सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९०

“मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ”

“मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ”

युहन्‍ना ११:१७-३७

  • येसु लाजरसको मृत्यु भएपछि आइपुग्नुहुन्छ

  • “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ”

येसु पेरियाबाट बेथानिनजिकै आइपुग्नुहुन्छ। यो गाउँ यरुसलेमबाट लगभग तीन किलोमिटर पूर्वतिर पर्छ। भाइको मृत्यु भएकोले मरियम र मार्था शोक गर्दै छन्‌। तिनीहरूलाई सान्त्वना दिन धेरै जना आएका छन्‌।

मार्थाले येसु आउँदै हुनुहुन्छ भनेर सुन्छिन्‌। त्यसैले तिनी दौडेर उहाँलाई भेट्‌न जान्छिन्‌। यी चार दिनमा आफू र आफ्नी बहिनीको मनमा खेलिरहेको कुराबारे मार्था येसुलाई यसो भन्छिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” तर यसको मतलब मार्था आशाविहीन अवस्थामा छिन्‌ भन्‍ने होइन। तिनी भन्छिन्‌: “मलाई थाह छ, तपाईँले परमेश्‍वरसित जेसुकै माग्नुभए तापनि उहाँले तपाईँलाई दिनुहुनेछ।” (युहन्‍ना ११:२१, २२) येसुले लाजरसलाई फेरि जीवित पार्न सक्नुहुन्छ जस्तो तिनलाई लाग्छ।

येसु भन्‍नुहुन्छ: “तिम्रो भाइ ब्युँतनेछ।” येसु भविष्यमा मानिसहरू फेरि जीवित हुने आशाबारे कुरा गर्दै हुनुहुन्छ जस्तो मार्थालाई लाग्छ, जुन आशा अब्राहाम र अरूले पनि राखेका थिए। त्यसैले तिनी यो आशा पक्कै पूरा हुनेछ भन्‍ने कुरामा विश्‍वस्तता व्यक्‍त गर्दै यसो भन्छिन्‌: “मलाई थाह छ, अन्तको दिनमा जब मरेकाहरूलाई फेरि जीवित पारिनेछ, तब ऊ ब्युँतनेछ।”—युहन्‍ना ११:२३, २४.

तर के येसुले तिनीहरूलाई तुरुन्तै कुनै मदत दिन सक्नुहुन्छ? परमेश्‍वरले आफूलाई मृत्युमाथि विजयी हुन सक्ने शक्‍ति दिनुभएको कुरा सम्झाउँदै उहाँ मार्थालाई यसो भन्‍नुहुन्छ: “जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ। अनि जो अहिले जीवित छ र ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।”—युहन्‍ना ११:२५, २६.

तर येसुले त्यतिबेला जीवितै रहेका आफ्ना चेलाहरू कहिल्यै मर्नेछैनन्‌ भन्‍न खोज्नुभएको होइन। उहाँले आफ्ना प्रेषितहरूलाई भन्‍नुभएझैँ एक दिन उहाँ आफै पनि मर्नुपर्छ। (मत्ति १६:२१; १७:२२, २३) उहाँमाथि विश्‍वास गरेमा अनन्त जीवन पाइन्छ भन्‍ने कुरामा येसु जोड दिँदै हुनुहुन्छ। त्यस्तो जीवन थुप्रैले मृत्युबाट जीवित भएपछि पाउनेछन्‌। तर यस युगको अन्तमा बाँचिरहेका कतिपय वफादार जनहरूले त मृत्यु नै देख्नु नपर्ने पनि हुन सक्छ। जेहोस्‌, येसुमाथि विश्‍वास गर्ने सबै जना आफू सदाको लागि मर्नुपर्ने छैन भन्‍ने कुरामा पक्का हुन सक्छन्‌।

येसुले “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ” भनी भर्खरै भन्‍नुभएको छ। त्यसोभए के उहाँले मरिसकेको केही दिन भइसकेको लाजरसलाई जीवित पार्न सक्नुहुनेछ? येसु मार्थालाई सोध्नुहुन्छ: “के तिमी यो कुरामा विश्‍वास गर्छ्यौ?” तिनी यसो भन्छिन्‌: “गर्छु प्रभु। तपाईँ नै परमेश्‍वरका छोरा अनि संसारमा आउनेवाला ख्रिष्ट हुनुहुन्छ भनेर मैले विश्‍वास गरेकी छु।” येसुले त्यही दिन केही गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुँदै मार्था दौडेर घर जान्छिन्‌ र बहिनीलाई खुसुक्क यसो भन्छिन्‌: “गुरुज्यू आउनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।” (युहन्‍ना ११:२५-२८) यो सुन्‍नेबित्तिकै मरियम जुरुक्क उठेर जान्छिन्‌। तिनी लाजरसको चिहानमा जान लागेकी होलिन्‌ भन्‍ने सोचेर अरू पनि तिनको पछि लाग्छन्‌।

तर मरियम येसु भएको ठाउँमा जान्छिन्‌ अनि रुँदै उहाँको पाउमा घोप्टो परेर मार्थाले भनेकै कुरा भन्छिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” मरियम र अरूहरू रोइरहेको देखेर येसु व्याकुल हुँदै सुस्केरा हाल्नुहुन्छ र रुनुहुन्छ। यो देखेर मानिसहरूको मन छुन्छ। तर केहीले भन्छन्‌: ‘जन्मजात अन्धो मानिसलाई निको पार्न सक्ने येसुले के उसलाई चाहिँ मर्नदेखि रोक्न सकेन?’—युहन्‍ना ११:३२, ३७.