सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २४

गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ

गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ

मत्ति ४:२३-२५ मर्कुस १:३५-३९ लुका ४:४२, ४३

  • येसु आफ्ना चार जना चेलासँग सारा गालिल घुम्नुहुन्छ

  • उहाँको प्रचारकार्य र कीर्तिबारे धेरैले थाह पाउँछन्‌

कफर्नहुममा येसु र उहाँका चार जना चेला दिनभरि व्यस्त हुनुहुन्छ। साँझपख कफर्नहुमका मानिसहरूले बिरामीहरूलाई उहाँकहाँ ल्याउँछन्‌। उहाँले बिरामीहरूलाई निको पारिदिएको तिनीहरू चाहन्छन्‌। येसुले एक्लै बस्ने समय नै पाउनुहुन्‍न।

भोलिपल्ट बिहान झिसमिसेमै उहाँ उठ्‌नुहुन्छ र एक्लै बाहिर निस्कनुहुन्छ। उहाँ आफ्नो बुबालाई प्रार्थना गर्न एउटा सुनसान ठाउँ भेट्टाउनुहुन्छ। तर येसु धेरै बेर एक्लै बस्न पाउनुहुन्‍न। येसुलाई नदेखेपछि “सिमोन र तिनीसँग भएकाहरूले” उहाँलाई धुइँधुइँती खोज्न थाल्छन्‌। येसु पत्रुसको घरमा बस्नुभएकोले उहाँलाई खोज्न तिनी नै अग्रसर भएका हुन सक्छन्‌।—मर्कुस १:३६; लुका ४:३८.

येसुलाई भेट्टाएपछि पत्रुस यसो भन्छन्‌: “सबै जना तपाईँलाई खोज्दै छन्‌।” (मर्कुस १:३७) स्पष्ट छ, कफर्नहुमका मानिसहरू येसु त्यहीँ बस्नुभएको चाहन्छन्‌। उहाँले गर्नुभएका कामहरूको तिनीहरू कदर गर्छन्‌। त्यसैले “उहाँ तिनीहरूलाई छोडेर कतै नजाऊन्‌ भनी तिनीहरूले उहाँलाई रोक्न” खोज्छन्‌। (लुका ४:४२) तर के येसु पृथ्वीमा आउनुको मुख्य कारण चमत्कार गरेर बिरामीहरूलाई निको पार्न हो? अनि उहाँले आफ्नो गतिविधि त्यही इलाकामा मात्र सीमित गर्नु के ठीक हो? उहाँ यसबारे के भन्‍नुहुन्छ?

येसु आफ्ना चेलाहरूलाई यस्तो जवाफ दिनुहुन्छ: “हामी अन्त कतै नजिकैको साना सहरहरूमा जाऔँ ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ किनकि म यसैको लागि आएको हुँ।” उहाँ त्यहीँ बस्नुभएको चाहने मानिसहरूलाई पनि येसु यसो भन्‍नुहुन्छ: “मैले अरू सहरमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”—मर्कुस १:३८; लुका ४:४३.

हो, येसु पृथ्वीमा आउनुको एउटा मुख्य कारण परमेश्‍वरको राज्यबारे प्रचार गर्न हो। त्यस राज्यले उहाँको बुबाको नामलाई पवित्र पार्नेछ र मानिसहरूले भोगिरहेका दुःखकष्टलाई सधैँको लागि हटाउनेछ। चमत्कारपूर्ण ढङ्‌गमा बिरामीहरूलाई निको पारेर उहाँले आफू परमेश्‍वरद्वारा पठाइएको व्यक्‍ति भएको प्रमाण दिनुहुन्छ। सयौँ वर्षअघि मोसाले पनि आफू परमेश्‍वरद्वारा पठाइएको व्यक्‍ति भएको प्रमाण दिन चमत्कारहरू गरेका थिए।—प्रस्थान ४:१-९, ३०, ३१.

त्यसैले अन्य ठाउँमा पनि प्रचार गर्न उहाँ आफ्ना चार जना चेलासँगै कफर्नहुमबाट निस्कनुहुन्छ। यी चार जना चेला हुन्‌: पत्रुस र तिनको भाइ अन्द्रियास अनि युहन्‍ना र तिनको भाइ याकुब। एक हप्ताअघि मात्रै येसुले तिनीहरूलाई उहाँसँगै यात्रा गर्ने पहिलो सहकर्मीहरू हुन बोलाउनुभएको थियो।

येसुले यी चार जना चेलासँगै गालिलमा गर्नुभएको प्रचारकार्य सफल हुन्छ। येसुबारे चारैतिर खबर फैलिन्छ। “उहाँको कीर्ति सारा सिरियाभरि,” डेकापोलिस भनिने दस वटा सहरको इलाकामा अनि यर्दन नदीको पारिपट्टिका इलाकाहरूमा फैलिन्छ। (मत्ति ४:२४, २५) यहुदियालगायत यी इलाकाहरूबाट आएका हुलका हुल मानिसहरू येसु र उहाँका चेलाहरूको पछि लाग्छन्‌। थुप्रैले बिरामीहरूलाई उहाँकहाँ ल्याउँछन्‌। येसु तिनीहरूलाई निराश पार्नुहुन्‍न—उहाँ बिरामीहरूलाई निको पार्नुहुन्छ अनि प्रेतले सताएका मानिसहरूबाट प्रेतहरूलाई धपाउनुहुन्छ।