीहरूको “विश्‍वास र शिक्षा”-को आधारमा होइन भनेर पनि अदालतले बतायो। खुसीको कुरा अदालतले बहिनी हान्सन छोरी हुर्काउन सक्षम छिन्‌ भनेर फैसला सुनायो र छोरीको लालनपालन गर्ने जिम्मा तिनलाई नै दियो। यस्तो फैसला सुनेपछि बहिनी हान्सन ढुक्क भइन्‌।

३२. मानवअधिकारसम्बन्धी युरोपेली अदालतले साक्षी आमाबाबुलाई भेदभावको सिकार हुनदेखि कसरी जोगाएको छ?

३२ अरू युरोपेली मुलुक। छोराछोरीको लालनपालनसम्बन्धी कुनै-कुनै मुद्दा अन्तरराष्ट्रिय स्तरका अदालतसम्मै पुगेका छन्‌। मानवअधिकारसम्बन्धी युरोपेली अदालतले पनि यस्ता मुद्दाहरूको सुनुवाइ गरेको छ। दुइटा मुद्दामा राष्ट्रिय अदालतहरूले धर्मको आधारमा यहोवाका साक्षी र गैर-साक्षी आमा वा बुबालाई फरक-फरक व्यवहार गरेको कुरा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले मानिलियो। त्यस्तो पक्षपाती व्यवहारको भर्त्सना गर्दै युरोपेली अदालतले “धर्मको आधारमा कसैलाई काखा, कसैलाई पाखा गर्नु हुँदैन” भन्‍ने फैसला सुनायो। यस्तो फैसलाबाट लाभ उठाएकी एक साक्षी आमाले खुसी व्यक्‍त गर्दै यसो भनिन्‌, “मैले छोराछोरीलाई हानि पुऱ्‍याउन खोज्दैछु भन्‍ने आरोप ममाथि लगाइँदा मेरो मन रोएको थियो। किनभने म त केवल उनीहरूको भलाइ चाहन्थें। ख्रीष्टियन स्तरअनुरूप हुर्काउँदा नै उनीहरूको भलाइ हुन्छ भनेर म विश्‍वस्त थिएँ।”

३३. साक्षी आमाबाबुले फिलिप्पी ४:५ मा दिइएको सिद्धान्त कसरी लागू गर्न सक्छन्‌?

३३ पक्कै पनि बाइबल स्तरअनुरूप छोराछोरीलाई हुर्काउने अधिकारको निम्ति लडिरहेका साक्षी आमाबाबु व्यावहारिक हुन सक्दो प्रयास गर्छन्‌। (फिलिप्पी ४:५ पढ्‌नुहोस्‌) छोराछोरीलाई परमेश्‍वरको स्तरबमोजिम प्रशिक्षण दिने आफ्नो अधिकारको तिनीहरू मोल गर्छन्‌। त्यसरी नै गैर-साक्षी आमा वा बुबा पनि छोराछोरी हुर्काउने जिम्मेवारी बहन गर्न चाहन्छन्‌ भने त्यस कुराको तिनीहरू कदर गर्छन्‌। छोराछोरीलाई प्रशिक्षण दिने जिम्मेवारीलाई साक्षी आमाबाबुले कत्तिको गम्भीरतापूर्वक लिनुपर्छ?

३४. आज ख्रीष्टियन आमाबाबुले नहेम्याहको समयका यहूदीहरूको उदाहरणबाट के सिक्न सक्छन्‌?

३४ नहेम्याहको समयको एउटा उदाहरणले यसको जवाफ दिन्छ। यहूदीहरूले यरूशलेमको पर्खालको मर्मत अनि पुनर्निर्माण गर्न कडा मेहनत गरेका थिए। त्यसो गरेमा आफू र आफ्नो परिवारलाई वरिपरिका शत्रु राष्ट्रहरूबाट जोगाउन सकिन्छ भनेर तिनीहरूले बुझेका थिए। त्यसैले त नहेम्याहले तिनीहरूलाई यस्तो आज्ञा दिए: “आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।” (नहे. ४:१४) ती यहूदीहरूले गरेको कुनै प्रयास खेर गएन। त्यसैगरि आज पनि यहोवाका साक्षीहरू आफ्ना छोराछोरीलाई बाइबलको शिक्षाअनुसार हुर्काउन कडा मेहनत गर्छन्‌। स्कुल र छरछिमेकमा व्याप्त नकारात्मक प्रभावले छोराछोरीलाई सिकार बनाउन सक्छ भनेर आमाबाबुले बुझेका छन्‌। घरभित्र पनि सञ्चार माध्यममार्फत त्यस्तो नकारात्मक प्रभाव घुस्न सक्छ। आमाबाबु हो, छोराछोरीहरू आध्यात्मिक रूपमा मौलाउन सकून्‌ भनेर सुरक्षित वातावरण बनाउन तपाईंले गर्नुभएको कुनै प्रयास खेर जाने छैन भनेर कहिल्यै नबिर्सनुहोस्‌।

यहोवाले साँचो उपासनाको समर्थन गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌

३५, ३६. कानुनी अधिकारको निम्ति लड्‌दा यहोवाका साक्षीहरूले कस्तो लाभ उठाएका छन्‌? तपाईंले के गर्ने अठोट गर्नुभएको छ?

३५ धार्मिक स्वतन्त्रताको निम्ति आफ्ना उपासकहरूले गरेको सङ्‌घर्षमाथि यहोवाले पूरापूर आशिष्‌ दिनुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। आफ्नो कानुनी अधिकारको निम्ति लड्‌दा परमेश्‍वरका जनहरूले अदालत र सर्वसाधारणसामु सशक्‍त साक्षी दिन सकेका छन्‌। (रोमी १:८) तिनीहरूको जितले मानिसहरूको नागरिक अधिकार पनि सुनिश्‍चित गरेको छ। तर हामी परमेश्‍वरका जनहरू समाजसेवी होइनौं, न त हामी आफू सही छौं भनेर साबित गर्न लागि परेका छौं। वास्तवमा यहोवाका साक्षीहरूले आफ्नो अधिकारको निम्ति अदालतमा मुद्दा लड्‌नुको मुख्य उद्देश्‍य साँचो उपासना स्थापित गर्नु र त्यसलाई अघि बढाउनु नै हो।फिलिप्पी १:७ पढ्‌नुहोस्‌।

३६ स्वतन्त्र भई यहोवाको उपासना गर्न पाउने अधिकारको निम्ति लडेका हाम्रा भाइबहिनीको विश्‍वासबाट सिक्न सकिने पाठलाई कहिल्यै हल्कासित नलिऔं! यहोवाप्रति सधैं वफादार भइरहौं। साथै, हाम्रो काममा उहाँको समर्थन छ र उहाँको इच्छाअनुसार गर्न हामीलाई निरन्तर बल दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क भइरहौं।—यशै. ५४:१७.