सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २०

राहत कार्यले यहोवाको महिमा गर्छ

राहत कार्यले यहोवाको महिमा गर्छ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

विभिन्‍न प्रकोपको बेला ख्रीष्टियनहरू कामद्वारा प्रेम देखाउँछन्‌

१, २. (क) यहूदियाका ख्रीष्टियनहरूले कस्तो दुःख भोग्नुपऱ्‍यो? (ख) यहूदियाका ख्रीष्टियनहरूले कसरी ख्रीष्टियन प्रेम अनुभव गरे?

 कुरा इस्वी संवत्‌ ४६ तिरको हो। यहूदिया अनिकालको चपेटामा परेको थियो। अनाजको भाउ आकासिएको थियो अनि त्यहाँका ख्रीष्टियनहरूसित अन्‍न किन्‍ने पैसा थिएन। तिनीहरू भोका थिए। तर ती ख्रीष्टियनहरूले यहोवाको मायालु हेरचाह अनुभव गर्नै लागेका थिए। यस तरिकामा यहोवाले आफ्ना जनहरूलाई हेरचाह गर्नुभएको यो नै पहिलो घटना थियो।

सिरियाको एन्टिओकका यहूदी तथा अन्यजातिका ख्रीष्टियनहरूले यरूशलेम र यहूदियाका ख्रीष्टियनहरूको दुःख सुनेपछि तिनीहरूलाई मदत गर्न राहत सामग्री जम्मा गरे। त्यसपछि जम्मा भएको राहत सामग्री यरूशलेमका एल्डरहरूकहाँ पठाउन एन्टिओक र सिरियाका ख्रीष्टियनहरूले दुई जना जिम्मेवार भाइ बर्णाबास र शावललाई छाने। (प्रेषित ११:२७-३०; १२:२५ पढ्‌नुहोस्‌) एन्टिओकका भाइबहिनीको यस्तो प्रेम देखेर यहूदियाका भाइबहिनीको मन छोएको हुनुपर्छ।

३. (क) आधुनिक समयका परमेश्‍वरका जनहरू एन्टिओकका ख्रीष्टियनहरूको कसरी अनुकरण गर्छन्‌? एउटा उदाहरण दिनुहोस्‌। (“ आधुनिक समयमा हाम्रो पहिलो ठूलो राहत कार्य” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।) (ख) यस अध्यायमा हामी कुन प्रश्‍नहरू छलफल गर्नेछौं?

संसारको एक छेउमा बस्ने ख्रीष्टियनहरूले अर्को छेउमा बस्ने ख्रीष्टियनहरूलाई राहत सामाग्री पठाएको विवरणहरू बाइबलमा पाइन्छ। तीमध्ये हामीले भर्खरै अनुच्छेद एक र दुईमा छलफल गरेको घटना नै पहिलो विवरण हो। आज हामी एन्टिओकका ती भाइबहिनीको अनुकरण गर्छौं। अर्को ठाउँका ख्रीष्टियनहरू प्रकोप अथवा विरोधको भुमरीमा पर्दा तिनीहरूलाई सहयोग गर्न हामी अघि सर्छौं। a राहत कार्य पनि हाम्रो सेवाकै भाग हो भनेर बुझ्न यी तीन वटा प्रश्‍न छलफल गरौं: राहत कार्य पनि किन यहोवाको सेवाको भाग हो? हामीले राहत कार्यमा भाग लिनुको कारण के हो? राहत कार्यबाट हामीले के लाभ उठाउन सक्छौं?

राहत कार्यलाई किन “पवित्र सेवा” भन्‍न सकिन्छ

४. पावलले कोरिन्थीहरूलाई ख्रीष्टियन सेवाबारे के बताए?

कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पावलले ख्रीष्टियनहरूले चढाउने सेवाको दुइटा पक्ष छन्‌ भनेर बताए। हुन त पावलको पत्र अभिषिक्‍त ख्रीष्टियनहरूका लागि थियो तर तिनका शब्दहरू आज ख्रीष्टका “अरू भेडा”-लाई पनि लागू हुन्छ। (यूह. १०:१६) पावलको पत्रअनुसार हाम्रो सेवाको एउटा पक्ष “मिलापको सेवा” हो। यसमा प्रचार र सिकाउने काम पर्छ। (२ कोरि. ५:१८-२०; १ तिमो. २:३-६) पावलले भनेझैं सेवाको अर्को पक्ष ‘पवित्र जनहरूका लागि छुट्टाइएको सेवा’ हो। मतलब, हामीले सङ्‌गी उपासकहरूका निम्ति गर्ने राहत कार्य। (२ कोरि. ८:४) “मिलापको सेवा” र ‘पवित्र जनहरूका लागि छुट्टाइएको सेवा’ भन्‍ने दुवै अभिव्यक्‍तिमा “सेवा” शब्द ग्रीक भाषामा डिआकोनिआ हो। यो कुरा किन उल्लेखनीय छ?

५. पावलले राहत कार्यलाई पनि सेवा भनेर बताउनु किन उल्लेखनीय छ?

पावलले यी दुवै अभिव्यक्‍तिमा एउटै ग्रीक शब्द प्रयोग गरेर राहत कार्यलाई पनि ख्रीष्टियन मण्डलीमा गरिने सेवाका कामहरूमा समावेश गरे। यसअघि तिनले यसो भनेका थिए: “सेवाको काम विभिन्‍न किसिमका छन्‌ तर प्रभु भने एउटै हुनुहुन्छ; अनि कामहरू विभिन्‍न किसिमका छन्‌। . . . तर यी सबै काम एउटै पवित्र शक्‍तिद्वारा हुन्छ।” (१ कोरि. १२:४-६, ११) पावलले मण्डलीमा गरिने सेवाका विभिन्‍न कामलाई “पवित्र सेवा”-सित तुलना गरे। b (रोमी १२:१, ६-८) त्यसैले त तिनी “पवित्र जनहरूको सेवा गर्न” पनि समय निकाल्थे।—रोमी १५:२५, २६.

६. (क) पावलले बताएझैं राहत कार्य किन हाम्रो उपासनाको भाग हो? (ख) प्रकोप आइपर्दा के गरिन्छ, बताउनुहोस्‌। (पृष्ठ २१४ मा “ प्रकोप आइपर्दा!” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई राहत कार्य पनि यहोवाको उपासनाको भाग हो भनेर बुझ्न मदत गरे। तिनको तर्क विचार गर्नुहोस्‌: ख्रीष्टियनहरू खाँचोमा परेका हाम्रा भाइबहिनीलाई मदत गर्छन्‌ किनभने तिनीहरू “ख्रीष्टसित सम्बन्धित सुसमाचारको अधीनमा” बस्छन्‌। (२ कोरि. ९:१३) त्यसैले ख्रीष्टको शिक्षा व्यवहारमा उतार्दै ख्रीष्टियनहरू एकअर्कालाई सहयोग गर्छन्‌। आफ्ना भाइबहिनीको लागि ख्रीष्टियनहरूले गर्ने दयालु काम वास्तवमा “परमेश्‍वरको उत्कृष्ट असीम अनुग्रह”-का अभिव्यक्‍ति हुन्‌ भनेर पावलले बताए। (२ कोरि. ९:१४; १ पत्रु. ४:१०) त्यसैले खाँचोमा परेका हाम्रा भाइबहिनीलाई मदत गर्ने विषयमा डिसेम्बर १, १९७५ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यसो भनिएको थियो: “यस्तो किसिमको मदतलाई यहोवा परमेश्‍वर र उहाँको छोरा येशू ख्रीष्टले कदर गर्नुहुन्छ भन्‍ने कुरामा कहिल्यै शङ्‌का नगरौं।” हो, राहत कार्य पवित्र सेवाको एउटा महत्त्वपूर्ण भाग हो।—रोमी १२:१, ७; २ कोरि. ८:७; हिब्रू १३:१६.

राहत कार्यको उद्देश्‍य

७, ८. हामीले राहत कार्यमा भाग लिनुको पहिलो कारण के हो?, बताउनुहोस्‌।

हामीले राहत कार्यमा भाग लिनुको कारण के हो? यस प्रश्‍नको जवाफ पावलले कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पाइन्छ। (२ कोरिन्थी ९:११-१५ पढ्‌नुहोस्‌) यी पदहरूमा हामीले “जनसेवा” अर्थात्‌ राहत कार्यमा भाग लिनुको तीन वटा कारण प्रकाश पारिएको छ। आउनुहोस्‌, यी कारणहरू एक-एक गरी केलाऔं।

पहिलो, हाम्रो राहत कार्यले यहोवाको महिमा गर्छ। याद गर्नुहोस्‌, २ कोरिन्थी ९:११-१५ मा प्रेषित पावलले पटक-पटक भाइबहिनीको ध्यान यहोवा परमेश्‍वरतर्फ खिचेका छन्‌। पावलले “परमेश्‍वरलाई धन्यवाद” दिन र “परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति” चढाउन सम्झाए। (पद ११, १२) ख्रीष्टियनहरूले गर्ने राहत कार्यले कसरी “परमेश्‍वरको महिमा” गर्छ र “परमेश्‍वरको असीम अनुग्रह”-को प्रशंसा हुन्छ भनेर तिनले बताए। (पद १३, १४) अनि तिनले राहत कार्यसम्बन्धी आफ्नो कुरा यसरी टुङ्‌ग्याए: “परमेश्‍वरलाई धन्यवाद होस्‌।”—पद १५; १ पत्रु. ४:११.

९. राहत कार्यले मानिसहरूको धारणामा कस्तो परिवर्तन ल्याउन सक्छ? उदाहरण दिनुहोस्‌।

पावलजस्तै आज पनि परमेश्‍वरका जनहरू राहत कार्यलाई यहोवाको महिमा गर्ने र उहाँको शिक्षाको शोभा बढाउने मौकाको रूपमा लिन्छन्‌। (१ कोरि. १०:३१; ती. २:१०) साँच्चै भन्‍नुपर्दा यहोवा र उहाँका साक्षीहरूप्रति मानिसहरूले राख्ने नकारात्मक धारणा हटाउन राहत कार्यले निकै मदत गरेको छ। उदाहरणको लागि: एउटी महिलाले आफ्नो घरबाहिर “यहोवाका साक्षीहरू आउन मनाइ छ” भन्‍ने सूचना टाँगेकी थिइन्‌। आँधीबेहरीले तिनी बसेको इलाकालाई क्षतिग्रस्त बनायो। एक दिनको कुरा हो, तिनले आफ्नो घरको पारिपट्टि केही उद्धारकर्मी मिलीजुली एउटा घरको मर्मत गरिरहेको देखिन्‌। अनि तिनले केही दिनसम्म तिनीहरूले काम गरेको हेरिरहिन्‌। त्यसपछि तिनीहरू को रहेछन्‌ भनेर बुझ्न तिनी त्यहीं गइन्‌। ती स्वयम्‌सेवकहरू यहोवाका साक्षीहरू रहेछन्‌ भनेर थाह पाएपछि तिनी निकै प्रभावित भइन्‌। तिनले भनिन्‌: “मैले तपाईंहरूलाई गलत सम्झेकी रहेछु।” त्यसपछि के भयो? तिनले आफ्नो घरबाहिर टाँगेको सूचना हटाइन्‌।

१०, ११. (क) हामीले राहत कार्यमा भाग लिएर सङ्‌गी ख्रीष्टियनहरूको आवश्‍यकता प्रशस्त गरी पूरा गरिरहेका छौं भनेर देखाउने उदाहरणहरू बताउनुहोस्‌। (ख) उद्धारकर्मीहरूलाई मदत गर्न कस्तो प्रकाशन उपलब्ध गराइएको छ? (“ उद्धारकर्मीहरूका लागि थप साधन” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१० दोस्रो, हामी सङ्‌गी उपासकहरूको “आवश्‍यकता प्रशस्त गरी पूरा” गर्न चाहन्छौं। (२ कोरि. ९:१२क) दुःखमा परेका हाम्रा भाइबहिनीको आवश्‍यकता तुरुन्तै पूरा गर्न र तिनीहरूको दुःख सकेसम्म कम गर्न हामी तत्पर हुन्छौं। किन? किनभने ख्रीष्टियन मण्डलीका सदस्यहरू ‘एउटै शरीर’-का अङ्‌ग हुन्‌ र “एउटा अङ्‌गले दुःख पायो भने अरू सबै अङ्‌गले सँगसँगै दुःख भोग्छन्‌।” (१ कोरि. १२:२०, २६) भाइबहिनीप्रति यस्तो माया भएकोले थुप्रै ख्रीष्टियनहरू प्राकृतिक प्रकोपद्वारा प्रभावित सङ्‌गी उपासकहरूलाई मदत चाहिएको खबर पाउनेबित्तिकै आफ्नो कामधन्दामा छाँटकाँट गरेर मदत गर्न जान्छन्‌। (याकू. २:१५, १६) उदाहरणको लागि, सन्‌ २०११ मा जापानमा सुनामी आएपछि अमेरिका शाखा कार्यालयले अमेरिकाका क्षेत्रीय निर्माण समितिहरूलाई एउटा पत्र पठायो। पत्रमा जापानमा राज्यभवनहरू पुनर्निर्माण गर्ने काममा मदत दिन सक्ने “कोही छन्‌ कि” भनेर सोधिएको थियो। भाइबहिनीले के गरे? केही हप्तामै झन्डै ६०० जना स्वयम्‌सेवकहरूले आवेदन फाराम भरे। तिनीहरू आफ्नै खर्चमा जापान गएर भाइबहिनीलाई मदत गर्न तयार थिए! अमेरिका शाखा कार्यालयले यसो भन्यो, “भाइबहिनीको यस्तो प्रतिक्रिया देखेर हामी औधी खुसी छौं।” जापानका एक जना भाइले विदेशबाट आएका स्वयम्‌सेवकलाई त्यसरी मदत गर्न आउनुको कारण सोधे। ती स्वयम्‌सेवकले यस्तो जवाफ दिए: “जापानका हाम्रा भाइबहिनी ‘एउटै शरीरका’ अङ्‌ग हुन्‌। हामी तपाईंहरूको पीडा महसुस गर्छौं।” आत्मत्यागी प्रेम देखाउँदै उद्धारकर्मीहरूले भाइबहिनीको निम्ति आफ्नो ज्यानको बाजी समेत लगाएका छन्‌। c१ यूह. ३:१६.

११ संसारका मानिसहरूले पनि हामीले गर्ने राहत कार्यको प्रशंसा गरेका छन्‌। उदाहरणको लागि, सन्‌ २०१३ मा अमेरिकाको आर्कान्सा राज्यमा गएको प्राकृतिक प्रकोपपछि यहोवाका साक्षीहरू तुरुन्तै मदत गर्न आए भनेर त्यहाँको एउटा अखबारले रिपोर्ट गऱ्‍यो। त्यस अखबारमा यसो भनिएको थियो: “प्रकोप आउनेबित्तिकै व्यवस्थित तरिकामा उद्धार कार्यको प्रबन्ध मिलाउन यहोवाका साक्षीहरू सिपालु छन्‌।” साँच्चै प्रेषित पावलले भनेझैं हामी भाइबहिनीको “आवश्‍यकता प्रशस्त गरी पूरा” गर्छौं।

१२-१४. (क) प्रकोपको मारमा परेका भाइबहिनीले आध्यात्मिक तालिका फेरि कायम गर्नु किन महत्त्वपूर्ण छ? (ख) आध्यात्मिक तालिका कायम गर्नु महत्त्वपूर्ण छ भनेर कस्ता अनुभवहरूले देखाउँछन्‌?

१२ तेस्रो, हामी प्राकृतिक प्रकोपको मारमा परेका भाइबहिनीलाई आध्यात्मिक तालिका फेरि कायम गर्न मदत गर्छौं। यो कुरा किन महत्त्वपूर्ण छ? मदत पाउनेहरू “परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति चढाउन” उत्प्रेरित हुनेछन्‌ भनेर पावलले बताए। (२ कोरि. ९:१२ख) दुःखमा परेका हाम्रा भाइबहिनीले यहोवालाई धन्यवाद दिन सक्ने सबैभन्दा उत्तम तरिका भनेको सकेसम्म चाँडो आफ्नो आध्यात्मिक तालिका फेरि कायम गर्नु हो। (फिलि. १:१०) सन्‌ १९४५ को प्रहरीधरहरा-मा यसो भनिएको थियो: “पावलले अनुदान सङ्‌कलन गर्न अनुमति दिए किनभने यसो गर्दा आवश्‍यकतामा परेका ख्रीष्टियन भाइबहिनीले केही हदसम्म राहत पाउन सक्थे। अनि तिनीहरू ढुक्क भई जोसका साथ प्रचारकार्यमा लाग्न सक्थे।” आज हाम्रो उद्देश्‍य पनि त्यही हो। प्रचारकार्यमा पुनः सक्रिय भई भाग लिन थालेपछि हाम्रा भाइबहिनीले दुःखमा परेका आफ्ना छिमेकीहरूलाई मात्र होइन, आफैलाई पनि बलियो बनाइरहेका हुन्छन्‌।२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌।

१३ आवश्‍यकतामा परेका हाम्रा थुप्रै भाइबहिनीले सहयोग पाएपछि प्रचारमा पुनः भाग लिए अनि यसले तिनीहरूलाई बल दियो। तीमध्ये एक जना भाइले यसो भने, “प्रचारमा जानु हाम्रो परिवारको निम्ति आशिष्‌ साबित भयो। अरूलाई सान्त्वना दिंदा हामीले एकछिन भए पनि आफ्नो दुःख भुल्न सक्यौं।” एक जना बहिनीले भनिन्‌, “आध्यात्मिक गतिविधिमा ध्यान दिंदा मैले आफू वरपर भएको बर्बादीमा मात्रै मन नडुलाउन मदत पाएँ। मैले सुरक्षित महसुस गरें।” अर्की एक बहिनीले यसो भनिन्‌, “थुप्रै कुरा हाम्रो नियन्त्रण बाहिर थियो। तर प्रचारमा जाँदा हाम्रो परिवारले भविष्यको आशामा ध्यान लगाउन मदत पायो। अरूलाई नयाँ संसारको आशाबारे बताउँदा सबै कुरा नयाँ बनाइनेछ भन्‍ने कुरामा हाम्रो भरोसा झन्‌ बलियो भयो।”

१४ दुःखमा परेका हाम्रा भाइबहिनीहरू जतिसक्दो चाँडो सभामा पनि उपस्थित हुनु आवश्‍यक छ। जापानकी एक बहिनी कियोकोले कस्तो महसुस गरिन्‌, विचार गर्नुहोस्‌। सुनामी आउँदा तिनी ६० वर्ष पुग्नै लागेकी थिइन्‌। सुनामीले गर्दा तिनले आफ्नो सबै कुरा गुमाइन्‌। तिनी अब जीवन कसरी धान्‍ने होला भनेर चिन्तित थिइन्‌। त्यतिकैमा एक जना एल्डरले आफ्नो गाडीमै नियमित रूपमा ख्रीष्टियन सभा सञ्चालन गर्ने कुराको जानकारी तिनलाई दिए। बहिनी कियोको भन्छिन्‌: “एल्डर, तिनकी श्रीमती, म र अर्की एक जना बहिनी गाडीमा बस्यौं। सभा सदाझैं सञ्चालन भयो तर मेरो लागि त त्यो चमत्कारजस्तै थियो। किनभने मैले सुनामीको सबै पीडा चटक्कै बिर्सन सकें र मन हल्का भयो। त्यो सभाबाट मैले आफ्ना ख्रीष्टियन भाइबहिनीसित सङ्‌गत गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर सिकें।” प्रकोपको मारमा पर्दा समेत सभा जान नछोडेकी अर्की एक बहिनीले यसो भनिन्‌: “सभाहरूले मलाई सहन मदत गऱ्‍यो।”—रोमी १:११, १२; १२:१२.

राहत कार्यले चिरकालीन लाभ पुऱ्‍याउँछ

१५, १६. (क) राहत कार्यमा भाग लिएर कोरिन्थीहरू र अरू ठाउँका ख्रीष्टियनहरूले कस्तो लाभ उठाउन सक्थे? (ख) आज पनि राहत कार्यमा भाग लिएर हामी के लाभ उठाउन सक्छौं?

१५ कोरिन्थीहरूलाई पावलले राहत दिने र पाउने दुवैलाई हुन सक्ने लाभबारे पनि बताए। तिनले यसो भने: “[राहत पाएका यरूशलेमका यहूदी ख्रीष्टियनहरू] तिमीहरूका निम्ति परमेश्‍वरलाई उत्कट बिन्ती चढाउँछन्‌ र तिमीहरूलाई भेट्‌ने तिर्सना गर्छन्‌ किनभने तिमीहरूमाथि परमेश्‍वरको उत्कृष्ट असीम अनुग्रह छ।” (२ कोरि. ९:१४) हो, कोरिन्थका ख्रीष्टियनहरूको उदारताले गर्दा यहूदी ख्रीष्टियनहरू कोरिन्थका अन्यजातिका भाइबहिनीलगायत अरू सबैको निम्ति प्रार्थना गर्न उत्प्रेरित हुने थिए। यसरी तिनीहरूबीचको माया झन्‌ प्रगाढ हुने थियो।

१६ पावलले राहत कार्यको लाभबारे बताएका कुराहरू आज हाम्रो समयमा कसरी लागू हुन्छ, त्यसबारे डिसेम्बर १, १९४५ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यसो भनिएको थियो: “एक ठाउँमा बस्ने भाइबहिनीले अर्को ठाउँका भाइबहिनीलाई सहयोग गर्दा हाम्रो एकता बलियो हुन्छ।” आज राहत कार्यमा भाग लिने स्वयम्‌सेवकहरू त्यस्तै अनुभव गर्छन्‌। बाढी प्रभावित ठाउँमा राहत कार्यमा भाग लिएका एक जना एल्डरले यसो भने: “राहत कार्यमा भाग लिएपछि म भाइबहिनीसित पहिलाभन्दा अझै नजिक हुन सकें।” राहत पाएकी एक बहिनीले आभार व्यक्‍त गर्दै यसो भनिन्‌: “हामीले प्रमोदवनमा उठाउने आनन्दलाई अहिलेको कुनै कुरासँग तुलना गर्न सकिन्छ भने त्यो हो, हाम्रो भाइचारा।”हितोपदेश १७:१७ पढ्‌नुहोस्‌।

१७. (क) यशैया ४१:१३ का शब्दहरू राहत कार्यमा कसरी लागू हुन्छ? (ख) राहत कार्यले यहोवाको आदर गर्छ र हाम्रो एकतालाई बलियो पार्छ भनेर देखाउने उदाहरणहरू बताउनुहोस्‌। (“ संसारभरिका स्वयम्‌सेवकहरू राहत कार्यमा भाग लिन्छन्‌” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१७ प्रकोप प्रभावित क्षेत्रमा हाम्रा भाइबहिनीहरू मदत गर्न आइपुग्दा त्यस क्षेत्रका ख्रीष्टियनहरूले परमेश्‍वरको यो प्रतिज्ञा पूरा भइरहेको अनुभव गर्छन्‌: “म, परमप्रभु तेरा परमेश्‍वरले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु।’” (यशै. ४१:१३) प्रकोपबाट बच्न सफल भएकी बहिनीले भनिन्‌: “प्रकोपले पुऱ्‍याएको क्षति देख्दा मैले आशा मारिसकेकी थिएँ। तर यहोवाले मेरो हात थाम्नुभयो। भाइबहिनीले गरेको मदत म शब्दमा बयान गर्नै सक्दिनँ।” भूकम्प प्रभावित इलाकाका मण्डलीहरूको तर्फबाट दुई जना एल्डरले यस्तो पत्र लेखे: “भूकम्पले गर्दा हामीलाई धेरै दुःख भयो। तर यहोवाले भाइबहिनीमार्फत कुन हदसम्म मदत गर्नुहुन्छ भनेर पनि हामीले अनुभव गर्न पायौं। राहत कार्यबारे हामीले पढेका त थियौं, तर अहिले भने आफैले अनुभव गर्न पायौं।”

के तपाईं पनि भाग लिन सक्नुहुन्छ?

१८. राहत कार्यमा भाग लिन के गर्नुपर्छ? (“ यसले तिनको जीवनलाई नयाँ मोड दियो” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१८ के तपाईं पनि राहत कार्यमा भाग लिंदा पाइने आनन्द अनुभव गर्न चाहनुहुन्छ? त्यसो हो भने यो कुरा मनमा राख्नुहोस्‌: राहत कार्यको लागि चाहिने स्वयम्‌सेवकहरू अक्सर राज्यभवन निर्माणकार्यमा भाग लिने भाइबहिनीमध्येबाटै छानिन्छन्‌। त्यसैले आफ्नो मण्डलीको एल्डरलाई निर्माणकार्यको लागि आवेदन फाराम भर्न चाहन्छु भनेर बताउनुहोस्‌। राहत कार्यमा भाग लिएर धेरै अनुभव बटुलेका एक एल्डर यसो भन्छन्‌: “राहत समितिबाट निम्तो पाएपछि मात्रै प्रकोप प्रभावित क्षेत्रमा जानुहोस्‌।” यसो गर्दा हाम्रो राहत कार्य अझ सुव्यवस्थित हुन्छ।

१९. राहत सेवामा भाग लिने स्वयम्‌सेवकहरूले हामी ख्रीष्टका साँचो चेलाहरू हौं भन्‍ने कुराको प्रमाण कसरी दिन्छन्‌?

१९ “आपसमा प्रेम गर” भन्‍ने ख्रीष्टको आज्ञा पालन गरेका छौं भनेर देखाउने एउटा उत्कृष्ट तरिका राहत कार्य हो। त्यस्तो प्रेमले हामी ख्रीष्टका साँचो चेलाहरू हौं भन्‍ने कुराको प्रमाण दिन्छ। (यूह. १३:३४, ३५) परमेश्‍वरको राज्यका वफादार प्रजालाई आवश्‍यक पर्दा राहत दिने इच्छुक स्वयम्‌सेवकहरूले यहोवाको महिमा गरिरहेका हुन्छन्‌। हामीमाझ यस्ता स्वयम्‌सेवकहरू हुनु साँच्चै ठूलो आशिष्‌को कुरा हो!

a प्रकोपको कारण दुःखमा परेका भाइबहिनीलाई मदत गर्न के-कस्ता राहत कार्यहरू गरिए भन्‍ने विषयमा यस अध्यायमा चर्चा गरिएको छ। तर धेरैजसो अवस्थामा हामीले अरू मानिसलाई पनि मदत गरेका छौं।—गला. ६:१०.

b पावलले “सहायक सेवकहरू”-लाई बुझाउन डिआकोनिआ शब्दको बहुवचन डिआकोनोस (सेवक) चलाए।—१ तिमो. ३:१२.

c नोभेम्बर १, १९९४ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा, पृष्ठ २३-२७ मा “बोस्नियाका हाम्रा भाइबहिनीलाई मदत गर्ने” शीर्षक भएको लेख हेर्नुहोस्‌।