सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३४

येसु जीवित हुनुहुन्छ!

येसु जीवित हुनुहुन्छ!

मत्ति २८:३-१५ मर्कुस १६:५-८ लुका २४:४-१२ युहन्‍ना २०:२-१८

  • येसु फेरि जीवित हुनुभएको छ

  • येसुको चिहानमा भएका घटनाहरू

  • उहाँ विभिन्‍न स्त्रीहरूसामु देखा पर्नुहुन्छ

स्त्रीहरू येसुको शव राखिएको चिहान रित्तो देख्दा तीनछक पर्छन्‌! मरियम मग्दलिनीचाहिँ “सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेला” युहन्‍नाकहाँ दौडेर जान्छिन्‌। (युहन्‍ना २०:२) तर चिहानमा भएका बाँकी स्त्रीहरूले एक जना स्वर्गदूत देख्छन्‌। अनि चिहानभित्र छिर्दा तिनीहरूले अर्को स्वर्गदूत पनि देख्छन्‌, जसले ‘सेतो लुगा लगाएका’ छन्‌।—मर्कुस १६:५.

एक जना स्वर्गदूत यसो भन्छन्‌: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ। उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँले भन्‍नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो। आओ, उहाँलाई राखिएको ठाउँमा हेर। अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ।’” (मत्ति २८:५-७) त्यसैले ती स्त्रीहरू “डराउँदै अनि असाध्यै खुसी पनि हुँदै” चेलाहरूलाई यो खबर दिन दगुरेर जान्छन्‌।—मत्ति २८:८.

यतिबेलासम्म मरियमले पत्रुस र युहन्‍नालाई भेट्टाइसकेकी छिन्‌। स्वाँस्वाँ गर्दै उनी यसो भन्छिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌! अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।” (युहन्‍ना २०:२) यो सुनेर पत्रुस र युहन्‍ना हतार-हतार चिहानतिर लाग्छन्‌। युहन्‍ना छिटो दौडन सक्छन्‌, त्यसैले चिहानमा पहिला पुग्छन्‌। चिहानभित्र चियाएर हेर्दा तिनले भुईँमा मलमलको कपडा देख्छन्‌ तर तिनी भित्र भने पस्दैनन्‌।

पत्रुस त्यहाँ आइपुगेपछि उनी सीधै चिहानभित्र पस्छन्‌। उनी मलमलको कपडा र येसुको शिरमा बाँधिएको कपडा देख्छन्‌। अबचाहिँ युहन्‍ना पनि भित्र पस्छन्‌ र तिनले मरियमको कुरा पत्याउँछन्‌। येसुले आफू फेरि जीवित हुनेबारे तिनीहरूलाई पहिल्यै बताइसक्नुभएको थियो तर तिनीहरू दुवैले उहाँ जीवित हुनुभएको छ भनेर बुझ्दैनन्‌। (मत्ति १६:२१) अलमलमा परेका ती चेलाहरू आ-आफ्नो घर फर्कन्छन्‌। तर फेरि चिहानमा आएकी मरियमचाहिँ त्यहीँ बस्छिन्‌।

येसु जीवित हुनुभएको छ भनेर चेलाहरूलाई बताउन गएका अरू स्त्रीहरू भने बाटोमै छन्‌। यो खबर सुनाउन दौडेर गइरहेको बेला येसु तिनीहरूलाई बाटैमा भेट्‌नुहुन्छ र यसो भन्‍नुहुन्छ: “तिमीहरूलाई मेरो अभिवादन छ!” तिनीहरू उहाँको पाउ समातेर उहाँलाई “दण्डवत्‌” गर्छन्‌। तब येसु तिनीहरूलाई भन्‍नुहुन्छ: “नडराओ! जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ। तिनीहरूले मलाई त्यहीँ देख्नेछन्‌।”—मत्ति २८:९, १०.

केही समयअघि भूकम्प गएर स्वर्गदूतहरू देखा पर्दा चिहानमा पहरा दिइरहेका सिपाहीहरू ‘डरले कामेर मुर्दासरी भएका’ थिए। होस फर्केपछि तिनीहरू सहरभित्र पसे र “जे-जे भएको थियो, ती सबै कुरा मुख्य पुजारीहरूलाई सुनाइदिए।” त्यसपछि पुजारीहरूले यहुदी धर्मगुरुहरूसित सरसल्लाह गरे। यो कुरा लुकाउन सिपाहीहरूलाई घुस दिएर यसो भन्‍न लगाउने निर्णय गरियो: “त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।”—मत्ति २८:४, ११, १३.

पहरा दिइरहेको बेला निदाएको खण्डमा रोमी सिपाहीहरूले मृत्युदण्ड पाउन सक्थे। त्यसैले पुजारीहरू यस्तो वचन दिन्छन्‌: “यो कुरा [तिनीहरू निदाइरहेका थिए भन्‍ने झूट] राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदेऔँला।” (मत्ति २८:१४) सिपाहीहरू घुस लिन्छन्‌ र पुजारीहरूले भनेजस्तै गर्छन्‌। यसरी येसुको लास चोरी भयो भन्‍ने हल्ला यहुदीहरूमाझ पूरै फैलिन्छ।

मरियम मग्दलिनी भने अझै पनि चिहानमा रुँदै बसिरहेकी छिन्‌। चिहानभित्र निहुरिएर हेर्दा त उनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूत देख्छिन्‌। येसुको शव पहिला जहाँ राखिएको थियो, त्यसको शिरनेर एक जना स्वर्गदूत र पाउनेर अर्को स्वर्गदूत बसिरहेका छन्‌। तिनीहरू उनलाई सोध्छन्‌: “ए नारी, तिमी किन रुँदै छ्यौ?” उनी तिनीहरूलाई यसो भन्छिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।” पछाडि फर्केर हेर्दा मरियम कसैलाई देख्छिन्‌। ती मानिस स्वर्गदूतहरूले सोधेकै प्रश्‍न दोहोऱ्‍याउँछन्‌ र यसो पनि भन्छन्‌: “तिमी कसलाई खोज्दै छ्यौ?” ती मानिसलाई बगैँचे भन्ठानेर उनी यसो भन्छिन्‌: “हजुर, यदि तपाईँले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्‌ र म उहाँलाई लैजानेछु।”—युहन्‍ना २०:१३-१५.

वास्तवमा मरियम फेरि जीवित हुनुभएको येसुसित कुरा गर्दै छिन्‌ तर उनी उहाँलाई चिन्दिनन्‌। येसुले “मरियम” भनेर बोलाउनुहुँदा उहाँले बोलाउनुभएको शैलीबाट उनी उहाँलाई चिन्छिन्‌। तब मरियम असाध्यै खुसी हुँदै “रब्बोनी!” (जसको अर्थ हुन्छ, “गुरुज्यू!”) भन्छिन्‌। येसु स्वर्ग जाँदै हुनुहुन्छ भन्‍ने चिन्ताले उनी येसुलाई च्याप्प समात्छिन्‌। तर उहाँ भन्‍नुहुन्छ: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ म जाँदै छु।’”—युहन्‍ना २०:१६, १७.

मरियम प्रेषितहरू र अरू चेलाहरू भेला भएको ठाउँमा दौडेर जान्छिन्‌। अनि अरू स्त्रीहरूले बताएको कुरामा थप्दै उनी यसो भन्छिन्‌: “मैले प्रभुलाई देखेँ!” (युहन्‍ना २०:१८) तर “उनीहरूलाई यो कुरा वाहियात” लाग्छ।—लुका २४:११.