अध्याय १३१
निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ
मत्ति २७:३३-४४ मर्कुस १५:२२-३२ लुका २३:३२-४३ युहन्ना १९:१७-२४
-
येसुलाई यातनाको खम्बामा टाँगिन्छ
-
येसुको शिरमास्तिर राखिएको दोष-पत्र पढेर मानिसहरू उहाँको खिसी गर्छन्
-
येसु पार्थिव प्रमोदवनको आशा दिनुहुन्छ
येसु र अरू दुई जना डाँकुलाई मृत्युदण्ड दिन सहरबाट नजिकैको एउटा ठाउँमा लगिन्छ। त्यस ठाउँलाई गलगथा अर्थात् खप्पर स्थान भनिन्छ, जुन ठाउँ “टाढैबाट” देखिन्छ।—मर्कुस १५:४०.
दोषी ठहराइएका यी तीन जनाको लुगा फुकालिन्छ अनि मर्र र तीतो मिसाइएको दाखमद्य पिउन दिइन्छ। यसलाई यरुसलेमका स्त्रीहरूले तयार पारेको हुनुपर्छ। मृत्युदण्ड पाउनै लागेकाहरूलाई रोमीहरू पीडा कम गर्ने यो तरल पदार्थ पिउन अनुमति दिन्छन्। तर यसलाई चाखेपछि येसु पिउन मान्नुहुन्न। किन? किनकि उहाँ पूरै होसहवासमा रहेर यो ठूलो जाँचको सामना गर्न चाहनुहुन्छ; उहाँ मृत्युसम्मै वफादार हुन चाहनुहुन्छ।
येसुलाई खम्बामा तनक्क पारेर सुताइन्छ। (मर्कुस १५:२५) त्यसपछि सिपाहीहरू उहाँको हात र खुट्टामा किला ठोक्छन्। त्यसले मासु र अस्थिबन्धन छेड्दा उहाँलाई असाध्यै दुख्छ। खम्बालाई ठाडो पारेर उभ्याइँदा शरीरको भारले गर्दा घाउ अझ च्यातिन्छ र येसुलाई असह्य पीडा हुन्छ। तैपनि येसु ती सिपाहीहरूलाई गाली गर्नुहुन्न। बरु उहाँ यसरी प्रार्थना गर्नुहुन्छ: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्। किनकि तिनीहरू जे गर्दै छन्, त्यो तिनीहरू जान्दैनन्।”—लुका २३:३४.
रोमीहरूको चलनअनुसार मृत्युदण्ड पाउन लागेको व्यक्तिको अपराध एउटा पाटीमा लेखेर सँगै टाँगिन्छ। यस पटक पिलातसले यस्तो लेखिएको पाटी टाँगेका छन्: “नासरी येसु, यहुदीहरूका राजा।” यसलाई हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको छ। त्यसैले प्रायः सबैले पढ्न सक्छन्। येसुलाई मृत्युदण्ड दिन दबाब दिने यहुदीहरूप्रति आफ्नो असन्तुष्टि पोख्न पिलातस यसो गर्छन्। तर पुजारीहरू यसो भन्दै विरोध गर्छन्: “‘यहुदीहरूका राजा’ भनेर होइन तर यसले ‘म यहुदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्।” तर फेरि पनि तिनीहरूको कठपुतली बन्न नचाहेकोले पिलातस यस्तो जवाफ दिन्छन्: “मैले जे लेखेँ, सो लेखेँ।”—युहन्ना १९:१९-२२.
क्रोधित पुजारीहरू यहुदी न्यायपरिषद्मा येसुको पुर्पक्ष हुँदा उहाँको विरुद्धमा दिइएको झूटो गवाहीलाई फेरि दोहोऱ्याउँछन्। अनि त्यो बाटो भएर गइरहेका बटुवाहरू आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै यसो भन्छन्: “वाह! मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस् हैन, लौ यातनाको खम्बाबाट ओर्लेर आइज र आफैलाई बचाएर देखा।” त्यसैगरि मुख्य पुजारीहरू र शास्त्रीहरू पनि आपसमा यसो भन्छन्: “अब इस्राएलको राजा ख्रिष्ट यातनाको खम्बाबाट ओर्लेर आओस् अनि त्यो देखेपछि हामी पत्याऔँला।” (मर्कुस १५:२९-३२) खम्बामा उहाँको दायाँ र बायाँतर्फ टाँगिएका डाँकुहरूले समेत उहाँलाई गिल्ला गर्छन् तर वास्तवमा तीन जनामध्ये येसु मात्र निर्दोष हुनुहुन्छ।
चार जना रोमी सिपाहीहरूले पनि येसुको गिल्ला गर्छन्। सायद तिनीहरू अमिलो दाखमद्य पिउँदै छन् र जिस्क्याउँदै येसुलाई पनि दाखमद्य दिन खोजेजस्तो गर्छन् तर उहाँ पक्कै पनि त्यो लिएर पिउन सक्नुहुन्न। ती रोमीहरू येसुको शिरमास्तिर भएको पाटीलाई सङ्केत गर्दै यसरी उहाँको गिल्ला गर्छन्: “यदि तँ यहुदीहरूको राजा होस् भने आफैलाई बचा।” (लुका २३:३६, ३७) सोच्नुहोस् त, जो व्यक्ति बाटो, सत्य र जीवन साबित हुनुभएको छ, अहिले उहाँलाई नै दुर्व्यवहार गरिँदै छ र उहाँको खिल्ली उडाइँदै छ। तर उहाँ यी सब कुराहरू हेरिरहेका यहुदीहरू, उहाँको गिल्ला गरिरहेका रोमी सिपाहीहरू अनि आफ्नो दायाँ र बायाँतर्फ टाँगिएका अपराधीहरूलाई हप्काउनुहुन्न; दृढ हुँदै यी सब कुरा सहनुहुन्छ।
चार जना सिपाहीले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिन्छन्। कसले कुन भाग लिने भनेर पक्का गर्न तिनीहरू गोला हाल्छन्। तर येसुले भित्र लगाउनुभएको लुगा असाध्यै उच्च कोटीको छ, त्यो “सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो” छ। त्यसैले सिपाहीहरू यसो भन्छन्: “यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।” यसरी तिनीहरू धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा गर्छन्: “मैले लगाइराखेको लुगा तिनीहरूले आपसमा भाग लगाए अनि मेरो जीउको कपडा तिनीहरूले गोला हालेर लिए।”—युहन्ना १९:२३, २४; भजन २२:१८.
केही समयपछि ती दुई जना डाँकुमध्ये एक जनाले येसु राजा हुनुहुन्छ भनेर महसुस गर्छ। ऊ आफ्नो साथीलाई हप्काउँदै यसो भन्छ: “तैँले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस् तैपनि के तँलाई परमेश्वरको अलिकता पनि डर लाग्दैन? हामीले यस्तो सजाय पाउनु न्यायोचित छ। किनकि हामीले जे गऱ्यौँ, त्यसकै फल भोगिरहेका छौँ। तर यस मानिसले त यस्तो सजाय पाउनुपर्ने केही गरेको छैन।” त्यसपछि ऊ येसुलाई यस्तो बिन्ती गर्छ: “तपाईँ राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।”—लुका २३:४०-४२.
येसु यस्तो जवाफ दिनुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित” स्वर्गको राज्यमा होइन तर “प्रमोदवनमा हुनेछौ।” (लुका २३:४३) येसुले गर्नुभएको यो प्रतिज्ञा र प्रेषितहरूलाई तिनीहरू उहाँसितै स्वर्गको राज्यको सिंहासनमा बस्नेछन् भनेर गर्नुभएको प्रतिज्ञा एउटै होइन। (मत्ति १९:२८; लुका २२:२९, ३०) तर यस यहुदी अपराधीले यहोवा परमेश्वरले आदम, हव्वा र तिनीहरूका सन्तानका लागि सुरुमा रच्नुभएको पार्थिव प्रमोदवनबारे सुनेको हुनुपर्छ। अब यो अपराधी त्यो आशासहित मर्न सक्छ।