अध्याय ८५
पापीले पश्चात्ताप गर्दा हुने रमाहट
-
हराएको भेडा र हराएको सिक्काको उदाहरण
-
स्वर्गदूतहरू रमाहट गर्छन्
येसुले पृथ्वीमा आफ्नो सेवाको दौडान विभिन्न अवसरमा नम्र हुनुपर्ने महत्त्वमा जोड दिनुभएको छ। (लुका १४:८-११) नम्र हुँदै परमेश्वरको सेवा गर्न चाहने मानिसहरू भेट्टाउन उहाँ इच्छुक हुनुहुन्छ। तर त्यस्ता मानिसहरूमध्ये कतिपय अझै पनि पापी हुन सक्छन्।
फरिसीहरू र शास्त्रीहरूले आफूले अयोग्य ठान्ने मानिसहरू नै येसु र उहाँको सन्देशप्रति आकर्षित भइरहेको याद गर्छन्। त्यसैले तिनीहरू यसो भन्दै गुनासो गर्छन्: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।” (लुका १५:२) फरिसीहरू र शास्त्रीहरू आफूलाई को-को न हुँ भन्ठान्छन् र सर्वसाधारणलाई खुट्टाको धुलोसरह व्यवहार गर्छन्। त्यस्ता मानिसहरूप्रति आफ्नो घृणा व्यक्त गर्दै ती धर्मगुरुहरू उनीहरूलाई हिब्रू भाषामा एमहारेट्स भनेर सम्बोधन गर्छन्, जसको अर्थ हो, “धर्तीका मानिसहरू।”
तर यसको ठीक विपरीत येसु भने सबैलाई आदर, दया र ममता देखाउनुहुन्छ। त्यसैले पापी कहलिएका केही मानिसहरूलगायत अरू थुप्रै नम्र मानिसहरू येसुको कुरा सुन्न इच्छुक भएका छन्। तर त्यस्ता नम्र मानिसहरूलाई मदत गरेकोमा आलोचना खप्नुपर्दा येसु कस्तो महसुस गर्नुहुन्छ र उहाँ के गर्नुहुन्छ?
यस प्रश्नको जवाफ येसुले बताउनुभएको एउटा मनै छुने उदाहरणबाट प्रस्ट हुन्छ, जुन उहाँले पहिला कफर्नहुममा बताउनुभएको उदाहरणसित मिल्दोजुल्दो छ। (मत्ति १८:१२-१४) यस उदाहरणमा येसु फरिसीहरूलाई धर्मी र परमेश्वरको बगालमा सुरक्षित मानिसहरूको रूपमा प्रस्तुत गर्नुहुन्छ। अर्कोतर्फ नम्रहरूलाई भने बाटो बिराएर हराएका मानिसहरूको रूपमा प्रस्तुत गर्नुहुन्छ। येसु भन्नुहुन्छ:
“तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन? अनि भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’”—लुका १५:४-६.
यस उदाहरणद्वारा येसु के भन्न खोज्दै हुनुहुन्छ? उहाँ यसरी व्याख्या गर्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, त्यसरी नै एक जना पापीले पश्चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ, त्यति रमाहट पश्चात्तापको कुनै खाँचो नभएको ९९ जना धर्मी मानिसका लागि हुँदैन।”—लुका १५:७.
येसुले पश्चात्ताप गर्नुपर्ने कुरा बताउनुहुँदा ती फरिसीहरूको ध्यान खिचिएको हुनुपर्छ! किनकि तिनीहरू आफूलाई धर्मी ठान्छन् र आफूले पश्चात्ताप गर्नु आवश्यक छैन भन्ठान्छन्। दुई वर्षअघि येसुले कर उठाउनेहरू र पापीहरूसित बसेर खानुहुँदा तिनीहरूमध्ये केहीले उहाँको आलोचना गरेका थिए। त्यतिबेला उहाँले यसो भन्नुभएको थियो: “म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” (मर्कुस २:१५-१७) ती आत्मधर्मी फरिसीहरू आफूले पश्चात्ताप गर्नुपर्छ भनेर महसुस नै गर्दैनन्। त्यसैले तिनीहरूको कारण स्वर्गमा रमाहट हुँदैन। तर कुनै पापीले पश्चात्ताप गर्दा भने स्वर्गमा रमाहट हुन्छ।
हराएको कुनै पापी फर्केर आउँदा स्वर्गमा ठूलो रमाहट हुन्छ भन्ने कुरालाई अझै जोड दिँदै येसु अर्को एउटा उदाहरण बताउनुहुन्छ: “कुनचाहिँ स्त्री यस्ती होली, जसले आफूसित भएका १० वटा सिक्कामध्ये एउटा हराउँदा त्यो नभेट्टाउन्जेल दियो बालेर आफ्नो घर बढार्दै धुइँधुइँती खोज्दिन? अनि भेट्टाएपछि आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छे: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’”—लुका १५:८, ९.
यस उदाहरणको अर्थ र हराएको भेडाको उदाहरणको अर्थ मिल्दोजुल्दो छ। उहाँ यसो भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, एक जना पापीले पश्चात्ताप गर्दा परमेश्वरका दूतहरूमाझ यसरी नै रमाहट हुनेछ।”—लुका १५:१०.
सोच्नुहोस् त, परमेश्वरका दूतहरू हराएको पापी फर्केर आएको हेर्न तीव्र चाह गर्छन्! यो कुरा उल्लेखनीय छ किनकि पश्चात्ताप गर्ने अनि परमेश्वरको स्वर्गीय राज्यमा स्थान पाउने ती पापीहरूले स्वर्गदूतहरूले भन्दा उच्च स्थान पाउनेछन्! (१ कोरिन्थी ६:२, ३) तैपनि ती स्वर्गदूतहरू तिनीहरूको डाह गर्दैनन्। त्यसोभए कुनै पापी मनैदेखि पश्चात्ताप गरेर यहोवातर्फ फर्कँदा हामीले कस्तो महसुस गर्नुपर्छ?