सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ११८

को ठूलो भन्‍नेबारे बहस

को ठूलो भन्‍नेबारे बहस

मत्ति २६:३१-३५ मर्कुस १४:२७-३१ लुका २२:२४-३८ युहन्‍ना १३:३१-३८

  • येसु ओहदाबारे सल्लाह दिनुहुन्छ

  • पत्रुसले येसुलाई तिरस्कार गर्नेछन्‌ भनेर बताइन्छ

  • प्रेम—येसुका अनुयायीहरूको चिनारी

आफ्ना प्रेषितहरूसितको यो अन्तिम साँझ येसुले तिनीहरूको खुट्टा धोइदिएर नम्रतासम्बन्धी राम्रो पाठ सिकाउनुभएको छ। यो किन उचित छ? किनकि तिनीहरूमा एउटा कमजोरी छ। हुनत तिनीहरू परमेश्‍वरका वफादार सेवकहरू हुन्‌ तर तिनीहरूलाई अझै पनि आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भन्‍ने चिन्ता छ। (मर्कुस ९:३३, ३४; १०:३५-३७) तिनीहरूको यो कमजोरी फेरि पनि देखा पर्छ।

प्रेषितहरूमाझ ‘तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्‍ने भनेर चर्को बहस चल्छ।’ (लुका २२:२४) तिनीहरू त्यसरी बाझाबाझ गरेको देखेर येसुलाई कत्ति दुःख लाग्यो होला! अब उहाँ के गर्नुहुन्छ?

तिनीहरूले त्यस्तो मनोवृत्ति र आचरण देखाएकोमा तिनीहरूलाई हप्काउनुको सट्टा धैर्य गर्दै उहाँ तिनीहरूसित यसरी तर्क गर्नुहुन्छ: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन। . .  कोचाहिँ ठूलो हो, खान बस्ने कि सेवा गर्ने?” आफूले तिनीहरूको लागि बारम्बार बसालेको उदाहरण सम्झाउँदै उहाँ यसो भन्‍नुहुन्छ: “तर म त तिमीहरूबीच सेवकजस्तै छु।”—लुका २२:२५-२७.

प्रेषितहरू त्रुटिपूर्ण भए तापनि तिनीहरूले विभिन्‍न गाह्रो परिस्थितिमा येसुलाई साथ दिइरहेका छन्‌। त्यसैले उहाँ तिनीहरूलाई भन्‍नुहुन्छ: “मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु।” (लुका २२:२९) यी पुरुषहरू येसुका वफादार अनुयायीहरू हुन्‌। उहाँ र तिनीहरूबीच बाँधिएको करारले गर्दा तिनीहरू स्वर्गको राज्यमा हुनेछन्‌ र उहाँसँगै शासन गर्नेछन्‌ भनेर येसु आश्‍वासन दिनुहुन्छ।

प्रेषितहरूसित यस्तो विशेष आशा भए तापनि तिनीहरू अझै रगत र मासुले बनेको शरीरमा छन्‌ र तिनीहरू अझै त्रुटिपूर्ण छन्‌। त्यसैले येसु तिनीहरूलाई भन्‍नुहुन्छ: “सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्‍ने माग गरेको छ।” (लुका २२:३१) उहाँ यस्तो चेतावनी पनि दिनुहुन्छ: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्‌।’”—मत्ति २६:३१; जकरिया १३:७.

पत्रुस विश्‍वस्त हुँदै यसो भन्छन्‌: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!” (मत्ति २६:३३) आज राती भाले दुई चोटि बास्नुअघि पत्रुसले उहाँलाई तिरस्कार गर्नेछन्‌ भनेर उहाँ तिनलाई बताउनुहुन्छ। तर येसु अझै यसो भन्‍नुहुन्छ: “तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु र तिमी पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।” (लुका २२:३२) पत्रुस निर्धक्क हुँदै यसो भन्छन्‌: “तपाईँसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।” (मत्ति २६:३५) अरू प्रेषितहरू पनि त्यसै भन्छन्‌।

येसु आफ्ना चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहुदीहरूलाई भनेझैँ अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’” त्यसपछि उहाँ भन्‍नुहुन्छ: “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युहन्‍ना १३:३३-३५.

येसुले अब केही समय मात्र तिनीहरूसित हुन्छु भन्‍नुभएको सुनेपछि पत्रुस सोध्छन्‌: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ?” येसु जवाफ दिनुहुन्छ: “म जहाँ जाँदै छु, मेरो पछि लागेर तिमी अहिल्यै त्यहाँ आउन सक्दैनौ तर पछि भने आउनेछौ।” छक्क पर्दै पत्रुस यसो भन्छन्‌: “प्रभु, म किन अहिल्यै तपाईँको पछि लाग्न सक्दिनँ? तपाईँको लागि म आफ्नो ज्यानसमेत दिनेछु।”—युहन्‍ना १३:३६, ३७.

अब येसु प्रेषितहरूलाई पैसाको थैली वा खाजाको पोका केही नलिई गालिलमा प्रचार अभियानको लागि पठाउनुभएको समयबारे सम्झाउनुहुन्छ। (मत्ति १०:५, ९, १०) उहाँ तिनीहरूलाई सोध्नुहुन्छ: “के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरू भन्छन्‌: “अहँ, भएन!” तर अब यसपछिका दिनहरूमा तिनीहरूले के गर्नुपर्नेछ? येसु तिनीहरूलाई यस्तो निर्देशन दिनुहुन्छ: “तर अब थैली हुनेले त्यो बोकोस्‌, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्‌। किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदै छ।”—लुका २२:३५-३७.

येसु आफूलाई दुई जना कुकर्मीको साथमा झुन्ड्याएर मारिने समयबारे सङ्‌केत गर्दै हुनुहुन्छ। त्यसपछि उहाँका अनुयायीहरूले भीषण विरोध सामना गर्नेछन्‌। तिनीहरूलाई आफू त्यसको लागि तयार छु जस्तो लाग्छ र यसो भन्छन्‌: “प्रभु, हेर्नुहोस्‌ त! यहाँ दुई वटा तरबार छन्‌।” उहाँ तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “यति भए पुग्छ।” (लुका २२:३८) अब चाँडै एक जना प्रेषितले ती दुई वटा तरबारमध्ये एउटा चलाउँदा उहाँले त्यस मौकामा अर्को एउटा महत्त्वपूर्ण पाठ सिकाउनुहुनेछ।