सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १८

साँचो उपासनालाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग

साँचो उपासनालाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

यहोवाका जनहरू साँचो उपासनालाई आर्थिक रूपमा किन र कसरी टेवा पुऱ्‍याउँछन्‌

१, २. (क) बाइबल विद्यार्थीहरूले कसरी खर्च जुटाउँछन्‌ भनेर बुझ्न चाहेका पादरीलाई भाइ रसलले के जवाफ दिए? (ख) यस अध्यायमा हामी के छलफल गर्नेछौं?

 एक चोटिको कुरा हो, भाइ चार्ल्स टी. रसललाई एउटा चर्चका पादरी भेट्‌न आएका थिए। तिनी बाइबल विद्यार्थीहरूको गतिविधिको लागि खर्च कसरी जुटाइन्छ भनेर बुझ्न चाहन्थे।

भाइ रसलले भने, “हामी कहिल्यै चन्दा उठाउँदैनौं।”

“त्यसोभए पैसा कहाँबाट आउँछ त?” ती पादरीले सोधे।

भाइ रसलले यस्तो जवाफ दिए, “मैले यथार्थ कुरा बताएँ भने तपाईं पत्याउनु हुन्‍न। मानिसहरू हाम्रो सभामा आउँदा तिनीहरूले चन्दा सङ्‌कलन गर्न कुनै थाली घुमाइएको देख्दैनन्‌। तर खर्च भएको त तिनीहरूले देख्छन्‌। त्यसैले तिनीहरू मनमनै यस्तो सोच्छन्‌, ‘यस ठाउँको भाडा त पक्कै तिर्नुपर्छ। . . . अलिकता पैसा दिएर म केही मदत गर्न सक्छु कि?’”

भाइ रसलको कुरा सुनेर ती पादरी जिल्ल परे।

भाइ रसलले भने, “मैले ढाँटेको होइन। हाम्रो सभामा थाली घुमाइएको नदेखेर मानिसहरू मलाई सोध्ने गर्छन्‌, ‘म कसरी अनुदान दिन सक्छु?’ कोही धनी छ भने ऊ आफूसित भएको पैसा प्रभुको काममा लगाउन चाहन्छ। यदि कसैसँग पैसा नै छैन भने, किन उसलाई जबरजस्ती गर्ने?” a

हो, भाइ रसलले ‘ढाँटेका’ थिएनन्‌। परमेश्‍वरका जनहरूले पहिल्यैदेखि साँचो उपासनालाई टेवा पुऱ्‍याउन स्वेच्छाले अनुदान दिने गरेका छन्‌। प्राचीन समयमा र अहिले हाम्रो समयमा पनि परमेश्‍वरका जनहरूले कसरी स्वेच्छाले अनुदान दिएका छन्‌ भनेर यस अध्यायमा हामी केलाउनेछौं। साँचो उपासनालाई टेवा पुऱ्‍याउन कसरी आर्थिक सहयोग गरिन्छ भनेर छलफल गर्दा हामी सबैले आफैलाई यस्तो सोध्नुपर्छ, ‘परमेश्‍वरको राज्यलाई सहयोग गर्दै छु भनेर म कसरी देखाउन सक्छु?’

“राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्‌”

३, ४. (क) यहोवा कुन कुरामा ढुक्क हुनुहुन्छ? (ख) इस्राएलीहरूले कसरी बासस्थान बनाउने कामलाई सहयोग गरे?

यहोवा आफ्ना साँचो उपासकहरूमाथि भरोसा गर्नुहुन्छ। अनुदानको लागि आग्रह गरिंदा तिनीहरूले स्वेच्छाले दिएर आफ्नो भक्‍ति प्रकट गर्नेछन्‌ भनेर उहाँलाई थाह छ। हामी दुइटा उदाहरण हेरौं।

इस्राएलीहरूलाई मिश्रबाट उद्धार गर्नुभएपछि यहोवाले तिनीहरूलाई उपासनाको लागि एउटा पाल वा बासस्थान बनाउन भन्‍नुभयो। बासस्थान र त्यसको लागि चाहिने विभिन्‍न सरसामान बनाउन प्रशस्तै धन चाहिन्थ्यो। इस्राएलीहरूलाई पनि यो काममा सघाउन मौका दिनू भनेर यहोवाले मोशालाई भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्‌।” (प्रस्थ. ३५:५) केही समयअघि मात्र “सबै किसिमका कठोर काम” गरेर दासको जीवन बिताएका ती मानिसहरूले के गरे? (प्रस्थ. १:१४, NRV) तिनीहरूले आफूसँग भएको सुन, चाँदी र अन्य बहुमूल्य सामान राजीखुसीले दिए। ती बहुमूल्य धनसम्पत्तिमध्ये धेरैजसो त मिश्रीहरूले तिनीहरूलाई दिएका थिए। (प्रस्थ. १२:३५, ३६) इस्राएलीहरूले चाहिनेभन्दा धेरै दिएकोले तिनीहरूलाई “अझै सामान ल्याउन मनाई” गर्नुपऱ्‍यो।—प्रस्थ. ३६:४-७.

५. दाऊदले इस्राएलीहरूलाई सहयोग गर्ने मौका दिंदा तिनीहरूले के गरे?

झन्डै ४७५ वर्षपछि दाऊदले मन्दिर निर्माण गर्न आफ्नो “निजी भण्डारबाट” दान दिए। यो मन्दिर पृथ्वीमा शुद्ध उपासनाको पहिलो स्थायी केन्द्र हुनेथियो। दाऊदले इस्राएलीहरूलाई पनि सहयोग गर्ने मौका दिए। तिनले सोधे: “अब मुठी खोलिकन आज परमप्रभुलाई दिनु को राजी छ?” यसको जवाफमा मानिसहरूले ‘आफ्ना हृदयको भक्‍तिसाथ परमप्रभुको निम्ति राजीखुसीसित दिए।’ (१ इति. २९:३-९) ती अनुदानको वास्तविक स्रोत यहोवा हुनुहुन्छ भनेर मानिलिंदै दाऊदले यसरी प्रार्थना गरे: “सबै कुरा तपाईंबाटै आउँछन्‌, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं।”—१ इति. २९:१४.

६. साँचो उपासनालाई फैलाउन किन पैसा चाहिन्छ? कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌?

मोशा र दाऊद दुवैले परमेश्‍वरका जनहरूलाई अनुदान दिन कर गर्नु परेन। तिनीहरूले स्वेच्छाले दिए। अहिले हाम्रो समयमा पनि साँचो उपासनालाई अझ फैलाउन खर्च लाग्छ भनेर हामीलाई थाह छ। बाइबल तथा बाइबलआधारित प्रकाशन छाप्न र वितरण गर्न, उपासनास्थल तथा शाखा कार्यालयका लागि चाहिने भवनहरू निर्माण र मर्मतसम्भार गर्न अनि प्राकृतिक प्रकोपको मारमा परेका हाम्रा भाइबहिनीलाई तुरुन्तै राहत सामग्री उपलब्ध गराउन धेरै खर्च लाग्छ। त्यसोभए यी कामका लागि चाहिने रकम कसरी जुटाइन्छ? परमेश्‍वरको राज्यका प्रजालाई अनुदान दिन के कर गर्नुपर्छ?

“मानिसहरूसामु कहिल्यै हात फैलाउने छैनौं”

७, ८. यहोवाका जनहरू अरूसामु हात फैलाउने गर्दैनन्‌, किन?

भाइ रसल र तिनका सहयोगीहरूले कहिल्यै चर्चले जस्तो चन्दा उठाएनन्‌। प्रहरीधरहरा-को दोस्रो अङ्‌कमा “के तपाईंलाई ‘प्रहरीधरहरा’ चाहिन्छ?” भन्‍ने शीर्षक भएको लेखमा भाइ रसलले यस्तो लेखेका थिए: “‘प्रहरीधरहरा’-ले यहोवाको समर्थन पाएको छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। त्यसैले हामी मानिसहरूसामु कहिल्यै हात फैलाउने छैनौं। ‘पहाडका सबै सुन र चाँदी मेरै हुन्‌’ भन्‍नुहुने परमेश्‍वरले आवश्‍यक खर्च जुटाई दिनुभएन भने छपाइसम्बन्धी काम बन्द गर्ने बेला भएछ भनेर हामी बुझ्नेछौं।” (हाग्गै २:७-९) प्रहरीधरहरा अटुट रूपमा छापिन थालेको अहिले १३० वर्ष भन्दा धेरै भइसक्यो र यो छाप्ने सङ्‌गठनले अहिलेसम्म आर्थिक समस्या भोग्नुपरेको छैन!

यहोवाका जनहरू कसैसित चन्दा माग्दैनन्‌। तिनीहरू राज्यभवनमा आउने व्यक्‍तिहरूलाई थाली पास गरेर चन्दा सङ्‌कलन गर्दैनन्‌ वा चिठी पठाएर चन्दा माग्दैनन्‌। न त तिनीहरूले चन्दा उठाउन बिङ्‌गो खेलाउने, मेला आयोजना गर्ने वा चिट्ठा खोल्ने नै गर्छन्‌। प्रहरीधरहरा-मा धेरै वर्षअघि बताइएको यो कुरामा तिनीहरू अझै विश्‍वास गर्छन्‌: “प्रभुको काम अघि बढाउन चर्चहरूले जस्तो अरूसित चन्दा माग्नु हामीलाई कहिल्यै उचित लागेन। . . . हामीले बुझेसम्म प्रभुको नाममा चन्दा उठाउनु उहाँलाई पटक्कै स्वीकार्य छैन। साथै, प्रभुले त्यसरी चन्दा दिने व्यक्‍तिलाई र त्यो चन्दा जुनसुकै काममा लगाए पनि त्यसमा आशिष्‌ दिनुहुन्‍न।” b

“हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌”

९, १०. हामीले स्वेच्छाले अनुदान दिनुको एउटा कारण बताउनुहोस्‌।

परमेश्‍वरका जनहरूलाई अनुदान दिन कर गर्नुपर्दैन। बरु साँचो उपासनालाई समर्थन गर्न हामी खुसीसाथ पैसा र आफूसँग भएको अरू कुरा दिन्छौं। हामी किन राजीखुसीले दिन्छौं? तीन वटा कारण विचार गरौं।

१० पहिलो, हामी यहोवालाई प्रेम गर्छौं र “उहाँको नजरमा असल कामहरू” गर्न चाहन्छौं। त्यसैले हामी स्वेच्छाले अनुदान दिन्छौं। (१ यूह. ३:२२) आफ्ना उपासकहरूले मनैदेखि दिंदा यहोवा खुसी हुनुहुन्छ। ख्रीष्टियनहरूले कसरी दिनुपर्छ भन्‍नेबारे पावलले के बताए, त्यो विचार गरौं। (२ कोरिन्थी ९:७ पढ्‌नुहोस्‌) साँचो ख्रीष्टियनहरू मन नलागी-नलागी वा करकापमा परेर दिंदैनन्‌। बरु “आफ्नो मनमा निर्णय गरेबमोजिम” दिन्छन्‌। c मतलब, तिनले के-कस्तो आवश्‍यकता छ भनेर राम्ररी सोचविचार गर्छन्‌ र त्यहीअनुसार अनुदान दिन्छन्‌। त्यसरी दिनेहरूलाई यहोवा प्रिय ठान्‍नुहुन्छ किनभने “खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” अर्को एउटा बाइबल अनुवादमा यस्तो लेखिएको छ: “जसले खुसी भएर दान गर्छ। उसलाई परमेश्‍वरले प्रेम गर्छन्‌।”

मोजाम्बिकका हाम्रा साना भाइबहिनी पनि अनुदान दिन रुचाउँछन्‌

११. यहोवालाई सबैभन्दा उत्तम उपहार दिन हामी किन उत्प्रेरित हुन्छौं?

११ दोस्रो, यहोवाबाट पाएको थुप्रै आशिष्‌हरूको लागि धन्यवाद व्यक्‍त गर्न हामी अनुदान दिन्छौं। मोशाको व्यवस्थामा पाइने एउटा महत्त्वपूर्ण सिद्धान्त विचार गर्नुहोस्‌। (व्यवस्था १६:१६, १७ पढ्‌नुहोस्‌) तीनवटा वार्षिक चाडमा उपस्थित हुँदा प्रत्येक इस्राएली पुरुषले ‘परमेश्‍वरले दिनुभएको आशिष्‌अनुसार’ भेटी चढाउनुपर्थ्यो। त्यसैले प्रत्येक पुरुषले चाडअघि आफूले पाएका आशिष्‌हरूबारे राम्ररी विचार गर्नुपर्थ्यो र त्यस आधारमा आफूले दिन सक्ने सबैभन्दा उत्तम भेटी के हो भनेर निर्णय गर्नुपर्थ्यो। त्यसैगरि आज यहोवाले हामीलाई दिनुभएको आशिष्‌बारे मनन गर्दा हामी उहाँलाई सबैभन्दा उत्तम उपहार दिन उत्प्रेरित हुन्छौं। हामीले राजीखुसी दिने अनुदानबाट हामी यहोवाप्रति कृतज्ञ छौं भनेर देखिन्छ।—२ कोरि. ८:१२-१५.

१२, १३. राजालाई प्रेम गर्छौं भन्‍ने कुरा हामीले स्वेच्छाले दिने अनुदानमा पनि कसरी झल्किन्छ? भाइबहिनीले कति अनुदान दिन सक्छन्‌?

१२ तेस्रो, स्वेच्छाले अनुदान दिएर हामी राजा येशू ख्रीष्टलाई प्रेम गर्छौं भनेर देखाउँछौं। कसरी? आफ्नो मृत्युअघि अन्तिम रात येशूले आफ्ना चेलाहरूलाई के भन्‍नुभएको थियो, विचार गर्नुहोस्‌। (यूहन्‍ना १४:२३ पढ्‌नुहोस्‌) येशूले यसो भन्‍नुभएको थियो, “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ।” येशूको “वचन” पालन गर्नुमा राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गर्नु पनि समावेश छ। (मत्ती २४:१४; २८:१९, २०) यो “वचन” पालन गर्दै राज्यको प्रचार गर्ने कामलाई अघि बढाउन हामी आफ्नो बलबर्कतले भ्याएसम्म समय, शक्‍ति र भौतिक स्रोतसाधन प्रयोग गर्छौं। यसरी हामी मसीही राजालाई प्रेम गरेको कुरा देखाउँछौं।

१३ हो, हामी राज्यका वफादार प्रजा आर्थिक अनुदान दिएर परमेश्‍वरको राज्यलाई मनैदेखि समर्थन गर्न चाहन्छौं। हामीले कति अनुदान दिनुपर्छ? यो व्यक्‍तिगत कुरा हो। सबैले आफ्नो गच्छेअनुसार दिन्छन्‌। हाम्रा थुप्रै भाइबहिनी आर्थिक रूपमा सम्पन्‍न छैनन्‌। (मत्ती १९:२३, २४; याकू. २:५) तैपनि यहोवा र उहाँको छोराले थोरै अनुदानको पनि मोल गर्नुहुन्छ भनेर थाह पाउँदा ती भाइबहिनी हल्का महसुस गर्छन्‌।—मर्कू. १२:४१-४४.

पैसा कहाँबाट आउँछ?

१४. धेरै वर्षसम्म यहोवाका साक्षीहरूले कसरी आफ्ना प्रकाशन दिन्थे?

१४ यहोवाका साक्षीहरूले धेरै वर्षसम्म शुल्क लिएर पत्रपत्रिका अनि पुस्तक-पुस्तिका दिए। आर्थिक अवस्था कमजोर भएका मानिसहरूले समेत हाम्रा प्रकाशनहरू पढ्‌न सकून्‌ भनेर एकदमै कम मूल्य तोकिएको हुन्थ्यो। अनि चासो देखाउने घरधनीसित पैसा छैन भने पनि उनीहरूले प्रकाशनहरू निश्‍शुल्क दिने गर्थे। उनीहरू असल हृदय भएका मानिसहरूले प्रकाशन पढून्‌ र यसबाट लाभ उठाउन सकून्‌ भन्‍ने चाहन्थे।

१५, १६. (क) सन्‌ १९९० मा परिचालक निकायले हाम्रा प्रकाशन वितरण गर्ने तरिकामा कस्तो छाँटकाँट गऱ्‍यो? (ख) स्वेच्छिक अनुदान कसरी दिन सकिन्छ? ( “अनुदान कसरी खर्च गरिन्छ?” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१५ सन्‌ १९९० मा परिचालक निकायले हाम्रा प्रकाशनहरू वितरण गर्ने यस्तो तरिकामा छाँटकाँट गऱ्‍यो। त्यस वर्षदेखि अमेरिकामा पत्रपत्रिका र किताबहरूको लागि शुल्क लिन छोडियो। बरु हाम्रा प्रकाशनहरू पढ्‌न चाहने व्यक्‍तिले स्वेच्छिक अनुदान दिन सक्थे। अमेरिकाका सबै मण्डलीहरूलाई यस्तो पत्र पठाइयो: “प्रकाशकहरू र चासो देखाउने सर्वसाधारणलाई पत्रपत्रिका र किताबहरू दिनुअघि त्यसको मूल्य बताइरहनु जरुरी छैन। . . . हाम्रो शैक्षिक कार्यक्रमको लागि कसैले अनुदान दिन चाहन्छ भने तिनले त्यसो गर्न सक्छन्‌। तर अनुदान दिने वा नदिने जो-कोहीले पनि हाम्रा प्रकाशनहरू पाउन सक्छन्‌।” यो प्रबन्धले गर्दा हामी स्वेच्छाले प्रचार गर्छौं र “हामी परमेश्‍वरको वचनका व्यापारीहरू होइनौं” भनेर स्पष्ट भयो। (२ कोरि. २:१७) पछि स्वेच्छिक अनुदानको प्रबन्ध संसारभरि सबै शाखाहरूमा लागू गरियो।

१६ स्वेच्छिक अनुदान कसरी दिन सकिन्छ? यहोवाका साक्षीहरूको राज्यभवनमा अनुदान बाकसहरू सबैले देख्ने ठाउँमा राखिएका हुन्छन्‌। इच्छुक व्यक्‍तिहरूले त्यहाँ अनुदान खसाल्न सक्छन्‌ अथवा सीधै यहोवाका साक्षीहरूले प्रयोग गर्ने कानुनी संस्थाको नाममा अनुदान पठाउन सक्छन्‌। प्रत्येक वर्ष प्रहरीधरहरा-मा स्वेच्छिक अनुदान कुन-कुन तरिकामा दिन सकिन्छ भन्‍ने विषयमा एउटा लेख छापिन्छ।

कस्ता कामहरूमा खर्च गरिन्छ?

१७-१९. अनुदान यी कामको लागि कसरी प्रयोग गरिन्छ: (क) विश्‍वव्यापी कार्य (ख) विश्‍वव्यापी राज्यभवन निर्माण र (ग) मण्डलीको खर्च?

१७ विश्‍वव्यापी कार्य। अनुदानबाट प्राप्त रकम विश्‍वव्यापी प्रचारकार्यमा लाग्ने खर्च बेहोर्न प्रयोग गरिन्छ। यसमा प्रकाशनहरू छाप्ने, शाखा कार्यालय तथा बेथेल भवनहरू निर्माण अनि मर्मतसम्भार गर्ने र विभिन्‍न ईश्‍वरतान्त्रिक स्कुलहरू सञ्चालन गर्ने काममा हुने खर्च पर्छ। मिसनरी, परिभ्रमण निरीक्षक र विशेष अग्रगामीहरूको आधारभूत आवश्‍यकता पूरा गर्न पनि यही अनुदान चलाइन्छ। हामीले दिएको अनुदान प्राकृतिक प्रकोपको चपेटामा परेका हाम्रा भाइबहिनीलाई तुरुन्तै राहत सामग्री उपलब्ध गराउन पनि प्रयोग गरिन्छ। d

१८ विश्‍वव्यापी राज्यभवन निर्माण। यस कोषमा जम्मा भएको अनुदान मण्डलीहरूको लागि राज्यभवन निर्माण गर्न वा पुरानो राज्यभवनको डिजाइन हेरफेर गर्न खर्च गरिन्छ। यसरी अनुदान प्राप्त गर्दा अरू मण्डलीहरूलाई पनि सहयोग गर्न सकिन्छ। e

१९ मण्डलीको खर्च। यस कोषबाट प्राप्त भएको अनुदान राज्यभवनको विभिन्‍न खर्च बेहोर्न र मर्मतसम्भार गर्न चलाइन्छ। एल्डरहरूले यस कोषबाट प्राप्त भएको अनुदानबाट केही रकम विश्‍वव्यापी कार्यका लागि स्थानीय शाखा कार्यालयमा पठाउने निर्णय पनि गर्न सक्छन्‌। त्यस्तो अवस्थामा एल्डरहरूले मण्डलीसामु प्रस्ताव राख्छन्‌ अनि प्रस्ताव पारित भएपछि तोकिएको रकम पठाइन्छ। प्रत्येक महिना मण्डलीको हिसाबकिताब हेर्ने भाइले आर्थिक रिपोर्ट तयार पार्छन्‌ र त्यो रिपोर्ट मण्डलीमा पढेर सुनाइन्छ।

२०. तपाईं कसरी आफ्नो “धन-सम्पत्तिले” यहोवाको आदर गर्न सक्नुहुन्छ?

२० संसारभरि भइरहेको प्रचार र चेला बनाउने काममा के-के गर्नुपर्छ भनेर विचार गर्दा हामी “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्न उत्प्रेरित हुन्छौं। (हितो. ३:९, १०) हाम्रो धन-सम्पत्तिमा हाम्रो शारीरिक र मानसिक क्षमताका साथै ख्रीष्टियनको रूपमा हामीले देखाउने गुणहरू पर्छ। साँचो उपासनालाई टेवा पुऱ्‍याउन हामी यी क्षमता सक्दो प्रयोग गर्न चाहन्छौं। तर याद गर्नुहोस्‌, हाम्रो धन-सम्पत्तिमा हामीसित भएको भौतिक स्रोतसाधन पनि पर्छ। त्यसैले दिन सक्ने अवस्थामा हुँदा आफूले सकेजति दिने अठोट गरौं। हामीले स्वेच्छाले दिएको अनुदानले यहोवाको आदर हुन्छ। साथै हामी परमेश्‍वरको राज्यलाई समर्थन गर्छौं भनेर पनि स्पष्ट हुन्छ।

a प्रहरीधरहरा, जुलाई १५, १९१५, पृष्ठ २१८-२१९।

b प्रहरीधरहरा, अगस्त १, १८९९, पृष्ठ २०१।

c एक जना शास्त्रविद्‌अनुसार “निर्णय” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “पहिल्यै योजना बनाउनु भन्‍ने अर्थ दिन्छ।” तिनी अझै यसो भन्छन्‌: “योजना नबनाई दिंदाखेरि पनि आनन्द त पाइन्छ, तैपनि आफ्नो आम्दानीबाट दिनको लागि भनेर केही रकम छुट्याउनु बेस हो।”—१ कोरि. १६:२.

d राहत सामग्री उपलब्ध गराउने कार्यबारे थप जानकारीको लागि अध्याय २०हेर्नुहोस्‌।

e राज्यभवन निर्माणकार्यको विषयमा थप जानकारीको लागि अध्याय १९ हेर्नुहोस्‌।