सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २२

परमेश्‍वरको राज्यले उहाँको इच्छा यस पृथ्वीमा पूरा गर्नेछ

परमेश्‍वरको राज्यले उहाँको इच्छा यस पृथ्वीमा पूरा गर्नेछ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

परमेश्‍वरले मानिसजाति र पृथ्वीबारे गर्नुभएका सम्पूर्ण प्रतिज्ञाहरू उहाँको राज्यले पूरा गर्नेछ

१, २. (क) प्रमोदवनको आशा कहिलेकाहीं किन धमिलो हुन सक्छ? (ख) परमेश्‍वरका प्रतिज्ञाहरू साँच्चै पूरा हुनेछन्‌ भन्‍ने हाम्रो विश्‍वासलाई बलियो बनाउन केले मदत गर्छ?

 दिनभरिको दौडधूपपछि एक जना वफादार भाइ सभामा आइपुगेका छन्‌। आज पनि तिनलाई अफिसमा हाकिमले किचकिच गरे, परिवारको लालनपालन गर्न गाह्रो भएकोले तिनी चिन्तित छन्‌ र त्यसमाथि तिनकी श्रीमती बिरामी पनि छिन्‌। राज्यभवनमा सुरुको गीतको धुन बज्दा तिनी लामो सास फेर्छन्‌। तिनी भाइबहिनीमाझ हुन पाएकोमा खुसी छन्‌। यो राज्य गीत प्रमोदवनको आशासित सम्बन्धित छ र गीतमा आफू प्रमोदवनमा भएको कल्पना गर्न आग्रह गरिएको छ। तिनलाई यो गीत असाध्यै मन पर्छ र तिनी आफ्नो परिवारसँगै मिलेर यो गीत गाउँछन्‌। गीत गाउँदै जाँदा भविष्यको आशाले तिनको मन हल्का बनाउँछ र तिनी आफ्नो सबै पीर-मर्का भुल्न पुग्छन्‌।

के तपाईंले पनि ती भाइले जस्तै अनुभव गर्नुभएको छ? हामीमध्ये धेरैले गरेका छौं। तर अर्कोतर्फ हामी बाँचिरहेको संसार निर्दयी छ। त्यसैले प्रमोदवनको आशालाई वास्तविक ठान्‍न गाह्रो हुन सक्छ। हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौं र यो संसार प्रमोदवनजस्तो पटक्कै छैन। (२ तिमो. ३:१) हाम्रो आशा साँच्चै साकार हुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं? परमेश्‍वरको राज्यले चाँडै सम्पूर्ण मानिसजातिमाथि शासन गर्नेछ भनेर हामी किन भन्‍न सक्छौं? पहिले-पहिलेका यहोवाका जनहरूले उहाँका प्रतिज्ञाहरू पूरा भएको आफ्नै आँखाले देख्न पाएका थिए। तीमध्ये केही विचार गरौं। त्यसपछि अहिले हाम्रो समयमा ती र तीसित मिल्दाजुल्दा अन्य भविष्यवाणीहरू कसरी पूरा भइरहेका छन्‌, केलाऔं। यी कुराहरूले हाम्रो विश्‍वासलाई पक्कै बलियो बनाउनेछ। अनि ती भविष्यवाणीहरू हाम्रो भविष्यसित कसरी सम्बन्धित छ भनेर छलफल गरौं।

प्राचीन समयमा यहोवाले आफ्ना प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो

३. बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूले कुन प्रतिज्ञाबाट सान्त्वना पाए?

ईसापूर्व छैटौं शताब्दीमा बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूको अवस्था कस्तो थियो होला, कल्पना गर्नुहोस्‌। धेरै जना आफ्नो बुबाआमाजस्तै निर्वासनमै हुर्के, बढे। जीवन धान्‍न सजिलो थिएन। यहोवाको उपासक भएकोले तिनीहरूले बेबिलोनीहरूको गिल्ला सहनुपर्थ्यो। (भज. १३७:१-३) दशकौंसम्म वफादार भएर बसेका यहूदीहरू एउटा उज्ज्वल आशामा भर परे। त्यो थियो, आफ्ना जनहरूलाई स्वदेश फिर्ता लैजाने यहोवाको प्रतिज्ञा। तिनीहरूको देशको अवस्था फेरि राम्रो हुनेछ भनेर यहोवाले बताउनुभएको थियो। उहाँले पुनर्स्थापित यहूदियालाई अदनको बगैंचा अर्थात्‌ प्रमोदवनसित समेत तुलना गर्नुभयो! (यशैया ५१:३ पढ्‌नुहोस्‌) यहोवाको प्रतिज्ञाले गर्दा उहाँका जनहरू ढुक्क भए। तिनीहरूले आफूलाई पिरोलिरहेको शङ्‌का, उपशङ्‌का हटाउन सके। हामी किन त्यसो भन्‍न सक्छौं? केही भविष्यवाणी विचार गरौं।

४. यहूदीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्‌ भनेर यहोवाले तिनीहरूलाई कसरी विश्‍वस्त पार्नुभयो?

सुरक्षा। ती निर्वासित यहूदीहरू साँच्चैको बगैंचामा फर्कने त थिएनन्‌, तिनीहरू ७० वर्षसम्म उजाड छोडिएको भूमिमा फर्कने थिए। तिनीहरूमध्ये थुप्रैले त्यो ठाउँ देखेका समेत थिएनन्‌। त्यतिबेला सिंह, ब्वाँसो, चितुवाजस्ता हिंस्रक जनावरहरू जताततै हुन्थ्यो। परिवार भएको मान्छेले यस्तो सोच्न सक्थ्यो, ‘त्यस्तो ठाउँमा मैले कसरी आफ्नो जहान, बालबच्चा अनि गाईवस्तुको रक्षा गर्ने?’ यस्तो कुरा मनमा खेल्नु स्वाभाविकै थियो। तर यशैया ११:६-९ मा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाबारे सोच्नुहोस्‌। यो प्रतिज्ञाबाट ती यहूदीहरूले कत्ति सान्त्वना पाए होलान्‌, विचार गर्नुहोस्‌। (पढ्‌नुहोस्‌) कवितात्मक शैलीमा लेखिएका ती शब्दहरूमार्फत यहोवाले निर्वासित यहूदीहरूलाई तिनीहरू र तिनीहरूको गाईवस्तु सुरक्षित रहनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त पार्नुभयो। सिंहले पराल खानेथियो, भन्‍नुको मतलब तिनीहरूको गाईवस्तु सिंहको सिकार हुने थिएन। वफादार यहूदीहरू त्यस्ता हिंस्रक जनावरहरूदेखि डराउनुपर्ने थिएन। यहोवाले आफ्ना जनहरू पुनर्स्थापित यहूदियाको उजाडस्थान र जङ्‌गलहरूमा समेत सुरक्षित रहनेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो।—इज. ३४:२५.

५. कस्ता भविष्यवाणीहरूले गर्दा निर्वासित यहूदीहरू यहोवाले प्रशस्तै गरी दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सके?

प्रशस्तता। ती यहूदीहरूको मनमा अरू प्रश्‍नहरू पनि उठ्‌न सक्थ्यो। जस्तै, ‘परिवारको हातमुख कसरी जोर्ने? कहाँ बस्ने? के काम गर्ने? कतै बेबिलोनमा जस्तै त्यहाँ पनि गधाले जस्तो घोटेर काम गर्नुपर्ने हो कि?’ यी प्रश्‍नहरूको जवाफ पनि यहोवाले भविष्यवाणीहरूमार्फत दिनुभयो। उहाँले ठीक-ठीक समयमा पानी पर्नेछ भनी बताउनुभयो। यसले गर्दा अन्‍न “सप्रिएका र प्रशस्त” हुने थियो। (यशै. ३०:२३) बास र सन्तोषजनक कामको विषयमा यहोवाले आफ्ना जनहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन।” (यशै. ६५:२१, २२) हो, यहूदीहरूले मूर्तिपूजक राष्ट्र बेबिलोनमा बिताउनुपरेको निर्वासित जीवनभन्दा पुनर्स्थापित यहूदियामा बिताउने जीवन कता हो कता राम्रो हुने थियो। तर तिनीहरूका गम्भीर कमजोरीहरू पनि थिए। ती कमजोरीले गर्दा तिनीहरू बेबिलोनमा निर्वासित हुनुपरेको थियो। के ती कमजोरीहरूलाई पनि हटाउन सकिने थियो?

६. धेरै समयअघि परमेश्‍वरका जनहरूको अवस्था कस्तो थियो? निर्वासनबाट फर्कने यहूदीहरूलाई यहोवाले के आश्‍वासन दिनुभयो?

परमेश्‍वरसितको सम्बन्ध। बेबिलोनमा निर्वासित हुनुभन्दा धेरै समयअघि इस्राएलीहरू र परमेश्‍वरबीचको सम्बन्ध बिग्रिएको थियो। भविष्यवक्‍ता यशैयामार्फत यहोवाले आफ्ना जनहरूको अवस्थाबारे यसो भन्‍नुभएको थियो: “सारा शिर दु:खेको छ, र सारा हृदय हैरान भएको छ।” (यशै. १:५) प्रतीकात्मक अर्थमा तिनीहरू अन्धो अनि बहिरो भएका थिए। किनभने तिनीहरूले यहोवाको निर्देशन सुनेनन्‌ र उहाँले दिनुभएको शिक्षामा नजर लगाएनन्‌। (यशै. ६:१०; यर्मि. ५:२१; इज. १२:२) निर्वासनबाट फर्केपछि यहूदीहरूले अझै यस्तो कमजोरी देखाएमा के तिनीहरूले सुरक्षा पाउन सक्थे र? अहँ, तिनीहरूले आफ्ना पुर्खाहरूले जस्तै यहोवाको अनुमोदन गुमाउने थिए। तर यहोवाको यो प्रतिज्ञाले तिनीहरूलाई ढुक्क बनाएको हुनुपर्छ: “त्यो दिन बहिराले पुस्तकको कुरा सुन्‍नेछ, र अन्धाको आँखाले धमिलो र अँध्यारोबाट पनि देख्नेछ।” (यशै. २९:१८) हो, यहोवाले पश्‍चात्ताप गरेर सुध्रिएका आफ्ना जनहरूलाई प्रतीकात्मक अर्थमा निको पार्नु हुने थियो। ती यहूदीहरू आज्ञाकारी भइरहेमा यहोवाले निर्देशन दिइरहनुहुने थियो अनि यसले तिनीहरूको जीवन बचाउने थियो।

७. परमेश्‍वरले निर्वासित यहूदीहरूलाई गर्नुभएको प्रतिज्ञाहरू कसरी पूरा भए? ती भविष्यवाणीहरूको पूर्तिले अहिले हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउँछ?

के यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुभयो? इतिहास साक्षी छ, यहोवाले यहूदिया फर्केका यहूदीहरूको रक्षा गर्नुभयो र तिनीहरूको आवश्‍यकता प्रशस्तै गरी पूरा गरिदिनुभयो। तिनीहरूले परमेश्‍वरसित फेरि राम्रो सम्बन्ध गाँस्न सके। यहोवाले तिनीहरूलाई वरपरका शक्‍तिशाली ठूला जातिहरूबाट जोगाउनुभयो। जङ्‌गली जनावरहरूले यहूदीहरूका गाईवस्तु सखाप पारेन। हुन त हो, ती यहूदीहरूले यशैया, यर्मिया र इजकिएलजस्ता भविष्यवक्‍ताहरूले प्रमोदवनसम्बन्धी गरेका भविष्यवाणीहरू सबै पूरा भएको देख्न पाएनन्‌। तर तिनीहरूले जे-जत्ति देखे, ती देखेर तिनीहरू खुसी भए। साथै यहोवाले चाहिएकै बेला तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुभयो। यहोवाले त्यतिखेर गर्नुभएका कुराहरू मनन गर्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ। यदि ती भविष्यवाणीहरूको पहिलो पूर्ति नै त्यति उत्साहजनक थियो भने पछि अझ व्यापक रूपमा पूरा हुँदा कस्तो हुन्छ होला! आउनुहोस्‌, यहोवाले अहिले हाम्रो निम्ति के गर्नुभएको छ, विचार गरौं।

यहोवाले हाम्रो समयमा आफ्ना प्रतिज्ञाहरू कसरी पूरा गर्नुभएको छ?

८. परमेश्‍वरका जनहरू अहिले कस्तो ‘देशमा’ छन्‌?

यहोवाका जनहरू अहिले संसारका विभिन्‍न देशमा छरिएका छन्‌। तर अभिषिक्‍त ख्रीष्टियनहरू मिलेर एउटा प्रतीकात्मक राष्ट्र बनेको छ। त्यो हो, “परमेश्‍वरको इस्राएल।” (गला. ६:१६) अभिषिक्‍त ख्रीष्टियनहरू मिलेर बनेको यस राष्ट्रलाई “अरू भेडा”-ले साथ दिन्छन्‌। त्यसैले एक अर्थमा यहोवाको सङ्‌गठनलाई एउटा “देश”-सित तुलना गर्न सकिन्छ। त्यहाँ तिनीहरू एकताबद्ध भएर यहोवा परमेश्‍वरको उपासना गर्छन्‌, आफ्नो जीवनमा उहाँको उपासनालाई पहिलो स्थान दिन्छन्‌। (यूह. १०:१६; यशै. ६६:८) अनि यहोवाले हामीलाई कस्तो “देश” दिनुभएको छ? आध्यात्मिक प्रमोदवन दिनुभएको छ। प्रमोदवनको विषयमा परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू यस देशमा अर्थात्‌ यहोवाको सङ्‌गठनमा पूरा हुँदैछन्‌। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

९, १०. (क) यशैया ११:६-९ को भविष्यवाणी आज कसरी पूरा भइरहेको छ? (ख) परमेश्‍वरका जनहरू शान्तिमा बसिरहेका छन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

सुरक्षा। यशैया ११:६-९ को भविष्यवाणीमा जङ्‌गली जनावर, घरपालुवा जनावर र मानिस आपसमा मिलेर बसेको सुन्दर विवरण पाइन्छ। के यो भविष्यवाणी आज प्रतीकात्मक अर्थमा पूरा भइरहेको छ? अवश्‍य! यस पदमा हिंस्रक जनावरहरूले हानि-नोक्सानी गर्नेछैनन्‌ भनेर बताइएको छ। यो कसरी सम्भव हुनेछ? यसको जवाफ हामी पद ९ मा पाउन सक्छौं: “किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” त्यसोभए के “परमप्रभुको ज्ञानले” जनावरहरूको स्वभावै बदलिदिने हो? अहँ, त्यसो होइन। यस पदमा मानिसहरूको स्वभावमा हुने परिवर्तनबारे कुरा गरिएको छ। सर्वोच्च परमेश्‍वरलाई चिनेर उहाँ जस्तै शान्तिमा रहन सिक्दा मानिसहरूको स्वभावमा परिवर्तन आउँछ। त्यसैले आज आध्यात्मिक प्रमोदवनमा यो भविष्यवाणी मनमोहक तरिकामा पूरा भइरहेको हामी देख्न सक्छौं। परमेश्‍वरको राज्यको अधीनमा बसेका ख्रीष्टका चेलाहरूले जङ्‌गली र हिंस्रक स्वभाव त्यागेर भाइबहिनीसित शान्ति र मेलमिलापमा बस्न सिकिरहेका छन्‌।

१० उदाहरणको लागि हामीले यस किताबमा ख्रीष्टियन तटस्थताबारे छलफल गऱ्‍यौं। परमेश्‍वरका जनहरू त्यसरी तटस्थ रहनुको बाइबलआधारित कारण र तिनीहरूले भोग्नुपरेको यातनाबारे हामीले बुझ्यौं। हो, हिंसै-हिंसाले भरिएको यो संसारमा पनि कुनै किसिमको हिंस्रक गतिविधिमा भाग लिन नचाहने मानिसहरूको एउटा ठूलो “राष्ट्र” छ। आफ्नो ज्यानै जान सक्ने खतरा मोल्नुपरे तापनि तिनीहरू हिंस्रक गतिविधिमा भाग लिन इन्कार गर्छन्‌। के यो उल्लेखनीय कुरा होइन र? यशैयाले वर्णन गरेझैं मसीही राजाका प्रजा शान्तिमा बसिरहेका छन्‌ भन्‍ने कुराको यो अकाट्य प्रमाण हो। येशूले आफ्ना चेलाहरूको प्रमुख चिनारी तिनीहरूबीचको प्रेम हुनेछ भनेर बताउनुभएको थियो। (यूह. १३:३४, ३५) येशू ख्रीष्टले “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत प्रत्येक मण्डलीमा सबै ख्रीष्टियनहरूलाई शान्तिप्रिय, मायालु र नम्र हुन सिकाउँदै हुनुहुन्छ।—मत्ती २४:४५-४७.

११, १२. आज संसार कस्तो अनिकालको मारमा परेको छ? तर यहोवाले आफ्ना जनहरूलाई कसरी प्रशस्त भोजन दिनुभएको छ?

११ प्रशस्तता। आज संसार आध्यात्मिक अनिकालको मारमा परेको छ। बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “हेर्‌, यस्ता दिनहरू आउँदैछन्‌, जब म देशमा अनिकाल ल्याउनेछु—अनिकाल, जुनचाहिं नता अन्‍नको न पानीको हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्णाको अनिकाल हुनेछ।” (आमो. ८:११) के परमेश्‍वरको राज्यका नागरिकहरू पनि यो अनिकालको चपेटामा परेका छन्‌? यहोवा परमेश्‍वरले आफ्ना जनहरू र शत्रुहरूको अवस्थाबीच कस्तो भिन्‍नता हुनेछ भनेर यो भविष्यवाणी गर्नुभएको थियो: “हेर, मेरा दासहरूले खानेछन्‌, तर तिमीहरू भने भोकाउनेछौ। हेर, मेरा दासहरूले पिउनेछन्‌, तर तिमीहरू भने तिर्खाउनेछौ। हेर, मेरा दासहरूले हर्ष मनाउनेछन्‌, तर तिमीहरूचाहिं लाजमा पर्नेछौ।” (यशै. ६५:१३) के तपाईंले यो प्रतिज्ञा पूरा भइरहेको आफ्नै आँखाले देख्नुभएको छ?

१२ आज हामीले प्रशस्त गरी खँदिलो आध्यात्मिक भोजन पाइरहेका छौं। यसलाई झन्‌झन्‌ ठूलो र गहिरो हुँदै जाने नदीसित तुलना गर्न सकिन्छ। साँचो निर्देशनको अभावमा भौंतारिरहेको यो संसारमा यहोवाले आफ्नो सङ्‌गठनमार्फत्‌ किताब, पत्रपत्रिका, रेकर्डिङ, भिडियो, वेबसाइटजस्ता विभिन्‍न प्रकाशन, सभा तथा अधिवेशनको प्रबन्ध गर्नुभएको छ। यी सबै प्रबन्धबाट हामीले प्रशस्त आध्यात्मिक निर्देशन पाइरहेका छौं। (इज. ४७:१-१२; योए. ३:१८) यहोवाले प्रशस्त भोजन दिन्छु भनी गर्नुभएको प्रतिज्ञा प्रत्येक दिन पूरा भएको अनुभव गर्न पाउँदा के तपाईं प्रफुल्लित हुनुहुन्‍न र? के तपाईं नियमित रूपमा यहोवाको टेबुलबाट खाँदै हुनुहुन्छ?

मण्डलीबाट हामीले प्रशस्त आध्यात्मिक भोजन अनि सुरक्षा पाउँछौं र परमेश्‍वरसित अझ बलियो सम्बन्ध गाँस्ने मदत पनि पाउँछौं

१३. अन्धाहरूको आँखा खुल्नेछ र बहिराहरूको कानले सुन्‍नेछ भन्‍ने यहोवाको प्रतिज्ञा पूरा भएको के तपाईंले देख्नुभएको छ?

१३ परमेश्‍वरसितको सम्बन्ध। आज थुप्रै मानिसहरू आध्यात्मिक तवरमा अन्धा र बहिरा छन्‌। (२ कोरि. ४:४) तर येशू ख्रीष्टले प्रतीकात्मक अर्थमा संसारभरि निको पार्ने काम गर्दै हुनुहुन्छ। अन्धाहरूको आँखा खुलेको र बहिराहरूको कानले सुन्‍न थालेको के तपाईंले देख्नुभएको छ? आध्यात्मिक अर्थमा अन्धा र बहिराहरूले झूटो शिक्षालाई त्यागेर बाइबलले सिकाउने सही ज्ञान स्वीकारेको के तपाईंले देख्नुभएको छ? छ भने यो भविष्यवाणी पूरा भएको तपाईंले अनुभव गर्नुभएको छ: “त्यो दिन बहिराले पुस्तकको कुरा सुन्‍नेछ, र अन्धाको आँखाले धमिलो र अँध्यारोबाट पनि देख्नेछ।” (यशै. २९:१८) यसरी हरेक वर्ष संसारभरि लाखौं मानिसहरू आध्यात्मिक तवरमा निको भइरहेका छन्‌। महान्‌ बेबिलोनलाई चटक्कै त्यागेर आध्यात्मिक प्रमोदवनमा आउने हरेक व्यक्‍ति यहोवाका प्रतिज्ञाहरू पूरा भएका छन्‌ भन्‍ने कुराको जीवन्त प्रमाण हुन्‌!

१४. कस्ता प्रमाणहरूमा मनन गरिरह्‍यौं भने हाम्रो विश्‍वास बलियो हुनेछ?

१४ यस अन्तको समयमा ख्रीष्टले आफ्ना चेलाहरूलाई आध्यात्मिक प्रमोदवनमा डोऱ्‍याउनुभएको छ भन्‍ने कुराको सशक्‍त प्रमाण यस किताबको प्रत्येक अध्यायमा पाइन्छ। यस प्रमोदवनमा हामीले पाइरहेका थुप्रै आशिष्‌बारे मनन गरिरहौं। यसो गऱ्‍यौं भने यहोवाले भविष्यको विषयमा गर्नुभएका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुरामा हाम्रो विश्‍वास झन्‌झन्‌ बलियो हुँदै जानेछ।

“तपाईंको राज्य आओस्‌”

१५. पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर हामी किन पक्का हुन सक्छौं?

१५ यहोवाको उद्देश्‍य पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनु थियो। उहाँले आदम र हव्वालाई सुन्दर बगैंचामा राख्नुभयो। तिनीहरूलाई सन्तान जन्माएर पृथ्वी भर्ने र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूको हेरविचार गर्ने आज्ञा पनि दिनुभयो। (उत्प. १:२८) तर आदम र हव्वाले सैतानलाई साथ दिए र परिणामस्वरूप तिनीहरूका सन्तान त्रुटिपूर्ण भए अनि पाप र मृत्युको दलदलमा फसे। तैपनि परमेश्‍वरको उद्देश्‍य कहिल्यै परिवर्तन भएन। उहाँले भन्‍नुभएको कुरा पूरा भएरै छाड्‌छ। (यशैया ५५:१०, ११ पढ्‌नुहोस्‌) त्यसैले भविष्यमा आदम र हव्वाको सन्तानले पृथ्वी भर्नेछन्‌, यसलाई वशमा पार्नेछन्‌ अनि सुन्दर बगैंचा बनाउनेछन्‌ र यहोवाको सृष्टिको मायालु हेरविचार गर्नेछन्‌ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं। त्यतिबेला प्रमोदवनबारे निर्वासनमा रहेका यहूदीहरूलाई बताइएको भविष्यवाणी पूर्ण रूपमा पूरा हुनेछ! केही उदाहरण केलाऔं।

१६. प्रमोदवनमा हामीले पाउने सुरक्षाबारे बाइबलले के बताएको छ?

१६ सुरक्षा। अन्ततः यशैया ११:६-९ मा बताइएको सुन्दर भविष्यवाणीको एक-एक शब्द पूरा हुनेछ। मानिसहरू पृथ्वीको जुनसुकै कुनामा सुरक्षित हुनेछन्‌। कुनै जनावर वा मानिसले तिनीहरूलाई हानि पुऱ्‍याउने छैन। कल्पना गर्नुहोस्‌, पूरै पृथ्वी तपाईंको सुन्दर घर हुनेछ। तपाईं खोला, ताल र समुद्रमा पौडी खेल्न सक्नुहुन्छ। हिंड्‌दै डाँडाकाँडा काट्‌न सक्नुहुन्छ। जङ्‌गलमा निष्फिक्री टहल्न सक्नुहुन्छ। अनि रात परेपछि पनि डराउनुपर्ने छैन। इजकिएल ३४:२५ का शब्दहरू पूरा हुनेछन्‌ र परमेश्‍वरका जनहरू “निर्धक्क भएर खुला चौरमा बस्नेछन्‌ र उजाड-स्थानमा सुत्न सक्नेछन्‌।”

१७. परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्न थालेपछि यहोवाले हाम्रा आवश्‍यकताहरू प्रशस्तै गरी पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौं?

१७ प्रशस्तता। गरिबी, कुपोषण र अनिकालजस्ता कुराहरूको नामोनिसानै रहनेछैन। परमेश्‍वरका जनहरूले अहिले प्रशस्त आध्यात्मिक भोजन पाइरहेको कुरा नै मसीही राजाले आफ्नो प्रजालाई आध्यात्मिक अनि शारीरिक तवरमा तृप्त पार्नुहुनेछ भन्‍ने कुराको ग्यारेन्टी हो। यी प्रतिज्ञाहरू पूरा गर्न येशू सक्षम हुनुहुन्छ भन्‍ने कुराको झलक पृथ्वीमा छँदा उहाँले गर्नुभएका चमत्कारहरूले दिन्छ। जस्तै, उहाँले केही रोटी र माछाले हजारौं भोका मानिसहरूको पेट भर्नुभयो। (मत्ती १४:१७, १८; १५:३४-३६; मर्कू. ८:१९, २०) परमेश्‍वरको राज्यले पूरै पृथ्वीमा शासन गर्दा यो भविष्यवाणी शाब्दिक अर्थमै पूरा हुनेछ: “तिमीहरूले भूमिमा छर्ने बिउका निम्ति पानी, भूमिको उब्जनी, अर्थात्‌ अन्‍न उहाँलेनै दिनुहुनेछ, जो सप्रिएका र प्रशस्त हुनेछन्‌। त्यसदिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्‌।”—यशै. ३०:२३.

१८, १९. (क) यशैया ६५:२०-२२ मा गरिएको भविष्यवाणी तपाईंको लागि किन महत्त्वपूर्ण छ? (ख) कुन अर्थमा हाम्रो आयु “रूखको आयु” जस्तो हुनेछ?

१८ आजको संसारमा आफ्नै आरामदायी घर, सन्तोषजनक काम हुनु थुप्रै मानिसको लागि सपनाको कुरा जस्तै भइसक्यो। यो भ्रष्ट संसारमा हड्डी घोटेर काम गरे तापनि आफू र आफ्नो परिवारको लागि दुई छाक टार्न समेत मुस्किल भएको थुप्रैले महसुस गर्छन्‌। काम गर्ने कालु, मकै खाने भालु भनेझैं धनी र लोभी मानिसहरूले नै पैसा र अरू असल-असल कुरा कुम्ल्याउँछन्‌। तर सोच्नुहोस्‌ त, यो भविष्यवाणी संसारभरि पूरा हुँदा कस्तो हुनेछ होला: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।”—यशै. ६५:२०-२२.

१९ हाम्रो आयु “रूखको आयु” जस्तो हुनेछ भन्‍नुको अर्थचाहिं के हो? एउटा ठूलो रूखको फेदमा बस्दा के तपाईंले कहिल्यै यस्तो सोच्नुभएको छ: ‘यो रूख कति वर्ष भयो होला! सायद मेरो हजुरबुबा, हजुरआमाको पालाभन्दा पनि धेरै अघिदेखि यो रूख थियो कि? म अहिलेकै अवस्थामा रहिरहनुपऱ्‍यो भने त यो रूख मभन्दा धेरै बाँच्नेछ। म मरेको धेरै समयपछि मान्छेहरूले मलाई बिर्सिसकेका हुनेछन्‌। तर यो रूख चाहिं त्यतिबेलासम्म पनि ज्यूँ का त्यूँ हुनेछ। यसको आयु पो कत्ति लामो!’ तर यहोवाले हाम्रो निम्ति कत्ति मायालु प्रतिज्ञा गर्नुभएको छ! आउनै लागेको प्रमोदवनमा हाम्रो आयु लामो हुनेछ र हामी शान्तिसित बस्न पाउनेछौं भनेर उहाँले भन्‍नुभएको छ। (भज. ३७:११, २९) त्यतिबेला हामीलाई लामो आयु भएको रूख पनि दुई दिनमै सुकेर जाने घाँसजस्तै लाग्नेछ। तर हामी भने सधैंभरि बाँच्नेछौं!

२०. परमेश्‍वरको राज्यका वफादार प्रजा कसरी पूर्ण रूपमा स्वस्थ हुनेछन्‌?

२० सुस्वास्थ्य। अहिले रोगबिमार र मृत्युबाट कोही पनि अछुतो छैन। एक अर्थमा हामी सबै जना बिरामी छौं। हामी प्राणघातक रोगबाट ग्रस्त छौं। त्यो रोग हो, पाप। यसको उपचार एउटै मात्र छ र त्यो हो, ख्रीष्टको फिरौतीको बलिदान। (रोमी ३:२३; ६:२३) हजार वर्षीय शासनको दौडान येशू र उहाँसँगै शासन गर्नेहरूले मानिसहरूलाई त्यस बलिदानको पूरापूर लाभ उठाउन मदत गर्नेछन्‌। त्यसपछि सबै वफादार मानिसहरू पापको बन्धनबाट मुक्‍त हुनेछन्‌। यशैयाको यो भविष्यवाणी शाब्दिक अर्थमै पूरा हुनेछ: “कसैले पनि ‘म बिरामी छु’ भन्‍नेछैनन्‌ अनि त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन्‌।” (यशै. ३३:२४, NRV) त्यतिबेला कोही पनि अन्धो, बहिरो वा लङ्‌गडो हुने छैन। (यशैया ३५:५, ६ हेर्नुहोस्‌) येशूले निको पार्न नसक्ने रोग कुनै पनि छैन। उहाँले शारीरिक, मानसिक र भावनात्मक सबै किसिमको रोग निको पार्नुहुनेछ। परमेश्‍वरको राज्यका सबै वफादार प्रजा पूर्णतया स्वस्थ हुनेछन्‌!

२१. मृत्युलाई के हुनेछ र यो प्रतिज्ञा तपाईंलाई किन सान्त्वनादायी लाग्छ?

२१ अनि रोगबिमारको अन्तिम नतिजा र पापको ज्याला अर्थात्‌ मृत्युलाई चाहिं के हुनेछ? मृत्यु हाम्रो अन्तिम “शत्रु” हो। ढिलो होस्‌ वा चाँडो, सबै त्रुटिपूर्ण मानिसहरू यसको सिकार हुन्छन्‌। (१ कोरि. १५:२६) के यहोवाले मृत्युलाई वशमा पार्नुहुनेछ? यशैयाले के भने याद गर्नुहोस्‌: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशै. २५:८) त्यतिबेला कसैको अन्त्येष्टि गर्नुपर्ने छैन वा चिहान बनाउनुपर्ने छैन! कसैको बिछोडमा आँसु बगाउनुपर्ने छैन! त्यसको साटो धेरैको आँखाबाट खुसीको आँसु झर्नेछ। किनभने यहोवाले मरेकाहरूलाई पुनर्जीवित पार्ने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ! (यशैया २६:१९ पढ्‌नुहोस्‌) मृत्युले दिएका सबै चोट निको हुनेछ।

२२. परमेश्‍वरको राज्यले उहाँको इच्छा पृथ्वीमा पूरा गरिसकेपछि के हुनेछ?

२२ हजार वर्षीय शासनको अन्तसम्ममा परमेश्‍वरको राज्यले उहाँको इच्छा पृथ्वीमा पूरा गरिसकेको हुनेछ। त्यसपछि येशू ख्रीष्टले उहाँको बुबालाई शासन सुम्पनुहुनेछ। (१ कोरि. १५:२५-२८) सैतानलाई अगाध खाडल अर्थात्‌ निष्क्रिय अवस्थाबाट मुक्‍त गरिनेछ। सबै मानिसहरू त्रुटिरहित भइसकेका हुनेछन्‌ र तिनीहरू सैतानले ल्याउने अन्तिम परीक्षाको लागि तयार हुनेछन्‌। अन्तिम परीक्षापछि ख्रीष्टले त्यस दुष्ट सैतान र त्यसका सबै समर्थकहरूलाई नाश गर्नुहुनेछ। (उत्प. ३:१५; प्रका. २०:३, ७-१०) तर वफादार भई यहोवालाई प्रेम गर्ने सबै मानिसहरूले सुन्दर भविष्यको आनन्द उठाउनेछन्‌। त्यतिबेला हुने कुरालाई बाइबलका यी शब्दहरूले असाध्यै राम्ररी वर्णन गर्छ: वफादार मानिसहरूले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछन्‌।—रोमी ८:२१.

मानिसजाति र पृथ्वीबारे यहोवाले गर्नुभएका सम्पूर्ण प्रतिज्ञाहरू उहाँको राज्यले पूरा गर्नेछ

२३, २४. (क) परमेश्‍वरका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भनेर हामी किन भन्‍न सक्छौं? (ख) तपाईंले के गर्ने अठोट गर्नुभएको छ?

२३ यी प्रतिज्ञा खोक्रो आशा वा सपना मात्र होइनन्‌। यहोवाका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌! हामी किन यसो भन्‍न सक्छौं? यस किताबको सुरुको अध्यायमा छलफल गरेको येशूका शब्दहरू सम्झनुहोस्‌। उहाँले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभएको थियो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ती ६:९, १०) परमेश्‍वरको राज्य काल्पनिक होइन; यो वास्तविक सरकार हो! यसले अहिले स्वर्गमा शासन गर्दै छ। बितेको १०० वर्षदेखि यसले ख्रीष्टियन मण्डलीमा यहोवाका प्रतिज्ञाहरू पूरा गरिरहेको हामीले स्पष्टै देख्न सकेका छौं। त्यसैले, यस राज्यले पृथ्वीमा पूरै अधिकार गर्दा यहोवाका सबै प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर हामी पक्का हुन सक्छौं।

२४ परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्नेछ भन्‍ने कुरामा हामी पक्का छौं। यहोवाका एक-एक प्रतिज्ञा पूरा हुनेछन्‌ भनेर पनि हामी विश्‍वस्त छौं। किन? किनभने परमेश्‍वरको राज्यले शासन गर्दै छ! हामी सबैले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के परमेश्‍वरको राज्यको अधीनमा बसिरहेको छु?’ आउनुहोस्‌, अहिलेदेखि नै त्यस राज्यको वफादार प्रजा बन्‍ने सक्दो प्रयास गरौं। यसो गऱ्‍यौं भने हामीले सधैंभरि परमेश्‍वरको त्रुटिरहित अनि न्यायी राज्यमा बस्न पाउनेछौं!