सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८६

हराएको छोरा फर्किन्छ

हराएको छोरा फर्किन्छ

लुका १५:११-३२

  • हराएको छोराको उदाहरण

येसुले सम्भवतः यर्दन नदीको पूर्वतिर पर्ने पेरियामै हुँदा हराएको भेडा र हराएको सिक्काको उदाहरण बताउनुहुन्छ। ती दुवै उदाहरणबाट हामीले सिक्ने पाठ भनेको कुनै पापीले पश्‍चात्ताप गरेर परमेश्‍वरकहाँ फर्किँदा हामीले रमाहट गर्नुपर्छ। अनि येसुले त्यस्ता मानिसहरूलाई स्विकार्नुभएकोले फरिसी र शास्त्रीहरूले उहाँको आलोचना गर्दै आएका छन्‌। तर के ती आलोचकहरू येसुको ती दुइटा उदाहरणबाट केही पाठ सिक्छन्‌? पश्‍चात्तापी पापीहरूप्रति स्वर्गमा बस्नुहुने बुबा कस्तो महसुस गर्नुहुन्छ भनेर के तिनीहरू बुझ्छन्‌? येसु अब यही महत्त्वपूर्ण पाठलाई जोड दिन अर्को एउटा मन छुने उदाहरण बताउनुहुन्छ।

यस उदाहरणमा एक जना बुबा र उसका दुई छोरा छन्‌। कान्छो छोराचाहिँ उदाहरणको मुख्य पात्र हो। यो उदाहरण सुनिरहेका फरिसी र शास्त्रीहरूलगायत अरूले पनि येसुले कान्छो छोराबारे जे-जति बताउनुहुन्छ, त्यसबाट पाठ सिक्नुपर्ने हो। तर येसुले बुबा र जेठो छोराबारे बताउनुभएको कुरालाई पनि बेवास्ता गर्न मिल्दैन। किनभने तिनीहरूले देखाएको मनोवृत्तिबाट पनि पाठ सिक्न सक्छौँ। त्यसैले उदाहरणको तीनै जना पात्रबारे विचार गर्नुहोस्‌।

येसु यो उदाहरण यसरी सुरु गर्नुहुन्छ: “एक जना मानिसका दुई छोरा थिए। कान्छोचाहिँले बुबालाई भन्यो: ‘बुबा, मलाई मेरो अंश दिनुहोस्‌।’ तब बुबाले आफ्नो सम्पत्ति अंशबण्डा गरेर तिनीहरूलाई दियो।” (लुका १५:११, १२) याद गर्नुहोस्‌, त्यो कान्छो छोराले बुबा बितेपछि आफ्नो अंश मागेको होइन। बुबा जीवितै छ। कान्छो छोरा अहिल्यै आफ्नो अंश चाहन्छ किनकि ऊ स्वतन्त्र भएर आफ्नो सम्पत्ति आफ्नो इच्छाअनुसार खर्च गर्न चाहन्छ।

येसु यसो भन्‍नुहुन्छ: “केही दिन बित्न नपाउँदै कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो।” (लुका १५:१३) आफ्ना छोराहरूको ख्याल राख्ने र तिनीहरूको लागि सबै कुराको प्रबन्ध गरिदिने बुबाको सुरक्षित घरमा बस्नुको सट्टा त्यो छोरा परदेश जान्छ। त्यहाँ उसले यौन चाहना पूरा गर्न वेश्‍याहरूको पछि लागेर आफ्नो भएभरको सम्पत्ति उडाउँछ। त्यसपछि उसको कष्टकर दिनहरू सुरु हुन्छ, जसबारे येसु यसो भन्‍नुहुन्छ:

“उसले आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्‍यो र ऊसित केही बाँकी भएन। यहाँसम्म कि त्यस देशको एक जना मानिसकहाँ गएर उसले काम माग्यो र त्यस मानिसले उसलाई आफ्नो खेतमा सुँगुर चराउन पठायो। अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिँदैनथ्यो।”—लुका १५:१४-१६.

परमेश्‍वरको व्यवस्थाअनुसार सुँगुरहरू अशुद्ध हुन्‌ तर यो छोरा सुँगुर चराउने काम गर्न बाध्य हुन्छ। असह्‍य भोकको कारण ऊ सुँगुरहरूलाई दिइने खाना भए पनि खान पाए हुन्थ्यो भनेर सोच्छ। यस्तो हन्डर खाएपछि मात्र उसको ‘होस खुल्छ।’ त्यसपछि ऊ के गर्छ? उसले मनमनै यसो भन्छ: “मेरा बुबाका त्यत्रा कामदारहरूलाई रोटीको कुनै अभाव छैन तर म भने यहाँ भोकले मर्नै लागिसकेँ! अब म बुबाकहाँ जान्छु र उहाँलाई भन्छु: ‘बुबा, मैले परमेश्‍वर र तपाईँको विरुद्धमा पाप गरेको छु। अब म तपाईँको छोरा भनिन लायकको छैनँ। त्यसैले मलाई तपाईँको ज्यालादारी कामदार बनाउनुहोस्‌।’” अनि ऊ उठेर आफ्नो बुबाकहाँ जान्छ।—लुका १५:१७-२०.

उसको बुबाले कस्तो प्रतिक्रिया देखाउनेछ? के उसले छोरालाई घर छोड्‌नु नै मूर्खता थियो भनेर रिसाउँदै गाली गर्नेछ? छोरा घर फर्के पनि भावशून्य हुँदै वास्तै नगरी बस्नेछ कि? ऊ तपाईँको छोरा भएको भए तपाईँ कस्तो प्रतिक्रिया देखाउनुहुने थियो?

हराएको छोरा भेटिन्छ

बुबा कस्तो महसुस गर्छ र ऊ छोरालाई कसरी स्वागत गर्छ भन्‍नेबारे येसु यसो भन्‍नुहुन्छ: “बुबाले टाढैबाट ऊ आउँदै गरेको देख्यो र टिठायो अनि दौडँदै गएर उसलाई अङ्‌गालो हाल्यो र चुम्बन गऱ्‍यो।” (लुका १५:२०) छोराले भोगविलासको जीवन बिताएको कुरा बुबाले सुनेको हुन सक्छ। तैपनि ऊ आफ्नो छोरालाई घरमा स्वागत गर्छ। यहुदी धर्मगुरुहरू, जसले यहोवालाई चिनेको र उहाँको उपासना गरेको दाबी गर्छन्‌, के तिनीहरूले यस उदाहरणबाट हाम्रो स्वर्गमा बस्नुहुने बुबा पश्‍चात्तापी पापीहरूप्रति कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्नेछन्‌? येसुले पनि यहोवाको जस्तै मनोभाव देखाउँदै आउनुभएको छ भनेर के तिनीहरूले मानिलिनेछन्‌?

यो समझदार बुबाले आफ्नो छोराको अनुहारको भावबाटै उसले पश्‍चात्ताप गरेको छ भनेर बुझेको हुनुपर्छ। तैपनि बुबा उसलाई मायालु तरिकामा स्वागत गर्न आफै अग्रसर भएकोले छोरालाई पाप स्विकार्न अझ सजिलो हुन्छ। येसु यसो भन्‍नुहुन्छ: “तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्‍वर र तपाईँको विरुद्धमा पाप गरेको छु। अब म तपाईँको छोरा भनिन लायकको छैनँ।’”—लुका १५:२१.

त्यसपछि बुबा आफ्ना दासहरूलाई यस्तो आदेश दिन्छ: “झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औँठी र जुत्ता पनि लगाइदेओ! त्यसपछि मोटोघाटो बाछो ल्याएर काट अनि हामी खाऔँ र रमाइलो गरौँ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो; ऊ हराएको थियो तर अहिले भेटियो।” अनि तिनीहरू ‘रमाइलो गर्न थाल्छन्‌।’—लुका १५:२२-२४.

यी सबै हुँदा जेठो छोरा भने खेतमै थियो। येसु ऊबारे यसो भन्‍नुहुन्छ: “फर्केर घरनजिकै पुग्दा उसले नाचगान भइरहेको आवाज सुन्यो। त्यसैले उसले एक जना नोकरलाई बोलायो र के हुँदै छ भनी सोध्यो। त्यसले उसलाई भन्यो: ‘तपाईँको भाइ घर फर्कनुभयो र उहाँलाई सकुशल पाउनुभएकोले तपाईँका बुबाले मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’ तब ऊ रिसायो र भित्र जान मानेन। त्यसैले उसको बुबा बाहिर आएर उसलाई फकाउन थाल्यो। तब उसले बुबालाई भन्यो: ‘यत्तिका वर्षसम्म मैले तपाईँको सेवा गरेँ अनि कहिल्यै तपाईँको आज्ञा मान्‍न इन्कार गरिनँ तैपनि मेरा साथीहरूसित रमाइलो गर्न तपाईँले मलाई एक चोटि पनि एउटा पाठोसमेत दिनुभएन। तर वेश्‍याहरूसित बरालिएर तपाईँको सम्पत्ति उडाउने तपाईँको यो छोरा आउनेबित्तिकै तपाईँले उसको लागि मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’”—लुका १५:२५-३०.

येसुले सर्वसाधारण र पापीहरूलाई कृपा देखाउनुभएकोमा र ध्यान दिनुभएकोमा कसले त्यो जेठो छोराले जस्तै उहाँको आलोचना गरेका छन्‌? शास्त्री र फरिसीहरूले। तिनीहरूले यस्तो आलोचना गरेकोले नै येसुले यो उदाहरण बताउनुभएको हो। परमेश्‍वरले कसैलाई कृपा देखाउनुहुँदा त्यसको आलोचना गर्ने जो-कोहीले पनि यस उदाहरणबाट पाठ सिक्नुपर्छ।

बुबाले जेठो छोरालाई गरेको आग्रहबारे बताउँदै येसु यो उदाहरण यसरी टुङ्‌ग्याउनुहुन्छ: “बाबु, तिमी त सधैँ मसितै छौ अनि मेरो जे-जति छ, ती सब तिम्रै हो। तर हामीले खुसी मनाउनु र रमाइलो गर्नु उचित हो। किनकि तिम्रो यो भाइ मरेको थियो तर फेरि जिउँदो भयो अनि हराएको थियो तर फेरि भेटियो।”—लुका १५:३१, ३२.

त्यसपछि जेठो छोराले के गर्छ, येसुले खुलाउनुभएको छैन। तर येसु मृत्युबाट फेरि जीवित हुनुभएपछि ‘पुजारीहरूको ठूलो जमातले पनि विश्‍वास गर्न थाल्छ।’ (प्रेषित ६:७) तिनीहरूमध्ये कोही-कोही येसुले हराएको छोराको यस्तो मन छुने उदाहरण बताउनुहुँदा त्यहीँ उपस्थित भएका हुन सक्छन्‌। हो, तिनीहरूको समेत होस खुल्यो र तिनीहरू पश्‍चात्ताप गरेर परमेश्‍वरकहाँ फर्किन सके।

त्यस दिनदेखि यता येसुका चेलाहरूले उहाँले बताउनुभएको यो उदाहरणबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू मनमा राख्नुपर्ने हो। एउटा महत्त्वपूर्ण पाठ भनेको “टाढा परदेश”-मा देखिने कुराहरूको प्रलोभनमा परेर हामी तर्किनु हुँदैन, बरु हामीलाई माया गर्नुहुने र हाम्रो लागि सबै कुराको प्रबन्ध गरिदिनुहुने हाम्रो बुबाको छत्रछायामा रहनुपर्छ किनकि उहाँका मानिसहरूमाझ रहँदा हामी सुरक्षित हुन्छौँ।

अर्को पाठ भनेको हामीमध्ये कोही परमेश्‍वरको मार्गबाट तर्कियौँ भने नम्र हुँदै हाम्रो बुबाकहाँ फर्कनुपर्छ। यसो गर्दा हामीले फेरि उहाँको अनुग्रह पाउँछौँ।

उदाहरणको बुबाले कान्छो छोरालाई घरमा फेरि स्वागत गऱ्‍यो र उसलाई क्षमा दियो तर जेठो छोरा भने रिसायो र भाइलाई स्वागत गर्न चाहेन। यो बुबा र उसको जेठो छोराले देखाएको फरक मनोवृत्तिबाट पनि हामी पाठ सिक्न सक्छौँ। तर्किएर गएको कोही व्यक्‍ति साँचो पश्‍चात्ताप गरेर ‘बुबाको घरमा’ अर्थात्‌ यहोवाका मानिसहरूकहाँ फर्कँदा तिनीहरूले उसलाई क्षमा दिनुपर्छ र स्वागत गर्नुपर्छ। हाम्रो भाइ, जो “मरेको थियो तर अहिले फेरि जिउँदो” भयो र “हराएको थियो तर अहिले भेटियो” भनेर रमाहट गर्नुपर्छ।