सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८०

असल गोठालो र गोठहरू

असल गोठालो र गोठहरू

युहन्‍ना १०:१-२१

  • येसु असल गोठालो र गोठहरूबारे बताउनुहुन्छ

यहुदियामा शिक्षा दिँदै गर्दा येसु आफ्ना श्रोताहरूले सजिलै कल्पना गर्न सक्ने कुरातर्फ ध्यान खिच्नुहुन्छ। ती हुन्‌, भेडा र गोठ। उहाँ यसलाई उदाहरणको रूपमा चलाउनुहुन्छ। ती यहुदीहरू दाउदका यी शब्दहरू सम्झन्छन्‌ होला: “यहोवा मेरो गोठालो हुनुहुन्छ। मलाई कुनै कुराको कमी हुनेछैन। उहाँ मलाई हरियो खर्कमा सुताउनुहुन्छ।” (भजन २३:१, २) अर्को भजनमा दाउदले आफ्ना मानिसहरूलाई यस्तो आग्रह गरे: “आओ, हामी उहाँको उपासना गरौँ र उहाँलाई दण्डवत्‌ गरौँ; हाम्रा रचनाकार यहोवासामु घुँडा टेकौँ। किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ अनि हामी उहाँको खर्कका बगाल हौँ।” (भजन ९५:६, ७) हो, व्यवस्थाको अधीनमा भएका इस्राएलीहरूलाई धेरै पहिलेदेखि भेडाको बगालसित तुलना गरिँदै आएको छ।

ती “भेडाहरू” मोसाको व्यवस्थाको करार कायम रहँदै जन्मेकोले तिनीहरू “गोठ”-मा छन्‌। व्यवस्थाले तिनीहरूको लागि पर्खालको काम गऱ्‍यो किनकि यसले तिनीहरूलाई व्यवस्थाको अधीनमा नभएका मानिसहरूको भ्रष्ट प्रभावबाट जोगाउँथ्यो। तर केही इस्राएलीहरूले परमेश्‍वरको बगाललाई दुर्व्यवहार गरे। येसु भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, जो ढोकाबाट नभई अर्कै ठाउँबाट चढेर गोठभित्र पस्छ, त्यो चोर अनि लुटेरा हो। तर जो ढोकाबाट भित्र पस्छ, ऊ भेडाहरूको गोठालो हो।”—युहन्‍ना १०:१, २.

ती श्रोताहरूले आफू मसीह वा ख्रिष्ट हुँ भनी दाबी गर्ने मानिसहरूलाई सम्झे होलान्‌। त्यस्तो दाबी गर्नेहरू चोर अनि लुटेराजस्तै छन्‌। मानिसहरू ती ठगाहाहरूको पछि लाग्नु हुँदैन। बरु उनीहरू “भेडाहरूको गोठालो”-को पछि लाग्नुपर्छ, जसबारे येसु यसो भन्‍नुहुन्छ:

“ढोकेले उसको निम्ति ढोका खोलिदिन्छ अनि भेडाहरूले उसको स्वर सुन्छन्‌। उसले आफ्ना भेडाहरूलाई नाम काढेर बोलाउँछ अनि डोऱ्‍याएर बाहिर लैजान्छ। आफ्नाजति सबैलाई बाहिर ल्याएपछि ऊ तिनीहरूको अघि-अघि जान्छ र भेडाहरू उसको पछिपछि लाग्छन्‌ किनकि तिनीहरूले उसको स्वर चिन्छन्‌। तिनीहरू कुनै हालतमा अपरिचित मानिसको पछि लाग्दैनन्‌ बरु ऊदेखि भाग्छन्‌ किनकि अपरिचित मानिसहरूको स्वर तिनीहरूले चिन्दैनन्‌।”—युहन्‍ना १०:३-५.

यसअघि बप्तिस्मा गराउने युहन्‍नाले ढोकेको काम गरेका थिए; तिनले व्यवस्थाको अधीनमा भएका ती प्रतीकात्मक भेडाहरूले पछ्याउनुपर्ने व्यक्‍ति येसु नै हुनुहुन्छ भनेर बताएका थिए। अनि गालिलमा र यहाँ यहुदियामा केही भेडाले येसुको स्वर चिनेका छन्‌। उहाँ तिनीहरूलाई कहाँ ‘डोऱ्‍याएर लैजानुहुन्छ?’ अनि उहाँको पछि लाग्दा नतिजा कस्तो हुन्छ? येसुको यो उदाहरण सुनिरहेकाहरूमध्ये केहीलाई अचम्म लागेको हुन सक्छ। किनकि येसुले ‘तिनीहरूलाई जे भनिरहनुभएको छ, त्यसको अर्थ तिनीहरूले बुझ्न’ सकेका छैनन्‌।—युहन्‍ना १०:६.

येसु यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, म भेडाहरूको निम्ति ढोका हुँ। जो-जो ढोँगी मेरो ठाउँ लिन आएका छन्‌, तिनीहरू सबै चोर अनि लुटेरा हुन्‌ तर भेडाहरूले तिनीहरूको स्वर सुनेका छैनन्‌। म ढोका हुँ; जो मबाट भित्र पस्छ, उसले उद्धार पाउनेछ र ऊ भित्र-बाहिर गर्नेछ अनि उसले खर्कमा चर्न पाउनेछ।”—युहन्‍ना १०:७-९.

पक्कै पनि येसु एउटा नयाँ कुरा बताउँदै हुनुहुन्छ। किनकि उहाँका श्रोतालाई उहाँ सयौँ वर्षदेखि कायम रहेको व्यवस्थाको करारको ढोके हुनुहुन्‍न भनेर थाह छ। त्यसैले उहाँले ‘डोऱ्‍याएर बाहिर लैजानुहुने’ भेडाहरू अर्को गोठभित्र पस्नुपर्छ भनेर उहाँले बताउन खोज्नुभएको हुन सक्छ। यसको नतिजा कस्तो हुन्छ?

आफ्नो भूमिका अझ प्रस्ट पार्दै येसु यसो भन्‍नुहुन्छ: “म भने भेडाहरूले अनन्त जीवन पाऊन्‌ भनेर आएको हुँ। म असल गोठालो हुँ; असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्छ।” (युहन्‍ना १०:१०, ११) यसअघि येसुले आफ्ना चेलाहरूलाई यसरी सान्त्वना दिनुभएको थियो: “हे सानो बगाल, नडराओ किनकि तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।” (लुका १२:३२) हो, “सानो बगाल”-लाई येसुले नयाँ गोठमा डोऱ्‍याउनुहुन्छ, जसले गर्दा तिनीहरूले स्वर्गमा “अनन्त जीवन” पाउनेछन्‌। यस बगालको भाग हुन पाउनु साँच्चै ठूलो आशिष्‌ हो!

तर येसु यतिमै कुरा टुङ्‌ग्याउनुहुन्‍न। उहाँ अझै यसो भन्‍नुहुन्छ: “मेरा अरू भेडा छन्‌, जो यस गोठका होइनन्‌; तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्‍नेछन्‌ र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्‌।” (युहन्‍ना १०:१६) यी “अरू भेडा” “यस गोठका होइनन्‌।” त्यसैले अरू भेडा परमेश्‍वरको राज्यको हकदार हुने “सानो बगाल”-को गोठको नभई अर्कै गोठको हुनुपर्छ। यी दुई गोठमा भएको बगालको गन्तव्य फरक-फरक छ। तर दुवै गोठको बगालले येसुको भूमिकाबाट लाभ उठाउँछन्‌। उहाँ यसो भन्‍नुहुन्छ: “बुबाले मलाई यसैकारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो जीवन अर्पण गर्छु।”—युहन्‍ना १०:१७.

अनि भीडका धेरैले यसो भन्‍न थाल्छन्‌: “उसमा प्रेत बास गरेको छ, उसको दिमाग खुस्केको छ।” तर अरूले चाहिँ चासो देखाउँदै उहाँको कुरा सुन्छन्‌ र असल गोठालोको पछि लाग्न तयार भएको कुरा देखाउँछन्‌। तिनीहरू यसो भन्छन्‌: “प्रेत बास गरेको मानिसले यस्तो कुरा गर्नै सक्दैन। के प्रेतले अन्धाहरूको आँखा खोलिदिन सक्छ र?” (युहन्‍ना १०:२०, २१) तिनीहरूले जन्मजात अन्धो मानिसलाई येसुले निको पारिदिनुभएको घटनालाई सङ्‌केत गरिरहेको हुनुपर्छ।