अध्याय १३६
गालिल समुद्रको किनारामा
-
येसु गालिल समुद्रमा देखा पर्नुहुन्छ
-
पत्रुस र अरू चेलाहरूले भेडाहरूको हेरचाह गर्नुपर्नेछ
प्रेषितहरूसित बिताएको अन्तिम साँझ येसुले तिनीहरूलाई यसो भन्नुभएको थियो: “मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।” (मत्ति २६:३२; २८:७, १०) उहाँका थुप्रै अनुयायीहरू गालिल जान्छन् तर त्यहाँ तिनीहरूले के गर्नुपर्छ?
पत्रुस अरू छ जना प्रेषितलाई यसो भन्छन्: “म माछा मार्न जाँदै छु।” तब तिनीहरू सबै जना यसो भन्छन्: “हामी पनि तिमीसँगै आउँछौँ।” (युहन्ना २१:३) रातभरिमा तिनीहरूले एउटै माछा पक्रन सक्दैनन्। बिहान हुनै लाग्दा येसु किनारामा देखा पर्नुहुन्छ तर तिनीहरू उहाँलाई चिन्दैनन्। येसु तिनीहरूलाई भन्नुहुन्छ: “बाबुहरू हो, तिमीहरूसित खानेकुरा केही छ कि?” तिनीहरू उहाँलाई भन्छन्: “अहँ, छैन!” त्यसपछि उहाँ भन्नुहुन्छ: “डुङ्गाको दाहिनेतिर जाल हान अनि तिमीहरूले केही भेट्टाउनेछौ।” (युहन्ना २१:५, ६) यति धेरै माछा पर्छ कि तिनीहरूले जाल तान्नै सक्दैनन्।
तब युहन्ना पत्रुसलाई भन्छन्: “उहाँ प्रभु हुनुहुन्छ!” (युहन्ना २१:७) यो सुन्नेबित्तिकै पत्रुस लुगा लगाएर समुद्रमा हामफाल्छन् किनकि तिनी नाङ्गै थिए। अनि ९० मिटरजति पौडी खेलेर तिनी किनारामा पुग्छन्। बाँकी अरूचाहिँ माछाले भरिएको जाल तान्दै डुङ्गा खियाएर बिस्तारै किनारातिर आउँछन्।
किनारामा आइपुग्दा तिनीहरू “कोइलाको भुङ्ग्रोमा राखिएको माछा अनि रोटी” देख्छन्। येसु भन्नुहुन्छ: “तिमीहरूले भर्खरै समातेको केही माछा यता ल्याओ।” पत्रुस १५३ वटा ठूलठूला माछाले भरिएको जाल तानेर किनारामा ल्याउँछन्! येसु भन्नुहुन्छ: “आओ, नास्ता गर।” कसैले पनि “तपाईँ को हुनुहुन्छ?” भनेर सोध्ने आँट गर्दैनन् किनकि तिनीहरूलाई उहाँ येसु हुनुहुन्छ भनेर थाह छ। (युहन्ना २१:९-१२) उहाँ चेलाहरूको समूहमा देखा पर्नुभएको यो तेस्रो पटक हो।
येसु तिनीहरू सबैलाई खानको लागि केही रोटी र माछा दिनुहुन्छ। त्यसपछि सायद जालमा भएका माछाहरूतिर हेर्दै उहाँ सोध्नुहुन्छ: “ए युहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” के पत्रुसको लगाब येसुले तिनीबाट चाहनुभएको काममा भन्दा माछा मार्ने काममा बढी छ? तिनी भन्छन्: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” त्यसैले उहाँ तिनलाई भन्नुहुन्छ: “मेरा पाठाहरूलाई खुवाऊ।”—युहन्ना २१:१५.
येसु फेरि सोध्नुहुन्छ: “ए युहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” सायद छक्क पर्दै तिनी यस्तो जवाफ दिन्छन्: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” येसु फेरि यसो भन्नुहुन्छ: “गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।”—युहन्ना २१:१६.
येसु तेस्रो चोटि सोध्नुहुन्छ: “ए युहन्नाको छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” अब भने पत्रुसलाई येसुले तिनको वफादारीमा शङ्का गर्नुभएको जस्तो लाग्छ। त्यसैले तिनी आफ्नो कुरा स्पष्ट पार्दै यसो भन्छन्: “प्रभु, तपाईँलाई सबै कुरा थाह छ; म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छँदै छ नि।” येसु पत्रुसले गर्नुपर्ने कामलाई फेरि एकचोटि जोड दिनुहुन्छ: “मेरा साना भेडाहरूलाई खुवाऊ।” (युहन्ना २१:१७) हो, अगुवाइ लिनेहरूले यहोवाले आफ्नो गोठतर्फ खिच्नुभएका मानिसहरूको सेवा गर्नुपर्छ।
परमेश्वरले अह्राउनुभएको काम गर्नुभएकोले येसुलाई बाँधियो र मृत्युदण्ड दिइयो। येसु अब पत्रुसले पनि त्यस्तै दुःख भोग्नेछन् भनेर बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “जब तिमी जवान थियौ, तब आफ्नो पटुका आफैले कसेर आफूलाई मन लागेको ठाउँमा जान्थ्यौ। तर जब तिमी बूढो हुनेछौ, तब तिमीले आफ्नो हात फैलाउनेछौ अनि अर्को मानिसले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई जहाँ जान मन लाग्दैन, उसले तिमीलाई त्यहीँ लैजानेछ।” तैपनि उहाँ तिनलाई यस्तो आग्रह गर्नुहुन्छ: “तिमी निरन्तर मेरो पछि लाग।”—युहन्ना २१:१८, १९.
प्रेषित युहन्नालाई देखेपछि पत्रुस सोध्छन्: “प्रभु, यस मानिसलाई चाहिँ के हुनेछ?” येसुले धेरै माया गर्नुहुने प्रेषितको भविष्यचाहिँ कस्तो हुनेछ? येसु भन्नुहुन्छ: “म नआउन्जेल ऊ रहिरहोस् भन्ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब?” (युहन्ना २१:२१-२३) अरूले के गर्छन् भन्ने कुराको चिन्ता नगरी पत्रुस येसुको पछि लाग्नुपर्छ। तैपनि युहन्ना अरू प्रेषितहरूभन्दा धेरै बाँच्नेछन् र तिनले येसु राज्यशक्तिमा आउनुहुने दर्शन देख्नेछन् भनेर उहाँ सङ्केत गर्दै हुनुहुन्छ।
पक्कै पनि येसुले अरू धेरै काम गर्नुभएको थियो। ती सबै एक-एक बयान गरेर लेखिएका भए ती मुठाहरू संसारमा अटाउने थिएनन्।