सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १७

परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम

परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

विभिन्‍न ईश्‍वरतान्त्रिक स्कुलले परमेश्‍वरका सेवकहरूलाई आफ्नो जिम्मेवारी सम्हाल्न कसरी तयार बनाउँछ

१-३. येशूले अझ धेरै ठाउँमा प्रचार गर्न के गर्नुभयो? हाम्रो मनमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छ?

 येशूले दुई वर्ष गालीलभरि प्रचार गर्नुभयो। (मत्ती ९:३५-३८ पढ्‌नुहोस्‌) थुप्रै सहर र गाउँ घुम्दै येशूले सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँ जहाँ-जहाँ प्रचार गर्नुहुन्थ्यो, त्यहाँ-त्यहाँ उहाँको कुरा सुन्‍न भीड जम्मा हुन्थ्यो। त्यसैले उहाँले भन्‍नुभयो: “फसल त प्रशस्त छ।” अझ धेरै खेतालाहरूको आवश्‍यकता थियो।

येशूले अझ धेरै ठाउँमा प्रचार गर्न प्रबन्ध मिलाउनुभयो। कसरी? “परमेश्‍वरको राज्यको प्रचार गर्न” आफ्ना १२ प्रेषितहरूलाई पठाएर। (लूका ९:१, २) यो काम कसरी पूरा गर्ने भनेर प्रेषितहरूको मनमा प्रश्‍न उठेको हुन सक्छ। त्यसैले तिनीहरूलाई प्रचार गर्न पठाउनुअघि येशूले तालिम दिनुभयो। उहाँले पनि आफ्नो बुबाबाट तालिम पाउनुभएको थियो।

यी कुरालाई विचार गर्दा हाम्रो मनमा यस्ता प्रश्‍न उठ्‌न सक्छ: येशूले आफ्नो बुबाबाट कस्तो तालिम पाउनुभयो? येशूले आफ्ना प्रेषितहरूलाई कस्तो तालिम दिनुभयो? अनि के मसीही राजाले आज पनि आफ्ना चेलाहरूलाई सेवाको काम पूरा गर्न तालिम दिनुभएको छ? छ भने कसरी?

“बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु”

४. यहोवाले येशूलाई कहिले र कहाँ सिकाउनुभयो?

आफूले सबै कुरा बुबाबाट सिकेको हो भनेर येशूले स्पष्टै बताउनुभयो। पृथ्वीमा हुँदा येशूले यसो भन्‍नुभयो: “बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु।” (यूह. ८:२८) यहोवाले येशूलाई कहिले र कहाँ सिकाउनुभयो? परमेश्‍वरले येशूलाई अर्थात्‌ आफ्नो जेठो सन्तानलाई सृष्टि गर्नुभएको समयदेखि नै सिकाउन थाल्नुभयो। (कल. १:१५) येशूले आफ्नो बुबासँगै स्वर्गमा अनगिन्ती समय बिताउनुभएको थियो। त्यस दौडान उहाँले महान्‌ गुरु यहोवाको कुरा सुन्‍ने र उहाँका तौरतरिका नियाल्ने मौका पाउनुभयो। (यशै. ३०:२०) येशूले आफ्नो बुबाबाट उहाँको गुण, काम र उद्देश्‍यबारे जे-जति तालिम पाउनुभयो, त्यो अतुलनीय छ।

५. यहोवाले आफ्नो छोरालाई कस्तो तालिम दिनुभयो?

यहोवाले आफ्नो छोरालाई तिनले पृथ्वीमा गर्नुपर्ने सेवाको लागि उचित समयमा तालिम दिनुभयो। महान्‌ गुरु र उहाँको जेठो सन्तानबीचको सम्बन्धबारे वर्णन गरिएको एउटा भविष्यवाणी विचार गर्नुहोस्‌। (यशैया ५०:४, ५ पढ्‌नुहोस्‌) यशैयाको यो भविष्यवाणीमा बताइएअनुसार यहोवाले आफ्नो छोरालाई “बिहानैपिच्छे” जगाउनुहुन्छ। उक्‍त भविष्यवाणी पढ्‌दा शिक्षकले आफ्नो विद्यार्थीलाई सिकाउन हरेक बिहान तिनलाई जगाएको कल्पना गर्न सक्छौं। बाइबलसम्बन्धी एउटा किताबमा यस्तो लेखिएको छ: “शिक्षकले आफ्नो विद्यार्थीलाई स्कुलमा लगेझैं यहोवाले येशूलाई पनि स्कुलमा लैजानुहुन्छ र के विषयमा कसरी प्रचार गर्ने भनेर सिकाउनुहुन्छ।” स्वर्गको त्यस “स्कुलमा” यहोवाले आफ्नो छोरालाई “के भन्‍ने र के सिकाउने” भन्‍ने विषयमा तालिम दिनुभयो। (यूह. १२:४९) बुबाले आफ्नो छोरालाई कसरी सिकाउने भनेर पनि तालिम दिनुभयो। a पृथ्वीमा छँदा येशूले प्रचार गर्ने आफ्नो जिम्मेवारी पूरा गरेर मात्र होइन तर आफ्ना चेलाहरूलाई पनि प्रचार गर्न सिकाएर आफूले पाएको तालिमको पूरा सदुपयोग गर्नुभयो।

६, ७. (क) येशूले आफ्ना प्रेषितहरूलाई के तालिम दिनुभयो? यस्तो तालिम पाएकोले तिनीहरू के गर्न सुसज्जित भए? (ख) अहिले हाम्रो समयमा येशूले कस्ता तालिमहरूको प्रबन्ध मिलाउनुभएको छ?

सुरुका अनुच्छेदहरूमा चर्चा गरिएझैं येशूले आफ्ना प्रेषितहरूलाई कस्तो तालिम दिनुभयो? मत्ती अध्याय १० अनुसार उहाँले तिनीहरूलाई प्रचारसम्बन्धी खास निर्देशनहरू दिनुभयो। जस्तै: कहाँ प्रचार गर्ने (पद ५, ६), के विषयमा प्रचार गर्ने (पद ७), यहोवामा किन भर पर्ने (पद ९, १०), घरधनीसित कसरी कुरा गर्ने (पद ११-१३), मानिसहरूले कुरा नसुन्दा के गर्ने (पद १४, १५) र विरोधको सामना गर्नुपर्दा के गर्ने (पद १६-२३)। b येशूबाट तालिम पाएको कारण नै प्रेषितहरूले इस्वी संवत्‌ प्रथम शताब्दीमा प्रचारकार्यलाई अघि बढाउन सके।

आज हाम्रो समयमा नि? परमेश्‍वरको राज्यको राजा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ। त्यो हो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” गर्ने। (मत्ती २४:१४) यो गहन जिम्मेवारी पूरा गर्न के राजाले हामीलाई तालिम दिनुभएको छ? अवश्‍य छ! हामीले मानिसहरूलाई राम्ररी प्रचार गर्न सकोस्‌ अनि मण्डलीभित्र पनि विभिन्‍न जिम्मेवारी राम्ररी सम्हाल्न सकोस्‌ भनेर राजा येशू ख्रीष्टले स्वर्गबाट विभिन्‍न तालिमहरूको प्रबन्ध मिलाउनुभएको छ।

प्रचारक बन्‍न तालिम

८, ९. (क) ईश्‍वरतान्त्रिक सेवा स्कुलको मुख्य उद्देश्‍य के थियो? (ख) प्रचारको काममा अझ प्रभावकारी हुन मध्यहप्ताको सभाबाट तपाईंले कस्तो मदत पाउनुभएको छ?

यहोवाको सङ्‌गठनले सम्मेलन, अधिवेशन र सेवा सभाजस्ता मण्डलीका सभाहरू मार्फत साँचो ख्रीष्टियनहरूलाई प्रचारकार्यको लागि तालिम दिंदै आएको धेरै भइसक्यो। सन्‌ १९४० को दशकदेखि मुख्यालयमा अगुवाइ लिइरहेका भाइहरूले तालिम दिन विभिन्‍न स्कुलहरूको प्रबन्ध मिलाएका छन्‌।

ईश्‍वरतान्त्रिक सेवा स्कुल। यो स्कुल सन्‌ १९४३ मा सुरु भयो भनेर हामीले अघिल्लो अध्यायमा पढेका थियौं। यस स्कुलको उद्देश्‍य विद्यार्थीहरूलाई मण्डलीमा राम्रो भाषण दिन सिकाउनु मात्र थिएन। यस स्कुलको मुख्य उद्देश्‍य भनेको परमेश्‍वरका जनहरूलाई बोल्नमा सिपालु बनाएर प्रचारको काममा पठाउनु अनि आफ्नो बोलीद्वारा यहोवाको प्रशंसा गर्न मदत गर्नु थियो। (भज. १५०:६) ईश्‍वरतान्त्रिक स्कुलका सबै विद्यार्थी भाइबहिनीले प्रभावकारी प्रचारक बन्‍ने तालिम पाउँथे। अहिले मध्यहप्ताको सभाद्वारा यस्तो तालिम दिइन्छ।

१०, ११. गिलियड स्कुलमा अहिले क-कसले भाग लिन सक्छन्‌? गिलियड स्कुलको उद्देश्‍य के हो?

१० गिलियड स्कुल। गिलियड स्कुलको पूरा नाम अङ्‌ग्रेजीमा वाचटावर बाइबल स्कुल अफ गिलियड हो। यो स्कुल सोमबार, फेब्रुअरी १, १९४३ मा सुरु भयो। स्कुलको उद्देश्‍य अग्रगामी र अन्य पूर्ण-समय सेवकहरूलाई संसारको जुनसुकै भागमा गएर मिसनरी सेवा गर्न तालिम दिनु थियो। तर सन्‌ २०११ को अक्टोबर महिनादेखि गिलियड स्कुलको उद्देश्‍यमा केही परिवर्तन गरियो। अबदेखि विशेष पूर्ण-समय सेवामा लागिरहेका ख्रीष्टियनहरूलाई मात्र गिलियड स्कुलमा बोलाइनेछ। जस्तै: गिलियड स्कुलको तालिम नपाएका मिसनरी, विशेष अग्रगामी, परिभ्रमण निरीक्षक वा बेथेल सेवक।

११ गिलियड स्कुलको उद्देश्‍य के हो? लामो समयदेखि यस स्कुलमा शिक्षकको रूपमा सेवा गरेका एक जना भाइ यसो भन्छन्‌: “बाइबलको गहिरो अध्ययनद्वारा विद्यार्थीहरूको विश्‍वासलाई अझै दह्रो बनाउने। अनि आफ्नो असाइनमेन्टमा आइपर्न सक्ने चुनौतीहरूको सामना गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न विद्यार्थीहरूलाई मदत गर्ने। साथै गिलियड स्कुल अर्को एउटा मुख्य उद्देश्‍य भनेको विद्यार्थीहरूको मनमा प्रचारको काम गर्ने तीव्र इच्छा जगाउनु हो।”—एफि. ४:११.

१२, १३. गिलियड स्कुलले विश्‍वव्यापी प्रचारकार्यमा कसरी सघाउ पुऱ्‍याएको छ? उदाहरण दिनुहोस्‌।

१२ गिलियड स्कुलले विश्‍वव्यापी प्रचारकार्यमा कसरी सघाउ पुऱ्‍याएको छ? सन्‌ १९४३ यता ८,५०० भन्दा धेरै भाइबहिनीले यस स्कुलबाट तालिम पाइसकेका छन्‌। c अनि गिलियड स्नातकहरूले संसारभरि १७० भन्दा धेरै देशमा मिसनरी सेवा गरिरहेका छन्‌। प्रचारकार्यमा जोसिलो भई असल उदाहरण बसालेर र अरूलाई पनि जोसिलो हुन मदत गरेर मिसनरीहरूले स्कुलमा सिकेको कुरा लागू गरिरहेका छन्‌। मिसनरीहरूले मुठीभर प्रकाशकहरू भएका थुप्रै ठाउँमा प्रचारकार्यलाई अघि बढाएका छन्‌।

१३ जापानमा के भयो, विचार गर्नुहोस्‌। जापानमा दोस्रो विश्‍वयुद्धको बेला सार्वजनिक प्रचारकार्य ठप्पै भएको थियो। सन्‌ १९४९ अगस्त महिनामा त्यहाँ प्रकाशकहरू १० जना पनि थिएनन्‌। तर त्यस वर्षको अन्तमा गिलियडबाट तालिम पाएका १३ जना मिसनरीहरूलाई त्यहाँ पठाइयो। त्यसपछि अरू थुप्रै मिसनरीहरू आए। सुरु-सुरुमा मिसनरीहरूले ठूलठूला सहरहरूमा प्रचार गरे। त्यसपछि तिनीहरू अन्य सहरहरूमा सरे। मिसनरीहरूले आफ्ना बाइबल विद्यार्थी र अरूलाई पनि अग्रगामी सेवा सुरु गर्न प्रोत्साहन दिए। मिसनरीहरूको जोसिलो सेवाले गर्दा धेरै प्रगति भयो। अहिले जापानमा २,१६,००० जना भन्दा धेरै प्रकाशक छन्‌ र तिनीहरूमध्ये झन्डै ४० प्रतिशतले अग्रगामी सेवा गर्दैछन्‌! d

१४. ईश्‍वरतान्त्रिक स्कुलहरूले के कुराको प्रमाण दिन्छ? (पृष्ठ १८८ मा भएको “ राज्य सेवकहरूलाई तालिम दिने स्कुलहरू” शीर्षकको पेटी पनि हेर्नुहोस्‌।)

१४ अन्य ईश्‍वरतान्त्रिक स्कुलहरू। अग्रगामी सेवा स्कुल, ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल र अविवाहित भाइहरूका लागि बाइबल स्कुलमा भाग लिएकाहरूले परमेश्‍वरसितको सम्बन्धलाई अझ मजबुत बनाउन र जोसिलो भई प्रचारकार्यमा अगुवाइ लिन मदत पाएका छन्‌। e आफ्ना चेलाहरूलाई प्रचारको काम राम्ररी पूरा गर्न राजा येशूले मदत गर्नुभएको छ भन्‍ने कुराको एउटा सशक्‍त प्रमाण यी स्कुलहरू हुन्‌।—२ तिमो. ४:५.

भाइहरूलाई विशेष जिम्मेवारी सम्हाल्न तालिम

१५. जिम्मेवारी सम्हालिरहेका भाइहरू कसरी येशूको अनुकरण गर्न चाहन्छन्‌?

१५ हामीले अनुच्छेद ५ मा छलफल गरेको यशैयाको त्यो भविष्यवाणी सम्झनुहोस्‌। स्वर्गको “स्कुलमा” छोराले “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो” भनेर सिकेका थिए। (यशै. ५०:४) येशूले आफूले सिकेको कुरा व्यवहारमा लागू गर्नुभयो। पृथ्वीमा हुनुहुँदा उहाँले “कठोर श्रमले थाकेका र भारले दबिएका सबै”-लाई स्फूर्ति दिनुभयो। (मत्ती ११:२८-३०) मण्डलीका जिम्मेवार भाइहरू पनि येशूको अनुकरण गर्दै आफ्ना भाइबहिनीलाई स्फूर्ति दिन चाहन्छन्‌। भाइहरूलाई मदत गर्न विभिन्‍न स्कुलहरूको प्रबन्ध मिलाइएको छ। यी स्कुलहरूबाट पाएको तालिमले गर्दा भाइहरूले प्रभावकारी ढङ्‌गमा सङ्‌गी उपासकहरूलाई मदत गर्न सकेका छन्‌।

१६, १७. राज्य सेवा स्कुलको उद्देश्‍य के हो? (फुटनोट पनि हेर्नुहोस्‌।)

१६ राज्य सेवा स्कुल। यस स्कुलको पहिलो कक्षा मार्च ९, १९५९ का दिन न्यु योर्क राज्यको साउथ लान्सिङमा सुरु भयो। एक महिना लामो कोर्स भएको यो स्कुलमा परिभ्रमण निरीक्षकहरू र मण्डलीका एल्डरहरूलाई बोलाइन्थ्यो। पछि, यस स्कुलमा प्रयोग गरिने पाठ्यसामग्री अङ्‌ग्रेजी भाषाबाट अन्य भाषामा पनि अनुवाद गरियो। अनि बिस्तारै संसारको अन्य भागमा पनि यो स्कुल सञ्चालन हुन थाल्यो। f

जापानमा राज्य सेवा स्कुलमा सिकाउँदै भाइ लोइड ब्यारी, १९७०

१७ राज्य सेवा स्कुलको उद्देश्‍यबारे यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९६२ मा यसो भनिएको थियो: “अहिले संसारमा सबै जना व्यस्त छन्‌। त्यसैले मण्डलीको निरीक्षण गर्ने जिम्मेवारी पाएका भाइहरूले आफ्नो काम र मण्डलीको जिम्मेवारीबीच सन्तुलन कायम राख्न सक्नुपर्छ। यसो गर्दा तिनले मण्डलीका सबैलाई उचित ध्यान दिन सक्नेछन्‌ र तिनीहरूको लागि आशिष्‌ साबित हुनेछन्‌। तर अर्कोतर्फ मण्डलीको काम भन्दै आफ्नो पारिवारिक जिम्मेवारीलाई तिनले पन्छाउन मिल्दैन। तिनले सुझबुझ चलाउनुपर्छ। संसारभरिका मण्डलीमा जिम्मेवारी सम्हालिरहेका भाइहरूले राज्य सेवा स्कुलबाट तालिम पाउने राम्रो मौका पाएका छन्‌। यस स्कुलले तिनीहरूलाई बाइबलमा भनिएअनुसार निरीक्षकको काम पूरा गर्न मदत गर्छ।”—१ तिमो. ३:१-७; ती. १:५-९.

१८. परमेश्‍वरका सबै सेवकले कसरी राज्य सेवा स्कुलबाट लाभ उठाउँछन्‌?

१८ राज्य सेवा स्कुलबाट एल्डर अनि सहायक सेवकहरूले मात्र होइन मण्डलीका सबै सदस्यले लाभ उठाउँछन्‌। कसरी? एल्डर तथा सहायक सेवकहरूले स्कुलमा सिकेको कुरा व्यवहारमा लागू गर्दा तिनीहरू पनि येशू जस्तै स्फूर्तिको स्रोत बन्छन्‌। मायालु एल्डर र सहायक सेवकहरू तपाईंसँग मीठो वचन बोल्छन्‌, तपाईंको कुरा ध्यान दिएर सुन्छन्‌ र प्रोत्साहन दिन तपाईंलाई भेट्‌न आउँछन्‌। (१ थिस्स. ५:११) के तपाईं यी कुराहरूको मोल गर्नुहुन्‍न र? यस्ता योग्य भाइहरू हाम्रो लागि साँच्चै आशिष्‌ हुन्‌!

१९. शिक्षण समितिले अन्य कुन स्कुलहरूको सुपरिवेक्षण गर्छ? ती स्कुलहरूको उद्देश्‍य के हो?

१९ अन्य ईश्‍वरतान्त्रिक स्कुलहरू। परिचालक निकायको शिक्षण समितिले जिम्मेवार भाइहरूको लागि सञ्चालन गरिने अन्य स्कुलहरूको पनि सुपरिवेक्षण गर्छ। यी स्कुलहरूले मण्डलीका एल्डरहरू, परिभ्रमण निरीक्षकहरू र शाखा समितिका भाइहरूलाई विभिन्‍न जिम्मेवारी सम्हाल्न अझ दक्ष बनाउँछ। बाइबलआधारित तालिमबाट भाइहरूले आफ्नो आध्यात्मिकतामा ध्यान दिन र आफ्नो जिम्मामा यहोवाले सुम्पनुभएको बगालसित व्यवहार गर्दा बाइबलका सिद्धान्तहरू लागू गर्न प्रोत्साहन पाउँछन्‌।—१ पत्रु. ५:१-३.

मलावीमा मिनिस्टेरियल ट्रेनिङ स्कुलको पहिलो कक्षा, २००७

२०. येशूले किन हामी “सबै यहोवाबाट सिकाइएका” हौं भन्‍न सक्नुभयो? तपाईंले के गर्ने अठोट गर्नुभएको छ?

२० मसीही राजा येशू ख्रीष्टले आफ्ना चेलाहरूले राम्रो तालिम पाऊन्‌ भनेर आवश्‍यक प्रबन्ध मिलाउनुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। सबै तालिमको स्रोत यहोवा नै हुनुहुन्छ। उहाँले आफ्नो छोरा येशूलाई सिकाउनुभयो र छोराले आफ्ना चेलाहरूलाई। त्यसैले त येशूले हामी “सबै यहोवाबाट सिकाइएका” हौं भन्‍न सक्नुभयो। (यूह. ६:४५; यशै. ५४:१३) हाम्रो राजा येशूले गर्नुभएका प्रबन्धहरू, चाहे ईश्‍वरतान्त्रिक सेवा स्कुल होस्‌ वा मण्डलीको कुनै सभा वा यस अध्यायमा छलफल गरिएको अन्य कुनै स्कुल होस्‌, ती सबैबाट पूरापूर फाइदा उठाऔं। अनि यी सबै तालिमको मुख्य उद्देश्‍य सेवाको काम राम्ररी पूरा गर्नको लागि हाम्रो आध्यात्मिकतालाई बलियो बनाउनु हो भनेर नबिर्सौं।

a यहोवाले आफ्नो छोरा येशूलाई कसरी सिकाउने भनेर तालिम दिनुभयो भनेर हामी किन भन्‍न सक्छौं? यो कुरा विचार गर्नुहोस्‌: येशू थुप्रै उदाहरण चलाएर सिकाउनुहुन्थ्यो। वास्तवमा भन्‍नुपर्दा यसबारे उहाँ जन्मनुभन्दा धेरैअघि नै भविष्यवाणी गरिएको थियो। (भज. ७८:२; मत्ती १३:३४, ३५) स्पष्ट छ, यहोवाले धेरैअघि नै आफ्नो छोराले उदाहरण र उखानहरू चलाएर सिकाउनेछन्‌ भनेर निश्‍चय गरिसक्नुभएको थियो।—२ तिमो. ३:१६, १७.

b केही महिनापछि येशूले प्रचारकार्यको लागि “अरू सत्तरी जना चेला चुन्‍नुभयो र . . . दुई-दुई गरी” पठाउनुभयो। उहाँले तिनीहरूलाई तालिम पनि दिनुभयो।—लूका १०:१-१६.

c गिलियड स्कुलमा एकचोटि भन्दा धेरै जाने विद्यार्थीहरू पनि छन्‌।

d गिलियड स्कुलका स्नातकहरूले गर्दा भएको उन्‍नतिबारे थप जानकारीको लागि अङ्‌ग्रेजी भाषामा प्रकाशित यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू किताबको अध्याय २३ हेर्नुहोस्‌।

e ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल र अविवाहित भाइहरूका लागि बाइबल स्कुललाई गाभेर राज्य प्रचारकहरूका लागि स्कुल सुरु गरिएको छ।

f केही वर्षको फरकमा हुने राज्य सेवा स्कुलबाट सबै एल्डरहरूले फाइदा उठाउन सक्छन्‌। हालैका वर्षमा यो स्कुलको समयावधि फरक-फरक हुने गरेको छ। सन्‌ १९८४ देखि यस स्कुलमा सहायक सेवकहरूलाई पनि तालिम दिन थालियो।