सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८

आपत्‌विपत्‌ आइपर्दा

आपत्‌विपत्‌ आइपर्दा

“तिमीहरू आफै पनि ठूलो रमाहट गर्छौ। तथापि, विभिन्‍न परीक्षाहरूले गर्दा अहिले केही समयका लागि भने तिमीहरूले दुःख भोग्नु आवश्‍यक छ।”—१ पत्रुस १:६

परिवार सुखी बनाउन जति नै प्रयास गरे तापनि सोच्दै नसोचेको परिस्थिति आइपर्दा तपाईंको सबै प्रयास माटोमा मिल्छ। (उपदेशक ९:११) आपत्‌विपत्‌ आइपर्दा परमेश्‍वरले हामीलाई मायालु तरिकामा मदत गर्नुहुन्छ। अब छलफल गरिने बाइबलका सल्लाहहरू लागू गर्नुभयो भने तपाईं र तपाईंको परिवारले जस्तोसुकै कठिन अवस्थाको पनि सामना गर्न सक्नुहुनेछ।

१ यहोवामाथि भरोसा राख्नुहोस्‌

बाइबल के भन्छ? “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) आफूमाथि आइपरेको दुःखकष्टको लागि परमेश्‍वरलाई दोष दिन मिल्दैन भनेर कहिल्यै नबिर्सनुहोस्‌। (याकूब १:१३) परमेश्‍वरसित राम्रो सम्बन्ध बनाउँदै लैजानुभयो भने उहाँले तपाईंलाई मदत गर्नुहुनेछ। (यशैया ४१:१०) त्यसैले ‘उहाँको सामने आफ्नो हृदयको दुःख पोखाउनुहोस्‌।’—भजन ६२:८.

दिनदिनै बाइबल पढ्‌ने अनि अध्ययन गर्ने बानी बसाल्नुहोस्‌। यसो गर्दा यहोवाले “हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ” भनेर आफैले अनुभव गर्न सक्नुहुनेछ। (२ कोरिन्थी १:३, ४; रोमी १५:४) उहाँले तपाईंलाई ‘शान्ति’ दिने प्रतिज्ञा गर्नुभएको छ, “जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।”—फिलिप्पी ४:६, ७, १३.

यसो गरेर हेर्नुहोस्‌:

  • शान्त रहन र राम्ररी सोचविचार गर्न यहोवासित मदत माग्नुहोस्‌।

  • तपाईं के-के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌ अनि सबैभन्दा राम्रो लागेको उपाय अपनाउनुहोस्‌।

२ आफ्नो अनि परिवारको ख्याल राख्नुहोस्‌

बाइबल के भन्छ? “विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।” (हितोपदेश १८:१५, NRV) परिवारका प्रत्येक सदस्यलाई के-कस्तो मदत चाहिन्छ, विचार गर्नुहोस्‌। तिनीहरूको भावना बुझ्ने कोसिस गर्नुहोस्‌। त्यसपछि तिनीहरूसित कुरा गर्नुहोस्‌ अनि ध्यान दिएर सुन्‍नुहोस्‌।—हितोपदेश २०:५.

आफूले माया गरेको व्यक्‍ति बित्यो भने नि? आफ्नो भावना मनमा दबाएर नराख्नुहोस्‌। येशूले समेत आफ्नो भावना व्यक्‍त गर्न अप्ठ्यारो मान्‍नुभएन। उहाँ पनि ‘रुनुभएको थियो।’ (यूहन्‍ना ११:३५; उपदेशक ३:४) साथै पर्याप्त आराम गर्नुहोस्‌ र निद्रा पुग्नेगरि सुत्नुहोस्‌। (उपदेशक ४:६) यसो गर्दा कठिन परिस्थितिको सामना गर्न अलि सजिलो हुनेछ।

यसो गरेर हेर्नुहोस्‌:

  • परिवारसित कुराकानी गर्ने बानी बसाल्नुहोस्‌। यसो गर्नुभयो भने समस्या आइपर्दा तपाईंसित कुरा गर्न तिनीहरूलाई सजिलो लाग्नेछ।

  • आफूले जस्तै समस्या भोगेकाहरूसित कुरा गर्नुहोस्‌।

३ मदत माग्नुहोस्‌

बाइबल के भन्छ? “मित्र सब समय एक प्रेमी साथी हुन्छ।” ऊ दुःखमा साथ दिनलाई जन्मेको दाजुभाइजस्तै हुन्छ। (हितोपदेश १७:१७) साथीहरू तपाईंलाई मदत गर्न चाहन्छन्‌ होला तर कसरी गर्ने भनेर तिनीहरूलाई थाह नहुन सक्छ। आफूलाई कस्तो किसिमको मदत चाहिएको हो, साथीलाई बताउन नहिचकिचाउनुहोस्‌। (हितोपदेश १२:२५) साथै बाइबलको सल्लाह कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर बाइबलको कुरा राम्ररी बुझेकाहरूसित मदत माग्नुहोस्‌। त्यस्तो सल्लाहले सही कदम चाल्न मदत मिल्नेछ।—याकूब ५:१४.

परमेश्‍वरलाई विश्‍वास गर्ने र उहाँका प्रतिज्ञाहरूमा भरोसा गर्ने मानिसहरूसित सरसङ्‌गत गर्दा पनि तपाईंले आवश्‍यक मदत पाउन सक्नुहुन्छ। सान्त्वना चाहिएका मानिसहरूलाई मदत गर्नुभयो भने पनि तपाईंको दुःख कम हुनेछ। यहोवा र उहाँका प्रतिज्ञाहरूबारे सिकेको कुरा उनीहरूलाई बताउनुहोस्‌। खाँचोमा परेकाहरूलाई मदत गर्ने काममा सधैं व्यस्त भइरहनुहोस्‌। तपाईंलाई माया गर्ने र तपाईंको चासो राख्ने व्यक्‍तिहरूसित घुलमिल हुनुहोस्‌; एक्लै धुमधुम्ती नबस्नुहोस्‌।—हितोपदेश १८:१; १ कोरिन्थी १५:५८.

यसो गरेर हेर्नुहोस्‌:

  • मिल्ने साथीसित कुरा गर्नुहोस्‌ र ऊ मदत गर्न चाहन्छ भने स्वीकार्नुहोस्‌।

  • आफूलाई के-कस्तो मदत चाहिएको हो, नहिचकिचाई बताउनुहोस्‌।