अध्याय १३९
येसु प्रमोदवन ल्याउनुहुन्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ
-
भेडाले पाउने इनाम र बाख्राले भोग्ने सजाय
-
थुप्रैले प्रमोदवनमा जीवनको आनन्द उठाउनेछन्
-
येसु आफूलाई बाटो, सत्य र जीवन साबित गर्नुहुन्छ
येसुले बप्तिस्मा गर्नेबित्तिकै एक जना शत्रुको सामना गर्नुपऱ्यो। त्यो शत्रु उहाँले सेवाको काम थाल्नुअघि नै उहाँलाई असफल तुल्याउन लागिपऱ्यो। हो, दियाबलले येसुलाई प्रलोभनमा पार्न बारम्बार प्रयास गऱ्यो। पछि येसुले त्यस दुष्टबारे यसो भन्नुभयो: “यस संसारको शासक आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।”—युहन्ना १४:३०.
प्रेषित युहन्नाले “दियाबल अनि सैतान भनिने . . . त्यो ठूलो अजिङ्गर अर्थात् पुरानो सर्प”-ले कस्तो नतिजा भोग्नुपर्नेछ भन्ने दर्शन देखे। मानिसजातिको त्यो डरलाग्दो शत्रुलाई स्वर्गबाट फ्याँकिने थियो अनि ‘आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाउने थियो।’ (प्रकाश १२:९, १२) ख्रिष्टियनहरू यस कुरामा विश्वस्त हुन सक्छन् कि तिनीहरू त्यही ‘थोरै समयमा’ बाँचिरहेका छन् अनि परमेश्वरको राज्यमा येसुले शासन गर्नुहुँदा “त्यो अजिङ्गर अर्थात् पुरानो सर्प”-लाई अगाध खाडलमा हुर्ऱ्याइनेछ र त्यो १ हजार वर्षसम्म निष्क्रिय अवस्थामा रहनेछ।—प्रकाश २०:१, २.
त्यस समयावधिमा हाम्रो घर—पृथ्वीमा के-कस्ता कुराहरू हुनेछन्? यहाँ को बस्न पाउनेछन् र कस्तो अवस्थामा? येसु आफैले यी प्रश्नहरूको जवाफ प्रस्ट पार्नुभयो। भेडा र बाख्राको उदाहरणमा येसुले उहाँका भाइहरूसित मिलेर काम गर्ने र उनीहरूको निम्ति असल कामहरू गर्ने भेडाखाले धर्मी मानिसहरूले भविष्यमा कस्तो इनाम पाउनेछन् भनेर बताउनुभयो। तर यस्तो व्यवहार नगर्ने बाख्राखाले मानिसहरूले चाहिँ कस्तो नतिजा भोग्नुपर्नेछ भनेर पनि उहाँले प्रस्ट पार्नुभयो। येसुले यसो भन्नुभयो: “यिनीहरू [बाख्राहरू] सधैँका लागि नाश हुनेछन् तर धर्मीहरूले [भेडाहरूले] भने अनन्त जीवन पाउनेछन्।”—मत्ति २५:४६.
यसले हामीलाई येसुले उहाँसँगै खम्बामा टाँगिएको अपराधीलाई भन्नुभएको कुरा बुझ्न मदत गर्छ। येसुले त्यस अपराधीलाई स्वर्गीय राज्यको इनाम दिने प्रतिज्ञा गर्नुभएन, जुन प्रतिज्ञा उहाँले आफ्ना वफादार प्रेषितहरूसित गर्नुभएको थियो। बरु उहाँले पश्चात्ताप गर्ने त्यो दुष्ट मानिसलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “म आज तिमीलाई साँचो-साँचो लुका २३:४३) यसरी त्यस मानिसले प्रमोदवनमा अर्थात् सुन्दर पार्क वा बगैँचामा सधैँभरि बाँच्ने आशा पायो। त्यसैले आज आफूलाई भेडाखाले मानिस साबित गरेर “अनन्त जीवन” पाउनेहरू पनि त्यही प्रमोदवनमा हुनेछन् भन्नु तार्किक छ।
भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।” (यो कुरा त्यतिबेला पृथ्वीको अवस्था कस्तो हुनेछ भन्नेबारे प्रेषित युहन्नाले बताएको कुरासित मेल खान्छ। तिनले भने: “परमेश्वरको वासस्थान मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
प्रमोदवनमा जीवनको आनन्द उठाउन त्यो अपराधी फेरि जीवित हुनु जरुरी छ। अनि मृत्युबाट जीवित हुने मानिस ऊ मात्र हुनेछैन। येसुले यो कुरा यसरी प्रस्ट पार्नुभयो: “बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् र बाहिर निस्किआउनेछन्। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन् भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्।”—युहन्ना ५:२८, २९.
वफादार प्रेषितहरू र सीमित सङ्ख्याका अरू मानिसहरू, जो येसुसितै स्वर्गमा हुनेछन्, तिनीहरूबारे चाहिँ के भन्न सकिन्छ? बाइबल भन्छ: “तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन् र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।” (प्रकाश २०:६) ख्रिष्टका यी सह-शासकहरूले पृथ्वीमा पुरुष र स्त्रीको रूपमा जीवन बिताइसकेका हुनेछन्। त्यसैले स्वर्गबाट शासन गर्दा तिनीहरू पक्कै पनि पृथ्वीका मानिसहरूप्रति दयालु हुनेछन् र उनीहरूको अवस्था बुझ्नेछन्।—प्रकाश ५:१०.
आफूले चढाएको फिरौतीको बलिदानको आधारमा येसुले मानवजातिलाई जन्मजातै पाएको पापबाट मुक्त गर्नुहुनेछ। उहाँले आफ्ना सह-शासकहरूसित मिलेर वफादार मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्याउनुहुनेछ। त्यसपछि परमेश्वरले आदम र हव्वालाई पृथ्वी भर्ने आज्ञा दिनुहुँदा जुन उद्देश्य राख्नुभएको थियो, त्यो उद्देश्य पूरा हुनेछ। हो, मानवजातिले जीवनको आनन्द उठाउनेछन्। आदमको पापले गर्दा निम्तिएको मृत्युसमेत नामेट हुनेछ।
यसरी यहोवाले सुम्पनुभएको सम्पूर्ण काम येसुले पूरा गर्नुहुनेछ। आफ्नो हजार वर्षीय शासनको अन्तमा येसुले त्यो राज्यलाई र त्रुटिरहित अवस्थामा पुगेको मानव परिवारलाई आफ्नो बुबाको हातमा सुम्पनुहुनेछ। येसुले त्यतिबेला देखाउनुहुने यस्तो उल्लेखनीय नम्रताबारे प्रेषित पावलले यस्तो लेखे: “जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन् भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै अधीनमा बस्नुहुनेछ।”—१ कोरिन्थी १५:२८.
स्पष्ट छ, परमेश्वरको उद्देश्य पूरा गर्ने सन्दर्भमा येसुले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ। अनि त्यसपछि पनि येसु यहोवाका उद्देश्यहरू पूरा गर्न उहाँले आफूबारे भनेको यस कुराअनुसार अनन्तकालसम्म चल्नुहुनेछ: “बाटो, सत्य र जीवन मै हुँ।”—युहन्ना १४:६.