अध्याय १०१
बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ
मत्ति २६:६-१३ मर्कुस १४:३-९ युहन्ना ११:५५–१२:११
-
येसु यरुसलेमनजिकै बेथानिमा फर्कनुहुन्छ
-
मरियम येसुको शिर र पाउमा सुगन्धित तेल खन्याउँछिन्
येसु यरिहोबाट बेथानितिर लाग्नुहुन्छ। त्यहाँ पुग्न अप्ठेरो बाटो हुँदै २० किलोमिटर उकालो चढ्नुपर्छ। यरिहो समुद्री सतहभन्दा लगभग २५० मिटरमुनि छ भने बेथानि समुद्री सतहभन्दा लगभग ६१० मिटरमाथि छ। लाजरस र तिनका दुई दिदी बेथानिमा बस्छन्। यो सानो गाउँ यरुसलेमबाट तीन किलोमिटर टाढा छ र यो जैतुन डाँडाको पूर्वी भेगमा पर्छ।
थुप्रै यहुदीहरू निस्तार चाडको लागि यरुसलेम आइपुगिसकेका छन्। आफूले लास छोएको वा अशुद्ध बनाउने कुनै काम गरेको हुन सक्ने भएकोले तिनीहरू “नियमअनुसारै आफूलाई शुद्ध पार्न” यरुसलेम चाँडै आइपुगेका हुन्। (युहन्ना ११:५५; गन्ती ९:६-१०) तिनीहरूमध्ये कोही-कोही मन्दिर परिसरमा जम्मा हुन्छन्। येसु निस्तार चाडको लागि यरुसलेम आउनुहुन्छ कि आउनुहुन्न भनेर तिनीहरू अनेक अड्कल काट्छन्।—युहन्ना ११:५६.
येसुबारे मानिसहरूमा धेरै कौतूहलता छ। केही धर्मगुरु उहाँलाई पक्रेर मार्न चाहन्छन्। उहाँ कहाँ हुनुहुन्छ भनी कसैलाई थाह भएमा त्यसबारे खबर गर्नू भनेर तिनीहरूले आदेशसमेत दिएका छन् किनकि ‘तिनीहरू उहाँलाई पक्रन चाहन्छन्।’ (युहन्ना ११:५७) येसुले लाजरसलाई जीवित पार्नुभएको घटनापछि ती धर्मगुरुहरूले उहाँलाई मार्ने कोसिस गरिसकेका छन्। (युहन्ना ११:४९-५३) त्यसैले कोही-कोहीलाई येसु अब मानिसहरूसामु खुलेआम देखा पर्नुहुन्न होला जस्तो लाग्नु स्वाभाविकै हो।
येसु “निस्तार चाड सुरु हुनुभन्दा छ दिनअघि” शुक्रबारको दिन बेथानि आइपुग्नुहुन्छ। (युहन्ना १२:१) नयाँ दिन (विश्रामदिन, नीसान ८) सूर्यास्तपछि सुरु हुन्छ। यसरी उहाँले विश्रामदिन सुरु हुनुअघि नै आफ्नो यात्रा पूरा गर्नुभएको छ। उहाँले विश्रामदिनमा (शुक्रबारको सूर्यास्तदेखि शनिबारको सूर्यास्तसम्म) यात्रा गर्नुभएको हुन सक्दैन किनभने यहुदी नियमअनुसार विश्रामदिनमा यात्रा गर्न मिल्दैन। सायद येसु पहिलाजस्तै यसपटक पनि लाजरसको घरमा जानुहुन्छ।
बेथानिका बासिन्दा सिमोनले येसु, लाजरस र उहाँसँगै यात्रा गरिरहेकाहरूलाई शनिबार साँझ खाना खान बोलाउँछन्। सिमोनलाई “कुष्ठरोगी” पनि भनिन्छ। सायद तिनी पहिला कुष्ठरोगी थिए र तिनलाई येसुले निको पार्नुभएको हुन सक्छ। मार्था जाँगरिली भएकीले उनी पाहुनाहरूको सेवामै व्यस्त छिन्। तर मरियम भने विशेष तरिकामा येसुको खातिरदारी गर्छिन्, जसले गर्दा विवाद नै खडा हुन्छ।
मरियम अलाबास्टरको सानो भाँडो खोल्छिन्, जसमा “आधा लिटरजति असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल” छ। (युहन्ना १२:३) यो तेल एकदमै किम्मती छ। यसको मोल (३०० दिनार) झन्डै एक वर्षको ज्यालाबराबर छ। मरियम त्यो तेल येसुको शिर र पाउमा खन्याउँछिन् र आफ्नो केशले उहाँको पाउ पुछ्छिन्। पूरै घर तेलको मगमग बास्नाले भरिन्छ।
यो देखेर चेलाहरू रिसाउँदै यसो भन्छन्: “यस्तो सुगन्धित तेलको किन यत्रो नोक्सानी?” (मर्कुस १४:४) यहुदा इस्करियोत पनि आपत्ति जनाउँदै यसो भन्छन्: “यो सुगन्धित तेल ३०० दिनारमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई किन दिइएन?” (युहन्ना १२:५) वास्तवमा यहुदाले गरिबहरूको चिन्ता गरेर यसो भनेका त होइनन्। किनकि तिनी चेलाहरूको कन्तुरबाट पैसा चोर्ने गर्छन्।
येसु मरियमको पक्ष लिँदै यसो भन्नुहुन्छ: “तिमीहरू किन यस स्त्रीलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे। गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन् तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ। यस स्त्रीले मेरो शरीरमा यो सुगन्धित तेल लगाइदिएर मेरो मृत्युपछि मलाई गाड्न तयारी गरेकी हो। म तिमीहरूलाई साँचो-साँचो भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”—उहाँ बेथानि आइपुग्नुभएको एक दिन नाघिसकेको छ र उहाँ त्यहाँ हुनुहुन्छ भन्ने कुरा चारैतिर फैलिन्छ। थुप्रै यहुदी येसुलाई मात्र होइन तर “उहाँले मृत्युबाट ब्युँताउनुभएका लाजरसलाई पनि हेर्न” सिमोनको घरमा आउँछन्। (युहन्ना १२:९) अब मुख्य पुजारीहरू येसु र लाजरस दुवैलाई मार्ने योजना बनाउँछन्। यी धर्मगुरुहरूलाई धेरै मानिसले येसुमाथि विश्वास गर्नुको एउटा कारण लाजरस फेरि जीवित भएकोले नै हो भन्ने लाग्छ। यी धर्मगुरुहरू कत्ति दुष्ट छन्!