सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ५१

जन्मदिनको भोजमा हत्या

जन्मदिनको भोजमा हत्या

मत्ति १४:१-१२ मर्कुस ६:१४-२९ लुका ९:७-९

  • हेरोदले युहन्‍नाको टाउको काट्‌ने हुकुम दिन्छन्‌

येसुका प्रेषितहरू गालिलमा सेवाको काममा लागिरहेका छन्‌। तर येसुलाई चिनाउने व्यक्‍तिले भने त्यस्तो स्वतन्त्रता पाएका छैनन्‌। बप्तिस्मा गराउने युहन्‍ना झ्यालखानामा परेको झन्डै दुई वर्ष भइसकेको छ।

हेरोद एन्टिपासले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका छन्‌। तर यो गलत हो भनेर युहन्‍नाले खुलेआम भनेका थिए। हेरोदियाससित विवाह गर्न हेरोदले आफ्नो जेठी पत्नीसित सम्बन्धविच्छेद गरेका थिए। हेरोद मोसाको व्यवस्था पालन गरेको दाबी गर्छन्‌। तर यही व्यवस्थाअनुसार यसरी विवाह गर्नु व्यभिचार हो र गैर-कानुनी पनि हो। युहन्‍नाले हेरोदको गल्ती देखाइदिएकोले उनले सायद हेरोदियासको कुरा सुनेर तिनलाई झ्यालखानामा हालेका थिए।

युहन्‍नालाई के गर्ने हो भनेर हेरोद अन्योलमा छन्‌ किनभने मानिसहरू ‘युहन्‍नालाई भविष्यवक्‍ता ठान्छन्‌।’ (मत्ति १४:५) तर हेरोदियासलाई त्यस्तो दुबिधा छैन। “हेरोदियासले मनमा ईख पालिराखेकी” छिन्‌ र उनी युहन्‍नालाई मार्ने मौका खोजिरहेकी छिन्‌। (मर्कुस ६:१९) बल्ल उनले त्यो मौका पाउँछिन्‌।

इस्वी संवत्‌ ३२ को निस्तार चाडको केही समयअघि हेरोदले आफ्नो जन्मदिनको उपलक्ष्यमा ठूलो भोजको आयोजना गर्छन्‌। हेरोदका उच्च पदाधिकारीहरू, सेनापतिहरू र गालिलका गण्यमान्य मानिसहरू सबै भोजको लागि भेला हुन्छन्‌। भोजमा हेरोदियासको पहिलो पति फिलिपबाट जन्मेकी जवान छोरी सलोमीलाई पाहुनाहरूको अगाडि नाच्न भनिन्छ। तिनको नाच हेरेर पाहुनाहरू मक्ख पर्छन्‌।

हेरोद सलोमीसित असाध्यै खुसी हुन्छन्‌ र यसो भन्छन्‌: “तिमीलाई जे इच्छा लाग्छ, मसित माग र त्यो म तिमीलाई दिनेछु।” उनी यस्तो कसम समेत खान्छन्‌: “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु, मेरो आधा राज्यसमेत।” जवाफ दिनुअघि सलोमी बाहिर जान्छिन्‌ र आफ्नी आमालाई सोध्छिन्‌: “म के मागूँ?”—मर्कुस ६:२२-२४.

हेरोदियास यस्तै मौकाको खोजीमा थिइन्‌! तिनले तुरुन्तै यस्तो जवाफ दिन्छिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको।” अनि सलोमी हतारहतार राजाकहाँ गएर यस्तो बिन्ती चढाउँछिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई अहिल्यै दिनुहोस्‌।”—मर्कुस ६:२४, २५.

यो सुनेर हेरोद असाध्यै दुःखी हुन्छन्‌ तर तिनले सबै पाहुनाको अगाडि सलोमीसित कसम खाइसकेका छन्‌। सलोमीको माग पूरा नगरेमा आफ्नै बेइज्जती हुने भएकोले तिनी निर्दोष मानिसको हत्या गर्नुपरे तापनि आफ्नो वचन पूरा गर्न चाहन्छन्‌। त्यसैले हेरोद क्रूर निर्देशन दिएर आफ्नो एक जना सुरक्षाकर्मीलाई झ्यालखानामा पठाउँछन्‌। केही बेरमै ती सुरक्षाकर्मी किस्तीमा युहन्‍नाको टाउको लिएर फर्कन्छन्‌। तिनले त्यो सलोमीलाई दिन्छन्‌ र सलोमीले त्यो आफ्नी आमाकहाँ लैजान्छिन्‌।

युहन्‍नाका चेलाहरूले यो कुरा सुनेपछि तिनीहरू आउँछन्‌ र तिनको लास लगेर चिहानमा गाडिदिन्छन्‌। त्यसपछि तिनीहरूले येसुलाई खबर गर्छन्‌।

येसुले मानिसहरूलाई निको पार्नुभएको र प्रेतहरूलाई धपाउनुभएको घटनाहरूबारे सुनेपछि हेरोद अन्योलमा पर्छन्‌। तिनले यी कामहरू गर्ने येसु नै “मृत्युबाट ब्युँताइएका” युहन्‍ना पो हो कि भन्ठान्छन्‌। (लुका ९:७) त्यसैले हेरोद एन्टिपास येसुलाई हेर्न आतुर छन्‌। तर येसुबाट सुसमाचार सुन्‍नको लागि त पक्कै होइन। आफ्नो डर जायज हो कि होइन भनेर पक्का गर्न तिनले येसुलाई हेर्न खोजिरहेका छन्‌।