सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ७९

अविश्‍वासी यहुदीहरूको विनाश किन नजिकै छ?

अविश्‍वासी यहुदीहरूको विनाश किन नजिकै छ?

लुका १३:१-२१

  • दुई वटा दुःखद घटनाबाट येसु पाठ सिकाउनुहुन्छ

  • एउटी अशक्‍त स्त्रीलाई येसु विश्रामदिनमा निको पार्नुहुन्छ

येसुले थुप्रै तरिका चलाएर मानिसहरूलाई परमेश्‍वरसितको सम्बन्धबारे सोच्न प्रोत्साहन दिइसक्नुभएको छ। एक जना फरिसीको घरबाहिर जम्मा भएका मानिसहरूसित कुरा गरेपछि उहाँ फेरि त्यस्तै एउटा मौका पाउनुहुन्छ।

ती मानिसहरूमध्ये कसै-कसैले एउटा दुःखद घटना उल्लेख गर्छन्‌। “मन्दिरमा बलि चढाइरहेका केही गालिलीको [रोमी राज्यपाल पन्तियस] पिलातसले हत्या गरेका थिए” भनेर तिनीहरू उहाँलाई सुनाउँछन्‌। (लुका १३:१) तिनीहरू के भन्‍न खोज्दै छन्‌?

पिलातसले एउटा सुरुङ बनाएर यरुसलेममा पानी ल्याउन मन्दिरको कोषको पैसा चलाएकोमा हजारौँ यहुदीहरूले विरोध गरेका थिए। सायद ती गालिलीहरूले त्यतिबेला आफ्नो ज्यान गुमाएका थिए। पिलातसले मन्दिरकै अधिकारीहरूसित मिलेर पैसा निकालेका हुन सक्छन्‌। यो घटना सुनाइरहेका मानिसहरूलाई ती गालिलीहरूले नै कुनै खराब काम गरेकोले त्यस्तो विपत्ति भोग्नुपरेको हो भन्‍ने लागेको हुन सक्छ। तर येसु तिनीहरूको कुरामा सहमत हुनुहुन्‍न।

उहाँ तिनीहरूलाई यस्तो सोध्नुहुन्छ: “के तिमीहरू यस्तो घटनाको सिकार हुने गालिलीहरूलाई अरू सबै गालिलीभन्दा बढ्‌ता पापी ठान्छौ?” त्यसो होइन भनेर उहाँ बताउनुहुन्छ। तर यहुदीहरूलाई चेतावनी दिन उहाँ यस घटनाबारे उल्लेख गर्नुहुन्छ र यसो भन्‍नुहुन्छ: “तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।” (लुका १३:२, ३) येसु हालसालै भएको अर्को एउटा दुःखद घटना पनि उल्लेख गर्नुहुन्छ र यो घटना त्यो सुरुङको निर्माणसित सम्बन्धित हुन सक्छ। उहाँ यसो भन्‍नुहुन्छ:

“सिलोआमको धरहरा ढल्दा त्यसले थिचेर मर्ने १८ जनालाई के तिमीहरू यरुसलेमका अरू सबै बासिन्दाभन्दा बढ्‌ता दोषी ठान्छौ?” (लुका १३:४) भीडलाई ती मानिसहरू आफूले गरेको कुनै खराब कामले गर्दा मरेका हुन्‌ भन्‍ने लागेको हुन सक्छ। तर यसपटक पनि येसु तिनीहरूसित सहमत हुनुहुन्‍न। “कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ” र यो पनि त्यस्तै एउटा दुःखद घटना हो भनेर उहाँलाई थाह छ। (उपदेशक ९:११) तर मानिसहरूले त्यो घटनाबाट पाठ सिक्नुपर्छ। येसु भन्‍नुहुन्छ: “तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।” (लुका १३:५) तर उहाँ अहिले यस कुरामा किन जोड दिँदै हुनुहुन्छ?

येसु आफ्नो सेवाको कामको कुन घडीमा हुनुहुन्छ भन्‍ने कुरा विचार गर्दा उहाँले यस कुरामा जोड दिनुको कारण बुझ्न सकिन्छ। यस विषयमा उहाँ तिनीहरूलाई यो उदाहरण सुनाउनुहुन्छ: “एक जना मानिसले अङ्‌गुर बगानमा अन्जिरको रूख लगाएको थियो अनि त्यसमा फल लागेको छ कि भनेर खोज्दा उसले केही भेटेन। तब उसले बगानको मालीलाई भन्यो: ‘मैले यस अन्जिरको रूखमा फल खोज्न थालेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म एउटै फेला पारिनँ। त्यसैले यसलाई काटिदेऊ! यसलाई किन बेकारमा जमिन ओगट्‌न दिने?’ मालीले उसलाई जवाफ दियो: ‘मालिक, यसलाई यो वर्ष यत्तिकै रहन दिनुहोस्‌, म यसको वरिपरि खनेर मल हाल्छु। यसले फल फलायो भने बेसै भयो, होइन भने काट्‌न लगाउनुहोला।’”—लुका १३:६-९.

उहाँले तीन वर्षभन्दा धेरै समयदेखि यहुदीहरूलाई विश्‍वास खेती गर्न मदत दिन खोज्दै हुनुहुन्छ। तैपनि थोरै मात्र उहाँको चेला बनेका छन्‌ र उनीहरूलाई उहाँको मेहनतको फल भन्‍न सकिन्छ। अहिले उहाँ आफ्नो सेवाको कामको चौथो वर्षमा हुनुहुन्छ र उहाँ अझै जोडतोडले यस्तो प्रयास गर्दै हुनुहुन्छ। यहुदिया र पेरियामा प्रचार गर्ने र सिकाउने काम गरेर मानौँ उहाँ यहुदी अन्जिरको रूखवरिपरि खनेर मल हाल्दै हुनुहुन्छ। तर नतिजा कस्तो हुन्छ? थोरै यहुदीहरूले मात्र उहाँको कुरा सुन्छन्‌। तर अधिकांश यहुदीहरूले भने पश्‍चात्ताप गर्दैनन्‌; त्यसैले तिनीहरूको विनाश नजिकै छ।

अधिकांश यहुदीहरूले उहाँको कुरा सुन्‍न इन्कार गरेका छन्‌ भन्‍ने कुरा विश्रामदिनको केही समयपछि फेरि प्रस्ट हुन्छ। येसु सभाघरमा सिकाउँदै हुनुहुन्छ। प्रेतले सताएकोले १८ वर्षदेखि कुप्री भएकी र ठाडो उभिनै नसक्ने एउटी स्त्रीलाई उहाँ देख्नुहुन्छ। उसलाई दया देखाउँदै उहाँ यसो भन्‍नुहुन्छ: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्‍त भयौ।” (लुका १३:१२) अनि उहाँले ऊमाथि आफ्नो हात राख्नुहुन्छ। उत्तिखेरै ऊ सीधा हुन्छे र परमेश्‍वरको महिमा गर्न थाल्छे।

यो देखेर सभाघरका पदाधिकारी रिसले चूर हुन्छन्‌ र यसो भन्छन्‌: “काम गर्नका लागि छ दिन छुट्ट्याइएको छ। त्यसैले ती दिनमा आएर निको होओ, विश्रामदिनमा होइन।” (लुका १३:१४) ती पदाधिकारी येसुसित निको पार्ने शक्‍ति छ भन्‍ने कुरालाई नकार्दैनन्‌। बरु विश्रामदिनमा पनि निको हुन आएकोमा तिनी मानिसहरूको निन्दा गर्छन्‌। येसु यस्तो एउटा अकाट्य तर्क चलाउनुहुन्छ: “कपटीहरू हो, के तिमीहरू सबै जना विश्रामदिनमा आफ्नो गोरु वा गधालाई किलाबाट फुकाएर पानी खुवाउन लैजादैनौ? त्यसोभए हेर, सैतानले बितेको १८ वर्षदेखि बाँधेर राखेको यो स्त्री, जो अब्राहामकी छोरी हुन्‌, उसलाई विश्रामदिनमा फुकाउनु के उचित होइन?”—लुका १३:१५, १६.

विरोधीहरू लज्जित हुन्छन्‌ तर भीड भने येसुले गर्नुभएको महिमित कामहरू देखेर खुसी हुन्छ। त्यसपछि उहाँ यहाँ यहुदियामा परमेश्‍वरको राज्यसम्बन्धी दुई वटा भविष्यसूचक उदाहरण दोहोऱ्‍याउनुहुन्छ, जुन उहाँले पहिला गालिलको समुद्रमा डुङ्‌गाबाट बताउनुभएको थियो।—मत्ति १३:३१-३३; लुका १३:१८-२१.