सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२१

“साहसी होओ! मैले यस संसारलाई जितेको छु”

“साहसी होओ! मैले यस संसारलाई जितेको छु”

युहन्‍ना १६:१-३३

  • केही बेरपछि प्रेषितहरूले येसुलाई देख्नेछैनन्‌

  • प्रेषितहरूको शोक हर्षमा परिणत हुनेछ

येसु र प्रेषितहरू माथिल्लो तलाको कोठाबाट निस्कने तरखरमा हुनुहुन्छ, जहाँ उहाँहरूले निस्तार चाडको भोज खानुभएको थियो। उनीहरूलाई विभिन्‍न विषयमा सल्लाह दिनुभएपछि येसु थप यसो भन्‍नुहुन्छ: “तिमीहरूले ठेस नखाओ भनेर मैले यी कुराहरू भनेको हुँ।” यो चेतावनी किन उपयुक्‍त छ? उहाँ भन्‍नुहुन्छ: “मानिसहरूले तिमीहरूलाई सभाघरबाट निकाल्नेछन्‌। भन्‍ने हो भने, यस्तो समय आउँदै छ, जब तिमीहरूलाई मार्नेजति हरेकले परमेश्‍वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्‍नेछ।”—युहन्‍ना १६:१, २.

यो कुरा सुनेर प्रेषितहरू पक्कै चिन्तित भएको हुनुपर्छ। हुनत येसुले पहिला पनि संसारले उनीहरूलाई घृणा गर्नेछ भन्‍नुभएको थियो, तर उनीहरू मारिनेछन्‌ भनेर चाहिँ सीधै भन्‍नुभएको थिएन। किन? उहाँ भन्‍नुहुन्छ: “यी कुराहरू मैले तिमीहरूलाई पहिल्यै बताइनँ किनकि म तिमीहरूसितै थिएँ।” (युहन्‍ना १६:४) तर अब भने आफू जानुअघि उहाँ चेलाहरूलाई यसबारे चेतावनी दिनुहुन्छ। यसले गर्दा उनीहरू ठेस खानदेखि जोगिन सक्नेछन्‌।

येसु अझै भन्‍नुहुन्छ: “मलाई पठाउनुहुनेकहाँ म जाँदै छु, तैपनि तिमीहरूमध्ये कसैले पनि मलाई ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ?’ भनेर सोध्दैनौ।” यसै साँझ केही बेरअघि प्रेषितहरूले येसुलाई यो प्रश्‍न सोधेका थिए। (युहन्‍ना १३:३६; १४:५; १६:५) तर यतिबेला भने खेदो भोग्नुपर्ने विषयमा येसुले भन्‍नुभएको कुरा सुनेर उनीहरूको होसहवासै उडेको छ; हो, उनीहरू चिन्तामा डुबेका छन्‌। त्यसैले उनीहरू येसुलाई उहाँले पाउन लाग्नुभएको महिमा र त्यसले साँचो उपासकहरूको लागि कस्तो अर्थ राख्छ भन्‍नेबारे थप कुरा सोध्नै सक्दैनन्‌। येसु भन्‍नुहुन्छ: “मैले तिमीहरूलाई यी कुराहरू भनेकोले तिमीहरूको हृदय पीडाले भरिएको छ।”—युहन्‍ना १६:६.

त्यसपछि येसु भन्‍नुहुन्छ: “तिमीहरूकै फाइदाको लागि म जाँदै छु। किनभने म गइनँ भने मदतगार तिमीहरूकहाँ आउनेछैन तर यदि म गएँ भने म त्यसलाई तिमीहरूकहाँ पठाउनेछु।” (युहन्‍ना १६:७) येसु मर्नुभएपछि र स्वर्ग फर्कनुभएपछि मात्र चेलाहरूले पवित्र शक्‍ति पाउन सक्छन्‌ र यसलाई उहाँले पृथ्वीको जुनसुकै ठाउँका चेलाहरूको मदतगारको रूपमा पठाउन सक्नुहुन्छ।

पवित्र शक्‍तिले “पाप, धार्मिकता र न्यायको विषयमा संसारलाई चित्तबुझ्दो प्रमाण दिनेछ।” (युहन्‍ना १६:८) हो, यो संसार परमेश्‍वरको छोरामाथि विश्‍वास गर्नदेखि चुकेको कुरा पर्दाफास हुनेछ। येसु स्वर्ग जानु उहाँको धार्मिकताको चित्तबुझ्दो प्रमाण हुनेछ अनि यसले “यस संसारको शासक” सैतान किन दण्ड पाउन लायकको छ भन्‍ने कुरा प्रस्ट पार्नेछ।—युहन्‍ना १६:११.

येसु थप यसो भन्‍नुहुन्छ: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्‌ तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।” उहाँले पवित्र शक्‍ति खन्याउनुभएपछि चेलाहरूले सम्पूर्ण “सत्य” राम्ररी बुझ्न सक्नेछन्‌ र उनीहरू ती सत्यअनुरूप चल्न सक्षम हुनेछन्‌।—युहन्‍ना १६:१२, १३.

येसुले अब भन्‍न लाग्नुभएको यो कुरा सुनेर प्रेषितहरू छक्क पर्छन्‌: “अब केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि फेरि त्यसको केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।” उहाँले के भन्‍न खोज्नुभएको हो भनेर चेलाहरू एकअर्कालाई सोध्न थाल्छन्‌। चेलाहरू यसबारे जान्‍न खोज्दै छन्‌ भन्‍ने थाह पाएर येसु भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसारले आनन्द मनाउनेछ; तिमीहरू शोकाकुल हुनेछौ तर तिमीहरूको शोक हर्षमा परिणत हुनेछ।” (युहन्‍ना १६:१६, २०) भोलिपल्ट दिउँसो येसुलाई मारिँदा धर्मगुरुहरू रमाउँछन्‌ र चेलाहरू भने शोक गर्छन्‌। तर येसु मृत्युबाट जीवित हुनुभएपछि उनीहरूको शोक हर्षमा परिणत हुन्छ! अनि उहाँले उनीहरूमाथि पवित्र शक्‍ति खन्याउनुहुँदा उनीहरू झनै हर्षित हुन्छन्‌।

प्रेषितहरूको अवस्थालाई बेथा लागेको स्त्रीको अवस्थासित तुलना गर्दै येसु भन्‍नुहुन्छ: “बालक जन्माउने बेला स्त्रीलाई पीडा हुन्छ किनकि उसको बेला आइपुगेको हुन्छ तर जब उसले बालक जन्माउँछे, तब संसारमा एउटा बालकको जन्म भएको खुसीयालीमा उसलाई त्यो वेदनाको सम्झना रहँदैन।” उहाँ प्रेषितहरूलाई यसो भनेर सान्त्वना दिनुहुन्छ: “तिमीहरूलाई पनि अहिले पक्कै पीडा भइरहेको छ तर जब म तिमीहरूलाई फेरि भेट्‌नेछु, तब तिमीहरूको हृदय आनन्दित हुनेछ अनि तिमीहरूको खुसी कसैले पनि खोस्नेछैन।”—युहन्‍ना १६:२१, २२.

यसअघि प्रेषितहरूले कहिल्यै येसुको नाममा बिन्ती गरेका छैनन्‌। तर अब येसु भन्‍नुहुन्छ: ‘त्यो दिन तिमीहरूले मेरो नाममा बुबालाई बिन्ती गर्नेछौ।’ तर उनीहरूले किन त्यसो गर्नुपर्छ? बुबाले उनीहरूको बिन्ती सुन्‍न नचाहेकोले त होइन। बरु येसु भन्‍नुहुन्छ: “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ अनि म परमेश्‍वरको प्रतिनिधिको रूपमा आएको हुँ भनेर विश्‍वास गरेका छौ।”—युहन्‍ना १६:२६, २७.

येसुका प्रोत्साहनदायी शब्दहरूले गर्दा प्रेषितहरू विश्‍वस्त भई यसो भन्‍न उत्प्रेरित भएका हुन सक्छन्‌: “तपाईँ परमेश्‍वरको तर्फबाट आउनुभएको हो भनेर यसैबाट हामीलाई विश्‍वास भयो।” तर अब चाँडै उनीहरूको विश्‍वासको जाँच हुनेछ। अब हुनै लागेका घटनाहरूबारे येसु भन्‍नुहुन्छ: “हेर, यस्तो समय आउँदै छ अनि भन्‍ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्‌नेछौ।” तर उहाँ उनीहरूलाई यस्तो आश्‍वासन पनि दिनुहुन्छ: “मद्वारा तिमीहरूलाई शान्ति मिलोस्‌ भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। संसारमा तिमीहरूले सङ्‌कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।” (युहन्‍ना १६:३०-३३) तर अब येसुले उनीहरूलाई अलपत्र छोड्‌नुहुनेछ भन्‍नेचाहिँ होइन। येसु यो कुरामा ढुक्क हुनुहुन्छ: सैतान र त्यसको संसारले प्रेषितहरूको निष्ठा तोड्‌न जति नै प्रयास गरे तापनि उहाँले जस्तै उनीहरूले पनि वफादार हुँदै परमेश्‍वरको इच्छा पूरा गरेर संसारलाई जित्न सक्नेछन्‌।