सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २१

परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ

परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

आरमागेडोनको युद्ध हुनुअघिका घटनाहरू

१, २. (क) सन्‌ १९१४ देखि हाम्रा राजाले शासन गर्दै हुनुहुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौं? (ख) हामी यस अध्यायमा के छलफल गर्नेछौं?

 शत्रुहरूको बीचमा रहेर पनि परमेश्‍वरको राज्यले के-कस्ता कामहरू पूरा गरेको छ भनेर हामीले अगाडिका अध्यायहरूमा केलाएर हेऱ्‍यौं। यसले हाम्रो विश्‍वासलाई बलियो बनाएको छ। (भज. ११०:२) हाम्रा राजाले राजीखुसी प्रचार गर्न तयार एउटा दल जम्मा गर्नुभएको छ। उहाँले आफ्ना चेलाहरूलाई आध्यात्मिक अनि नैतिक तवरमा शुद्ध पार्नुभएको छ। अनि परमेश्‍वरको राज्यका शत्रुहरूले फूट ल्याउन जत्ति नै कोसिस गरे पनि हाम्रो विश्‍वव्यापी भाइचारा बलियो छ। परमेश्‍वरको राज्यले गरेका थुप्रै कामहरू विचार गर्दा हामी यो कुरामा ढुक्क हुन सक्छौं: सन्‌ १९१४ देखि हाम्रा राजाले शत्रुहरूको बीचमा शासन गर्दै हुनुहुन्छ।

परमेश्‍वरको राज्यले चाँडै अझ अचम्मलाग्दा कामहरू गर्नेछ। शत्रुहरूलाई ‘चक्नाचूर पार्न’ यो राज्य ‘आउनेछ।’ (मत्ती ६:१०; दानि. २:४४) तर त्यसअघि अरू महत्त्वपूर्ण घटनाहरू हुनेछन्‌। ती के-के हुन्‌? थुप्रै बाइबल भविष्यवाणीहरूमा यस प्रश्‍नको जवाफ पाइन्छ। आउनुहोस्‌, पूरा हुन बाँकी केही भविष्यवाणीहरू केलाऔं।

“एक्कासि विनाश” आउनुअघि के हुनेछ?

३. हामीले प्रतीक्षा गरिरहेको पहिलो घटना के हो?

शान्तिको घोषणा। प्रेषित पावलले थिस्सलोनिकाका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा हामीले प्रतीक्षा गरिरहेको पहिलो घटनाबारे बताए। (१ थिस्सलोनिकी ५:२, ३ पढ्‌नुहोस्‌) पावलले यस पत्रमा “यहोवाको दिन”-बारे चर्चा गरे। उहाँको दिन “महान्‌ बेबिलोन”-माथि आक्रमण भएपछि सुरु हुनेछ। (प्रका. १७:५) तर यहोवाको दिन सुरु हुनुभन्दा ठीकअघि राष्ट्रहरूले “शान्ति र सुरक्षा!” भनिरहेका हुनेछन्‌। यो कुनै खास घोषणा वा एकपछि अर्को गरी हुने उल्लेखनीय घोषणाहरू हुन सक्छ। के धर्मगुरुहरूले पनि यस घोषणामा भाग लिनेछन्‌? तिनीहरू यस संसारकै भाग भएकोले सायद राष्ट्रहरूसित मिलेर तिनीहरूले पनि “शान्ति, शान्ति” भन्‍नेछन्‌। (यर्मि. ६:१४; २३:१६, १७; प्रका. १७:१, २) शान्ति र सुरक्षाको घोषणाले यहोवाको दिन सुरु हुनै लागेको छ भनेर जनाउ दिनेछ। त्यसपछि त परमेश्‍वरको राज्यका शत्रुहरू “कुनै हालतमा उम्कनेछैनन्‌।”

४. शान्ति र सुरक्षाको घोषणासम्बन्धी भविष्यवाणीको महत्त्व थाह पाउँदा हामीलाई के फाइदा हुन्छ?

यो भविष्यवाणीको महत्त्व बुझ्दा हामीलाई के फाइदा हुन्छ? पावल भन्छन्‌: “तिमीहरू अन्धकारमा छैनौ; त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्‌।” (१ थिस्स. ५:३, ४) अहिले भइरहेका घटनाहरूले कस्तो मोड लिनेछ भनेर संसारका मानिसहरूले बुझेका छैनन्‌। तर हामीले भने बुझेका छौं। शान्ति र सुरक्षासम्बन्धी भविष्यवाणी ठ्याक्कै कसरी पूरा हुनेछ? त्यो त हामीलाई थाह छैन, पर्खेर हेर्नै पर्छ। त्यसैले “जागा बसौं अनि सचेत रहौं।”—१ थिस्स. ५:६; सप. ३:८.

महासङ्‌कष्ट सुरु हुन्छ

५. “महासङ्‌कष्ट”-को पहिलो चरणमा के हुनेछ?

धर्ममाथि आक्रमण। पावलका शब्दहरूलाई फेरि विचार गर्नुहोस्‌: “जब तिनीहरूले ‘शान्ति र सुरक्षा!’ भनिरहेका हुन्छन्‌, तब . . . तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ।” जसरी बिजुली चम्किएपछि तुरुन्तै गर्जन सुनिन्छ त्यसरी नै “शान्ति र सुरक्षा!”-को घोषणा भएपछि “एक्कासि विनाश” आइपर्नेछ। केको विनाश हुनेछ? सुरुमा “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यको विनाश हुनेछ। महान्‌ बेबिलोनलाई बाइबलमा “वेश्‍या” भनिएको छ। (प्रका. १७:५, ६, १५) “महासङ्‌कष्ट”-को पहिलो चरणमा चर्चजगत्‌लगायत अन्य झूटा धर्महरूको विनाश हुनेछ। (मत्ती २४:२१; २ थिस्स. २:८) झूटो धर्मको विनाश देखेर थुप्रैले अचम्म मान्‍नेछन्‌। किन? किनभने त्यतिबेलासम्म त्यस वेश्‍याले आफूलाई “कहिल्यै शोक गर्नु” नपर्ने “महारानी” ठानिरहेकी हुनेछे। तर आफ्नो सोचाइ कत्ति गलत रहेछ भनेर त्यसले एक्कासि थाह पाउनेछे। त्यसको विनाश तुरुन्तै हुनेछ, मानौं “एकै दिनमा।”—प्रका. १८:७, ८.

६. कसले “महान्‌ बेबिलोन”-माथि आक्रमण गर्नेछ?

कसले “महान्‌ बेबिलोन”-माथि आक्रमण गर्नेछ? “दस वटा सिङ” भएको ‘जङ्‌गली जनावरले।’ प्रकाशको किताबअनुसार यो जङ्‌गली जनावर संयुक्‍त राष्ट्र सङ्‌घ हो। दस वटा सिङले चाहिं यस “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर”-लाई समर्थन गर्ने सबै राजनैतिक शक्‍तिलाई बुझाउँछ। (प्रका. १७:३, ५, ११, १२) महान्‌ बेबिलोनमाथिको यो आक्रमण कत्तिको भयानक हुनेछ? संयुक्‍त राष्ट्र सङ्‌घका सदस्य राष्ट्रहरूले त्यस वेश्‍याको धनसम्पत्ति लुट्‌नेछन्‌, त्यसको मासु खानेछन्‌ र “त्यसलाई आगोमा भस्म पार्नेछन्‌।”प्रकाश १७:१६ पढ्‌नुहोस्‌। a

७. येशूले मत्ती २४:२१, २२ मा बताउनुभएका कुराहरू प्रथम शताब्दीमा कसरी पूरा भए? भविष्यमा यी कुराहरू कसरी पूरा हुनेछन्‌?

ती दिन घटाइनेछन्‌। हाम्रा राजा येशूले महासङ्‌कष्टको यस घडीमा के हुनेछ भनेर बताउनुभएको थियो। उहाँले यसो भन्‍नुभयो: “चुनिएकाहरूका लागि ती दिन घटाइनेछन्‌।” (मत्ती २४:२१, २२ पढ्‌नुहोस्‌) इस्वी संवत्‌ ६६ मा येशूका यी शब्दहरूको पहिलो पूर्ति भयो। त्यतिखेर यहोवाले यरूशलेममाथि रोमी सेनाहरूको आक्रमण ‘घटाउनुभएको’ थियो। (मर्कू. १३:२०) त्यसैले यरूशलेम र यहूदियाका ख्रीष्टियनहरू भाग्न सके। अब आउनै लागेको महासङ्‌कष्टमा संसारभरि के हुनेछ? झूटो धर्म सँगसँगै साँचो धर्म पनि विनाश नहोस्‌ भनेर यहोवाले संयुक्‍त राष्ट्र सङ्‌घको आक्रमण ‘घटाउन’ हाम्रा राजा येशू ख्रीष्टलाई चलाउनुहुनेछ। यसरी सबै झूटो धर्मको विनाश हुँदा साँचो धर्मचाहिं जोगिनेछ। (भज. ९६:५) यसपछि महासङ्‌कष्टको दौडान के हुनेछ, आउनुहोस्‌, हेरौं।

आरमागेडोनको युद्ध हुनुअघिका घटनाहरू

८, ९. येशूले कुन चिन्हबारे बताउनुभएको हुन सक्छ? त्यस्ता कुराहरू देख्दा मानिसहरूले के गर्नेछन्‌?

आरमागेडोनको युद्ध हुनुअघि थुप्रै महत्त्वपूर्ण घटनाहरू हुनेछन्‌ भनेर अन्तको समयबारे येशूले गर्नुभएका भविष्यवाणीहरूबाट बुझ्न सक्छौं। अब हामी सुरुमा हुने दुइटा घटना विचार गरौं। यी दुवै घटनाबारे मत्ती, मर्कूस र लूकाले लेखेका किताबमा चर्चा गरिएका छन्‌।मत्ती २४:२९-३१ पढ्‌नुहोस्‌; मर्कू. १३:२३-२७; लूका २१:२५-२८.

आकाशमा देखिने चिन्ह। येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन्‌।” धर्मगुरुहरूलाई अबउसो ज्योतिको रूपमा लिइने छैन अर्थात्‌ मानिसहरू तिनीहरूकहाँ मदत माग्न जाने छैनन्‌। के येशूले आकाशमा देखिने साँच्चैको सूर्य र चन्द्रमा अँध्यारो हुनेछ अनि ताराहरू पनि खस्नेछन्‌ भनेर बताउँदै हुनुहुन्थ्यो? हुन सक्छ। (यशै. १३:९-११; योए. २:१, ३०, ३१) त्यस्ता कुराहरू देख्दा मानिसहरूले के गर्नेछन्‌? “उम्कने कुनै उपाय नदेखेकोले” तिनीहरू “व्याकुल” हुनेछन्‌। (लूका २१:२५; सप. १:१७) हो, परमेश्‍वरको राज्यका शत्रुहरू चाहे ती ‘राजाहरू होऊन्‌ वा दास,’ तिनीहरू आफूमाथि “आइपर्ने कुराहरूको डर र आशङ्‌काले गर्दा . . . मूर्च्छा पर्नेछन्‌” र शरण खोज्दै हिंड्‌नेछन्‌। तर हाम्रो राजाको क्रोधबाट जोगिन तिनीहरूले लुक्ने ठाउँ भेट्टाउने छैनन्‌।—लूका २१:२६; २३:३०; प्रका. ६:१५-१७.

१०. येशूले कुन न्यायको घोषणा गर्नुहुनेछ? परमेश्‍वरको राज्यका समर्थकहरूले र विरोधीहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌?

१० न्यायको घोषणा। यी घटनाहरूपछि परमेश्‍वरको राज्यका शत्रुहरूले अर्को डरलाग्दो घटनाको सामना गर्नुपर्नेछ र यसले तिनीहरूको पीडालाई अझै बढाउनेछ। येशूले भन्‍नुभयो: “तिनीहरूले मानिसको छोरालाई ठूलो शक्‍ति र गौरवसहित बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।” (मर्कू. १३:२६) यस्तो शक्‍ति प्रदर्शनले येशू न्याय गर्न आउनुभयो भनेर सङ्‌केत गर्नेछ। अन्तको दिनबारे गरिएको यसै भविष्यवाणीको अर्को भागमा येशूले त्यसबेला गरिने न्यायबारे थप जानकारी दिनुभयो। त्यो जानकारी हामी भेडा र बाख्राको दृष्टान्तमा पाउँछौं। (मत्ती २५:३१-३३, ४६ पढ्‌नुहोस्‌) परमेश्‍वरको राज्यका वफादार समर्थकहरूलाई “भेडा”-को रूपमा अलग पारिनेछ र “छुटकारा नजिक आउँदैछ” भन्‍ने कुरा थाह पाएपछि तिनीहरूले आफ्नो ‘शिर उठाउनेछन्‌।’ (लूका २१:२८) तर परमेश्‍वरको राज्यका विरोधीहरूलाई भने “बाख्रा”-को रूपमा अलग पारिनेछ र आफू “सधैंका लागि नाश” हुनेछु भन्‍ने कुरा थाह पाएर तिनीहरूले “शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।”—मत्ती २४:३०; प्रकाश १:७.

११. अब हुन लागेका घटनाहरूबारे छलफल गर्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?

११ “सबै जातिहरू”-को न्याय गरिसकेपछि अझै केही महत्त्वपूर्ण घटनाहरू हुनेछन्‌। त्यसपछि मात्र आरमागेडोनको युद्ध सुरु हुनेछ। (मत्ती २५:३२) आरमागेडोनको युद्ध सुरु हुनुअघि हुने दुइटा घटना हामी विचार गरौं: गोगको आक्रमण र अभिषिक्‍त ख्रीष्टियनहरूलाई जम्मा पार्ने काम। तर यी दुई घटना ठ्याक्कै कहिले हुनेछ भनेर बाइबलमा बताइएको छैन। वास्तवमा यी घटनाहरू केही समय सँगसँगै हुनेछन्‌ जस्तो देखिन्छ।

१२. परमेश्‍वरको राज्यविरुद्ध सैतानले कसरी भीषण आक्रमण गर्नेछ?

१२ भीषण आक्रमण। मागोगको गोगले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरू र अरू भेडालाई आक्रमण गर्नेछ। (इजकिएल ३८:२, ११ पढ्‌नुहोस्‌) यो आक्रमण परमेश्‍वरको राज्यको शासनविरुद्ध सैतानले गर्ने अन्तिम आक्रमण हुनेछ। हामीलाई थाहै छ, आफूलाई स्वर्गबाट फ्याँकिएदेखि नै सैतानले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूविरुद्ध युद्ध लड्‌दै छ। (प्रका. १२:७-९, १७) विशेषगरि अभिषिक्‍त ख्रीष्टियनहरूलाई पुनर्स्थापित ख्रीष्टियन मण्डलीमा जम्मा गर्न थालेदेखि नै सैतानले तिनीहरू र परमेश्‍वरबीच बाँझो हाल्ने प्रयास गर्दै आएको छ। तर त्यसको प्रयास बालुवामा पानी हालेजस्तै भएको छ। (मत्ती १३:३०) भविष्यमा सबै झूटो धर्मको विनाशपछि परमेश्‍वरका जनहरू “मूल-ढोका र बारहरूविनै बस्ने, पर्खालद्वारा सुरक्षित नभएका” मानिसहरूजस्तै देखिनेछन्‌। ठीक यतिबेला सैतानले तिनीहरूमाथि आक्रमण गर्ने राम्रो मौका देख्नेछ। त्यसले आफ्नो पक्षमा भएका दुष्ट मानिसहरूलाई परमेश्‍वरको राज्यका समर्थकहरूमाथि भीषण आक्रमण गर्न उक्साउनेछ।

१३. यहोवाले आफ्ना जनहरूको खातिर कसरी हस्तक्षेप गर्नुहुनेछ?

१३ आक्रमणको बेला कस्तो हुनेछ भनेर इजकिएलले बताएका छन्‌। गोगबारे गरिएको भविष्यवाणीमा यस्तो भनिएको छ: “घोडाहरूमा सवार भएर एक ठूलो दल, एक शक्‍तिशाली सेनाको साथ धेरै जातिहरूसित सुदूर उत्तरदेखि तँ आउनेछैनस्‌? मेरो प्रजा इस्राएलको विरुद्धमा तँ आउनेछस्‌, . . . तँ पृथ्वीलाई ढाक्ने एउटा बादलझैं हुनेछस्‌।” (इज. ३८:१५, १६) अत्यन्तै भीषणजस्तो देखिने यस आक्रमणको जवाफ यहोवाले कसरी दिनुहुनेछ? यहोवा भन्‍नुहुन्छ, “मेरो तातो रीस दन्कनेछ।” “म . . . एउटा तरवार पठाउनेछु।” (इज. ३८:१८, २१, NRV; जकरिया २:८ पढ्‌नुहोस्‌) पृथ्वीमा भएका आफ्ना जनहरूलाई बचाउन यहोवाले हस्तक्षेप गर्नुहुनेछ। त्यो हस्तक्षेप आरमागेडोनको युद्ध हो।

१४, १५. सैतानले भीषण आक्रमण सुरु गरेको केही समयपछि के हुनेछ?

१४ यहोवाले आरमागेडोनको युद्धको दौडान आफ्ना जनहरूलाई कसरी जोगाउनुहुन्छ भनेर बुझ्नुअघि अर्को एउटा महत्त्वपूर्ण घटनाबारे बुझौं। यो घटना यी दुई घटनाको बीचमा हुनेछ: सैतानले भीषण आक्रमण सुरु गरेपछि र यहोवाले हस्तक्षेप गर्नुअघि। अनुच्छेद ११ मा बताइएझैं यो दोस्रो घटना पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई जम्मा पार्नु हो।

१५ अभिषिक्‍त ख्रीष्टियनहरूलाई जम्मा पार्ने। “परमेश्‍वरले चुन्‍नुभएका जनहरू” अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियनहरूबारे येशूले भन्‍नुभएको कुरा आरमागेडोनको युद्ध सुरु हुनुअघि हुने घटनाहरूको भाग हो भनेर मत्ती र मर्कूस दुवैले आफ्नो किताबमा रेकर्ड गरेका छन्‌। (अनुच्छेद ७ हेर्नुहोस्‌) राजाको हैसियतमा आफूले गर्ने कामबारे येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई तिनीहरूले पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट जम्मा गर्नेछन्‌।” (मर्कू. १३:२७; मत्ती २४:३१) येशूले यहाँ जम्मा पार्ने कुन कामबारे कुरा गर्दै हुनुहुन्थ्यो? उहाँले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई अन्तिम छाप लगाउने कामबारे कुरा गर्नुभएको थिएन। किनभने अन्तिम छाप लगाउने काम त महासङ्‌कष्ट सुरु हुनअघि हुनेछ। (प्रका. ७:१-३) बरु येशूले आउँदै गरेको महासङ्‌कष्टको दौडान हुने घटनाबारे बताउँदै हुनुहुन्थ्यो। त्यसैले सैतानले परमेश्‍वरका जनहरूमाथि भीषण आक्रमण सुरु गरेको केही समयपछि पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वर्गमा जम्मा पारिनेछ जस्तो देखिन्छ।

१६. स्वर्गमा पुनर्जीवित भएका अभिषिक्‍त ख्रीष्टियनहरूले आरमागेडोनको युद्धमा कस्तो भूमिका निर्वाह गर्नेछन्‌?

१६ पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई जम्मा पार्ने काम यसपछि हुने घटना अर्थात्‌ आरमागेडोनसित कसरी सम्बन्धित छ? जम्मा पार्ने समयलाई विचार गर्दा आरमागेडोनको युद्ध सुरु हुनुअघि नै सबै अभिषिक्‍त ख्रीष्टियनहरू स्वर्गमा हुनेछन्‌ भनेर थाह पाउन सक्छौं। स्वर्गमा येशू ख्रीष्टसँगै शासन गर्ने १,४४,००० ले परमेश्‍वरको राज्यका शत्रुहरूलाई नामेट पार्न येशूसितै “फलामको डन्डा” चलाउने अधिकार पाउनेछन्‌। (प्रका. २:२६, २७) त्यसपछि यहोवाका जनहरूलाई आफ्नो तारो बनाउने शत्रुहरूको “एक शक्‍तिशाली सेना”-विरुद्ध येशू जाइलाग्नुहुँदा स्वर्गमा पुनर्जीवित भएका अभिषिक्‍त ख्रीष्टियनहरूले शक्‍तिशाली स्वर्गदूतहरूसँगै योद्धा राजा येशू ख्रीष्टलाई साथ दिनेछन्‌। (इज. ३८:१५) उहाँ यसरी जाइलाग्नुहुँदा अवस्था एकदमै भयावह हुनेछ र आरमागेडोनको युद्ध सुरु हुनेछ!—प्रका. १६:१६.

महासङ्‌कष्टको अन्तिम चरण

आरमागेडोनको युद्ध सुरु हुन्छ!

१७. आरमागेडोनको युद्धमा “बाख्रा”-जस्ता मानिसहरूलाई के हुनेछ?

१७ न्याय कार्यान्वयन। आरमागेडोनको युद्ध महासङ्‌कष्टको अन्तिम चरण हुनेछ। त्यतिबेला येशूले अर्को एउटा काम गर्नुहुनेछ। उहाँले “सबै जातिहरू”-को न्याय गर्नुका साथै न्यायदण्ड दिने व्यक्‍तिको रूपमा पनि काम गर्नुहुनेछ। उहाँले राष्ट्रहरूलाई अर्थात्‌ यसअघि “बाख्रा” भनेर छुट्ट्याउनुभएका मानिसहरूलाई नाश गर्नुहुनेछ। (मत्ती २५:३२, ३३) एउटा “लामो धारिलो तरबार” चलाएर हाम्रो राजाले “राष्ट्रहरूलाई प्रहार” गर्नुहुनेछ। हो, “बाख्रा”-जस्ता मानिसहरू, चाहे ती “राजाहरू” होऊन्‌ वा ‘दासहरू,’ सबै “सधैंका लागि नाश हुनेछन्‌।”—प्रका. १९:१५, १८; मत्ती २५:४६.

१८. (क) “भेडा” भनेर छुट्ट्याइएका मानिसहरूको अवस्था कसरी फरक हुनेछ? (ख) येशूले कसरी आफ्नो विजय पूरा गर्नुहुनेछ?

१८ तर येशूले “भेडा” भनेर छुट्ट्याउनुभएका मानिसहरूको अवस्थाचाहिं बिलकुलै फरक हुनेछ! “बाख्रा”-जस्ता मानिसहरू मिलेर बनेको सैतानको शक्‍तिशाली सेनाले निस्सहायजस्तो देखिने “भेडा” अर्थात्‌ परमेश्‍वरका जनहरूलाई आक्रमण गर्नेछ तर तिनीहरू बच्नेछन्‌। तिनीहरू “महासङ्‌कष्ट पार” गर्ने “एउटा ठूलो भीड” हुनेछन्‌। (प्रका. ७:९, १४) यसरी परमेश्‍वरको राज्यका सबै मानव शत्रुहरूलाई नामेट पार्नुभएपछि येशूले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई अगाध खाडलमा हुर्ऱ्याउनुहुनेछ। तिनीहरू त्यहाँ एक हजार वर्षसम्म मरेतुल्य अर्थात्‌ निष्क्रिय अवस्थामा हुनेछन्‌।प्रकाश ६:२; २०:१-३ पढ्‌नुहोस्‌।

हामी कसरी तयार रहन सक्छौं?

१९, २०. यशैया २६:२०३०:२१ को कुरा हामी कसरी लागू गर्न सक्छौं?

१९ अब हुनै लागेका भयानक घटनाहरूको लागि हामी कसरी तयार रहन सक्छौं? केही वर्षअघिको प्रहरीधरहरा-मा यसो भनिएको थियो: “हाम्रो बचाउ आज्ञाकारितामा निर्भर हुनेछ।” किन? यस प्रश्‍नको जवाफ प्राचीन बेबिलोनमा निर्वासित यहूदीहरूलाई यहोवाले दिनुभएको चेतावनीमा पाइन्छ। यहोवाले बेबिलोनको विनाश हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। तर परमेश्‍वरका जनहरू त्यस घटनाको लागि कसरी तयार रहन सक्थे? यहोवाले भन्‍नुभयो: “हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस।” (यशै. २६:२०) यस पदमा चलाइएका क्रियाहरूलाई विचार गर्नुहोस्‌: “आऊ,” “थुन,” “लुकिबस।” यी सबै क्रिया आज्ञा हुन्‌। यो आज्ञा पालन गर्दै यहूदीहरू आफ्नो घरभित्र बस्दा बाहिर सडकमा युद्ध गर्न आएका सेनाहरूबाट जोगिन सक्थे। यहोवाको आज्ञा पालन गरेको खण्डमा मात्रै तिनीहरू बाँच्न सक्थे। b

२० यसबाट हामी के सिक्न सक्छौं? प्राचीन समयका ती परमेश्‍वरका सेवकहरूले जस्तै हामीले पनि यहोवाको निर्देशन पालन गऱ्‍यौं भने मात्र अब हुनै लागेका घटनाहरूबाट बच्न सक्नेछौं। (यशै. ३०:२१) ती निर्देशनहरू हामीले मण्डलीमार्फत पाउँछौं। त्यसैले अहिले पाइरहेको निर्देशन हामीले मनैदेखि पालन गर्नुपर्छ। (१ यूह. ५:३) अहिलेदेखि नै हामीले आज्ञा पालन गऱ्‍यौं भने भविष्यमा निर्देशनहरू स्वीकार्न हामीलाई सजिलो हुनेछ। यसरी हामीले हाम्रा बुबा यहोवा र राजा येशू ख्रीष्टले दिनुहुने सुरक्षा पाउन सक्नेछौं। (सप. २:३) परमेश्‍वरको राज्यले कसरी आफ्ना शत्रुहरूलाई नामेट पार्नेछ भन्‍ने कुरा हामीले आफ्नै आँखाले देख्न सक्नेछौं। त्यो क्षण कत्ति अविस्मरणीय हुनेछ!

a “महान्‌ बेबिलोन”-को विनाशले धर्ममा आस्था राख्ने सबै मानिसको नभई मुख्यतया धर्महरूको नाशलाई बुझाउँछ। त्यसैले झूटो धर्म मानिरहेका मानिसहरू पनि त्यस विनाशबाट बच्नेछन्‌। अनि जकरिया १३:४-६ को भविष्यवाणीमा बताइएझैं तिनीहरूले आफूलाई ती धर्महरूबाट अलग पार्ने कोसिस गर्नेछन्‌।

b थप जानकारीको लागि यशैयाको भविष्यवाणी—सारा मानवजातिको लागि ज्योति भन्‍ने अङ्‌ग्रेजी किताबको खण्ड १, पृष्ठ २८२-२८३ हेर्नुहोस्‌।