अध्याय १९
सामरियाली स्त्रीलाई सिकाउनुहुन्छ
-
येसु सामरियाली स्त्री र अरूलाई सिकाउनुहुन्छ
-
परमेश्वरले स्विकार्नुहुने उपासना
यहुदियाबाट गालिल जान येसु र उहाँका चेलाहरू उत्तरतिर सामरियाको बाटो हुँदै यात्रा गर्नुहुन्छ। उहाँहरू यात्राको कारण थाक्नुभएको छ। मध्यान्हतिर उहाँहरू सुखार सहरनजिकको एउटा इनारमा थकाइ मार्न बस्नुहुन्छ, जुन इनार सयौँ वर्षअघि याकुबले खनेको वा तिनले खन्न लगाएको हुनुपर्छ। त्यो इनार अहिले पनि नाब्लस भनिने सहरनजिकै छ।
येसु त्यो इनारनजिकै थकाइ मार्न बस्नुहुँदा उहाँका चेलाहरू खानेकुरा किन्न नजिकैको सहरमा जान्छन्। त्यसैबेला एउटी सामरियाली स्त्री पानी भर्न इनारमा आउँछे। येसु उसलाई यसो भन्नुहुन्छ: “मलाई पानी पिउन देऊ।”—युहन्ना ४:७.
यहुदीहरू र सामरियालीहरूबीच गहिरो पूर्वाग्रह भएकोले तिनीहरू साधारणतया आपसमा कुनै सम्बन्ध राख्दैनन्। त्यसैले ती स्त्री छक्क पर्दै यसो भन्छे: “तपाईँ यहुदी भईकन म सामरियाली आइमाईसित कसरी पानी माग्नुहुन्छ?” येसु उसलाई यस्तो जवाफ दिनुहुन्छ: “परमेश्वरले सित्तैँमा दिनुहुने वरदान तिमीले थाह पाएकी भए अनि ‘मलाई पानी पिउन देऊ’ भन्नेलाई चिनेकी भए तिमीले ऊसित माग्ने थियौ अनि उसले तिमीलाई जीवन दिने पानी दिने थियो।” ऊ यसो भन्छे: “हजुर, इनार गहिरो छ अनि तपाईँसित पानी उघाउने बाल्टीसमेत छैन। तब तपाईँसित जीवन दिने पानी कहाँबाट आयो? हाम्रा पुर्खा याकुब, जसले हामीलाई यो इनार दिनुभयो अनि जसले यही इनारबाट पानी पिउनुभयो र जसका छोराहरू अनि गाईवस्तुले पनि यही इनारबाट पिए, के तपाईँ उहाँभन्दा महान् हुनुहुन्छ र?”—युहन्ना ४:९-१२.
येसु यसो भन्नुहुन्छ: “जसले यो पानी पिउँछ, ऊ फेरि तिर्खाउँछ तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन। बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।” (युहन्ना ४:१३, १४) हो, येसु थाक्नुभएको छ तैपनि उहाँ त्यस सामरियाली स्त्रीलाई जीवन दिने पानी बाँड्न इच्छुक हुनुहुन्छ।
त्यसपछि त्यो स्त्री यसो भन्छे: “हजुर, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउन नपरोस् अनि पानी भर्न यहाँ घरिघरि आइरहन नपरोस्।” अब येसु कुराकानीको विषय परिवर्तन गर्दै उसलाई यसो भन्नुहुन्छ: “जाऊ, तिम्रो पतिलाई बोलाएर यहाँ ल्याऊ।” ऊ यस्तो जवाफ दिन्छे: “मेरो पति छैन।” तर उसको विषयमा येसुले यसो भन्नुहुँदा ऊ कत्ति छक्क पर्छे होला: “‘मेरो पति छैन’ भनेर तिमीले ठीकै भन्यौ। किनकि तिम्रो पाँच जना पति भइसकेका छन् र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊ तिम्रो पति होइन।”—युहन्ना ४:१५-१८.
येसुको कुरा सुनेपछि त्यो स्त्री छक्क पर्दै यसो भन्छे: “हजुर, तपाईँ पक्कै भविष्यवक्ता हुनुहुन्छ।” त्यसपछि उसले आध्यात्मिक कुराप्रति चासो भएको कुरा देखाउँछे। कसरी? ऊ यसो भन्छे: “हाम्रा पुर्खाहरूले [सामरियालीहरूले] यस डाँडामा [नजिकैको गिरिज्जिम डाँडामा] उपासना गरे तर तपाईँहरू [यहुदीहरू] भने मानिसहरूले उपासना गर्नुपर्ने ठाउँ यरुसलेम हो भन्नुहुन्छ।”—युहन्ना ४:१९, २०.
तर येसु उपासना गर्ने ठाउँ महत्त्वपूर्ण होइन भन्ने कुरा बुझाउनुहुन्छ। उहाँ यसो भन्नुहुन्छ: “यस्तो बेला आउनेछ, जब तिमीहरूले न यस डाँडामा न त यरुसलेममा परमेश्वरको उपासना गर्नेछौ।” त्यसपछि उहाँ यसो भन्नुहुन्छ: “बेला आउँछ र त्यो अहिल्यै हो, जब साँचो उपासकहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन् किनकि परमेश्वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।”—युहन्ना ४:२१, २३, २४.
परमेश्वरले साँचो उपासकहरूमा हेर्नुहुने कुरा तिनीहरूले कहाँ उपासना गर्छन् भन्ने होइन, बरु कसरी उपासना गर्छन् भन्ने हो। येसुले भन्नुभएको कुराले त्यो स्त्रीको मन छुन्छ र ऊ यसो भन्छे: “ख्रिष्ट भनिने मसीह आउँदै हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँ आउनुभएपछि हामीलाई सबै कुरा खुलस्त बताउनुहुनेछ।”—त्यसपछि येसु यो महत्त्वपूर्ण सत्य प्रकट गर्नुहुन्छ: “त्यो मानिस मै हुँ, जो अहिले तिमीसित कुरा गर्दै छ।” (युहन्ना ४:२६) मध्यदिनमा पानी भर्न आएकी त्यस स्त्रीलाई येसु विशेष तरिकामा निगाह देखाउनुहुन्छ। उहाँले त्यस बेलासम्म कसैलाई पनि खुलस्त तरिकामा नभनेको कुरा त्यस स्त्रीलाई सीधै बताउनुहुन्छ। हो, उहाँले आफूलाई मसीहको रूपमा चिनाउनुहुन्छ।
धेरै सामरियालीहरू विश्वास गर्न थाल्छन्
येसुका चेलाहरू सुखारबाट खानेकुरा लिएर फर्कन्छन्। तिनीहरूले येसुलाई याकुबको इनारमै एउटी सामरियाली स्त्रीसित कुरा गरिरहनुभएको देख्छन्। चेलाहरू आएपछि त्यो स्त्री आफ्नो घैँटो त्यहीँ छोडेर सहरतर्फ लाग्छे।
सुखार सहरमा पुगेपछि त्यस स्त्रीले येसुले भन्नुभएका कुराहरू मानिसहरूलाई सुनाउँछे। विश्वस्त हुँदै ऊ यसो भन्छे: “आउनुहोस्, एक जना मानिसलाई हेर्नुहोस्, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो।” त्यसपछि सबैको जिज्ञासा जगाउन ऊ यस्तो प्रश्न गर्छे: “कतै उहाँ ख्रिष्ट त हुनुहुन्न?” (युहन्ना ४:२९) यो साँच्चै महत्त्वपूर्ण प्रश्न हो किनभने मोसाको समयदेखि नै यो प्रश्न मानिसहरूको लागि खुलदुलीको विषय बनेको छ। (व्यवस्था १८:१८) यो प्रश्नले गर्दा सुखारका मानिसहरू आफै गएर येसुलाई हेर्न उत्प्रेरित हुन्छन्।
त्यतिन्जेल चेलाहरू येसुलाई तिनीहरूले ल्याएको खानेकुरा खान आग्रह गर्छन्। तर उहाँ यस्तो जवाफ दिनुहुन्छ: “मसँग यस्तो खानेकुरा छ, जसबारे तिमीहरूलाई थाह छैन।” यो सुनेर चेलाहरू छक्क पर्छन् र आपसमा यसो भन्न थाल्छन्: “कतै उहाँलाई कसैले खानेकुरा ल्याइदियो कि?” त्यसपछि येसु आफूले भन्न खोजेको कुरा यसरी स्पष्ट पार्नुहुन्छ: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (युहन्ना ४:३२-३४) यी शब्दहरूले उहाँका सबै अनुयायीको लागि गहिरो अर्थ राख्छ।
यहाँ येसुले चेला बनाउने कामबारे कुरा गरिरहनुभएको हो। त्यसैले उहाँ यसो भन्नुहुन्छ: “बाली काट्ने समय आउन अझ चार महिना बाँकी छ भनेर के तिमीहरू भन्दैनौ? तर हेर, म तिमीहरूलाई भन्छु: आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्। बाली काट्नेले अहिल्यै आफ्नो ज्याला पाउँदै छ र अनन्त जीवनका लागि फसल बटुल्दै छ ताकि बिउ छर्ने र काट्ने सँगसँगै रमाऊन्।”—त्यस सामरियाली स्त्रीसितको कुराकानीले कस्तो नतिजा ल्याउनेछ भनेर सायद येसुले पहिल्यै बुझिसक्नुभएको छ। त्यो स्त्री मानिसहरूलाई यसो भन्दै छे: “मैले गरेका सबै काम उहाँले मलाई बताइदिनुभयो।” (युहन्ना ४:३९) त्यस स्त्रीले दिएको साक्षीले गर्दा सुखारका थुप्रै मानिसले येसुमा विश्वास गर्न थालेका छन्। त्यसैले जब मानिसहरू इनारमा आइपुग्छन्, तिनीहरू येसुलाई अझै केही दिन तिनीहरूसितै बस्न र अझ धेरै कुरा बताउन आग्रह गर्छन्। येसु तिनीहरूको निम्तो स्विकार्नुहुन्छ र दुई दिनसम्म सामरियामै बस्नुहुन्छ।
येसुको कुरा सुनेर अझ धेरै सामरियालीले उहाँमाथि विश्वास गर्न थाल्छन्। तिनीहरू त्यस स्त्रीलाई यसो भन्छन्: “अब तिम्रो कुराको भरमा मात्र हामीले विश्वास गरेका होइनौँ किनकि हामी आफैले उहाँको कुरा सुन्यौँ र उहाँ साँच्चै संसारको उद्धारक हुनुहुन्छ भनेर हामीलाई थाह भयो।” (युहन्ना ४:४२) हो, हामी ख्रिष्टबारे कसरी साक्षी दिन सक्छौँ भन्ने सम्बन्धमा सामरियाली स्त्रीले राम्रो उदाहरण बसालेकी छे। मानिसहरूमा कौतूहलता जगाउनु महत्त्वपूर्ण छ। यसो गरेमा उनीहरू हाम्रो कुरा सुन्न अझ उत्साहित हुन्छन्।
यो कुरा पनि नबिर्सनुहोस्, बाली काट्ने समय—सम्भवतः जौ काट्ने समय आउन चार महिना बाँकी छ। यो काम यस इलाकामा वसन्त ऋतुमा गरिन्छ। त्यसैले अहिले नोभेम्बर वा डिसेम्बर महिना हुनुपर्छ। यसको अर्थ, इस्वी संवत् ३० को निस्तार चाडपछि येसु र उहाँका चेलाहरूले सिकाउँदै र बप्तिस्मा गराउँदै यहुदियामा आठ महिनाजति बिताइसक्नुभएको छ। अब उहाँहरू उत्तरमा पर्ने आफ्नो गृहनगर गालिलतर्फ जानुहुन्छ। त्यहाँ के हुन्छ?