सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ५६

केले मानिसलाई अशुद्ध बनाउँछ?

केले मानिसलाई अशुद्ध बनाउँछ?

मत्ति १५:१-२० मर्कुस ७:१-२३ युहन्‍ना ७:१

  • येसु मानव परम्पराको पर्दाफास गर्नुहुन्छ

इस्वी संवत्‌ ३२ को निस्तार चाड नजिकै छ। येसु गालिलमा शिक्षा दिन व्यस्त हुनुहुन्छ। त्यसपछि उहाँ परमेश्‍वरको व्यवस्थामा आज्ञा दिइएझैँ निस्तार चाड मनाउन सायद यरुसलेम जानुहुन्छ। तर उहाँ होसियार भएर जानुहुन्छ किनकि यहुदीहरू उहाँलाई मार्न खोज्दै छन्‌। (युहन्‍ना ७:१) त्यसपछि उहाँ गालिल फर्कनुहुन्छ।

शास्त्रीहरू र फरिसीहरू यरुसलेमबाट येसुलाई भेट्‌न आउँदा सायद उहाँ कफर्नहुममा हुनुहुन्छ। तिनीहरू किन उहाँलाई भेट्‌न आउँछन्‌? तिनीहरू येसुलाई धार्मिक विधिविधान उल्लङ्‌घन गरेको आरोप लगाउने मौकाको खोजीमा छन्‌। तिनीहरू सोध्छन्‌: “तपाईँका चेलाहरू किन पुर्खाहरूले बसालेको परम्परा तोड्‌छन्‌? जस्तै: तिनीहरू खाना खानुअघि हात धुँदैनन्‌।” (मत्ति १५:२) परमेश्‍वरले ‘कुहिनासम्म हात धुने’ परम्परा पालन गर्न आफ्ना मानिसहरूलाई कहिल्यै भन्‍नुभएको छैन। (मर्कुस ७:३) तर यसो नगर्नुलाई फरिसीहरू गम्भीर अपराध ठान्छन्‌।

तिनीहरूले लगाएको आरोपको सीधै जवाफ दिनुको सट्टा तिनीहरू कसरी जानाजानी परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गर्छन्‌ भनेर येसु बताउनुहुन्छ। उहाँ तिनीहरूलाई भन्‍नुहुन्छ: “तिमीहरूचाहिँ किन आफ्नो परम्पराको पछि लागेर परमेश्‍वरको आज्ञा तोड्‌छौ? उदाहरणका लागि, परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्‌।’ तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई यसो भन्छ, “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्‌, ती सबै परमेश्‍वरलाई अर्पण गरेको भेटी हो,” उसले आफ्नो बुबाको आदर गर्नु आवश्‍यकै छैन।’”—मत्ति १५:३-६; प्रस्थान २०:१२; २१:१७.

ती फरिसीहरू पैसा, सरसम्पत्ति अथवा परमेश्‍वरलाई भेटीको रूपमा अर्पण गरेको कुनै पनि कुरा मन्दिरको हुन्छ र त्यसलाई अरू कुनै पनि कामको लागि चलाउन सकिँदैन भन्‍ने दाबी गर्छन्‌। तर वास्तवमा भन्‍नुपर्दा, त्यसरी अर्पण गरिएको उपहार अझै पनि त्यही व्यक्‍तिको हुन्छ। उदाहरणको लागि, कुनै छोराले आमाबुबालाई भन्दा मन्दिरलाई प्राथमिकता दिँदै उसको पैसा वा सरसम्पत्ति “कुर्बानी” हो अर्थात्‌ परमेश्‍वरलाई वा मन्दिरलाई अर्पण गरेको भेटी हो भन्ला। यसरी उसले त्यो पैसा वा सरसम्पत्ति आफ्नो वृद्ध र खाँचोमा परेको आमाबुबालाई मदत गर्न प्रयोग गर्नु हुँदैन भनेर दाबी गरिरहेको हुन्छ। तर उसले अझै पनि त्यो पैसा र सरसम्पत्ति आफैले भने प्रयोग गर्न सक्छ। यसरी ऊ आमाबुबाप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिन्छ।—मर्कुस ७:११.

मानिसहरूले परमेश्‍वरको व्यवस्थालाई यसरी बङ्‌ग्याएको देख्दा येसुलाई रिस उठ्‌नु स्वाभाविकै हो। उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूले आफ्नो परम्पराले गर्दा परमेश्‍वरको वचनलाई बेकामको तुल्याएका छौ। ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए: ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌ किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’” ती फरिसीहरूले येसुको यस्तो कडा आलोचनाको जवाफै दिन सक्दैनन्‌। त्यसैले उहाँ भीडलाई नजिक बोलाउनुहुन्छ र भन्‍नुहुन्छ: “सुन र यसको अर्थ के हो, बुझ: मानिसको मुखबाट जे भित्र पस्छ, त्यसले उसलाई अशुद्ध बनाउँदैन बरु मुखबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध बनाउँछ।”—मत्ति १५:६-११; यसैया २९:१३.

पछि एउटा घरमा हुँदा चेलाहरू येसुलाई यस्तो प्रश्‍न गर्छन्‌: “तपाईँको कुरा सुनेर फरिसीहरू रिसले मुरमुरिएको के तपाईँले याद गर्नुभयो?” येसु यस्तो जवाफ दिनुहुन्छ: “स्वर्गमा बस्नुहुने मेरा बुबाले नरोप्नुभएको हरेक बोट जरैसमेत उखेलिनेछ। तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्‌।”—मत्ति १५:१२-१४.

मानिसलाई केले अशुद्ध बनाउँछ भनेर पत्रुसले चेलाहरूको तर्फबाट बुझ्न खोज्दा येसु छक्क पर्नुभएजस्तो देखिन्छ। उहाँ यस्तो जवाफ दिनुहुन्छ: “के तिमीहरूलाई थाह छैन, मुखबाट जे भित्र पस्छ, त्यो पेटमा पुगेपछि बाहिर निस्कन्छ? तर हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ। जस्तै: दुष्ट विचार, हत्या, व्यभिचार, अवैध यौनसम्बन्ध, चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा हृदयबाटै निस्कन्छ। हो, यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ। तर हात नधोई खाँदैमा मानिस अशुद्ध हुने होइन।”—मत्ति १५:१७-२०.

येसुले यहाँ सरसफाइमा ध्यान दिनु पर्दैन अथवा खानेकुरा पकाउनुअघि वा खाना खानुअघि हात धुनु पर्दैन भन्‍न खोज्नुभएको होइन। बरु परमेश्‍वरका धार्मिक नियमहरूलाई बेवास्ता गर्दै मानव परम्परालाई जोड दिने धर्मगुरुहरूको कपटको उहाँ भर्त्सना गर्दै हुनुहुन्छ। वास्तविकता के हो भने, हृदयबाट निस्कने नराम्रा कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ।