सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२८

पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्‌

पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्‌

मत्ति २७:१२-१४, १८, १९ मर्कुस १५:२-५ लुका २३:४-१६ युहन्‍ना १८:३६-३८

  • पिलातस र हेरोद येसुलाई लगाइएको आरोपको छानबिन गर्छन्‌

येसु आफू राजा हुँ भन्‍ने कुरा पिलातसबाट लुकाउन खोज्नुहुन्‍न। तर उहाँको राज्य रोमको लागि कुनै खतरा होइन। येसु भन्‍नुहुन्छ: “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए। तर वास्तवमा मेरो राज्य यस संसारको होइन।” (युहन्‍ना १८:३६) हो, येसुको राज्य छ तर उहाँको राज्य यस संसारको होइन।

तर पिलातस यो मामिला यत्तिकैमा टुङ्‌ग्याउँदैनन्‌। तिनी सोध्छन्‌: “उसोभए के तिमी राजा नै हौ त?” पिलातस सही निष्कर्षमा पुगेका छन्‌ भन्‍ने कुरा थाह दिन येसु यस्तो जवाफ दिनुहुन्छ: “म राजा हुँ भनेर तपाईँ आफै भन्दै हुनुहुन्छ। सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ। सत्यको पक्षमा हुनेजति सबैले मेरो स्वर सुन्छन्‌।”—युहन्‍ना १८:३७.

येसुले पहिला थोमालाई पनि यसो भन्‍नुभएको थियो: “बाटो, सत्य र जीवन मै हुँ।” अब येसु पिलातसलाई पनि आफूलाई पृथ्वीमा “सत्य”-को, विशेषगरि परमेश्‍वरको राज्यबारे सत्य कुराको साक्षी दिन पठाइएको हो भन्‍नुहुन्छ। येसु यो सत्यको पक्षमा बोलिरहन दृढ हुनुहुन्छ, चाहे त्यसको लागि आफ्नो ज्यानै गुमाउन किन नपरोस्‌। पिलातस “के हो सत्य?” भनेर सोध्छन्‌ तर जवाफ भने कुर्दैनन्‌। येसुको न्याय गर्न आफूले अहिलेसम्म सुनेको कुरा नै पर्याप्त छ जस्तो तिनलाई लाग्छ।—युहन्‍ना १४:६; १८:३८.

पिलातस फेरि महलबाहिर पर्खिरहेको भीडकहाँ फर्कन्छन्‌। तिनले मुख्य पुजारीहरू र उनीहरूसँगै भएकाहरूलाई यसो भन्दा येसु पनि तिनको छेवैमा उभिरहनुभएको हुनुपर्छ: “मैले यस मानिसमा केही अपराध फेला पारिनँ।” यो सुनेर भीड रिसाउँछ र यसो भन्दै जिद्दी गर्न थाल्छ: “यसले आफ्नो शिक्षाद्वारा यहुदियाभरि नै, गालिलदेखि यहाँसम्मका सबै मानिसलाई उक्साइरहेको छ।”—लुका २३:४, ५.

यहुदीहरूले कुनै ठोस आधारविना यस्तो रडाको मच्चाइरहेको देखेर पिलातस छक्क पर्छन्‌। मुख्य पुजारीहरू र धर्मगुरुहरू कराइरहँदा पिलातस येसुलाई सोध्छन्‌: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदै छन्‌, के तिमीले सुनेनौ?” (मत्ति २७:१३) तर येसु केही जवाफ दिनुहुन्‍न। यहुदीहरूले यसरी आधारहीन आरोपहरू लगाइरहेको भए तापनि येसु भने केही नबोली बसिरहनुभएको देखेर पिलातस छक्क पर्छन्‌।

येसुले मानिसहरूलाई “गालिलदेखि” उक्साउन थालेको हो भनेर यहुदीहरू बताउँछन्‌। यो सुनेर पिलातसले येसु वास्तवमा एक जना गालिली रहेछन्‌ भनेर थाह पाउँछन्‌। यसबाट पिलातसले येसुको न्याय गर्ने जिम्मेवारीबाट फुत्कन सकिने एउटा उपाय भेट्टाउँछन्‌। यतिबेला गालिलका शासक हेरोद एन्टिपास (महान्‌ हेरोदका छोरा) हुन्‌ र यो निस्तार चाडको समय भएकोले तिनी यरुसलेममै छन्‌। त्यसैले पिलातस येसुलाई हेरोदकहाँ पठाउँछन्‌। हेरोद एन्टिपासले नै बप्तिस्मा गराउने युहन्‍नाको टाउको काट्‌न लगाएका थिए। येसुले चमत्कारहरू गर्दै हुनुहुन्छ भन्‍ने सुनेपछि हेरोदलाई येसु मृत्युबाट ब्युँतेर आएका युहन्‍ना हुन्‌ कि भनेर चिन्ता लागेको थियो।—लुका ९:७-९.

हेरोद येसुलाई भेट्‌न पाउने कुरा थाह पाउँदा असाध्यै खुसी हुन्छन्‌। तर येसुलाई मदत गर्न चाहेकोले वा उहाँमाथि लगाइएका आरोपहरू सही हुन्‌ वा गलत हुन्‌ भनेर पत्ता लगाउन चाहेकोले त होइन। हेरोद ‘उहाँले केही चमत्कार गर्नुभएको हेर्ने आशा गरिरहेका छन्‌।’ (लुका २३:८) त्यसैले तिनी उहाँलाई भेट्‌न उत्सुक छन्‌। तर येसु हेरोदको कौतूहलता मेटाउनुहुन्‍न। वास्तवमा हेरोदले प्रश्‍न गर्दा येसु एक शब्द बोल्नुहुन्‍न। यसले गर्दा हिस्स परेका हेरोद र तिनका सैनिकहरू उहाँको ‘बेइज्जत गर्छन्‌।’ (लुका २३:११) तिनीहरू उहाँलाई दामी लुगा लगाइदिन्छन्‌ र उहाँको खिल्ली उडाउँछन्‌। त्यसपछि हेरोद येसुलाई फेरि पिलातसकहाँ नै पठाइदिन्छन्‌। हेरोद र पिलातस पहिला शत्रु थिए तर अब भने घनिष्ठ मित्र हुन्छन्‌।

येसु फर्कनुभएपछि पिलातस मुख्य पुजारीहरू, यहुदी शासकहरू र अरू मानिसहरूलाई बोलाएर यसो भन्छन्‌: “मैले तिमीहरूकै सामुन्‍ने उसको छानबिन गरेँ तर तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ। वास्तवमा हेरोदले पनि फेला पारेनन्‌। त्यसैले त तिनले उसलाई हामीकहाँ फिर्ता पठाए। हेर, उसले मृत्युदण्ड पाउनुपर्ने केही काम गरेको छैन। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”—लुका २३:१४-१६.

पिलातस येसुलाई मुक्‍त गर्न चाहन्छन्‌ किनकि पुजारीहरूले ईर्ष्याले जलेर उहाँलाई आफूकहाँ सुम्पेका हुन्‌ भनेर तिनलाई थाह छ। येसुलाई मुक्‍त गर्न खोजिरहेकै बेला पिलातसले त्यसो गर्ने अर्को ठोस कारण पनि पाउँछन्‌। तिनी न्यायआसनमा बसिरहेको बेला तिनकी पत्नीले यस्तो खबर पठाउँछिन्‌: “त्यस धर्मी मानिसलाई केही नगर्नुहोस्‌। किनकि उसको कारण डरलाग्दो सपना देखेकोले [परमेश्‍वरले देखाउनुभएको हुन सक्छ] आज मलाई निकै गाह्रो भयो।”—मत्ति २७:१९.

पिलातस निर्दोष येसुलाई मुक्‍त गर्न चाहन्छन्‌ तर मुक्‍त गर्ने कसरी?