सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८२

पेरियामा येसुको सेवाको काम

पेरियामा येसुको सेवाको काम

लुका १३:२२–१४:६

  • साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस

  • येसु यरुसलेममा नै मर्नुपर्छ

येसुले यहुदिया र यरुसलेममा मानिसहरूलाई शिक्षा दिँदै र बिरामीहरूलाई निको पार्दै आउनुभएको छ। त्यसपछि उहाँ यर्दन नदीपारि पेरिया जिल्ला जानुहुन्छ र सहर-सहरमा गएर सिकाउन थाल्नुहुन्छ। तर उहाँ चाँडै यरुसलेम फर्कनुहुनेछ।

येसु पेरियामै हुनुभएको बेला एक जना मानिसले उहाँलाई यस्तो प्रश्‍न सोध्छ: “हे प्रभु, के थोरैले मात्र उद्धार पाउँछन्‌?” सायद यो मानिसलाई धेरैले उद्धार पाउनेछन्‌ कि थोरैले भन्‍ने विषयमा धर्मगुरुहरूमाझ चलिरहेको विवाद थाह छ। तर येसु कति जनाले उद्धार पाउँछन्‌ भन्‍ने कुरामा होइन, उद्धार पाउन के गर्नुपर्छ भन्‍ने कुरामा जोड दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस गर।” हो, उद्धार पाउन प्रयत्न गर्नु, सङ्‌घर्ष गर्नु जरुरी छ। किन? येसु अझै भन्‍नुहुन्छ: “धेरै जनाले भित्र पस्न कोसिस गर्नेछन्‌ तर सफल हुनेछैनन्‌।”—लुका १३:२३, २४.

भरमग्दुर कोसिस गर्नुपर्ने महत्त्वबारे बुझाउन येसु यस्तो उदाहरण बताउनुहुन्छ: “घरधनीले ढोका बन्द गरिसकेपछि तिमीहरूले बाहिर उभिएर ढोका ढकढक्याउँदै यसो भन्‍नेछौ: ‘प्रभु, हाम्रो लागि ढोका खोलिदिनुहोस्‌ न।’ . . . तर उसले तिमीहरूलाई यसो भन्‍नेछ: ‘तिमीहरू कहाँबाट आएका हौ, मलाई थाह छैन। ए कुकर्मी हो, मबाट पर हटिहाल।’”—लुका १३:२५-२७.

यस उदाहरणले ढिलो आउने, सम्भवतः आफूलाई सजिलो हुने समयमा आउने मानिसले भोग्नुपर्ने दुःखलाई देखाउँछ; ऊ आइपुग्दा त ढोका बन्द भइसकेको देख्छ। गाह्रै भए पनि ऊ चाँडै आउनुपर्ने थियो। येसुले तिनीहरूकै माझमा रहेर शिक्षा दिनुहुँदा त्यसबाट लाभ उठाउन नचाहने मानिसहरूले पनि त्यस्तै नतिजा भोग्नेछन्‌। तिनीहरूले शुद्ध उपासनालाई आफ्नो जीवनमा प्राथमिकता दिने मौका गुमाए। येसु जसकहाँ पठाइनुभएको छ, तिनीहरूमध्ये धेरैले उद्धार दिने परमेश्‍वरको प्रबन्धलाई तिरस्कार गरेका छन्‌। तिनीहरूलाई बाहिर फ्याँकिँदा तिनीहरू ‘दाह्रा किटी-किटी रुनेछन्‌’ भनी येसु बताउनुहुन्छ। तर “पूर्व, पश्‍चिम, उत्तर अनि दक्षिणबाट” सबै राष्ट्रका मानिसहरू आउनेछन्‌ अनि उनीहरू “परमेश्‍वरको राज्यमा खान बस्नेछन्‌।”—लुका १३:२८, २९.

येसु अझै यसो भन्‍नुहुन्छ: “पछिल्लाहरूमध्ये [जस्तै: गैर-यहुदीहरू र अन्यायमा परेका यहुदीहरूमध्ये] कोही-कोही पहिला हुनेछन्‌ र पहिलाहरूमध्ये [आफू अब्राहामको सन्तान भएकोमा घमन्ड गर्ने धर्मगुरुहरूमध्ये] कोही-कोही पछिल्ला हुनेछन्‌।” (लुका १३:३०) तिनीहरू “पछिल्ला” हुनुको अर्थ त्यस्ता कृतघ्न यहुदीहरू परमेश्‍वरको राज्यको भाग हुन पाउनेछैनन्‌।

अब केही फरिसीहरू येसुकहाँ आएर उहाँलाई यस्तो सुझाव दिन्छन्‌: “यहाँबाट निस्केर गइहाल्नुहोस्‌ किनभने हेरोदले [हेरोद एन्टिपासले] तपाईँलाई मार्न खोज्दै छन्‌।” येसु यो इलाका छोडेर जाऊन्‌ भनेर राजा हेरोद आफैले यो हल्ला फिजाएका हुन सक्छन्‌। हेरोदले पहिला पनि बप्तिस्मा गराउने युहन्‍नालाई मार्न लगाएका थिए। त्यसैले तिनलाई आफू फेरि अर्को भविष्यवक्‍ताको हत्यामा मुछिने डर लागेको हुन सक्छ। तर येसु फरिसीहरूलाई भन्‍नुहुन्छ: “जाओ, त्यस फ्याउरोलाई भनिदेओ: ‘हेर, म आज र भोलि प्रेतहरूलाई धपाउँछु अनि बिरामीहरूलाई निको पार्छु अनि तेस्रो दिनमा आफ्नो काम सिध्याउनेछु।’” (लुका १३:३१, ३२) हेरोदलाई “फ्याउरो” भनेर येसुले फ्याउरोको धूर्त चाललाई सङ्‌केत गर्न खोज्दै हुनुहुन्छ जस्तो छ। तर येसु हेरोद वा अरू कसैको इशारामा नाच्नुहुनेछैन। उहाँले आफ्नो बुबाले दिनुभएको जिम्मेवारी पूरा गर्नुहुनेछ, त्यो पनि स्वयम्‌ परमेश्‍वरको समयतालिकाअनुसार, कुनै मान्छेको समयतालिकाअनुसार होइन।

यसपछि येसु यरुसलेमतिर लाग्नुहुन्छ किनकि उहाँ “भविष्यवक्‍ता यरुसलेमबाहिर मारिनु उचित हुँदैन” भन्‍नुहुन्छ। (लुका १३:३३) बाइबलमा कतै पनि मसीह त्यही सहरमा मारिनुपर्छ भनेर भविष्यवाणी गरिएको छैन। त्यसोभए येसु किन आफू त्यही सहरमा मारिनुपर्छ भन्‍नुहुन्छ? किनकि यरुसलेम राजधानी हो, जहाँ ७१ जना सदस्य भएको यहुदी न्यायपरिषद्‌ छ र त्यही सर्वोच्च अदालतमा झूटो भविष्यवक्‍ता भएको आरोप लागेकाहरूको पुर्पक्ष गरिन्छ। अनि त्यही सहरमा जनावरहरूको बलिदान पनि चढाइन्छ। त्यसैले येसुलाई आफू अन्त कतै मारिनु उपयुक्‍त छैन जस्तो लाग्छ।

येसु यसो भन्दै बिलौना गर्नुहुन्छ: “यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्‍ताहरूलाई मारिस्‌ र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हानिस्‌! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ। हेर! परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।” (लुका १३:३४, ३५) यो राष्ट्रले परमेश्‍वरको छोरालाई तिरस्कार गरिरहेको छ र यसले पक्कै पनि यसको नतिजा भोग्नेछ!

येसु यरुसलेम पुग्नुअघि फरिसीहरूको एक जना अगुवाले उहाँलाई विश्रामदिनमा खानाको निम्तो दिन्छन्‌। त्यहाँ जलोदर (शरीरमा, विशेषगरि खुट्टामा आवश्‍यकभन्दा बढी पानी जम्ने रोग) भएको मानिस पनि छ। निम्तो पाएर आएका अरूचाहिँ येसुले त्यस मानिसलाई के गर्नुहुनेछ भनेर उत्सुक हुँदै हेरिरहेका छन्‌। येसु फरिसीहरू र व्यवस्थामा पोख्त मानिसहरूलाई सोध्नुहुन्छ: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्‌घन हुन्छ कि हुँदैन?”—लुका १४:३.

कसैले पनि जवाफ दिँदैन। येसु त्यस मानिसलाई निको पार्नुहुन्छ र तिनीहरूलाई सोध्नुहुन्छ: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफ्नो छोरा वा गोरु विश्रामदिनमा इनारमा खस्यो भने त्यसलाई तुरुन्तै बाहिर निकाल्दैन?” (लुका १४:५) येसुले यस्तो अकाट्य तर्क गर्नुभएकोले फेरि पनि कसैले केही जवाफ दिन सक्दैनन्‌।